ad

खेल

दिपेशको राष्ट्रिय कीर्तिमान

दिपेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको १०५ केजी तौल समूहमा स्नाच तर्फ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । १९ बर्ष अघिको कीर्तिमानलाई भंग गर्दै दिपेशले आफ्नो नाममा १२१ केजीको नयाँ राष्ट्रिय किर्तिमान राख्दै स्वर्ण जितेका छन् । 

यसअघि मदन शिबभक्तिको नाममा १२० केजीको राष्ट्रिय कीर्तिमान थियो । शिबभक्तिले आठौं  साफ गेममा उक्त कीर्तिमान कायम गरेका थिए । स्नाच तर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए । 

क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पाए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे । नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

पोखराको उद्योग बाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङले १०५ केजी माथीको तौलमा आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे । दोश्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जन रहे ।

उनले ९५ केजी भार बहन गरे । कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्य पाए । पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी गरि प्रथम स्थान हात पारे । क्लिनमा कञ्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए । स्नाचमा दोश्रो स्थानमा रहेको प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कास्य पाए । कुलतर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य पाए ।

प्रतियोगिताको तेश्रो दिन सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे । उलने स्नाचमा १०५, क्लिन एण्ड जर्कमा १२७ केजी गरि कुलमा २३२ केजी भार बहन गरे । नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९३, क्लिनमा ११७ केजी गरि कुलमा २१० केजी भार बहन गरे । चन्दले रजत पदक पाए । तेश्रो स्थानमा रहेका कञ्चनपुरका विशाल सिंह बिष्टले स्नाचमा ८५, क्लिनमा ११५ गरि कुल २०० केजी भारका साग कास्य पाए ।

यस्तै पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहल बहादुर बसेलले क्लिन एण्ड जर्क र कुलमा स्वर्ण पाए । उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे । टहलले स्नाचमा रजत पाए । उनले स्नाचमा ९० केजी मात्र भार बहन गर्दै नेपाल प्रहरीका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे । महर्जनले स्नाचमा १०० केजी भार बहन गरे । महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए । भक्तपुरका जयदी कोजुले कास्य पाए । कोजुले स्नाचमा ८१ केजी, क्लिनमा ११० गरि कुल १९१ केजी भार बहन गरे ।

च्याम्पियनसिपमा नेपाली सेनाका कमल बहादुर अधिकारीले पुरुष तर्फको स्ट्रङ्गगेष्ट र उत्कृष्ट लिफ्टर खेलाडीको उपाधी समेत जितेका छन् । यस्तै महिला तर्फको स्ट्रङ्गगेष्ट खेलाडीमा नेपाल प्रहरीकी तारादेवी पुन र उत्कृष्ट लिफ्टर खेलाडीमा नेपाली सेनाकी सञ्जु चौधरी रहे । विजयी प्रत्येक खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गरे । 

प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान कायम भएका छन् । तीन दिने प्रतियोगितामा तीन विभागिय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।
 

तपाईंको मत