site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘पर्फेक्सनिस्ट’ वहीदा
Ghorahi CementGhorahi Cement

– विजेता चौधरी


सानो छँदा गीत बज्यो कि नाचिहाल्ने बानीले धेरै गाली र केही ताली पाएको धमिलो सम्झना छ । कुन भाषाको गीत बज्यो थाहा हुन्थेन तर संगीतको धूनमा ताल–बेताल नाच्नुपर्ने । जनकपुरमा हिन्दी, नेपाली र मैथिली गीत खुब बज्थे तिनताका । बज्न त आज पनि बज्छन् तर अचेल भोजपुरी भड्किला गीत बढी घन्किन थालेका छन् ।

घरमा उसबेलाको टेपरेकर्डर थियो । ‘काँटोँ से खिँचकर ये आँचल’ भन्ने गीतमा नाच्दै हुर्केको हिजैजस्तो लाग्छ । आज पनि यो गीत कतै सुन्दा बाल्यकालीन चित्रपटहरू स्मृतिमा उत्रिन्छन् ।

Agni Group

बुझ्ने उमेर भएपछि बल्ल यो गीत भएको चलचित्र ‘गाइड’ हेर्ने हुटहुटी जागेर आयो । हेरें पनि । फिल्म हेरेपछि ‘काँटोँ से खिँचकर ये आँचल’ गाउँदै नाच्ने रोजी चरित्रलाई बिर्सन सकिन्न जस्तो लाग्यो ।

भारतीय हिन्दी सिनेमामा जहिले पनि नायक हावी भइरहे । अझै पनि नायककै वर्चस्व कायम छ । तर, बलिउडमा केहीमात्रै भए पनि त्यस्ता नायिका भए, जसले फिल्ममा आफ्नो अभिनय क्षमताको बलले नायकत्व प्राप्त गर्न सके र त्यस्तो चरित्र अमर पनि भयो । त्यस्तै एक नायिका हुन्, वहीदा रहमान ।

Global Ime bank

उनको फिल्मी करिअरमा केही यस्ता जबर्जस्त भूमिकाहरू छन्, जुन आज पनि स्मरणीय र उत्तिकै सान्दर्भिक लाग्छन् । वहीदा रहमानले ‘गाइड’ फिल्ममा निभाएको रोजीको भूमिका त्यस्तै जबर्जस्तमध्येको एक हो । वहीदाले ‘तीसरी कसम’मा खेलेको हिराबाई र ‘प्यासा’को गुलाबो चरित्रलाई पनि उत्तिकै सम्झिइन्छ । वहीदाको फिल्मी यात्राका यी तीनैवटा भूमिकाले अत्यन्त महत्वपूर्ण स्थान राख्छन् ।

महिलालाई नायक नै बनाउने गरी फिल्म निर्माण नभए पनि ती चलचित्रमा उठाइएको महिलाकेन्द्रित विषय र सो भूमिकामा वहीदाको बोल्ड अभिनयले उनलाई मूल रोलमा उभ्याएको मात्रै छैन कि उनले निभाएको चरित्र प्रतिनिधि पात्रजस्तै अमर भएका छन् ।

‘गाइड’ भारतीय लेखक आर. के. नारायणनको उपन्यास ‘द गाइड’माथि आधारित भएर बनाइएको हो । उपन्यासको तुलनामा फिल्ममा केही परिवर्तन गरिएका छन् । ‘गाइड’को कथावस्तु पनि अत्यन्तै सशक्त छ । रोजीको महत्वाकांक्षी रहर एकातिर नृत्यमा केही गरेर देखाउने र नाम कमाउने छ भने यौन पेशा अपनाउने समुदायकी भएकीले उनकी आमाले सभ्य केटासँग बिहे गरिदिएर छोरीलाई सो नर्कबाट मुक्त गर्न चाहन्छिन् । रोजीको विवाह एउटा अनुसन्धानकर्ता मार्कोसँग हुन्छ, जो निरसमात्रै छैन कि रोजीलाई प्रेमसमेत दिन सकिरहेको छैन । पुराना गुफाहरूको खोज गर्न श्रीमानसँग गएकी रोजीको जीवनमा राजु गाइडको आगमन हुन्छ । प्रेम, महत्वाकांक्षा र मानसिक अवस्थाको सफल चित्रण छ ‘गाइड’मा ।

शीर्ष रोल गाइड त नायक देव आनन्दको नै थियो तर यो फिल्मको हिरो भने वहीदा भइन् । रोजीको भूमिकामा वहीदा रहमान जसरी डुबेकी छन्, त्यसरी नै फिल्मका गीतकार, कथाकार र निर्देशकको काम पनि प्रभावकारी देखिन्छ । त्यसो त रोजीको भूमिकालाई महत्वपूर्ण र जीवन्त बनाउनमा नायक देव आनन्दको व्यक्तित्व र भूमिकालाई पनि बिर्सन सकिन्न ।

अहिले चरित्र र विषयवस्तुको उठानका आधारमा आमीर खानलाई ‘पर्फेक्सनिस्ट’ भन्न थालिएको छ । वास्तविक कलाकार त्यो हुन्छ, जो आफूलाई बिर्सेर चरित्रमा छिर्न सक्छ । ‘गाइड’मा पनि देव आनन्दको भूमिकालाई हेर्दा त्यो राजु गाइडभन्दा फरक लाग्दैन । उनले आफूलाई पूरै गाइडको चरित्रमा ढालेका छन् भने वहीदाले पनि रोजीको चरित्रलाई आफूभित्रै समाहित गरेकी छन् ।

हिन्दी साहित्यिक पत्रिका ‘कादम्बिनी’मा वहीदाले एकपल्ट भनेकी थिइन्, “गाइड मेरो सर्वश्रेष्ठ फिल्म हो ।”

उनले ‘गाइड’मा आफ्नो नृत्य क्षमता पूरै प्रष्फुटन भएको पनि बताएकी छन् । पूरै फिल्ममा सबैभन्दा दमदार दृश्य सम्झनु पर्दा उनले गुफाभित्र गएर मार्कोलाई थप्पड मारेको सम्झिने बताइन् । तर, दर्शकले भने श्रीमानसँग झगडा भएपछि रोजीले पूरै तनावको मूडमा गरेको नागीन नृत्यलाई सराहना गरेका थिए । प्रतीकात्मक रूपमा त्यो नृत्यले रोजीको मनोदशालाई गम्भीर चित्रण गरेको छ ।

वहीदाले अन्तर्वार्तामा भनेकी छन्, “फिल्मको गहिराइमा गएर चरित्रहरूकै दृष्टिकोणले हेर्दा राजु गाइडको चरित्र होस्, रोजीको वा मार्केको, सबै उपयुक्त र सशक्त छन् । फिल्मका प्रमुख कलाकारमध्ये कोही पनि खराब थिएनन् । तीनैजनाको आफ्नो इच्छा र सपना थियो, जसलाई उनीहरू पूरा गर्न चाहन्थे । ‘गाइड’ फिल्मको विषय नै त्यस्तो थियो, जसले गर्दा यो सदावहार बन्न पुग्यो । आम प्रेमकथाभन्दा एकदमै फरक छ ‘गाइड’को कथा ।”

फिल्मका सबै दृश्य प्राकृतिक लागे पनि अन्त्यतिर भने कथा अलिकति बगेको छ । सबै परिस्थितिसँग वाक्क भएर राजु गाइडले संन्यास लिएको देखाइएको छ । रोजीसँग प्रेम, मनमुटाव र अन्ततः जेल सजाय भोगेको राजु जेलबाट छुटेपछि कता गयो भन्ने दृश्य देखाइएको छैन । राजुलाई साधु बनाउनु, उनीप्रति गाउँलेको अन्धविश्वास हुनु र राजुलाई ईश्वर देखाउनुजस्ता सांकेतिक कुराले अर्कै कथा बोलेका छन् ।

वहीदाको जबर्जस्त अभिनयले पनि सदाबहार बनाएको ‘गाइड’का निर्देशक चेतन आनन्द थिए । उनले फिल्ममा पहिले वहीदालाई लिन चाहेका थिएनन् । पछि देव आनन्दको सुझावअनुसार वहीदा अनुबन्धित भएकी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC