Skip Advt.
ad

अन्तर्वार्ता

काठमाडौंको यो धुलो, धुवाँले मुटुको समस्या चाँडै ल्याउँछ

डा. अर्जुन कार्की, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल 

काठमाडौंको यो धुलो, धुवाँले मुटुको समस्या चाँडै ल्याउँछ

काठमाडौं उपत्यकाको अत्यधिक धुलो–धुवाँका कारण युवाहरूमा चाँडै मुटुको समस्या देखिने चिकित्सकहरुले औंल्याएका छन् । श्वासप्रश्वास विशेषज्ञ डा. अर्जुन कार्कीका अनुसार फोक्सोमा क्यान्सर लाग्ने तथा दम, खोकी र श्वासप्रश्वासको समस्या बढ्दै जाने देखिएको छ । 

अहिले धेरै मान्छेमा श्वासप्रश्वासको समस्या बढेर गएको र हृदयघात अर्थात् ‘हर्ट एट्याक’ हुनसक्ने सम्भावना बढेर गएको डा. कार्कीको भनाइ छ । प्रस्तुत छ बाह्रखरीका सुरञ्जन घिमिरे तथा सञ्जिता खनालले डा. कार्कीसँग गरेको कुराकानीको अंशः

पछिल्लो समय काठमाडौंमा धुलोधुवाँ निकै बढी देखिएको छ । यसले मानिसको स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर के के पार्छ ?
 

मानिसको अवस्था, उमेर र क्षमताअनुसार धुलोको फरक–फरक प्रभाव पर्न सक्छ । कुनै मान्छेलाई फोक्सो सम्बन्धी, श्वासप्रश्वास सम्बन्धी कुनै रोग पहिलादेखि नै हुन सक्छ, त्यस्ता व्यक्ति धेरै धुलोधुवाँको मारमा परे भने रोगले च्याप्न सक्छ । औषधी नै सेवन गरिरहेका व्यक्तिहरु धुलो धुवाँको मुस्लोमा गए भने झनै बढी समस्या हुन्छ ।

कतिपय बिरामी त अरुबेला नभए पनि डाक्टरलाई देखाउन जाँदा समेत धुलोको प्रकोपमा परेर तिनको समस्या अझ जटिल हुनसक्छ । मानौं, कोटेश्वरबाट बसमा चढेर अस्पताल पुग्नुपर्ने मानिस कुनै कारणवश त्यहाँको प्रदूषित वातावरणमा बीस–पच्चीस मिनेट बस्नुपर्यो भने उसको अवस्था नाजुक हुनसक्छ । पहिले सय मिटर हिँड्दा स्वाँस्वाँ गर्ने व्यक्ति दश मिटरमा नै हिँड्नै नसक्ने हुनसक्छ । कोटेश्वर त एउटा उदाहरणात्र हो । काठमाडौंका धेरै स्थानमा प्रदूषणको मात्रा यति धेरै छ कि स्वस्थ व्यक्ति समेत केही बेर यस्तो स्थानमा घुमेर घर फर्किंदा बिरामी पर्छन् ।  

धुलो र धुवाँको असर कसरी थाहा पाउने ?
 

धुलो र धुवाँको तत्कालिन र दीर्घकालीन असर हुन्छन् । तत्कालिन असर पनि मानिस अनुसार फरक फरक हुन सक्छ । जस्तो कसैलाई आँखा अति सुख्खा भएको वा टट्याउने जस्तो हुन्छ । कसैको हकमा भने आँसु आउने हुनसक्छ । यस्ता समस्यामा घाँटी खसखसाउने, खोकी लाग्ने अनेक असर हुनसक्छ । कतियिमा यस्ता असर तत्काल नदेखिए पनि दीर्घकालीन असरबाट उसले पनि मुक्ति नपाउन सक्छ । दीर्घकालीन असरको हकमा कुरा गर्दा फोक्सोको क्यान्सर, दम, श्वासनलीमा समस्या, निको नहुने प्रकारले खोकी लाग्नु आदि हुनसक्छ । यस्ता समस्याबाट पीडित व्यक्तिलाई १० देखि १५ वर्षमा हृदयघात पनि हुनसक्छ । 

तत्कालिन असरको कुरा गर्दा कतिपयलाई धुलोको मात्रा, धुवाँको मात्रा आदि धेरैले फरक–फरक असर पार्न सक्छ । कसैलाई धेरै धुलो र धुवाँले पनि खासै असर पर्दैन भने कसैलाई थोरैमा पनि आँखामा आँसु आउने, घाँटी खसखस हुने आदि समस्या देखापर्न सक्छन् । तर दीर्घकालीन असर भने सबैमा देखिन सक्छ । 

काठमाडौंकै नागढुंगा, कोटेश्वर, चावहिल आसपास बसोबास गर्ने मानिसमा कस्तो असर पर्ला ? त्यसैगरी त्यही धुलोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीको स्वास्थ्यमा के असर पर्ला ?
 

यी क्षेत्रमा बसोबास गर्ने मानिसमा धैरै नै असर पर्ने जो कसैले पनि अनुमान गर्नसक्ने कुरा हो । धेरै सवारीसाधन चल्ने स्थानमा धुलोको कणमा मोटरको टायर खिइएर बनेको धुलो पनि बढी नै मिसिने हुन्छ । यस्तो धुलो स्वास्थ्यका लागि अतिनै हानीकारक हुन्छ । ट्राफिक प्रहरी बाहेक यस्तो स्थानमा पसल राख्ने, घरमा बस्ने, अफिस चलाउने सबैमा स्वासप्रस्वासको समस्या बढेर जाने अवस्था छ ।

अझ, माथि भनेझैं हृदयघात हुने समस्या पनि त्यतिकै बढी हुन्छ । तर, हामी आफैं पनि सचेत छैनौं । पुराना गाडी चलिरहेका छन्, हामीमध्ये कतिपयले त्यसको दुष्प्रभावको विषयमा जान्दा जान्दै पनि आफ्नो सानो स्वार्थका लागि आफूलगायत सबैलाई बिरामी पारिरहेका छौं । कतिपय रातो स्टिकर पाएर सडकमा चल्नै नहुने मोटर पनि हरियो स्टिकर लगाएरै बाटोमा गुडिरहेका देखिन्छन् । यस्तोमा त्यस्तो स्टिकर लिने, त्यस्तो स्टिकर दिने सबै जिम्मेवार छन् । अझ, त्यो समस्या थाहा पाएर पनि समाधान गर्न बेवास्ता गर्ने सरकार झनै जिम्मेवार छ । हामी जनता पनि त्यस्ता समस्याको समाधानका लागि अघि नबढ्नुले समस्याको आयतन बढाएरै लगेको देखिन्छ । 

एक विशेषज्ञ डाक्टरको नाताले तपाईंकहाँ अहिले कस्तो प्रकारका बिरामी बढी आउँछन्, धुवाँले बढी असर पारेका कि धुलोको समस्याले ग्रसित ? 

काठमाडौंमा धुलो र धुवाँ मिसिएर ठूलै समस्या पैदा गरेका छन् । कुनै स्थानमा धुलोले मात्र र कतै धुवाँले मात्र धेरै असर गरेको छ भन्न सकिने अवस्था छैन । त्यसैले बिरामीमा पनि कुन बिरामीलाई धुलोले समस्या दिएको र कसलाई धुवाँले बढी समस्या पार्यो भनेर छुट्याएर भन्न सकिन्न । तर धुवाँ वा धुलो कुनै एकमात्र भए पनि मानिसमा स्वासप्रस्वासको समस्या बढाउन र अन्ततः मुटु र फोक्सोको बिरामी बनाउन पर्याप्त हुन्छन् । 

यस्ता बिरामी कति बढेका छन् ? 
 

नेपालमा तथ्यांकको साह्रै कमी छ । पाँच वर्षअघि कति व्यक्ति श्वास–प्रश्वासको समस्या लिएर आउँथे र अहिले कति आएका छन् भन्ने कुनै गणना छैन । तर पनि यस पेसामा लागेका डाक्टर र विशेषज्ञका अनुभवमा फोक्सोजन्य रोग लिएर आउने बिरामीको संख्या क्रमशः बढेर गएको छ । तर यस्तो बिरामी बढेर गयो भनेर यसका दोषीलाई कारवाही हुन सक्दैन ।

यस्ता समस्याको अध्ययन र रिसर्च हुनु अत्यन्त जरुरी छ । जस्तो– चीनमा एउटा अध्ययन गरियो फोक्सोको क्यान्सर कति मान्छेमा हुँदैछ भनेर । १० वर्षमा फोक्सोको क्यान्सर करिब ५० प्रतिशतले बढेको देखियो । अब त्यो तथ्यांकले सरकारलाई सचेत बनाउँछ, झस्काउँछ र नियम कानुन बनाएर समस्या समाधान गर्न दबाब दिन्छ । तर हाम्रो देशमा यस्ता अध्ययन छैनन्, कुनै समस्याको समाधान पनि सहजै निस्कन्न । 

धुवाँधुलोबाट पछिल्लो समय कत्तिको बिरामी बढिरहेको छन् त ?
 

मैले अघि पनि भनें, भरपदो तथ्यांक भने छैन  । तर सबैको सामान्य मत के छ भने क्रमिक रुपमा फोक्सोजन्य रोगबाट अथवा  धुवाँधुलोबाट उत्पन्न हुने रोगहरु बढिरहेको भने छ ।

चीनमा एउटा अनुसन्धान गर्दा १० वर्षपछिको अन्तरालमा जतिजना मान्छेमा फोक्सो क्यान्सर देखापर्यो, त्यसको १० वर्षपछि अनुसन्धान गर्दा ५० प्रतिशतले वृद्धि भएको पाइएको थियो । पहिला १ हजारमा लागेको थियो भने अहिले १५ सयलाई लाग्यो । बेलैमा सचेत हुनलाई सबै सचेत हुनुपर्यो र सरकारलाई दबाब दिनुपर्यो । 
 

गर्मीमा भन्दा जाडोमा यस्ता बिरामी बढ्ने हुन् ? 

सामान्यतया प्रदूषणबाट उत्पन्न हुने स्वासप्रश्वासको समस्याले मौसम हेर्दैन । तर पनि जाडोमा दमका रोगीहरुलाई अलि बढी नै च्याप्छ । जाडोमा प्रदूषण उडेर माथि जाने क्रम अलि कम हुने भएकाले पनि यस्तो भएको हो । तर काठमाडौंमा जुन प्रकारले धुलो उडिरहेको छ र जसरी सवारी साधन जथाभावी धुवाँ उडाउँदै गुडिरहेका छन्, यस्तोमा मौसमले पार्ने प्रभाव खासै ठूलो हुँदैन । 

यस्तो समस्याले युवा र वयष्कलाई भन्दा बालबालिका र वृद्धलाई धेरै समस्या पार्ने गरेको देखिएको छ । उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने कारणले पनि यस्तो समस्या देखिएको हो । 

वास्तवमा मौसमभन्दा पनि गरिबी यस्तो समस्याको जड हो जस्तो लाग्छ मलाई । धेरै मान्छेलाई धुलो र धुवाँको जिन्दगीबाट मुक्ति छैन । कुनै एक ठाउँमा धुलो र धुवाँ बढी भयो भनेर अर्को स्थानमा सर्न वा जागिर छाडेर अर्को जागिर खोज्ने अवस्था छैन । बिहान सडक बढार्न आउने व्यक्ति आफैंले राम्ररी मास्क लगाएको हुँदैन, अझ कतिले त बच्चा पनि बोकेर आउँछन् ।

तिनका सन्तानलाई घरमा हेरिदिने कोही हुँदैनन्, अनि महँगो मास्क पनि किनेर लगाउन सक्दैनन् । त्यसैले मौसमभन्दा आर्थिक अवस्था सुधार्न बढी ध्यान दिनुपर्छ । जाडोमा न्यानो कपडा लगाएर, न्यानोमा बस्न पाए मौसमको प्रभाव खासै पर्दैन । 

धुलो र धुवाँबाट बच्न कस्तो उपाय अपनाउनुपर्छ ?
 

धुलो र धुवाँबाट बच्ने उपायका लागि कसको के जिम्मेवारी भन्ने कुरा पनि आउँछ । साधारण जनताको तहमा कुरा गर्ने हो भने सकेसम्म बढी प्रदूषण भएको समयमा घरबाट जरुरी नभई बाहिर ननिस्कने । सार्वजनिक सवारी साधनमा पनि सिसा बन्द गर्न लगाउने । सकभर बाहिरको धुलो सिधै मुख र नाकभित्र पर्नबाट बच्ने । बाटोमा सकभर उत्कृष्ट प्रकारको मास्क प्रयोग गर्ने ।

मास्क नलाएको अवस्थामा पनि रुमालले मुख ढाकेर हिँड्ने । धेरै व्यक्ति साधारण प्रकारको कागजको मास्क लगाएर आफूलाई धुलो र धुवाँबाट बचाएको भन्ने ठान्छन्, तर त्यसले खासै काम गर्दैन । बजारमा निस्किएका धेरै प्रकारका मास्क प्रभावकारी छैनन् । डाक्टरले अपरेसन गर्दा वा बिरामीसँग अगाडि पर्दा लगाउने मास्क हुन्छन्, त्यस्ता मास्क धेरै प्रभावकारी हुन्छन् ।

मास्कको प्रकारमा कुरा गर्दा एन ९५ मास्क राम्रा र प्रभावकारी मानिन्छन् । यस्तो मास्क महँगो हुने हुनाले बाटोमा प्रयोग भएको देखिँदैन । तर सकेसम्म महँगो मास्क किनेर लगाउँदा पछि उपचारमा खर्च हुने समय र पैसाको बचत हुन्छ । 

घर–घरमा फोहोर जलाउँदा बिहानै जलाउने पनि गर्नु हुँदैन । टायर, दाउरा बालेर न्यानो हुन खोज्दा पनि वातावरणमा निकै समस्या पर्छ । फोहोरमा आगो लगाउने हो भने पनि ३ बजेतिर गर्नु ठिक हुन्छ । त्यसबेला काठमाडौंको खाल्डोको हावा सिधै माथि जाने सम्भावना बढी हुन्छ । 

तपाईंको मत