चिसो चिसापानी

चिसो चिसापानी

– हाइवे


"भोलि एउटा ट्रिप प्लानिङ मिटिङ राखेको छु, आउनुहोला," 'हरियो ढुङ्गा' नाटक हेरेर शिल्पी थिएटरबाट बाहिरिँदै गर्दा अज्ञात सरले नयाँ वर्षको शुरुवाती हाइकिङ 'वान नाइट स्टे' वाला योजनाबारे रहस्योद्घाटन गर्‍यो ।

"हस् !!" आज्ञाकारी भावमा मुन्टो हल्लाएँ । एक हप्ताअघि बिहीबारको कुरो थियो ।

गौशालामा मिटिङ बस्यो– एउटा सामान्य होटलमा । सामान्य होटलको अर्थ- जहाँ मान्छे भोक लागेपछि मात्र जान्छन् अर्थात् जुन होटलमा ग्राहक पुग्नेबित्तिकै तातो पानी, मेन्यु र वाईफाई पासवर्ड आउँदैन । एउटा सानै टेबलको वरिपरि पाँच थान जिन्दगीहरु अडिए । प्लान अर्कै लेभलमा थियो मैले जानेसम्म ।

"चिसापानी जाने भैयो, तपाईं हाम्रो गाइड," अजयले एक लेभल अपको प्लानिङ सुनायो । पछिल्लो असारमा लड्दैपड्दै रातको ८ बजे पुगेको थिएँ म ।

अजयले अर्डर गर्‍यो, "दिदी, ३ वटा नेपाल आइस, दुई प्लेट भुटन, एक प्लेट चिउरा अनि प्याज ।"

टेबल भरियो । अब ट्रेकको कुरा सुरु भयो ।

"चिसापानी जाने भैयो, तपाईं एकपटक पहिल्यै गएको भर तपाईं हाम्रो गाइड," अज्ञात सरले भन्यो ।

तपाईं सोच्दै हुनुहुन्छ होला- 'सर' किन ? मैले अज्ञातलाई तिमी वा नामले बोलाएको म स्वयंलाई याद छैन । उसले मलाई पनि 'बाटो सर' भनेर सम्बोधन गर्छ । 'हाइवे'को नेपालीकरण रे ! हु इज सिरियस अबाउट नेम इन नेपाल !

असारमा झमझम पानी पर्दा चिसापानी गएको सम्झिएँ । राति ८ बजे पुगेको सम्झिएँ । हिँडेको बाटो सम्झिएँ । टाँसिएका जुका सम्झिएँ । थाकेका पिँडुला सम्झिएँ ।

"ओके, अर्को शनिबार जाने भैयो है त," अमिलो सम्झना गर्दै कन्फर्म गरियो । नेपाल आइस पग्लिसकेको थियो ।

प्लानिङ मिटिङ दोहोर्‍याइएन । हामीबीच शनिबार दिउँसो ११:३० बजे गौशालामा सुन्दरीजलको गाडी चढ्ने भद्र सहमति भएको थियो । कसैले कसैलाई फोन नगर्ने, समयमा पुग्ने, उतै भेट्ने । बस् नियम यही थियो ।

घटना घटेको दिन:

घटना भन्नाले चिसापानी उक्लिने दिन । लोकन्थली चोकमा गाडी कुर्नुभन्दा पहिले ३० मिनेट साथी कुर्नुपर्ने भो । उसले आएर बनाउन सक्ने बहानामा म पूर्व जानकार थिएँ । मान्छेलाई ढिलो हुँदा गाडीमा तेल हाल्नुपर्ने हुन्छ, ट्राफिकले चिट काट्सिन्छ, हावा हाल्नुपर्ने हुन्छ आदि इत्यादि । भद्र सहमति उल्लंघन हुने निश्चित थियो । कोटेश्वरमा त्यस्तै भयो । ५०० को भौचर ग्लोबल आईएमईमा जाने भो । गाडी बिस्तारै धेरै बेरपछि गौशाला पुग्यो । हामी ओर्लियौं ।

सुन्दरीजलको गाडी चाबहिलमा प्याक हुन्छ । अघिल्लै स्टेसनमा चढ्नुपर्छ । गाइडले जानेको एउटा कुरा लागू भयो ।

गोल्डस्टार संयोग

ड्रेस कोड थियो- माथि डाँडामा चिसो हुन्छ । लुगा बाक्लो हुनुपर्छ । सबले गम्म ज्याकेट लगाएका थिए । सबले एक-अर्काका जुत्ता हेरे- एकैथरीको, एउटै मोडलका गोल्डस्टार जुत्ता ।

"बाटोमा जुत्ताको फोटो खिच्नपर्छ है," दीपक सरले भने । सबैले सहमतिमा मुन्टो हल्लायौं । यात्रामा ४ थान गोल्डस्टारे- अज्ञात सर, अजय सर, दीपक सर र म ।

सुन्दरीजल-मूलखर्क

चेकपोस्टमा ५६ रुप्पे गोटाका चार वटा टिकट अनि झोलामा दुइटा मिनरल वाटर, दुइटै वाइवाइ चाउचाउ बोकेर डाँडा उक्लिन थाल्यौं । अरु जेसुकै होस्- शत्रुलाई पनि मध्यदिनको घाममा उकालो चढ्नु नपरोस् भन्ने कामना गरिन्छ । मूलखर्क उकालोमा चर्को घाम छिचोल्दै पुगियो । अन्तिम एउटा होटल, जसमा ६ महिनाअघि चिया पप खान बसिएको थियो ।

"दिदी ! चियाबाहेक केही तातो पाइन्छ ?" दीपक सरले खाजामा चनाआलु, समोसा, चाउमिन खोज्दै थिए शायद ।

"तातो त रक्सी छ्याङ तताएर दिए मात्र हो भाइ," पसले दिदीले रमाइलो गर्दै भनिन् । उकालो उक्लिँदा भोकले लखतरान पेटले तीन प्याकेट पप बुत्ताइसकेछ ।

मूलखर्क - चिसापानी

अब गाउँ छोडेर उकालो-ओरालो हिँड्नु थियो- लगभग २ घण्टाजति । घाम बिस्तारै मधुरो हुँदै थियो । शीत्तल भएको थियो । अगाडि देखिने हिमशृङ्खला अनि पश्चिम क्षितिजमा कतै अस्ताउन दौडिएको घामको पृष्ठभूमिमा हाम्रो टोली चिसापानी पुग्दैथ्यो । बाटोमा भेटिए क्यानेडियन परिवार । क्यानडामा बस्ने पुरुषले चीनकी महिलासँग बिहे गरेका रहेछन् । ९ वर्षकी छोरीलाई लिएर चिसापानी हिँडेका दम्पतीको पेसमा हिँड्न सकिएन । होटल खोजेर खानाको अर्डर पनि दिनु थियो । क्यानाडावाला दम्पती पछाडि कुनै घुम्तीमै बिलाए । हामी अघि बढ्यौं । चिसापानी गाउँ पुग्दा नपुग्दै घाम अस्ताएर रात परिसकेको थियो । पर गाउँको पहिलो घरको बत्ती परैबाट देखेपछि अजय सर चिच्चाए, "बल्ल आइपुगियो । तोइट ।"

रूम नं. १०५

चिसापानीमा थोरै होटल छन्- ४-५ वटा मात्रै । अरु गाउँमा छन् । असारमै बसेको उही पुरानो होटलमा पुगियो ।

"दिदी ! त्यो कुनाको रूम खाली छ ?" गाइड म नै थिएँ ।

"छ भाइ ।"

त्यो होटलमा थोरै (५-६ वटा) कोठा थिए । ठीक त्यसकै अगाडि भुइँचालोअघि एउटा अर्को होटल हुने गर्थ्यो । पाँच तलाको त्यो होटलको भुइँतला धस्सिएको छ, बाँकी जस्ताको तस्तै । त्यो होटलका दाजु-दिदी जीवन जिउन सिकाउने प्रेरक केही मान्छेभित्र पर्छन् मेरा लागि । न नाम थाहा छ, न अरु केही तर सकारात्मकता कुरा सिकाउने र अघि बढ्ने ऊर्जा पाउँछु, जब-जब म चिसापानी पुग्छु ।

त्यही होटल अनि त्यही कोठामा म फ्ल्यासब्याकतिर पुग्दै थिएँ । खाना पनि अर्डर गरियो ।

सोच थियो बीबीक्यू गर्ने अनि आगो ताप्ने । दुबै भएन । अब लागियो अन्य व्यवस्थापनतर्फ । आधा दर्जन बियर, भुटेको बदाम, भट्मास, सुकुटी अनि त्यहाँको स्पेसल अचार टेबलमा थियो, अनि थियौं हामी चार दाजुभाइ । नयाँ वर्षको इभ चिसो चिसापानीमा चिसो बियरसँग सट्टापट्टा हुँदै थियो । थोरै-थोरै खाना खाएर लागियो रूम नं. १०५ ।

"भाइहरु सनराइज हेर्ने भए ६:४० मा उठ्नू है, शुभ रात्रि ।"

"म त सधैं ४ बजे उठ्छु, भोलि टक्क सनराइज हेरिन्छ," अज्ञात सर जोस्सिनुको लजिक थिएन ।

फोनमा ६:३५ को अलार्म लगाए दीपक सरले । मलाई थाहा थियो- कोही उठ्दैनन् चिसोले । म फोन अफ गरेर सुत्दिएँ ।

सूर्योदय-ब्रेकफास्ट

घाम उदायो आफ्नै तालमा । हामीलाई किन कुर्थ्यो घामले । हामी घाम भेट्ने अवस्थामा थिएनौं । चिसोमा को उठोस् ! त्यही पुरानो घाम हेर्न अजय सर पहिलो ६:३५ को अलार्म बन्द गर्दै निन्द्रामा बुत्बुताए । सबै उठ्दा र नित्यकर्म सक्दा ९ बज्यो । घाम डाँडा छोडेर टाउकोमाथि आइसकेको थियो । ब्रेकफास्टको टिबेटन ब्रेड, अन्डा, चिया खाएर अब नयाँ गन्तव्य लाग्नु थियो । झुलेसम्मको ३ घण्टा पैदलयात्राका क्रममा बाटोमा केही भेटिन्न । न त गाउँ, त पानी खाने मुहान ।

झुले- जहरसिंह पौवा

हामीले सन् २०१७ लाई चिसापानी डाँडैमा छोडेका थियौं । लाक्पा दोर्जे हिमाललाई दाहिनेतर्फ राख्दै हामी हिँड्यौं झुलेतर्फ । पुग-नपुग ११ किलोमिटर दूरीमा पर्थ्यो झुले गाउँ- त्यसपछि झुले चेकपोस्ट । झुले गाउँ आएपछि पर कतै कंक्रिटको जङ्गल काठमाडौं देखिन थालेको थियो । झुलेबाट लगभग एक घण्टा ओरालो लागेपछि पुगिन्थ्यो जहरसिंह पौवा ।

चिसापानी शिवपुरी राष्ट्रिय निकुञ्जनजिकै पर्ने एउटा डाँडाको सुन्दर गाउँ हो । यो सिन्धुपाल्चोक जिल्लामा पर्छ । काठमाडौंबाट लगभग ५ घण्टा दूरीमा पर्ने एउटा स्वर्गको टुक्रा भनौं न । सुन्दरीजल, मूलखर्क अनि चिसापानी गरेर तीन सैनिक पोस्ट छिचोलेपछि पुगिन्छ चिसापानी अनि फर्किने आफूअनुकूलका बाटाहरु । सैनिक अर्थात् अनुशासन, सफा र सुरक्षा । निकुञ्जमा हिँड्ने हरेक पैदलयात्रुले आफूलाई महसुस गर्ने सुरक्षा र सुन्दर बाटाहरु सबै नेपाली सेनाका देन हुन् ।

जहरसिंह पौवा

चारदेखि साढे चार घण्टा निरन्तर हिँडेपछि जहरसिंह पौवा पुगिएको थियो । त्यहाँ साँखुको गाडी चढ्नु थियो । गाडी चढ्नुअघि खाना खानु थियो । एउटा होटल छिरियो । योपटक थपेरै खाइयो । अज्ञात सरले अर्ती दिँदै थिए, "खाना थप्नु हुन्न, पहिलोपटक जति आउँछ, त्यत्ति नै मात्र खानुपर्छ ।" अज्ञात सरले पूरै भ्रमणभरि यो दिव्यज्ञान दिइरहे । तर, भोका हामीले उनको त्यो अर्ती त्यही दालमा घोलेर खाइदियौं । अज्ञात सर भने आफ्नो कुरामा कटिबद्ध थिए । हु केयर्स ।

चोकमा गाडी पर्खिराथ्यो । हामीलाई नै कुर्दै थियो शायद । गाडीका खाली अन्तिम दुई सिटमा हामी अडियौं । अब दुई घण्टासम्म त्यो हाम्रो सिट थियो । गाडी बिस्तारै साँखुतिर दौडियो ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

सतप्रतिसत नतिजा यात्रालाई निरन्तरता दिने लक्ष्यमा मनाङ

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सतप्रतिसत नतिजा यात्रालाई सातौं खेलमा पनि निरन्तरता दिने लक्ष्यमा रहेको मनाङ मर्स्याङदी क्लबले

काठमाडौं–जनकपुर साइकल यात्रा सुरु

काठमाडौं । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साइकल यात्रा सुरु भएको छ । हिन्दू धर्मको पवित्र तीर्थस्थल काठमाडौंको

लाहुरेको यात्रासंस्मरण

– भैरव अर्याल एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे । अब म कत्रो वीर

एउटा अपूरो यात्रा

–अनुज घिमिरे मानव सभ्यतासँग खोला वा पानी धेरै अगाडिबाट जोडिएको छ । धेरैजसो प्राचीन सभ्यता सबै पानीको वरिपरि बसेको पाइन्छ ।