site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पत्रकारका पत्रकार
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


पत्रकारका पनि पत्रकार हुन् उनी । उनको समाचार कक्षमा काम गरेका धेरै पत्रकार अहिले चल्तीका सम्पादक छन् । उनले पढाएका सयौं पत्रकार अहिले पत्रकारिताको अभ्यास गरिरहेका छन् । उनकै विद्यार्थी अहिले उनकै अन्तर्वार्ता लिन उनकै घरसम्म पुग्छन् ।

उनी– यानेकि पी खरेल । नेपाली पत्रकारिताका सर्वकालीन हस्ती ।

Prabhu Bank
Agni Group
NIC Asia

४४ वर्ष भयो उनले पत्रकारिता सुरु गरेको । ३८ वर्ष भयो पढाउन थालेको । लामो अनुभव र खारिएको व्यक्तित्व हुन् पी खरेल । त्यसैले त उनीसँग एउटै ‘इभेन्ट’को समाचारमा दर्जनौं एंगल हुन्छन् । समाचारको प्रस्तुतिमा फरक ‘टेस्ट’ दिन सक्ने ल्याकत राख्छन् ।

 

Global Ime bank

लक्ष्य पत्रकार कि प्राध्यापक ?

एसएलसी दिँदा नै उनले आफ्नो भविष्य निर्धारण गरिसकेका थिए– इतिहास र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्छु अनि प्रोफेसर बन्छु ।

०२५ सालमा एसएलसी दिए । साढे १२ हजार परीक्षार्थीमा साढे ३ सयमात्रै पास भए । त्यसमा उनी पनि एक थिए । पहिलो श्रेणीमा उनले फलामे गेट नाघे ।

समय त्यो बेला पनि अहिलेको जस्तै थियो । सके विज्ञान, नसके कमर्स, त्यो पनि नसके बल्ल मानविकी वा शिक्षा पढ्ने चलन थियो । आर्थिक र पढाइमा कमजोरहरूले मात्रै मानविकी र शिक्षा पढ्छन् भन्ने मानसिकता थियो ।

तर, यी दुई ‘क्याटेगोरी’मा नपरे पनि खरेलले आफ्नो अठोट छाडेनन् । मानविकीमा भर्ना भए । राजनीतिशास्त्र, अंग्रेजी र इतिहास रोजे । स्नातकमा अंग्रेजी छोडे । इतिहास र राजनीतिशास्त्रलाई अगाडि बढाए ।

बीए पढ्न थालेपछि जागिर खानुपर्छ भन्ने सोच पलायो । उनी भूगोलपार्क हुँदै कलेज जान्थे । भूगोलपार्कमा ‘गोरखापत्र’ हेर्थे । त्यहाँ जागिर खोलिएका सूचना हुन्थे । ‘क्राइटेरिया’ पनि हुन्थे– अध्ययन यति, अनुभन यति... ।

पढाइ छ, अनुभव छैन । तनाव ! 

यो आफ्नो लागि बनेको जागिर होइन सोच्थे । अनि त्यो ढोका आफैं बन्द गर्थे ।

जागिर नखाई अनुभव नहुने, अनुभव नभई जागिर नपाइने । दुई समानान्तर रेखा जति तन्काए पनि कहिल्यै भेटिँदैनन् । यस्तै हुन्थे जागिरको ती सूचना । कहिले रिस उठ्थ्यो, कहिले उदेक लाग्थ्यो ।

०३० सालतिर ‘राइजिङ नेपाल’मा एउटा विज्ञापन देखे । ‘सब–एडिटर’ मागिएको थियो । अंग्रेजीमा दख्खल भएको हुनुपर्ने सर्त थियो । त्यहाँ ‘अनुभव चाहिन्छ’ भनिएको थिएन । भरे फर्म । दिए परीक्षा ।

अन्तर्वार्ता लिन ‘राइजिङ नेपाल’ का तत्कालीन सम्पादक गोपालप्रसाद भट्टराई र बरुण शमशेर बसेका थिए । उनलाई प्रश्न सोधे, “बजेट फेल भयो भने अर्थमन्त्री मात्रै जानुपर्छ कि पूरै सरकार नै जानुपर्छ ?”

उनले जवाफ दिए ।

फेरि भने, “दुःखको बेला मान्छेको पहिचान हुन्छ, यसलाई ट्रान्सलेट गर्नुस् ।”

खरेलले त्यो पनि गरे ।

गोविन्द र गोपालप्रसादले बुझेनन्, बरुण शमशेरतिर हेरे । उनले ‘एस’ भने । खरेललाई कर्के आँखा सन्काए । उनलाई लाग्यो– जागिर हुन्छ कि के हो !

कलेज जाँदै थिए, गाडीमै भेटिएका साथीले भने, “तिम्रो नाम निस्किएको जस्तो छ ।”

उनी ‘राइजिङ नेपाल’ पुगे । ढोकामा बस्नेलाई सोधे, उनले ‘थाहा छैन’ भने । भित्र गएर अर्कोलाई सोधे, उनले पनि त्यही उत्तर दिए । खरेलको मनमा चिसो पस्यो– यिनीहरूले नदिने भए मलाई जागिर ।

अझै भित्र पुगेर सोधे । जवाफ आयो, “निस्किन त निस्कियो क्यार ! तर, कसको निस्कियो । बस्नुस् न ।”

छातीभरि डर बोकर खरेल सोफाको छेउमा बसे । भित्रबाट हाकिम निस्किएर भने, “तपाईं पर्शुराम खरेल हैन ? कंग्ग्रयाचुलेसन्स ।” 

ढक्क छाती फुल्यो । लाग्यो– आज संसार जितियो ।

नियुक्तिपत्रमा हस्ताक्षर गरे । र, सुरु भयो ‘राइजिङ नेपाल’को जागिर ।

जागिर हुनुअघि उनी महिनामा दर्जनौं साप्ताहिक र मासिक पत्रिका किन्थे । जागिर तय भएको दिन उनको मनमा आएको पहिलो प्रतिक्रिया थियो– वाह ! आजबाट पत्रपत्रिका किन्न पैसा अभाव हुन्न ।

‘राइजिङ नेपाल’मा तीन जनाको कोटा थियो तर नाम उनको मात्रै निस्कियो । उनीसँगै लिखितमा नाम निकाल्ने अरु दुई जना पनि थिए । तर, अन्तर्वार्तामा उनीहरूको नाम आएन ।

“शायद उहाँहरू बिलो एभरेजमा पर्नुभयो,” खरेल भन्छन्, “मेरो अनुमानमात्रै हो । तर, उहाँहरू पछि ठूलो मान्छे हुनुभयो । दुवै जनाले संस्थानको नेतृत्व गर्नुभयो ।”

‘गोरखापत्र’को समाचार अंग्रेजीमा उल्था गर्नु पथ्र्यो । समाचार राम्रो छ भने मात्रै, नत्र उनी आफैं समाचार मिलाएर अनुवाद गर्थे । यसै गरेबापत उनले एकपटक सय रुपैयाँ पुरस्कारसमेत पाएका थिए ।

भर्खर जागिर सुरु भएको थियो । उनलाई पनि खासै राम्रोसँग टाइप गर्न आउँदैनथ्यो । दुई औंलाले बिस्तारै टाइप गर्थे । धेरै रिपोर्टरलाई त त्यही पनि आउँदैनथ्यो । त्यतिबेला सम्पादक श्याम केसी थिए ।

“समाचार सकेसम्म राम्रो बनाएर टाइप गर्थें, समय हुनेबित्तिकै रिपोर्टिङ गर्न दौडिन्थें । यो इनर्जेटिक छ है भन्थे,” उनी जागिरे जीवनको सुरुआती चरण सम्झिन्छन् ।

सुरुका करिब १५ वर्ष खरेलले खेलकुद र मनोरञ्जनको रिपोर्टिङ गरे । पञ्चायतकाल थियो । पञ्चायतको विपक्षमा राजनीतिक समाचार लेख्न पाइँदैनथ्यो । त्यसमा पनि सरकारी पत्रिका । “समाचार लेख्दा आधा समय त भोलि स्पष्टीकरण दिनुपर्ने हो कि भन्दै सोच्दैमा बित्थ्यो,” उनले सम्झिए ।

समाचारमा बाइलाइन दिइहाल्ने चलन थिएन । बाइलाइन आउन काठमाडौंबाहिर नै रिपोटिङ गर्न जानुपथ्र्यो ।

०४६ सालमा मरिचमान सिंह प्रधानमन्त्री थिए । भारतले नाकाबन्दी लगाएको थियो । त्यही समय उनी रिपोर्टिङका लागि भारत गए ।

उनी नेपालबाहिर गएर पूर्णकालीन रिपोर्टिङ गर्ने पहिलो पत्रकार हुन् । उनी आफैं भन्छन्, “मभन्दा पहिला पनि अरु नगएका होइनन् तर उनीहरू त त्यहाँको संसद भनवसम्म पुग्दा नै रहेछन् । अरु सञ्चारमाध्यममा आएका समाचार पठाउँदा रहेछन् । त्यहाँको संसदमा नेपालबारे विभिन्न सन्दर्भमा छलफल भइरहन्थे तर कहिल्यै आउँदैनथे । म गएपछि भने संसद् पुगेरै रिपोर्टिङ गरेँ । हप्ताका ६ दिन साँझ ५ बजे शास्त्री भवनमा परराष्ट्र मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलन गर्थे ।”

एक वर्षपछि उनलाई ‘राइजिङ नेपाल’ले साप्ताहिक म्यागेजिन निकाल्ने भनेर बोलायो । त्यसमा उनको जिम्मेवारी सम्पादक थियो । म्यागेजिनको नाम राखे जिम्मा उनैलाई दिइयो । ‘सन्डे म्यागेजिन’ नाम राखे र निकाले । पहिलो अंक नै १० हजार ५ सय प्रति छापे । ‘राइजिङ नेपाल’को एक रुपैयाँ मूल्य हुँदा त्यसको मूल्य ५ रुपैयाँ थियो । 

सन् १९९२ मा श्याम केसीले राजीनामा दिए । दोस्रो वरीयता (कार्यकारी सम्पादक)मा खरेल थिए । सम्पादक हुने पालो उनकै थियो । राजनीतिक चलखेल भयो । त्यसको कोपभाजनमा परे उनी ।

साहित्यकार तारानाथ शर्मालाई ल्याएर नियुक्त गरियो । उनले बुझे– मलाई सम्पादक हुन नदिनकै लागि शर्मालाई ल्याइयो । २० वर्ष पुग्नै लागेको थियो । कुरे । २० वर्ष पुग्यो । उनले राजीनामा दिए ।

बिदाइको दिन उनलाई व्यवस्थापनले रिबनमा बाँधेर उपहार दियो । उनले सोधे, “के छ यसमा ?”

“पार्कर ।”

“यो पनि अपेक्षा गरेको थिइनँ, दिनुभयो, धन्यवाद । तर, यो रिबन त्यो दिन म यहीँ आएर खोल्छु र यो पार्करले यहाँको सम्पादकको नियुक्तिपत्रमा साइन धस्काउँछु, हेर्दै जानू,” कठोर भएर भने उनले ।

सम्पादकको जिम्मेवारी सम्हालेर संस्था हाँक्नुपर्ने तर निर्भीक खरेल २० वर्ष काम गरेको संस्था छोडेर घर फर्किए ।

०३६ सालदेखि पढाउन थालेका खरेललाई पेशाको खाँचो थिएन । लेख लेख्न अरु पत्रिका छँदै थिए । पुस्तक लेख्छु भन्ने सोचिरहेका थिए । त्यो अवसरका लागि ढोका खुल्यो । पुरानै मैदानभित्र नयाँ अध्याय सुरु भयो ।

० ० ०

उनले ‘राइजिङ नेपाल’ छोडेको १३ महिनापछि एमालेको सरकार बन्यो । मनमोहन अधिकारी प्रधानमन्त्री भए । सञ्चारमन्त्री प्रदीप नेपाल थिए । प्रदीपसँग आईए पढे पनि चिनजान थिएन । एक एमाले सांसद्ले फोन गरे । उनलाई सम्पादकका लागि एमाले सरकारले आग्रह गर्‍यो ।

१३ महिनापछि खरेल त्यही उपहारस्वरूप दिइएको पार्कर कलम बोकर ‘राइजिङ नेपाल’ पुगे । र, रिबन खोलेर नियुक्तिपत्रमा हस्ताक्षर गरे ।

राप्रपा सरकारले उनलाई निरन्तरता दियो । विभिन्न कार्यक्रममा भेट हुँदा कमल थापा ‘छोड्नु हुँदैन है खरेल जी’ भन्थे ।

पछि उनी जर्मन संस्था ‘एफएएस’को मिडिया पर्सनका रूपमा ‘राइजिङ नेपाल’को सम्पादक छोडेर गए । आकर्षक पारिश्रमिक र मिडियाकै काम भएकाले उनी त्यतातर्फ आकर्षित भएका थिए ।

पछि लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धक भएर जान सुझाए, तर उनले मानेनन् ।

० ० ०

उनी ‘राइजिङ नेपाल’मै हुँदा एउटा कार्यक्रममा गणेशमान सिंहले भने, “प्रजातन्त्रले आफ्नै बच्चा खान्छ ।”

सीधै नभने पनि उनले गिरिजाप्रसाद कोइरालासँग असन्तुष्टि पोखेका थिए । खरेलले त्यसलाई समाचार बनाएर छापे ।

शायद दबाब आयो, प्रशासन प्रमुख पुरुषोत्तम बस्नेतले उनलाई सोधे, “यो नछापेको भए के हुन्थ्यो ?”

निर्भीक र निडर स्वभावका खरेल समाचार छाप्न डराउँदैनथे । कसैको हप्की र खप्कीबाट विचलित हुँदैनथे ।

मनमोहन अधिकारी प्रधानमन्त्री थिए । उनका राजनीतिक सल्लाहकार ईश्वर पोखरेल थिए । मनमोहनले सार्वजनिक कार्यक्रममै भने, “राजतन्त्र यहाँ केही समयका लागि छ ।” खरेलले ‘रासस’बाट तानेर यसलाई छापे ।

ईश्वरले फोन गरेर भने, “समाचार त छापियो । तर, यो बोलेकै होइन, भूल भएछ भनेर भोलिको पत्रिकामा पहिलो पेजमै माफी माग्नु पर्‍यो ।”

खरेलले भने, “हामीले गरेको गल्ती होइन । ‘रासस’को समाचार जस्तो आयो, त्यस्तै छापिन्छ । ‘रासस’ले गल्ती स्वीकार गरेर पठायो भने छापिन्छ, होइन भने खण्डन लेखेर पठाउनुस्, म छापिदिन्छु । तर, म राइजिङ नेपालले गल्ती गर्‍यो भनेर माफी छाप्दिनँ । यो मेरो पेशागत मर्यादाभित्र पर्दैन, नैतिकताले दिँदैन ।”

साँझ ‘रासस’ले गल्ती भन्दै माफी पठायो । त्यसलाई भने उनले छापिदिए ।

खरेललाई विश्वास गर्ने हो भने उनले पदका लागि कहिल्यै लोभ गरेनन् । आशक्ति देखाएनन् र शक्तिकेन्द्रलाई रिझाउन ढोकाढोका धाएनन् ।

चिरञ्जीवी वाग्ले सञ्चारमन्त्री हुँदा सञ्चार सचिव भोजराज पोखरेल थिए । भोजराजले खरेललाई बोलाएर भने, “तपाईं अब सल्लाहकार भएर बस्ने कि ?”

उनको आशय खरेललाई सम्पादकबाट हटाएर अरु कसैलाई नियुक्त गर्ने तर उनले खाईपाई आएको सुविधा भने दिने भन्ने थियो । खरेलले भने, “सल्लाहकार सम्पादक बस्ने रहर छैन मलाई, सम्पादकमा बस्न पाए बस्छु नभए ठाउँ खाली गरिदिन्छु ।”

० ० ०

खरेलसँग समाचारकक्षमा काम गरेका अहिले पनि धेरै छन् सञ्चारमाध्यममा । उनी कार्यकारी सम्पादक हुँदा अखिलेश उपाध्याय र प्रकाश रिमाल ‘राइजिङ नेपाल’ पुगेका थिए, रिपोर्टरका रूपमा । खरेलले नै उनीहरूको परीक्षा लिएका हुन् । अहिले अखिलेश ‘दि काठमान्डू पोस्ट’ र प्रकाश ‘दि हिमालयन टाइम्स’का सम्पादक छन् ।

 

सबैका गुरु

पत्रकारिता थालेको ६ वर्षपछि उनले पत्रकारिता प्राध्यापन थालेका हुन् । उनका थुप्रै विद्यार्थी अहिले कतै न कतै कार्यरत छन् । कति सम्पादक भए, कति ‘रिटायर्ड’ भइसके । केही लेखाजोखा छैन ।

पत्रकार लोकदीप थापा, दिनेश सत्याल (सौरभ), पुरन्धर घिमिरे, माधव ढुंगेल, राजेश बज्राचार्य, रवीन्द्र मिश्र उनकै विद्यार्थी हुन् । अहिले पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनाल पनि उनकै विद्यार्थी हुन् ।

उनले पढाएनन् मात्रै, पुस्तक पनि लेखे । नेपालमा पत्रकारिताको पढाइ सुरु भए पनि विद्यार्थीका लागि कोर्सबुक थिएनन् । सन्दर्भ सामग्री थिएनन् । त्यही अभाव पूर्ति गर्न उनले पत्रकारितासम्बन्धी किताब लेख्न थाले । अहिलेसम्म उनले २० वटा किताब लेखिसके । त्यसमा दुइटाबाहेक सबै पत्रकारितासम्बन्धी नै छन् ।

० ० ०

खरेलले समाचारमात्रै लेखेनन्, नेपालभित्र र बाहिरका ‘गोरखापत्र’, ‘राइजिङ नेपाल’, ‘मिरर’, ‘द डेली’, ‘स्पटलाइट’, ‘इन्डिपेन्डेन्ट’, ‘डेकन हेराल्ड’लगायत एक दर्जन पत्रिकामा स्तम्भ पनि लेखे । ‘पटपुरी’, ‘इन ब्ल्याक एन्ड ह्वाइट’, ‘इगल आई’ उनका स्तम्भ हुन् ।

स्तम्भ विचार पृष्ठमा छापिन्थ्यो । लेख र सम्पादकीय राखेर बाँकी रहेको एक वा दुई कोलममा उनको स्तम्भ छापिन्थ्यो । ठाउँ साँघुरो हुन्थ्यो । पुछारमा स्तम्भकारको नाम लेखिन्थ्यो । लेखको सुरुमै नामको आकार केही ठूलो र बोल्ड गर्दा समस्या आइलाग्यो । पर्शुराम खरेल लामो भएकाले अट्दैनथ्यो । बोल्ड नगरी के राख्नु ! नअट्ने नै भएपछि उनले ‘पी खरेल’ मात्रै राखे । दुई हप्ता त्यसैगरी छापिएपछि कृष्णप्रसाद भट्टराईका दाइ गोपालप्रसादले भने, “यही राम्रो छ, अब यही राख ।”

कालान्तरमा उनलाई यही नामले चिन्न थालियो । पर्शुराम खरेल र पी खरेल एउटै व्यक्ति हुन् र ? भन्ने अवस्था आयो ।

नेपालमा सबैभन्दा धेरै लेखे लेख्ने पत्रकार खरेल नै हुन् । उनले आजसम्म ३ हजारभन्दा धेरै लेख लेखिससेका छन् । ३ हजारमा डेढ सय लेख नेपाली भाषामा छन् । बाँकी सबै अंग्रेजीमा छन् । उनले खेलकुद र मनोरञ्जनको विषयमा पनि थुप्रै लेख लेखेका छन् । 

० ० ०

त्रिभुवन विश्वविद्यालयले पहिलोपटक पत्रकारिताको प्राध्यापक माग्यो । उनले फर्म भरे । उनीसँग अरु धेरैले फर्म भरेका थिए । परीक्षा दिए । तर, ५ वर्षसम्म पनि अन्तर्वार्ताका लागि बोलाएन । ०६३ को आन्दोलनपछि बल्ल बोलायो । उनी गए । कतिले आफ्नै गुरुसँग के प्रतिस्पर्धा गर्नु भनेर गएनन् । कति गए । नाम उनकै निस्कियो । 

नेपालमा पत्रकारिताको पहिलो प्राध्यापकको इतिहास उनकै नाममा रह्यो ।

 

‘राजावादी’ पत्रकार !

कतिले उनलाई राजावादी पत्रकार भन्छन् । अन्तर्वार्तामा पनि धेरैले घुमाएर यो प्रश्न सोध्ने गरेको उनको अनुभव छ । तर, उनी भने यसलाई स्वीकार्न तयार छैनन् । 

उनले यसलाई ‘नबुझेर गरिएको आलोचना’का रूपमा लिने गरेका छन् । राजावादी या अन्य कुनै पक्षको हुनुलाई उसको काममा त्यो झल्किनुपर्ने खरेलको तर्क छ ।

“मेरो पत्रकारिता जीवनमा मैले लेखेका समाचार र लेखमा राजावादीपन झल्यिो भने भन्नू । यहाँ बुझेर भन्दा पनि नबुझी टिप्पणी गरिन्छ । मलाई आरोप लगाउनेमा यही समस्या छ,” उनी भन्छन्, “तर सत्य के हो भने सक्रिय राजतन्त्र हुन्छ भन्नेमा मेरा साथीहरू थिए । त्यही भएर पनि हुन सक्छ– मलाई दरबारनजिकको आरोप लगाइयो ।”

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गठन भएको राष्ट्रिय पत्रकार संघको उनी अध्यक्ष भए । त्यसले पनि उनलाई राजावादीको आरोप लगाउनेलाई बल पुर्‍यायो ।

“मलाई आग्रह गरे, तदर्थ समितिको अध्यक्ष भएँ । पछि साधारणसभाबाट त्यो पद मैले अरुलाई जिम्मा लगाइदिएँ । को कुन संगठनमा भनेर उसको पहिचान निर्धारण गर्ने भन्दा पनि उसले के गरिरहेको छ, त्यो महत्वपूर्ण पक्ष हो,” खरेल एकै वाक्यमा भन्छन्, “न मलाई त्यो बेला पश्चाताप थियो, न अहिले नै छ । यहाँ आफ्नो गुटमा आएन भने अर्को गुटको भन्ने प्रवृत्ति छ । अरुले भनेजस्तै म दरबारपरस्थ भएको भए धेरै ठाउँमा नियुक्ति लिइसकेको हुन्थें ।”


अहिलेको पत्रकारिता

नेपालको संविधान प्रेस स्वतन्त्रका हिसाबले विश्वका कहलिएका देशभन्दा अगाडि छ । तर, प्रयोगमा भने त्यो नझल्किने खरेलको बुझाइ छ ।

नेपालमा पत्रकारिताको प्रवृत्ति विश्लेषण गर्दै राम्रो काम गर्ने सञ्चारमाध्यमलाई ‘इन्सेन्टिभ’ दिने व्यवस्था गर्नुपर्ने विचार राख्छन् खरेल । सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने छुट्टै विशेष संस्थाको आवश्यकता पनि औंल्याउँछन् उनी । तर, समस्या छ राजनीतिको । राजनीतिक दल र तिनका नेताहरूले सञ्चारमाध्यम प्रयोग गर्ने गरेको उनलाई कत्ति चित्त बुझ्दैन ।

पत्रकार रघु मैनालीलाई उदृधृत गर्दै उनी भन्छन्, “संविधानसभा निर्वाचनमा ६० प्रतिशत रेडियो नेताका नाममा देखिएका थिए । तर, यो पछिल्लो निर्वाचनमा झन्डै ९० प्रतिशत सञ्चारमाध्यम दलका नेताहरूको पक्षमा उभिए ।”

ठूला सञ्चारमाध्यममा राजनीतिक दलका समाचार लेख्ने पत्रकार सम्बन्धित दलका सदस्य हुने गरेको पनि उनलाई चित्त बुझ्दैन । भन्छन्, “समाचारमा राजनीतिक दलको वकालत गर्ने पत्रकारहरू भएसम्म सत्य, तथ्य समाचारको अपेक्षा गर्न सकिँदैन ।”

सम्पादकहरू समाचार कक्षमा बसेर हरेक समाचारको सुपरिवेक्षण गर्ने चलन कम भएको जस्तो महसुस हुन्छ उनलाई ।

“समाचारका एंगल र भाषामा सम्पादकहरू उदासीन देखिएका छन्,” उनी भन्छन्, “मलाई कसैले तलब नदिए पनि म कुन सञ्चारमाध्यममा कस्ता समाचार आएका छन् भनेर दैनिक कटिङ गरेर बसिरहेको छु । सम्पादकहरूको काम चाहिँ के हो ?”

धेरै सञ्चारमाध्यमले पत्रकारलाई न्यूनतम पारिश्रमिकसमेत नदिँदा समस्या बल्झिएको उनलाई लाग्छ । “नौ महिनासम्म पनि पत्रकारले तलब नपाउने गरेका समाचार आइरहन्छन्,” उनी भन्छन्, “दिनेहरुले पनि मास्टर्स गरेको व्यक्तिलाई नेपाल सरकारको पियनले पाउनेभन्दा कम दिन्छन् । त्यसमाथि नियुक्तिपत्र दिँदैनन् । दिए पनि तलब उल्लेख गर्दैनन् । तलब उल्लेख गरेछन् भने पनि त्यसअनुसार दिँदैनन् । असारमा नियुक्तिपत्र दिने ठूला मिडिया हाउसहरू नै हुन् ।”

नेपाली पत्रकारिताका सबल र दुर्बल पक्ष केलाएर बसिरहने खरेलसँग केही नैतिक सवाल पनि छन् । “वार्षिक मिडिया हाउसको आय–व्यय कति हो ? सही अडिट गरेर सार्वजनिक गर्नु पर्दैन ? घाटामा गइरहेका छौं भन्ने मिडिया हाउसका मालिकहरू चत्रपथभित्रै बर्सेनि रोपनीका रोपनी जग्गा किनिरहेका छन् । त्यो आम्दानीको स्रोत के हो ? घाटामा भए किन दशकौंदेखि सञ्चारमाध्यम चलाइरहेको ?”

उनी यस्ता सवाल सधैंजसो उठाइरहन्छन् । तर, सुन्नुपर्नेले सुन्न खोज्दैनन् । सुन्न खोजेजस्तो गर्नेहरूले ‘सुन्ने सहनशीलता’ मात्रै विकास गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC