साहित्य र कला

जब रणवीरको फोन आयो...

– नरेश फुयाँल


मोबाइलको घण्टी बज्यो । भोलाले खल्तीबाट मोबाइल निकाले । स्क्रिनमा लेखिएको थियो– रणवीर कपुर कलिङ । कल रिसिभ गरे ।

रणवीरले सोधे, “कस्तो छ तिमीलाई ?”

“ठीकै छ,” भोलाले छोटो जवाफ दिए ।

“सबैलाई ठीकै छ ?”

भोलाको जवाफ उही थियो, “हजुर ठीकै छ ।”

“ओके, टेक केयर !” रणवीरले फोन राखे । 

वि.सं. २०७२ वैशाख १२ । भूकम्पले देश तहसनहस भएको थियो । त्यो समाचार छिनभरमै विश्वभर ‘भाइरल’ भएको थियो । रणवीरले पनि समाचार थाहा पाए । चलचित्र ‘बर्फी’मा सँगै काम गरेका भोलालाई सम्झिएर रणवीरले फोनमा हाल खबर सोधेका थिए ।

 

० ० ०

 

एकदिन एक्कासि निर्देशक प्रशान्त रसाइलीको फोन आयो । हिन्दी चलचित्रमा उनी असिस्टेन्ट डाइरेक्टरको काम गर्थे । भने, “भोला, तिमी भोलि नै हिँडिहाल त ।”

विवाह गरेको तेस्रो दिन थियो, उनी हेटौंडा (घर)मै थिए । बिहे गरेर बचेको अलिअलि पैसा पनि थियो । त्यही पैसा बोकेर हेटौंडाबाट काँकडभिट्टाको गाडी चढे । काँकडभिट्टाबाट बागडुरा, त्यहाँबाट प्लेन चढेर कोलकाता पुगे । पुगेकै भोलिपल्ट उनले अडिसन पाए ।

निर्देशक अनुराग बासुले भने, “तपाईंले आजसम्म गरेका मध्ये कुनै डाइलग बोल्नुस् ।”

अनुरागले एउटा सिन पनि दिए, “बाउ बिरामी छन्, हस्पिटलमा राखिएको छ तर पैसा छैन, त्यस्तो अवस्थामा तपाईं के गर्नुहुन्छ ? देखाउनुस् ।”

दुई मिनेट लिएर भोलाले अभिनय देखाए ।

“सेलेक्ट हुनुभयो भने पछि बोलाउँला,” अनुरागले भने ।

भोलाको मन अमिलो भयो । ६ हजार खर्च भइसकेको थियो, फर्किंदा ६ हजार हुनेवाला थियो । कुल खर्च १२ हजार । खर्चमाथि खर्च ! बेकारै होलाजस्तो छ– मनमा कुरा खेल्यो । फर्किए । के होला, के होला– दोधार थियो । ४० भन्दा धेरै थिए अडिसन दिने ।

अचानक एकदिन अनुरागका प्रोडक्सन म्यानेजर प्रदीप दासले फोन गरे । मन त्यसै बतासझैं उड्यो आकाशमा । तर, जसरी उडेको थियो, त्यसैगरी जमिनमा बजारियो पनि, जब प्रदीपले भने, “तपाईंको दोस्रो अडिसन लिनुपर्ने भयो । भोलि नै आइपुग्नू है ।”

काठमाडौंबाट सीधै मुम्बई पुगे । ११ हजार रुपैयाँ भाडा थियो । अडिसन दिने ठाउँसम्म पुग्दा १६ हजार खर्च भइसकेको थियो । प्रदीपले त्यहाँको राम्रो होटलमा बस्न भने ।

“बस्न त बसियो तर त्यो होटल निकै महँगो थियो । काम भए त ठीकै हो, नत्र खर्चमात्रै बढ्ने भयो,” भोलाले दोस्रो अडिसनका लागि जाँदाको दिन सम्झिए, “मनमा खर्चको ढ्याङग्रो बजिरहन्थ्यो ।”

भोलिपल्ट अडिसनस्थल पुगे, ‘स्क्रिन टेस्ट’ गरे । उनको कपाल लामो थियो । काटेर फेरि ‘स्क्रिन टेस्ट’ गरे ।

“ओके, भोलिबाट सुटिङमा जाने,” अनुरागले यसो भनिसक्दा भोलाको मुटु शून्यबाट एकैपटक सयमा पुग्यो ।

“ह्वाट ?” मनैमन चिच्याए, “बलिउड इन्ट्री ?”

भोलाको मनले दोस्रोपटक आकाश छोयो । प्रदीपले भोलालाई सुटिङका लागि कपडा किन्न लगे ।

भोलि बिहानबाट सुटिङ सुरु हुँदैछ । न भोलाको हातमा पटकथा छ, न उनलाई कथाबारे नै केही भनिएको छ । न त चलचित्रमा हिरो÷हिरोइन नै को छन् भन्ने थाहा छ ।

 

अर्को दिन––

 

भोला सुटिङस्थल पुगे । अनुरागले कसैलाई देखाउँदै सोधे, “उहाँलाई चिन्नुहुन्छ ?”

रणवीर कपुर ! नचिन्नै कुरै भएन । उनी एकछिन अक्क न बक्क परे ।

चलचित्रमा आफ्नै भूमिकाबारे उनलाई कसैले केही भनेको थिएन ।

प्रशान्तले भने, “रणवीरको को–एक्टरमा एकजना हिरोइन छिन् । रणवीर बाहिर गएका बेला उनी भाग्न खोज्छिन् । तिमीले उनलाई रोकेर राख्नुपर्छ । यो तिम्रो पहिलो सिन हो, आज गर्ने ।” 

प्रशान्तले थपेका थिए, “हामी गोर्खाली हौं, काम गर्न सक्छौं भन्ने यिनीहरूलाई दोखाउनु पर्छ ।”

पालो भोलाको टेकको आयो । बलिउड स्टार रणवीरको सेटमा उत्रिँदै थिए भोला । डरले मुटु कामिरहेको थियो । र, सेटमा उत्रिए पनि ।

पहिलो टेकमै ताली बज्यो । पहिलो टेकमै ‘ओके’ खाए उनले । छाती ढक्क फुल्यो ।

पहिलो दिनको सुटिङ सकियो । सबै आ–आफ्नो चेन्जिङ रुम गए । भोला लुगा फेर निस्किए । रणवीर पनि निस्किए । रणवीरकी नायिका पनि चेन्जिङ रुमबाट निस्किइन् । 

अरे वा ! प्रियंका चोपडा ?

भोलाले दिनभर आफैंसँग अभिनय गरेकी नायिकालाई चिन्नै सकेनछन् । आफैंलाई लाज लाग्यो ।

चलचित्रको सुटिङ सकिने बेलातिर प्रियंकालाई दार्जिलिङमा बल्ल भने, “तपाईंलाई मैले पहिलो दिन चिन्नै सकिनँ नि !”

“हो र ? म त्यति नचिनिने देखिएकी छु र ?” प्रियंकाले भनिन् ।

मुसुक्क हाँसेर भोलाले टाउको हल्लाए ।

भोलाले चलचित्र खेल्न सुरु गरेपछि मात्रै थाहा पाएका थिए, उनी हिरोको सहायक भूमिकामा छन् भन्ने ।

भोला नेपाली हुन् । उनको भाषा नेपाली हो । नेपाली नागरिक, नेपाली भाषा, बसोबास नेपाल, बोलीमा लवज नेपाली आउने नै भयो ।

एकदिन उनले लामो संवाद बोल्ने सिन थियो । उनको लवज नेपाली आयो । केही टेक लिए । भिलेन सौरभले भने, “यसले काम गर्न सक्दैन ।”

रणवीरले भोलाको समर्थन गरेर भने, “ऊ थिएटरबाट आएको आर्टिस्ट हो, उसले राम्रोसँग गर्न सक्छ ।”

झन्डै आठ महिना चल्यो सुटिङ । भोलालाई निकै रमाइलो लाग्यो । विश्वकै दोस्रो ठूलो सिने उद्योग र त्यसका स्टारहरू रणवीर÷प्रियंकासँग ‘स्क्रिन सेयर’ गर्दै थिए । पारिश्रमिक मोटो थियो । त्यसको प्रभाव नेपाली चलचित्र बजारमा पनि पर्नेवाला थियो । रमाइलो पनि किन नहोस् !

सुटिङ सकियो । भोला घर फर्किने दिन आयो । भोलि बिहानपल्टको उडान थियो । रणवीरले भोलालाई अफर गरे, “घुम्न जाऊँ ।”

भोलाले ‘मिस’ किन गर्थे ! रणवीर आफैं आए, भोलालाई लिन उनी बसेको होटल पुगे । रणवीरले आफैं ड्राइभ गरे । साँझ मदिरा पिए । गफगाफ भयो । बसाइ रमाइलो भयो । 

बिहान ७ बजेको फ्लाइट थियो । उनीहरू ९ बजेमात्रै ब्युँझिए । फ्लाइट छुट्यो । उनी अर्को दिनको फ्लाइटबाट फर्किए ।

यस्ता धेरै किस्सा छन्, जसकै कारण रणवीर र भोला असल मित्र बने । ९ महिनासम्म उनीहरूको ‘तँ तँ’ र ‘म म’ जस्तै चल्यो ।

त्यही ‘बर्फी’बाट रणवीरले ‘आइफा अवार्ड’ जिते । अवार्ड समारोहमा उनले भोलाको नाम पनि लिए । स्टेजमा बोल्दै उनले भने, “काठमाडौंका भोलासँग अवार्ड सेयर गर्न चाहन्छु ।”

 

० ० ०

 

“शायद म उतै बसेर केही वर्ष बलिउडमै संघर्ष गर्नु पथ्र्यो कि जस्तो लाग्छ,” भोला आफैंलाई समीक्षा गर्छन्, “तर, नेपाल फर्किएँ, यतैका चलचित्रमा काम गर्न थालें । उतासँग मेरो सम्बन्ध टुटेको भने छैन, समय अझै घर्किएको छैन ।”

भोलाले बलिउडबाट सिकेको चाहिँ ‘प्यासन’ हो । गर्छु भनेपछि गर्छु गर्छु खाले । “स्क्रिप्टमा भएको एक इन्च पनि तलमाथि हुँदैन उनीहरूको । गर्ने भनेको जसरी पनि गराएरै छाड्छन्,” भोला भन्छन्, “तर, नेपाली चलचित्रको सेटमा प्रत्येक सिन परिवर्तन हुन्छ । पलपलमा सम्झौता हुन्छ । शायद त्यही भएर पनि स्तरीय चलचित्र बन्न सकेनन् कि ?”

भोलाका नजरमा बलिउडका चलचित्रकर्मी धेरै नै व्यावसायिक छन्, जो नेपाली भर्खर सिक्दैछन् । सेटमा जानुअघि सघन रिहर्सल हुन्छ, जुन नेपालमा निकै कम हुन्छ ।

“बलिउडका कथा जति दमदार हुन्छन्, शायद हाम्रा कथा त्यति नै फितला पो भए कि ?” बिट मार्दै भोलाले भने ।
 

तपाईंको मत