Skip Advt.

सुषमा

सुषमा

–  महेश पौड्याल


स्कुलले अभिभावक दिवस मनाउने निर्णय ग¥यो । सहरको स्कुल, तामझाम नहुने त कुरै भएन । बैठक बोलाइयो । बैठकमा मैले कार्यक्रममा प्रस्तुत गरिने सांस्कृतिक र साहित्यिक पाटोको ‘इन्जिनियरिङ’ गर्ने दायित्व पाएँ । मलाई मन पर्ने क्षेत्र भएको हुँदा यो दायित्व पाउँदा म खुसी भएँ । दायित्वसँगै चेतावनी पनि पाएँ, “सर, कार्यक्रम अत्यन्त रोमाञ्चक हुनुपर्छ है । ३ लाख रुपैयाँ खर्च हुँदैछ ।”

तयारी द्रुतगतिमा चल्यो । कार्यक्रमको अघिल्लो दिन सबै बसेर अन्तिम तयारीको समीक्षा गरियो । प्रस्तुतिका लागि योग्य कार्यक्रमहरूको छनोट पनि गरियो । कार्यक्रम रोमाञ्चक हुने कुरामा कसैलाई शङ्का रहेन ।

समीक्षा र अन्तिम छनोट सकेपछि सबै विद्यार्थी घर हिँडे । हामी पनि आ–आफ्नो बाटो लाग्ने तर्खर गर्‍यौँ ।

घर जान म गेटमा मात्र के पुगेको थिएँ, सुषमाले मेरा हात समातिन् र भनिन्, “सर, मलाई केही भन्नु थियो ।”

म छक्क परेँ । के भन्न आँटिन् सुषमाले ?

डक्टरले सुषमालाई ‘सुस्त मनस्थितिकी बालिका’ भनी घोषणा गरेको धेरै भएको थियो । उनकी आमा, प्राध्यापिका विमला शर्मा स्कुलमा आएर किचकिच गर्दै भन्थिन्, “मेरी छोरीले घरमा सबै कुरा गर्छे, सोधेको कुरा पनि भन्छे । असाध्यै बाठी छ । ऊ स्कुलमा किन फेल हुन्छे ? यो स्कुलले मेरी छोरीलाई कहिल्यै चिनेन ।”

सुषमाकी आमाका कुराले मलाई झस्क्यायो । मैले झक्झक्याएपछि स्कुलले आफ्नै पहलमा एकपल्ट देशका एक वरिष्ट मानोचिकित्सकको सल्लाह लिने निधो गर्‍यो । चिकित्सको निर्णय आयो, “सुस्त मनस्थिति ।”

अभिभावकसँगको बैठकमा सुषमाकी आमालाई हामीले यो निर्णय सुनायौँ र भन्यौँ, “अध्ययनका लागि सुषमाको दिमागले विशेष वातावरणको माग गर्छ र हाम्रोजस्तो स्कुलमा त्यो सम्भव छैन ।”

तर, उनी हाम्रा कुरा स्वीकार्न तयार भइनन् । बरु रुँदै भनिन्, “मेरी ज्ञानी छोरीलाई लाटी तुल्यायो यो स्कुलले । म चिन्दिनँ मैले जन्माएकी छोरीलाई ?”

तीनै सुषमा मलाई केही भन्न तम्सिएकी थिइन् । मैले उनलाई बोल्न अनुरोध गरेँ ।

“सर मैले कविता लेखेकी छु । म भोलि कविता पढ्छु नि कार्यक्रममा ।”

“खै हेरौँ तिम्रो कविता,” मैले मागें । उनले एउटा कागजको टुक्रोमा लेखेको ‘कविता’ मलाई दिइन् । मैले पढेँ त्यो रचना । त्यसमा न तुक थियो, न ताल थियो, न छन्द थियो, न नै हिज्जेको कुनै हिसाब ।

मैले माथिको चेतावनी सम्झेँ । ३ लाखको कार्यक्रममा यो स्तरको कविताले रोमाञ्च ल्याउला ? मैले सोझै टारिदिएँ उनलाई, “हेर, म अति व्यस्त छु । ऊ त्यहाँ राहुल सर हुनुहुन्छ । जाऊ उहाँलाई देखाऊ ।”

आज्ञाकारी सुषमा राहुल सरको छेउमा पुगेर उभिइन् । 

केही वार्ता भयो । सरले ‘कविता’ पढ्नुभयो । उहाँबाट सुषमालाई मोहन सरलाई भेट्ने निर्देशन भयो । मोहन सरले उनलाई पुनः मकहाँ पठाउनुभयो ।

पुनः मेराअगाडि आइपुगिन् सुषमा । मैले भनेँ, “आज अबेर भयो हेर, मलाई भोलि बिहान भेट ल ।” 

‘हुन्छ सर’ भन्दै उनी घरतिर लागिन् । 

भोलिपल्ट म कोट–प्यान्ट र टाई लगाएर स्कुल पुगेँ । सुषमालाई गेटमा प्रतीक्षारत देखेपछि म पछिल्तिरको बाटोबाट प्रवेश गरेँ । केही क्षणमै मैले निर्देशन गरेँ, “बच्चाहरू पहेँलो बसमा चढेर कार्यक्रमस्थल जाने, सर र म्याडमहरू सेतो बसमा ।” यसरी सुषमासँगको प्रभातकालीन भेटको सम्भावनालाई मैले पूर्णतः टारिदिएँ ।

म भने ट्याक्सीमा गएँ । खचाखच भरिएको बसमा जाँदा कपडा खुम्चेलान् कि भन्ने डर थियो मलाई ।

कार्यक्रम सुरु भयो । म ‘ठूलो’ मान्छे, मञ्ममा बसेँ । मैले भाषण पनि गरेँ, अंग्रेजीमा । मेरो किताब पनि विमोचन भयो, बालसाहित्यको । मेरो भाषणमा मूलतः बालमनोविज्ञानका कुरा आए र अरु स्कुलभन्दा फरक हाम्रो स्कुलमा हरेक बच्चाले न्याय पाउने दावी पनि गरेँ । म माथि थिएँ मञ्चमा, मन्त्रीज्यू र प्रिन्सिपल सरसँगै । सुषमा तल थिइन्, विद्यार्थीहरूको हूलमा । मैले बोलेका हरेक वाक्यपछि उनले ताली मारेकी थिइन् ।

सांस्कृतिक कार्यक्रम सुरु भयो । स्मारिका पनि निस्कियो, लेख्न जान्नेहरूको लेख–रचना सँगालेर । गाउन जान्नेले गीत गाए, नाच्नमा माहिर भएकाहरू नाचे । नाटक पनि मञ्चन भयो । हरेक कार्यक्रमपछि गडगडाउने तालीहरूमा तीव्रतम ताली सुषमाको थियो ।

कार्यक्रम सकियो । म सबैको हिरो भएँ । मेरो घमण्डले खूब मलजल पायो । 

भोलिपल्ट स्कुलमा समीक्षा भयो । मलाई शब्दगुच्छाले खूब अभिनन्दन गरियो । प्रिन्सिपलले अपरिमित खुसी व्यक्त गर्दै मेरो निधारमा अबिरको टीको पनि लगाइदिए । यत्तिका वर्षमा यति रोचक कार्यक्रम कहिल्यै प्रस्तुत भएको थिएन । एकजना अभिभावकले फोन गरेर समेत भन्नुभयो, “सर, ग्रेट । हरेक कार्यक्रम बालबालिकाको सिर्जनशीलता र मनोविज्ञानमा केन्द्रित थियो ।”

बैठकमा हिरो भएपछि म कक्षामा गएँँ । “कार्यक्रम कस्तो लाग्यो ?” मैले विद्यार्थीहरूलाई सोधेँ । सबैले हात उठाउँदै उत्साहसँग भने, “वेरी नाइस्, सर ।” सबैभन्दा पहिले हात उठाएर यसो भन्ने विद्यार्थी पनि सुषमा नै थिइन् । 

स्कुलको अन्तिम घण्टी लाग्यो, हामी सबै घर जान लाग्यौँ । बाटोमा सुषमा मसँगै हिडिन् ।

“सर, अर्को वर्षचाहिँ म पनि कविता पढ्ने नि !”

मैले केही जवाफ दिइनँ । ३ लाखको कार्यक्रम रोचक भएको थियो । म हिरो भएको थिएँ । मेरो निधारमा अबिर आलै थियो । मैले सुषमालाई पुलुक्क हेरेँ । उनी कति खुसी थिइन् !

मलाई सुषमाको अबोध खुसीले भित्र कताकता कोतरेको अभास भयो । सोचेँ– सबैको स्कुल, कार्यक्रम सबैको । सुषमा कहाँ थिइन् ? उनले कविता पढेकी भए के हुन्थ्यो ? सुस्त मनस्थितिकी ती बालिकालाई कविताका लागि मञ्चमा लगेर उभ्याउन मात्रै सकेको भए त्योभन्दा सुन्दर कार्यक्रम के हुन्थ्यो ?

म घर पुगेँ । मेरो निधारको अबिर चिलाउन लागेको थियो । म सम्झिरहेको थिएँ, कहिलेकाहीँ बिग्रिएको हिज्जेमा ‘सर आई लभ यू वेरी मच’ भनेर मेरो मोबाइल फोनमा आउने छोटो सन्देश सुषमाकै हुन्थ्यो ।

म ओछ्यनामा पल्टिएँ । मेरो मानसपटलमा दुईवटा कुरा एकपछि एक खेलिरहे । पहिलो– स्कुलले खर्च गरेको ३ लाख रुपैयाँ । र दोस्रो, सुषमाको उड्न नसकेको विकलाङ्ग कविता ।

आफूमाथि अन्याय भएको कुराको अनुभूतिसम्म गर्न नसक्ने विचरी सुषमाको ‘आइ लभ यू सर’ को मोल कति हुन्छ ? मैले आफैँलाई सोधिरहेँ । रातभरि निद्रा परेन । 

भोलिपल्ट बिहानै म सुषमालाई भेट्न उनकै निवास पुगेँ । केही महिनापछि जुन दिन सहरको एउटा नामी पत्रिकामा उनको सम्पादित कविता छापियो, त्यसै दिन मैले स्वेच्छाले स्कुलबाट राजीनामा दिएँ ।

अचेल सुषमा र म सहरको कुनै अर्कै विद्यालय परिवारका सदस्य छौँ ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

सुषमाको लघुकथा कृति ‘अनावरण’को लोकार्पण 

ललितपुर । कथाकार सुषमा मानन्धरको लघुकथा संग्रह ‘अनावरण’को शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरियो । २४ लघुकथाहरुको संगालो

सुषमा स्वराज चढेको विमान जब १४ मिनेट सम्पर्कविहीन भयो ...

बीबीसी । भारतीय विदेश मन्त्री सुष्मा स्वराज ब्रिक्स देशहरुको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् । सुष्मा स्वराजले दक्षिण

इराकमा वेपत्ता ३९ भारतीय अब जिउँदा छैनन् : सुषमा स्वराज

बीबीसी । भारतीय विदेश मन्त्री सुषमा स्वराजले इराकमा वेपत्ता ३९ भारतीय नागरिकको हत्या भइसकेको बताएकी छन् । राज्यसभालाई सम्बोधन गर्दै

सुषमाको सद्भाव

चिसो काठमाडौंमा औपचारिक निम्ताबिनै प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेषदूतका रूपमा विशीवार टुप्लुक्क आइपुगेकी भारतकी विदेश मन्त्री सुषमा स्वराज यहाँको भलाकुसारी सकेर