site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘डेरा सरेका’ चट्याङ मास्टर
Ghorahi CementGhorahi Cement

– अक्षर काका


अचेल गुमनाम छन् हास्यव्यंग्यकार चट्याङ मास्टर । हास्यव्यंग्यको माध्यमबाट सबैको पेटमा काउकुती लगाउने र समाजका बेथितिको उतार्नी गर्ने कुष्णमुरारी गौतम उर्फ चट्याङ मास्टर मञ्चमा नगुञ्जिएको ९ वर्ष भयो ।

४० को दशकदेखि नेपाली हास्यव्यंग्यमा अड्डा जमाएका चट्याङ मास्टरले पछिल्लो समय डेरा सारेका छन् र वृद्धवृद्धाको क्षेत्रमा रमाइरहेका छन् ।

Agni Group

कृषि अनुसन्धान अधिकृत, हास्यव्यंग्यकार हुँदै वृद्धावस्थाको अनुसन्धानतिर आकर्षित भएका गौतम शुक्रबार बत्तीसपुतलीस्थित आफ्नै निवासमा भेटिए र ‘बाह्रखरी’सँग गफिए ।

व्रतवन्ध गरेपछि घर चिनेँ

Global Ime bank

भक्तपुरको झौखेलमा जन्मिए कृष्णमुरारी । विक्रम् सम्वत् २०१० सालमा । हजुरआमा र कान्छा बाबुको असाध्यै लाडप्यारमा हुर्र्किए ।

१०–१२ घरको गाउँ । लस्करै घर । कुन हो आफ्नो, छुट्याउन नसकिने । टोलमा एकैपटक पाँच भाइछोराहरू जन्मिएका, त्यसमध्ये उनी माइलो । कुनै रोकतोक थिएन । जुन घरमा खाए, खेले पनि हुन्थ्यो ।

तर, पाँच वर्षको उमेरमा अनौठो भयो । तिनताका पाँचै वर्षमा चुडाकर्म गरिदिने चलन थियो । पहाडी भेगमा पुरुषहरूको औसत आयु ज्यादै कम थियो । प्रौढ नढल्किँदै व्याधीले झम्टिइहाल्थ्यो । अन्तिम संस्कारका लागि बाटो फुकाउन बालखैमा व्रतवन्ध चलनकै रूपमा विकास भयो । उनको व्रतवन्ध पनि बालखैमा भयो । त्यसअघिसम्म सबैका घरद्वार डुलेर खाइखेली गरेका कृष्णमुरारीका दिनचर्यामा लगाम लाग्यो । सञ्जे नभनी भात खान नपाउने भए ।

टोलका सबै घरलाई ‘आफ्नै’ ठानेका उनलाई कसैले औँल्याइदियो, “तेरो घर ऊ त्यही हो ।”

जम्मै घरलाई आफ्नै ठानेका उनको बल्ल नेत्र खुल्यो ।

बिग्याहा बालक

बाल्यकाल र बिगो एकअर्काका चिनारी हुन् । चकचके नभए के बालक ? स्वाभाविकै लाग्छ । तर, उनी औधी बिग्याहा थिए । “मैलेजति बिगो जिन्दगीमा शायदै कुनै बालकले गर्‍यो,” किताबझैँ खुलस्त छन् उनी ।

टोलका अँगेनामा बसालेको दूधको तर मार्नु उनको दैनिकी थियो । ठेकीको बिर्को खोलेर सकेजति दही खान्थे, नसकेको पोखेर पनि हिँड्थे । रछ्यानका साग माड्थे । साँझपख गोठका बस्तुभाउ फुकाइदिन्थे । बहुलट्ठी बालक थिए उनी ।

काका जब्बर थिए, हजुरआमा गावैँकी पढेलेखेकी थिइन् । थप्पड लगाउने होइन, गाली गर्नेसमेत हिम्मत गर्दैनथे टोलका मानिसहरू ।

“बिगो पनि क्रिएटिभ पो गथ्र्यौं हामी !” मच्चिएरै हाँसे उनी ।

० ० ०

जग्गा–जमिन कम । भएका जग्गामा पनि आयस्था कम हुन्थ्यो । पाँचभाइ छोराहरू । त्यसैले बाबु भारतमा गएर नोकरी गर्थे ।

पाँच वर्षमा उनको अक्षरारम्भ भयो । पाठ्यक्रममा थिएन त्यसबखत । लघुकौमुदी, दुर्गासप्तसती, श्रीमद्भागवत गीता– यिनै थिए पाठ्यपुस्तक । बाबु भारतबाट आएका बेला ‘महेन्द्रमाला’ ल्याइदिन्थे । ती सबै ढुकुटी–खाटमा राखिएको हुन्थ्यो । हात हालेर झिक्थे । जुन फेला पथ्र्यो, त्यही च्याँपेर स्कुल जान्थे । गाउँमा १ देखि ४ कक्षासम्म पढाइ हुने विद्यालय थियो । तर, यही कक्षामा बस्नुपर्छ भन्ने थिएन । गुरु खुसी भए माथिल्ला कक्षामा बस्न पाउँथे, नभए तल्लो कक्षामा किताब च्यापेर कुद्नुपथ्र्यो ।

“एकैदिन कहिले ४ कक्षामा, कहिले १ कक्षामा फेरीफेरी पढ्थेँ,” पुनः हाँसे उनी ।

यस्तै दशैँताका हुनुपर्छ, भारतबाट बाबु घर आएका थिए । छोराले लय नसमातेको देखेर विरक्तिए र आफूसँगै भारत लगे । भारत पुगेपछि उनी कक्षा २ मा भर्ना भए– कोलकाताको शालिमार हिन्दी हाइस्कुलमा ।

बाबुको फलामे अनुशासन थियो । बिगो गर्नुजति उनले नेपालमै गरे । भारत पुगेपछि त किताबमा बाहेक अन्यत्र आँखा डुलाउन पाएनन् उनले ।

पढाउने मद्रासी, बस्ने बंगालीको घरमा । पढ्ने हिन्दी हाइस्कुलमा, पढाउने माध्यम अंग्रेजी । एकैपटक चारवटा भाषा सिक्नुपर्ने बाध्यता पो आइलाग्यो । उनको क्षमता जादुमयी थियो । तेरोमेरो भाषा नभनी उनी सिक्नतिर लागे र चारवटै भाषा पानी पारे ।

पढाइमा विलक्षण थिए । कक्षा २ मा भर्ना भएका उनी निरन्तर कक्षा फड्किइरहे । २ बाट ४, ४ बाट ६ र ६ बाट एकैपटक ८ ।

८ मा भर्ना हुने बेलामा चाहिँ समस्या भयो । शिक्षक भन्न थाले, “केटो अद्वितीय क्षमतावान् छ तर गणित उसलाई गाह्रो हुन्छ । ज्यामिती, बिजगणित पढेकै छैन, कसरी कक्षा ८ मा उकाल्नु ? बरु कक्षा ७ मै राखौँ ।”

बाबु पनि के कम, छोराको क्षमतासँग परिचित थिए उनी । भन्न थाले, “कक्षा ८ मा नफड्काउने हो भने यहाँ पढाउँदिनँ ।” त्यसपछि उनी नेपाल ल्याइए र भक्तपुरको पद्म हाइस्कुलमा कक्षा ८ मै भर्ना भए ।

८ पढेपछि एकैपटक १० मा पुगौंला भनेको, प्रवेशिका परीक्षामा ९ को पाठ्यपुस्तकबाट पनि प्रश्न सोधिने रहेछ ।

“बिजोर कक्षा पढेको भनेको त्यही ९ मात्रै हो !” लामो हाँसो छायो कोठामा ।

९ र १० पढे र ०२५/२६ मा प्रवेशिका उत्तीर्ण गरे । ४ नम्बर नपुगेर प्रथम श्रेणीबाट बञ्चित भए उनी ।

बाबुको निमय थियो– बिहान उठ्दा पनि हातमा किताब हुनै पर्ने । सुत्ने बेलामा समेत हातमा अनिवार्य पुस्तक लिनुपथ्र्यो । किताबै ओढेर सुत्थे उनी ।

त्यस्तै अर्को नियम थियो– लेखेरै कण्ठस्थ गर्नुपर्ने ! एक त त्यसले कण्ठ गरेका कुरा चीरस्थायी बनाउँथ्यो । अर्को त्यसबाट अक्षर सुधार्न मद्दत पुग्थ्यो । त्यसलाई आत्मिक अनुशासनको कडी बनाए । भनौँ न, जीवनको लय बसालिदिए बाबुले । 

“पिताजीसँगको साढे तीन वर्षको सान्निध्यताले मलाई अहिलको ‘चट्याङ मास्टर’ बनायो, गुरुमन्त्र नै मानेँ त्यसलाई,” उनको आँखामा पितृभक्ति भाव छचल्कियो र नोस्टाल्जिक बने उनी ।

‘दोस्रो पिता’

स्कुलका प्रधानाध्यापक पूर्णरत्न शाक्य उनका ‘दोस्रो पिता’ थिए, जसले उनलाई बाटो देखाइदिए । उनी सधैं गाली गरिरहन्थे र माया पनि उस्तै गर्थे ।

भर्खर प्रवेशिका उत्तीर्ण गरेको, केटौले उमेर थियो । “कृष्णमुरारीको घर हो ?” स्कुलका पाले सोध्दै आए । बजारबाट एक घण्टाको दूरीमा थियो घर । खोज्दै आएछन् ।

“ल यो फारम भर्नुस्, फलानो ठाउँमा परीक्षा दिन जानुस् ! हेडमास्टरले भन्नुभएको छ,” भर्खर एसएलसी पास गरेको पट्ठो । फारम भर्ने ढंग पनि थिएन । स्कुलको लाइब्रेरियनले भरिदिए ।

केही समयपछि दरबार हाइस्कुलमा अन्तर्वार्ता दिए । अचम्म ! उनी यूएसएआईडी ‘प्लान’मा छानिएछन् । पाकिस्तानमा कृषि (बीएससीएजी) पढ्न जान पाउने भए ।

स्कुलको विद्यार्थीका लागि हेडमास्टरले गरेको त्यो मेहनत सम्झिँदा उनका आँखा भरिन्छन् र हरबखत धन्यवाद दिइरहन मन लाग्छ ।

पाकिस्तान गएको ६ महिना पनि भएको थिएन । भारत–पाकिस्तान लडाइँ चर्कियो । बंगलादेश जन्मिँदाको साक्षी पो बने उनी ।

“बंगलादेश मभन्दा १८ वर्ष कान्छो छ,” फेरि हाँसे उनी ।

सन् १९७१ को लडाइँ भीमकाय थियो । चट्याङ गर्जिएजसरी बम–बारुद बर्सिन्थ्यो ।

लाहोर शहरमा थिए उनी, भारतीय सीमावर्ती इलाकाबाट ८० किलोमिटरमात्रै भित्र पथ्र्यो । बीएस्सीएजीको उपाधि लिन गएका उनी ज्यान हत्केलामा राखेर पो फर्किनुपर्‍यो । 

पढाइ अपूरै थियो । स्वदेश फर्किएपछि फाली फुस्किएको हलोजस्तो भए । क्याम्पस भर्ना गरौँ– म्याद गुज्रिइसकेको थियो । ६–७ महिना आयुर्वेद पढे उनले ।

रामपुर (चितवन) क्याम्पस भर्खर खुलेको थियो । ६ महिना पर्खिएर आईएस्सीमा भर्ना भए, दुई वर्ष घुँडा धसेर पढे । राम्रै अंक ल्याएर उत्तीर्ण भए ।

फेरि ‘प्लान’ पाए र पञ्जाबको कृषि विश्वविद्यालयबाट बीएस्सीएजी प्रथम श्रेणीमा पूरा गरे ।

भर्खर नेपाल फर्किएका थिए । नेपालमा पनि बीएस्सीएजीको पढाइ सुरू गर्न लागिएको रहेछ । तर, अध्यापक नपाएर हैरान । त्यतिबेला बीएस्सीएजी सक्ने औँलामा गन्न सकिने थिए । उनैले पो पढाउनुपर्ने भयो ।

“सात दिनअगाडिसम्म विद्यार्थी थिएँ, सात दिनपछि त असिस्टेन्ट लेक्चरर पो भइयो,” उनी फेरि हाँसे ।

तिनताकाका एउटा किस्सा सुनाए उनले–

शुक्रबार भएपछि अध्यापकहरू बहाना खोजीखोजी भाग्थे । अधिकांशको घर राजधानीमै थियो । काठमाडौँ फर्किएपछि दुई–चारदिन यतै बरालिन्थे ।

तर, उनी अध्ययनमा जस्तै अध्यापनमा पनि ‘डेडिकेटेड’ थिए । जिम्मेवारी कुनै बहानामा पन्छाउँदैनथे ।

“बिदा स्वीकृति चाहिएको हो भने कृष्णमुरारीलाई आफ्नो विषय पढाइदिन भन्नू,” डिनले यसो भन्न थालेपछि अध्यापकहरू उनीसँग खुसामत गर्न थाले ।

भर्खरको युवा । पढाइ नसक्दै ‘असिस्टेन्ट लेक्चरर’ भएको । ‘लाइभस्टक’देखि ‘म्याथ’सम्म एक्लै पढाउँथे उनी ।

० ० ०

रामपुर क्याम्पस पढाउँदै थिए । कृषि आयोजना सेवा केन्द्र खुल्यो । त्यसभन्दा अघि पञ्चवर्षीय योजना, त्रिवर्षीय योजना, कृषि विकास योजना, क्षेत्रीय योजना बनाउने काम प्रायः विदेशीले गर्थे । नेपाली जनशक्ति आइसकेका हुनाले उनीहरूलाई नै अनुसन्धान गरेर योजना तर्जुमा गर्न लगाउने सेवा केन्द्रको उद्देश्य थियो ।

उनी कृषि अधिकृत नियुक्त भएर नेपालका विकास–योजना बनाउन थाले । त्यसभन्दा पूर्व कृषिमा अनुसन्धान आश्चर्यको विषय थियो । झन्डै पाँच वर्ष उनले त्यहाँ कार्यसम्पादन गरे । ठुल्ठूला योजना तर्जुमा गरे ।

बीएस्सीएजी सकेपछि स्नातकोत्तर पढ्ने इच्छा अधुरै थियो । त्यहीबेला अस्ट्रेलियाको एउटा विश्वविद्यालयमा दरखास्त खुल्यो, आवदेन दिए । नाम निस्किहाल्यो । तिनताक पढाइमा यति दिलचस्प थिए कि जहाँ आवेदन दिए पनि नाम निस्किहाल्थ्यो । अस्ट्रेलिया गएर अर्थशास्त्रमा स्नातकोत्तर गरे ।

गैरवित्त अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन् उनले । हरेक कुरा नयाँ गर्न रुचाउने उनका लागि त्यो विषय पनि नितान्त नवीन थियो ।

‘सफा हावामा सास फेरेबापत कति रुपैयाँ तिर्ने ?’

‘हिमाल राम्रो देखियो, त्यो राम्रोको मूल्य कति ?’

‘मानिस मर्‍यो, त्यसको कति क्षतिपूर्ति तिर्ने ?’

यस्ता ‘मूल्यहीन’ सन्दर्भमाथि उनले विशेषज्ञता हासिल गरेका थिए, अस्ट्रेलियामा । तर, नेपाल फर्किंदा त्यो विषयबारे कसैले बुझेनन् । बरु खिसिट्युरीको विषय भयो र उनी पुरानै लयमा फर्किए ।

नेपाल फर्किएको केही समयमै देशमा बहुदलीय व्यवस्थाको सूत्रपात भयो । निजी क्षेत्र अगाडि आउन थाल्यो । उनले जागिर खाने सोचलाई जलाञ्जली दिए । आफ्नै कन्सल्ट्यान्सी खोलेर अध्ययन/अनुसन्धानमा विशेषज्ञ सेवा दिन थाले ।

व्यंग्यचेतको विकास

उनको जीवन निरूढ थियो । अध्ययनमा तीक्ष्ण । अनुसन्धानमा तिखारिएको । उनलाई लाग्दैनथ्यो– पुस्तकभन्दा पर पनि जिन्दगी छ ।

टाइमेस्टर प्रणाली । तीन–तीन महिनामा जाँच । लाग्थ्यो– जीवन नै परीक्षा हो र हरेकजसो परीक्षामा उनी अब्बल ठहरिएका थिए ।

कृषि आयोजना सेवा केन्द्रमा जागिर खान थालेपछि फरकखालको चर्यासँग पो समाहार भए उनी । 

साथीहरू भेला भयो– अनेक व्यतिथिबारे हँसिमजाक गर्‍यो, दिन बितायो । कृषि, योजना अनुसन्धानको देशकै उच्च निकाय थियो तर दिनको दुई घण्टा पनि काम नहुने । गफै गरेर पो दिन बित्न थाल्यो । सबैलाई पेट मिचिमिची हँसाउँथे उनी ।

कुरैकुरामा एकदिन एकजना साथीले हौस्याए, “यस्तो राम्रो तर्क गर्नुहुन्छ । हँसाउनु हुन्छ । लेख्न थाल्नुपर्‍यो तपाईंले । पत्रिकाले छापिहाल्छन् नि !”

अंग्रेजी माध्यमबाट पढ्दै आएका थिए, नेपालीमा लेख्न सक्छु जस्तो उनलाई । बोलेर हँसाउनजस्तो सजिलो थिएन लेखेर हँसाउन । ठाडै इन्कार गरे उनले ।

लेख्न पर्याप्त विषय थिए । सेवा केन्द्रले एकथरी योजना बनाउँथ्यो, कार्यान्वयन अर्कै किसिमले हुन्थ्यो । एउटा जिल्लामा भैँसीपालनका योजना तर्जुमा गर्‍यो, अन्तिममा योजना अर्कै जिल्लामा पुग्थ्यो । एकातिर कुलाको योजना बनायो, खन्ने बेलामा अन्तै मोडिइसकेको हुन्थ्यो । यस्ता अनेक विकृति विद्यमान थिए । यही विषयमा लेखे उनले । ‘देशान्तर’ साप्ताहिकमा छापियो ।

किशोर नेपालले घरमै आएर भन्न थाले, “गजब लेख्नुहुँदो रहेछ, निरन्तरता दिनुपर्‍यो ।” 

हौसला पो मिल्यो उनलाई । कृष्णमुरारी गौतमकै नामबाट छापिएको थियो त्यो ।

यसरी जन्मियो छद्म नाम

सरकारी सेवामा काम गर्ने, जिल्लादेखि केन्द्रसम्मका उपल्ला कर्मचारीलाई सल्लाह–सुझावसमेत दिनुपर्ने । आफ्नै नामबाट व्यंग्य लेख्दा अप्ठ्यारो आइलाग्ने देखेर उनले छद्म नाम जुराए– बज्रपाणि !

यससम्बन्धी रमाइलो किस्सा छ–

आईएस्सी रामपुर क्याम्पसमा भर्ना भए तर चितवनको रामपुरमा भवन तयार नभएर हरिहर भवनमा पढाइ हुन्थ्यो । बिदा भएको बखत उनी पाटनको संग्रहालयतिर टहलिन गए । साथी थिए जीवन ।

अनेक काष्ठकला, वास्तुकला र वान्किपूर्ण मूर्तिहरूले सजिसजाउ थियो संग्रहलाय । नियाल्ने क्रममा एउटा पाषाणको मूर्तिमाथि आँखा पर्‍यो । मूर्तिको तल लेखिएको थियो– बज्रपाणि ।

नाम देखेर दिमागमा नयाँ तरङ्ग पैदा भयो । उनले तत्कालै साथीलाई भने, “हेर जीवन, बिहे गरेर छोरो जन्मियो भने त्यसको यही नाम यही राख्छु, बज्रपाणि ।” उनको कुरा सुनेर जीवन मच्चिएरै हाँसे ।

समय बित्दै गयो, बिहे भयो, छोरा पनि जन्मिए । न्वारनको दिन आयो । नाम राख्ने बेलामा यज्ञका अघिल्तिर बसेका बेला पुरेतले सोधे, “छोराको नाम केही सोच्नुभएको छ कि ?”

उनले बिर्सिएका थिएनन्, तत्कालै भने, “बज्रपाणि !”

विडम्बना ! जन्म लग्न र मुहूर्तले त्यो नाम राख्न मिलेन ।

“छोराको नाम पो बज्रपाणि राख्न सकिनँ, आफ्नो नाम त ‘बज्रपाणि’ राख्न सक्छु नि !” अन्तिममा यसैलाई उनले छद्मनाम बनाए ।

त्यसपछि उनले ‘बज्रपाणि’कै नामबाट लेख्न थाले । अत्यधिक चल्यो त्यो नाम । बानेश्वरको डेराबाट हिँड्दै सिंहदरबार जान्थे, नचिन्ने कोही हुँदैनथ्यो । “आज तपाईंको लेख पढेको थिएँ नि, खुब गोद्नुभयो,” नसोचेकै प्रतिक्रिया पाउँथे उनी ।

त्यत्रो अध्ययन गरे, किताबका ठेली रटे, वर्षौं कृषिमा खोज, अध्ययन र अन्वेषण गरे । तर, मान–सम्मान र पहिचान दियो ‘बज्रपाणि’ले ! 

तीन–चार वर्ष भएको हुँदो हो, ‘बज्रपाणि’बाट लेखेको एउटा व्यंग्ले झमेला आइलाग्यो ।

उनलाई राजनीतिबारे कुनै चासो थिएन । नियम बदल्नुपर्छ होइन, नियमानुसार आफू बदलिनुपर्छ भन्ठान्थे उनी । भनौँ न– नियम अधिनस्थ रहनुपर्छ भन्ने मान्यताको पक्षपाती थिए उनी । सोहीअनुसार व्यंग्यवाण हान्थे । हाँसोको तीर चलाउँथे ।

तिनताका प्रशासन क्षेत्रका उपल्ला तहका कर्मचारीहरू विदेश भ्रमण जान्थे र विकृत कार्य गर्थे । त्यसैमाथि व्यंग्य पस्किएका थिए । तर, भइदियो अर्कै ।

त्यही बेला तत्कालीन युवराजधिराज दीपेन्द्र पनि बेलायतमा अध्ययनरत थिए । उनका बारेमा त्यहाँको ‘मिरर’ पत्रिकाले छापेको खबरको कपी काठमाडौँसम्म आइपुगेको थियो । उनले दीपेन्द्रलाई नै व्यंग्य गरेको अड्कल काटियो र खबर सीधै दरबारमा पुर्‍याइयो ।

“खबर अञ्चलाधीशकहाँ पुगिसकेको छ, अब तँलाई ठिँगुरामा हाल्छन्,” अनेक खबर सुन्न थाले ।

“जेल जान त व्यंग्य लेखेको थिइनँ,” ‘स्वान्त सुखाय’कै लागि उनले व्यंग्य क्षेत्रमा हात हालेका थिए । त्यो घटनापछि उनले झन्डै सात–आठ महिना लेख्नै छाडे ।

उनका व्यंग्य सपाट थिए । द्विअर्थी थिएनन् । उनका व्यंग्य बुझ्न गम्नु, घोत्लिनु पर्दैनथ्यो । ‘कट्टुभित्र’का कथा छापेर अरूलाई हँसाउनुपर्छ भन्ने उनलाई कहिल्यै लागेन । समाजका विकृतिको सादृष्य चित्रण लाग्थ्यो । तत्कालीन परिवेशमा सबैलाई हजम भएन त्यो र शिकार भए उनी ।

कुनै विषयले घोच्न थालेपछि नलेखेसम्म मन शान्त हुँदैनथ्यो उनको । “सबै परिवार सुतेपछि भुइँतलामा झर्थे, लेख्थेँ र सल्काएर खरानी बनाएपछि मात्रै निद्रा लाग्थ्यो,” लेख्न छाडेका बेलाको एउटा प्रसंग उप्काए उनले ।

अनि भए ‘चट्याङ मास्टर’

“हेर लेख्न थालिहालेँ, नलेखेसम्म निद्रा नै पर्दैन । ‘बज्रपाणि’बाट छाप्न मिल्दैन । कसो गरौँ होला ?” साथीसँग सल्लाह मागे ।

बज्र भनेको चट्याङ्, पाणि भनेको गुरु । दुवैलाई मिलाएर ‘चट्याङ मास्टर’ सुझाइदिए । नाम सुझाउने व्यक्ति दीपक ज्ञवाली थिए । पछि उनी जलस्रोतमन्त्रीसमेत बने ।

सुरूमा त लागेको थियो, “यो पनि थाहा पाउने हुन् कि ?”

“जेसुकै होस्, लेख्छु,” निधो गरे उनले ।

‘चट्याङ् मास्टर’ नाम जुरेका दिन उनका खुट्टा हावामा तैरिए र तत्कालै लेखनशैली गद्यबाट पद्यमा ढाले ।

श्रीमद्भागवत गीता । सप्तसती चण्डी । अनुष्टप छन्द पढेर हुर्किएका उनी । त्यही शिल्पमा लेख्न थाले ।

कसैले भन्थे– छन्दमा लेख्न गाह्रो हुन्छ । गण, मात्रा, वर्ण आदि मिल्नुपर्छ ।

“तर, मेरा सिर्जना छन्दभित्र हुँदैनथे र बाहिर पनि रहँदैनथे । मात्रा पुग्थ्यो÷पुग्दैनथ्यो, थाहा छैन तर कुरोको चुरोचाहिँ हुन्थ्यो,” फेरि हाँसे उनी ।

०४६ सालअघि ‘बज्रपाणि’को नामबाट लेखे र त्यसपछि ‘चट्याङ मास्टर’को नामबाट परिचित बने उनी ।

हास्यलेखन विधा जम्दै थियो तर एक्लै लेखेर कसैलाई नघोच्ने । हास्यविधामा काम गर्नेहरूको संगठन बनाउने ‘जोश’ चल्यो उनलाई । विक्रम् सम्वत् २०५५ सालमा उनकै अगुवाइमा ‘सिस्नुपानी नेपाल’ खडा भयो र संस्थापक अध्यक्ष बने उनी । आजपर्यन्त त्यसले विकृतिमाथि ‘सिस्नोको आँठो’ बजार्न छाडेको छैन ।

र, एजिङ नेपाल

उमेरले ६० लागे । कपाल तीलचामल भयो । अनुहारमा बुढ्यौलीका प्रतिविम्ब देखिन थाले । शायद आफ्नो त्यही बुढ्यौलीले उनलाई घच्घच्यायो । र, खोले ‘एजिङ नेपाल’ । हास्यव्यंग्य क्षेत्रबाट ओझेल परेर वृद्धवृद्धाको क्षेत्रमा क्रियाशील भए ।

किन त ?

हास्यव्यंग्य क्षेत्रमा क्रियाशील रहँदाकै बेला आमा गुमाए उनले । अर्धाङ्गिनी गुमाएका पिताजी ओछ्यान परे । आफूले मात्रै हेरचाह गर्न नभ्याएर सहयोगीसमेत राखेका थिए तर पिताजी तंग्रिएनन् र अन्ततः अस्ताए ।

वृद्धावस्थाको यस्तो महासंकटबाट अत्तालिए र ‘एजिङ नेपाल’ खोल्न अग्रसर भए ।

वृद्धावस्था टार्न, सार्न र नकार्न सकिँदैन तर वृद्धावस्थाबारे खासै चासो र चिन्ता भएजस्तो लागेन उनलाई । नयाँनयाँ खोज, अध्ययन अन्वेषण गर्न रुचाउने उनका लागि यो नयाँ विषय भइदियो । कला, साहित्यमा डेढ दशक बिताएका कृष्णमुरारीले धेरै नारी साहित्य बढे । बाल साहित्यमा पनि आँखा पुग्यो । पछिल्लो समय युवालाई लक्षित गरेर धेरै साहित्य–सिर्जना भएका छन् तर बुढ्यौली साहित्य कहीँकतै पढ्न पाइँदैन । जीवनको उत्तराद्र्धले किन मानिसलाई पिरोलेको छैन ? मृत्यु निश्चित भएझैँ बुढ्यौली पनि अनिवार्य छ भन्ने सामान्य ज्ञानबाट समेत कोसौँ टाढा भएझैँ प्रतीत भयो उनलाई ।

“आजै हामी वृद्धवृद्धको भविष्यबारे चिन्तित नहुने हो भने भोलि कि वृद्धाश्रममा थन्किनुपर्छ कि बाटामा बेवारिसे मृत्युवरण गर्नुपर्छ । यही चिन्ताको उपज हो, ‘एजिङ नेपाल’,” यति भनेर कुराकानी बिट मारे उनले ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC