राजनीति

गुटैगुटमा जेलिँदै कांग्रेस, यस्ता छन् प्रमुख गुट/उपगुट

गुटैगुटमा जेलिँदै कांग्रेस, यस्ता छन् प्रमुख गुट/उपगुट

काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाले मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएको दिनको सम्झनामा हरेकवर्ष पुष १६ गतेका दिन राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ । 

त्यस कार्यक्रममा उपस्थित सबैजसो नेताहरुको धारणा एउटै रहन्छ–मेलमिलाप दिवसको औचित्य अझै सकिएको छैन । आजको दिनमा पनि यो उत्तिकै आवश्यक छ ।
तर यसवर्षको मेलमिलाप दिवसमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले तीन ठाउँमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्‍यो ।

नेविसंघले आयोजना गरेका ती छुट्टाछुट्टै कार्यक्रममा पार्टीकै शीर्ष नेताहरु पनि विभाजित भएर सहभागी भए । 

एउटा समूहले गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवा सहभागी भए भने अन्य कार्यक्रममा प्रकाशमान सिंह, कृष्ण सिटौला लगायतका नेताहरु सहभागी भए । 

सोही दिन कांग्रेस नेता चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, बद्री पाण्डेय, गुरुराज घिमिरे र प्रदीप पौडेलले संयुक्त विज्ञप्ती जारी गरेर चुनावी परिणामको समीक्षा गर्न केन्द्रीय समिति र महासमिति बैठक डाक्नुपर्ने लिखित माग गरे । 

यही बीचमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको काठमाडौंमा तीन चरणमा गुटगत बैठक बस्यो । पार्टी सुदृढीकरणको नाममा झण्डै डेढ दर्जन नेताहरुको उपस्थिति रहेको बैठकको सहजीकरण नेता नवीन्द्रराज जोशीले गरेका थिए । 

बुधबार मात्रै सिन्धुपाल्चोकको मेलम्चीमा विभिन्न १९ जिल्लाका पार्टी सभापतिहरुको छुट्टै बैठक सम्पन्न भयो । सिँचाई मन्त्री समेत रहेका बर्दिया कांग्रेसका सभापति संजयकुमार गौतमको संयोजनमा बसेको बैठकले जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउने निर्णय ग¥यो । बैठकले जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन गौतमकै संयोजकत्वमा १३ सदस्यीय पहल समिति समेत गठन गर्‍यो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पार्टीको कुनै पनि निकायको बैठक बस्न सकेको छैन ।  नेताहरु चुनावमा हारको समीक्षा भन्दा पनि एकले अर्काकै कारण पार्टी पराजय भएको निष्कर्ष निकाल्दै अभिव्यक्ति दिँदै हिँडेका छन् । 

गुटगत रूपमा भएका यी पछिल्ला उदाहरण मात्रै हुन् । कांग्रेसमा यिनै गुटभित्र पनि उपगुट र विवाद व्याप्त छ । शीर्ष नेतामा मात्र नभई युवा नेतामा पनि त्यस्तै विवाद देखिएको छ । पार्टीको सुदृढिकरणमा लागेका युवा नेताहरु आफैंभित्र पनि विवाद र धोकाको राजनीति सुरू भइसकेको बताउँछन् ।

फरक–फरक घटनाहरुले कांग्रेसभित्र रहेको गुटबन्दी बढ्दै गएको देखाउँछ । अत्यधिक गुटबन्दीकै कारण हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ‘अकल्पनीय’ परिणाम आएको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन् ।

पार्टीको १३ औं महाधिवेशनमा संस्थागत शैलीमा तीन वटा समुह बनाएर निर्वाचनमा गएको कांग्रेसमा अहिले आएर आठभन्दा बढी गुट उपगुट देखा परेका छन् ।

नेतृत्वको कमजोरीका कारण निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेर कांग्रेसका विभिन्न नेताहरु आफु अनुकुलको गुटबन्दीमा लागेका छन् । उनीहरु पार्टीलाई सुदृढीकरण गर्ने बहाना बनाएर गोप्य तरिकाले छुट्टाछुट्टै बैठक, बहस र छलफल चलाइरहेका छन् ।  

तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसको पराजय पछाडि फरक फरक धारणा बनाएर बैठक बस्नुलाई स्वाभाविक ठान्दछन् । 

‘‘पार्टीको केन्द्रीय कार्य समितिको बैठक बसेर साझा धारणा नबन्दासम्म लोकतान्त्रिक पार्टीभित्र विभिन्न फोरमहरुमा एक्लाएक्लै अथवा समुहगत रुपमा साथीहरुले धारणा राख्नुहुन्छ भने त्यसलाई पार्टीले स्वाभाविक रुपमा लिन्छ र लिनुपनि पर्छ,’’ उनले भने ।  

कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीभित्रको गुटबन्दी समाप्त गर्ने घोषणा गरेका थिए तर पनि उनैले बढी गुटबन्दीलाई बढावा दिएको आरोप कांग्रेसभित्रैबाट लाग्ने गरेको छ । त्यतिमात्रै नभएर गुट उपगुट पनि झनै मौलाएको छ ।

महाधिवेशनमा सभापति पदका लागि देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला फरक–फरक खेमा बनाएर संस्थागत शैलीमै चुनावी मैदानमा उत्रिएका थिए ।

पहिलो चरणमा कांग्रेसको विधानअनुसार कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि बढी मत ल्याएका देउवा र पौडेलबीच सभापति पदका लागि दोस्रो चरणमा मतदान भएको थियो । दोस्रो चरणको मतदानमा सिटौला समुहले देउवा समुहलाई सघाएको थियो ।  त्यसपछि कांग्रेसमा अब दुई गुटमात्रै बाँकी रहने आकलन कार्यकर्ताको थियो ।

यी हुन कांग्रेसमा देखिएका गुटहरु

कांग्रेसमा सभापति देउवा (संस्थापन), रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का, प्रकाशमान सिँह, विमलेन्द्र निधी, कोइराला परिवार र सात युवा नेता लगायतका छुट्टाछुट्टै समुह देखिएको छ । 

कांग्रेसभित्र सभापति देउवालाई पूर्व गृहमन्त्री विमलेन्द्र निधी, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, पूर्व रक्षामन्त्री बालकृष्ण खाँण, पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महत, पूर्व सिँचाई मन्त्री एनपी सावद, पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायर, वाणिज्य मन्त्री मीन विश्वकर्मा लगायतका नेताहरुले सघाइरहेका छन् । 

त्यसभित्र पनि कार्की र श्रेष्ठ देउवाको अझै नजिकका मानिन्छन् । 

तर देउवा निकट नै रहेका निधी पछिल्लो समय आफैं गुटबन्दीमा लागेका छन् । पार्टीको उपसभापति पद आफूले पाउनुपर्ने निधीको तर्क रहँदै आएको छ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले पार्टी बिलय गराएर कांग्रेस प्रवेश गरेपछि निधी देउवासँग थप सशंकित बनेका छन् । यो कुरा देउवाले पनि राम्रोसँग बुझेको देउवा निकट स्रोत बताउँछ । संस्थापन पक्षभित्रै उपगुट बनाएर अघि बढिरहेका निधीलाई खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव, पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द्रबहादुर शाह लगायतले थप बल पुर्‍याइरहेका छन् । 

निधी गृहमन्त्री हुँदा प्रहरी प्रमुखको नियुक्तिलाई लिएर नेतृत्वसँग भएको विवाद सार्वजनिक रुपमा नै आएको थियो । पछि सभापति देउवासँगको छलफलले साम्य पार्ने प्रयास भएको थियो ।

त्यसबाहेक सभापति देउवाले प्रवक्तामा ‘७ भाइ’ मध्येका विश्वप्रकाश शर्मालाई मनोनयन गरेपछि खाँण, महत लगायतका नेताहरु पनि देउवासँग थप असन्तुष्ट बनेका छन् ।

उनीहरुले कार्यसम्पादन समिति सदस्यभित्रैबाट प्रवक्ता मनोनयन हुनुपर्ने धारणा राख्दै आएका छन् । खाँण र महत दुवै प्रवक्ताका आकांक्षी थिए ।  अर्को मुख्य गुटको नेतृत्व रामचन्द्र पौडेल आफैंले गरेका छन् । जुन गुटले भागबन्डाको ‘बार्गेनिङ’ जारी राख्छ भने पार्टी पराजयको जिम्मा लिन चाहन्नँ । 

पौडेल समुहमा पूर्व अर्थमन्त्री डा. रामशरण महत, मिनेन्द्र रिजाल, कोषाध्यक्ष सितादेवी यादव, पूर्व सूचना तथा सञ्चार मन्त्री दिलेन्द्रप्रसाद बडू, सिँचाई मन्त्री सञ्जयकुमार गौतम, धनराज गुरुङ, गुरु घिमिरे, लगायतका नेता सक्रिय छन् ।

महाधिवेशनमा एउटै समूहमा रहेर प्रतिष्पर्धामा होमिएका महामन्त्री सशांक कोइरालासमेत पौडेलसँग अहिले त्यति सन्तुष्ट देखिँदैनन् ।

१३ औं महाधिवशनमा सभापति पदमा छट्टै प्यानल बनाएर उमेदवारी दिएका कृष्णप्रसाद सिटौलाको पनि आफ्नै गुट छ । उनीसँग गगन थापा, भिमसेनदास प्रधान, उमाकान्त चौधरी लगायतका नेताहरु रहेका छन् ।  

उनलाई पनि पार्टीभित्र भागबन्डाको राजनीतिलाई सहयोग गरेको आरोप लाग्दै आएको छ । त्यस्तै १३ औं महाधिवेशनमा देउवालाई सघाएका खुमबहादुर खड्का पनि आफ्नै ढंगबाट पार्टीभित्र गुटबन्दी गर्दै आएका छन् । उनी मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने पक्षमा उभिएका छन् ।

महाधिवेशनका बेला देउवाले उपसभापति बनाउने आश्वासन दिए पनि नबनाएको भन्दै पछिल्लो समय उनी देउवासँग नै असन्तुष्ट देखिएका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका खड्का खेमामा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कँडेल, शंकर भण्डारी, राजु थापा, पुष्पा भुषाल लगायत रहेका छन् । 

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिँह प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पार्टी सभापति देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । देउवाकै

कमजोरी कारण पार्टीले पराजय बेहोर्नुपरेको दाबी गर्दै उनी सार्वजनिक कार्यक्रमहरुमा नेतृत्वको राजीनामा माग्दै आएका छन् ।  निर्वाचनमा रामचन्द्र पौडेल नै पराजित भएपछि आफू संसदीय दलको नेता बन्ने ध्याउन्नमा उनी लागेका छन् ।

सिँहलाई पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी, पूर्व सिँचाईमन्त्री दीपक गिरी, सुरेन्द्र पाण्डेय, सरिता प्रसाई, राजन केसीलगायतले सघाइरहेका छन् ।  यस्तै पौडेल, सिँह र युवा नेताहरुको समुहका विभिन्न नेताहरुलाई साथमा लिएर कोइराला परिवार पनि गुटबन्दीमै रुमल्लिएको छ । 

सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाको आन्तरिक भेटघाट तस्बिरसहित सार्वजनिक भएको थियो । कोइराला परिवारले पार्टीको नेतृत्व बाहिर जाँदा पार्टी प्रभावकारी ढंगले चल्न नसकेको निष्कर्षसमेत निकालेको छ । अहिले नै सशांक कोइरालालाई संसदीय दलको नेता बनाउने तयारी उनीहरुको छ ।

आगामी महाधिवेशनमा तीनमध्ये कुनै एकले नेतृत्व लिन सक्नेगरी तयारी अवस्थामा रहनुपर्ने कोइराला परिवारको निष्कर्ष छ । त्यसका लागि देउवा, पौडेल, सिटौला लगायतका गुटमा रहेका सबै नेताहरुसँग आन्तरिक छलफल उनीहरुले जारी राखेका छन् । यस्तै पछिल्लो समयमा कांग्रेसका सात जना युवा नेताहरुले कांग्रेसको राजनीतिलाई तरंगित बनाएका छन् । 

चन्द्र भण्डारी नेतृत्वमा रहेको यो समुहले चुनावको समीक्षा गर्न केन्द्रीय समिति बैठक र महासमिति बैठक बोलाउनुपर्ने माग प्रमुखताका साथ उठाएको छ । 

महासमिति बैठकमार्फत विशेष महाधिवेशनमा गएर नेतृत्व परिवर्तन गर्नुपर्ने उनीहरुको धारणा छ । नेतृत्व परिवर्तन नगरेसम्म पार्टी अब सुध्रिन नसक्ने निष्कर्ष त्यसभित्रका धेरैजसो नेताको रहेको छ ।

यो समुहमा भण्डारीसँगै गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, बद्री पाण्डेय, गुरुराज घिमिरे र प्रदीप पौडेल रहेका छन् ।  उनीहरु आफु कुनै पनि गुट–उपगुटमा नलाग्ने र पार्टीमा विद्यमान परिपाटी परिवर्तन गरेर कांग्रेस बलियो बनाउने दाबी गर्दछन् ।

तर तिनैमध्येबाट देउवाले शर्मालाई प्रवक्ता बनाएपछि आफूहरुलाई नेतृत्वले यसैगरी फुटाउने निष्कर्षमा उनीहरु पनि पुगेका छन् । “पहिले विश्वदाइ हामीसँग रहन तयार देखिनुभएको थिएन,” एक युवा नेताले बाह्रखरीसँग कुरा गर्दै भने, “हामीले उहाँ नभइ हुँदैन भनेर पर्खियौं । करिब एकसातापछि उहाँ काठमाडौं आएर विशेष महाधिवेशन होइन, महासमितिसम्म जाने हो भने म पनि तयार छु भन्नुभयो । हामीले पनि विश्वदाइलाई नछाड्का लागि तत्काल यसरी नै जाउँ न भन्यौं तर त्यही सन्देश लिएर बालुवाटार गएर उहाँ प्रवक्ता बनेर आउनुभयो ।”

शर्माको कार्यशैलीसँग बाँकी युवा नेता सशंकित छन् । देउवाले यसअघि नेता गगन थापालाई प्रवक्ताको जिम्मेवारी दिने भन्दै पटक पटक छलफलसमेत गरेका थिए ।
अहिले थापा नेतृत्वकै विपक्षमा धारणा राख्दै अघि बढ्न थालेपछि देउवाले पनि युवा नेता शर्मालाई प्रवक्ता बनाइदिए ।

यसले गर्दा युवा नेतामै विवाद आउनसक्ने कतिपय नेताहरुको धारणा छ । तर यसै समुहमा रहेका धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल लगायतका नेताहरु आ आफ्नो गुटका नेताले बोलाएको बैठकमा सहभागी हुने गरेका छन् ।

युवा नेताको समुहमा रहेका शर्मा बाहेकका नेताहरु निर्वाचनको पराजय सभापति देउवाका कारण भएको दाबी गर्दै उनले राजीनामा दिनुपर्ने र ७० वर्ष उमेर पुगेका नेताहरुले राजनीतिबाट अवकाश लिनुपर्ने बताउँदै आएका छन् । तर पार्टी प्रवक्तासमेत रहेका शर्मा नेतृत्वको राजीनामा र अवकाशको पक्षमा देखिँदैनन् । 

आफुसहित ७ जना युवा नेताहरुको समुहले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशन बोलाउनुपर्ने र ७० वर्ष नाघेका नेताहरुले राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने माग नउठाएको शर्माको जिकिर छ । पुस १६ गते मेलमिलाप दिवसको दिन ७ जना युवा नेताहरुले विज्ञप्ति जारी गरेर कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चाँडै बस्नुपर्ने र त्यो बैठकमार्फत महासमितितर्फ जानुपर्छ भन्ने स्पष्ट धारणा रहेको उनको भनाई छ ।

गुट–उपगुट अन्त्य गर्न प्रवुद्धहरुको सुझाव 
 

प्रवुद्ध व्यक्तिहरुले नेताहरुलाई पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्न सुझाव दिएका छन् । 

अघिल्लो साता काठमाडौंमा भएको कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीले कांग्रेसमा पार्टीभित्र र बाहिर पटक पटक अवसर पाएका नेताहरुले नै ‘गनगन’ गर्ने परिपाटी रहेको टिप्पणी गर्दै अवसर पाउँदा ती केही पनि नबोल्ने गरेको बताए ।  उनले कांग्रेसका युवा नेताहरुलाई स्पष्ट दृष्टिकोणसहित पार्टी सुदृढीकरणका लागि जनतामाझ छलफलमा जान सुझाव दिए ।

डा. केदारनरसिँह केसीले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी सभापति शेरबहादुर देउवा एक्लैको मात्रै नभएर पार्टीको स्थानीय नेतृत्व पनि उत्तिकै दोषी रहेको बताए । उनले युवा नेताहरुलाई प्रतिवद्धतासहितको स्वेतपत्र जारी गरेर तल्लो स्तरसम्म छलफल, बहस, र अन्तरक्रिया गर्न सुझाव दिए । 

हरिहर विरहीले चुनावमा हार–जीत स्वाभाविक भए पनि कांग्रेसको मनोवल नराम्रोसँग खस्किएको बताए । मनोवल खस्किनु मुलुकको भविश्यका लागि राम्रो नभएको जिकिर गर्दै उनले पार्टीका नेताहरुको भनाई, बोलाई र गराईमा एक रुपता ल्याउन जरुरी रहेको बताए । 

छलफल कार्यक्रममा होमनाथ दाहालले मतदातालाई निरुत्साहित नगर्न आग्रह गर्दै धेरै नकारात्मक कुराहरु बाहिर जाँदा कांग्रेसका मतदाताहरुमा निराशा बढ्ने भएकाले त्यसलाई रोक्नु पर्नेमा जोड दिए । ‘सेतो धमिरो’ ले घरलाई क्षति पु¥याए जस्तै कांग्रेसभित्रको भागबण्डाले पार्टीलाई क्षति पुर्‍याएको उनको भनाई थियो । 

नेविसंघमा पनि उस्तै 

काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा पनि आन्तरिक विवाद चुलिएको छ । नेविसंघभित्र समानान्तर समिति मात्रै नभएर अनुशासन समिति नै समानान्तर ढंगले चलाइएको छ ।

अनुशासन समितिले आफ्नो विपक्ष समूहका नेताहरुसँग नै स्पष्टिकरण माग गरेको छ । अध्यक्ष नैनसिंह महरको कार्यशैलीलाई लिएर यसअघि पनि पटक पटक ध्यानाकर्षण गराउँदा पनि नभएको भन्दै अनुशासन समितिले अध्यक्ष महरसँग नै स्पष्टिकरण माग गरेको छ ।

अध्यक्ष महरले नै विधान विपरित काम गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले पुस ११ गते नै ध्यानाकर्षण गराएका थिए । अध्यक्ष महरको कार्यशैली नसच्चिए कडा कदम चाल्न बाध्य हुने चेतावनी केही विद्यार्थीहरुले यसअघि नै दिएका थिए ।

अध्यक्ष महर पक्षको अनुशासन समितिले समानान्तर गतिविधि गरेको, पार्टीका युवा नेताहरुलाई सहयोग गरेको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारीलाई नै स्पष्टिकरण सोधेको छ ।

अनुशासन समितिको संयोजक अम्बिका चलाउनेले सोधेको स्पष्टिकरण पत्रमा नेविसंघको केन्द्रीय समितिको समानान्तर गतिविधिमा संलग्न हुँदै आएकाले कारवाही किन नगर्ने भनी स्पष्ट पारिएको छ ।

उपाध्यक्ष अधिकारीलाई स्पष्टिकरण सोधेकै दिन महामन्त्री कुन्दन काफ्ले पक्षधरले अध्यक्षसँग नै स्पष्टिकरण सोधेको छ ।

महरलाई विधान विपरित चलेको, स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीकै उमेदवारविरुद्ध लागेको लगायतका आरोप लगाउँदै ३ दिनभित्र अनुशासन समितिलाई आफ्नो धारणा बुझाउन भनिएको छ ।

अर्को अनुशासन समितिका संयोजक एवम् सह महामन्त्री राजेश रौनियारले अध्यक्ष महर र समानान्तर अनुशासन समितिका संयोजक चलाउनेसँगै नै स्पष्टिकरण माग गरेका छन् । 

तपाईंको मत