site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
बाह्र वर्षपछि पुजिए राष्ट्र निर्माता पृथ्वी नारायण शाह
Sarbottam CementSarbottam Cement

वि.सं. २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि बनेको सरकारले नेपालको एकीकरण गर्ने गोरखाका राजा पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गर्दै गणतन्त्रमा राजा नपुज्ने चलन थालेको थियो । त्यति बेलासम्म पृथ्वीनारायण शाहको जन्मदिनको दिन सार्वजनिक बिदा दिँदै राष्ट्रिय एकता दिवस मनाउने गरिन्थ्यो । पृथ्वी जयन्ती मनाउन छाडेसँगै सरकारले पुस २७ गतेको सार्वजनिक बिदा पनि खारेज गरेको थियो ।

तर, बाह्र वर्षमा नेपालका राजनीतिक नेतृत्वको विचार परिवर्तन भएको छ । गणतन्त्र अब संस्थागत भएकाले पनि हुनसक्छ २५० वर्षअघि भएको नेपाल एकीकरणका अभियन्ता राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउन सरकारले औपचारिकरूपमा बाह्र वर्षपछि पुनः सुरु गरेको छ । यस वर्ष २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीवार सिंहदरबारको पश्चिम ढोका अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेकी छिन् । यस समाचारलाई हिमालय टाइम्सले पाँच कोलमको मुख्य समाचार बनाएर प्रस्तुत गरेको छ । टाइम्सका अनुसार वर्तमान सरकारले गत मंसीर १४ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने र यसलाई राष्ट्रिय रूपमा मनाउने निर्णय गरेको थियो । बाह्र वर्षअघि नेपाली कांग्रेसकै सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बन्द गरिएको यो प्रथा नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पुनः सुरु गरिएको छ । 

पृथ्वी जयन्ती राष्ट्रिय स्तरमा मनाउने निर्णय गराउन उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देउवा मन्त्रिपरिषद्मा महत्वपूर्ण भूमिका खेलेका थिए । गत मंसीरमा उनले सो सम्बन्धमा भएको निर्णयलाई सबैभन्दा पहिले टुइट गरेर सार्वजनिक पनि गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यो समाचारलाई हिमालय टाइम्सले सबैभन्दा बढी महत्त्व दियो भने त्यसपछि गोरखापत्रले पनि राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहलाई सम्मान गरिरहेको तस्बिर चार कोलममा प्रकाशित गरेको छ । त्यस तस्बिरको मुनि ‘राष्ट्रिय एकता दिवस मनाइयो’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

केसीको माग प्रधानन्यायाधीशको राजीनामा 

Global Ime bank

गत सोमवार आमरण अनशन सुरु गरेका डा. केसीलाई प्रहरीले हिरासतमा लिएर दुई दिन अदालत लगी दिनभर राखेर अनेक बयान र बहसमा भाग लिन लगाए पछि पनि उनको मनोबल कम भएको छैन । अदालतले प्रधान न्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रमाणपत्र तथा एसएलसीको प्रमाणपत्र झिकाएर अनुसन्धान गर्ने निर्णय गरेपश्चात अदालतको आदेशलाई सकारात्मक मानेका डा. केसीले आफ्नो सत्याग्रह भने नछोड्ने बताएका छन् । आजको कान्तिपुरले प्रकाशित गरेको समाचारअनुसार डा. गोविन्द केसीले एक विज्ञप्ति जारी गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा नआएसम्म आफू पछि नहट्ने बताएका छन् । त्यस्तै प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले प्रधान न्यायाधीश गोपाल पराजुलीलाई अदालतको कामकारवाहीमा बाधा आउन नदिन न्याय सम्पादन प्रक्रियाबाट आफूलाई अलग राख्न आग्रह गरेको छ । कान्तिपुरले यो समाचारलाई प्रथम पृष्ठको मध्य समाचार बनाएको छ । यो समाचारमा डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको पनि कान्तिपुरले लेखेको छ ।

नागरिक दैनिकले डा. केसीले आफ्ना माग पूरा नहुन्जेल अनशन नतोड्ने समाचारलाई मुख्य बनाउँदै केसीका मागको विषयमा लेखेको छ । नागरिकका अनुसार त्रिविका उपकुलपति तीर्थ खनियाँलगायत पदाधिकारीको बर्खास्त, आईओएमका खोसिएका अधिकार फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग गठन, आईओएम डिनमा डा. जगदिशप्रसाद अग्रवाललाई निरन्तरता दिनुपर्ने माग राखेका छन् । 

नयाँ पत्रिकाले चार कोलमको मुख्य समाचार बनाउँदै अबको आन्दोलन केपी ओलीविरुद्ध हुने भनेर डा. केसीका निकटले बताएको कुरालाई बक्स समाचार बनाएको छ । नेकपा (एमाले) सधैँ मेडिकल माफिया निकट भएको र एमाले अध्यक्ष केपी ओलीले उपचारका लागि बैंकक जानुअघि पनि कानुनको विषयमा डा. केसीलाई धेरै थाहा छ भनेर व्यंग्य गर्नुले ओलीविरुद्ध केसीको आन्दोलन हुनसक्ने अनुमान गरिएको हो । 

हिमालय टाइम्सले डा. केसीको समाचारलाई प्रथम पृष्ठको मध्य भागमा प्रकाशित गर्दै ‘न्यायालयको नेतृत्व गर्न पराजुली अयोग्य’ शीर्षक दिएको छ । 

माओवादी मन्त्री ८६ दिन विनाविभागीय भएपछि राजीनामा गर्दै

नेपाली कांग्रेससँग संयुक्त सरकार बनाएको नेकपा (माओवादी केन्द्र)बाट मन्त्री भएकाहरूले गत असोज महिनामा अचानक एमालेसँग मिलेर कम्युनिस्ट गठबन्धन निर्माण गरी मंसीर १० र २१ गते भएको निर्वाचनमा विजयी भएपछि पनि शेरबहादुर देउवाको सरकार छाडेका थिएनन् । यसरी एमालेसँग मिल्न गएपछि देउवाले माओवादी उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीलाई विनाविभागीय बनाएका थिए । विनाविभागीय भए पनि माओवादी मन्त्रीले मन्त्रिपरिषद्को बैठकमा भाग लिइरहेका थिए । हिजो बिहीवार माओवादी मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको समाचार गोरखापत्रले प्रकाशित गरेको छ । गोरखापत्रले शाहीको भनाइ समाचारमा राखेको छ । 

नयाँ पत्रिकाले भने माओवादी मन्त्रीले बिहीवारै राजीनामा दिने भने पनि सार्वजनिक बिदा परेकाले शुक्रवार राजीनामा दिने समाचार बनाएको छ । नयाँ पत्रिकाका अनुसार माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामा पत्र पार्टी कार्यालयमा बुझाएका छन् । माओवादीबाट देउवा सरकारमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारु र प्रभु शाह छन् । त्यस्तै राज्यमन्त्रीहरूमा मोहमद जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा रहेका छन् । राजधानीले पनि यो समाचारलाई प्रथम पृष्ठमा प्रकाशित गरेको छ । 

सम्पादकीय

कान्तिपुरले प्रधान न्यायाधीश गोपाल पराजुलीले उनको विरुद्धमा छानबिन सुरुगर्ने भएपछि कस्तो व्यवहार गर्लान् भन्ने प्रश्न गर्दै सम्पादकीय सुुरु गरेको छ । उनको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउने निर्णय भएसँगै उनी शंकाको दायरामा तानिएका छन् भन्दै यसले उनको नैतिक दायित्वको प्रश्न तेर्सिएको र यो प्रश्न न्यायालयको साखसँग पनि जोडिएको छ भनेको छ । कान्तिपुर अगाडि लेख्छ, ‘आधारभूत योग्यताकै विषयमा अदालतबाटै छानबिन हुँदै गर्दा स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गराउन प्रधान न्यायाधीश पराजुलीले न्यायसम्पादन र न्यायप्रशासनको जिम्मेवारीबाट आफूलाई तत्काल अलग गर्नुपर्छ भन्ने धारणा कान्तिपुरले प्रकट गरेको छ । 

नयाँ पत्रिकाले डा. केसीको सन्दर्भ जोड्दै सम्पादकीय लेखेको छ । डा. केसीको मुद्दामा प्रधान न्यायाधीशको एसएलसीको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि बेन्चसमक्ष पेस गर्न भएको आदेशले सर्वोच्च अदालत विवादको घेरामा परेको भन्ने नयाँ पत्रिकाको टिप्पणी छ । 

अन्नपूर्ण पोस्टले डा. केसीको सन्दर्भमा सर्वोच्चले दिएको निर्णयले न्यायिक नेतृत्वमाथि उठेको संशय र सन्देहको निरुपण खोजिनुपर्ने माग गरेको छ । साथै पोस्टले डा. केसीले सडकबाटै व्यक्तिहरूलाई ‘दोषी’ करार गर्नाले उनले आर्जन गरेको सामाजिक पुँजी क्षयीकरण गर्ने अवस्था रहेकोतर्फ पनि संकेत गरेको छ । 

हिमालय टाइम्सले राष्ट्रिय सभाको निर्वाचन तालिका ढिलाइ युक्त भएको र यसका लागि सरकार जिम्मेवार भएको आरोप लगाएको छ । नागरिकले वाणिज्य बैंकहरूमा तरलताको कमीको अवस्था देखिएको भन्दै सरकारले खर्च बढाउनुपर्नेमा जोड दिँदै सम्पादकीय लेखेको छ । त्यस्तै गोरखापत्रले वायु प्रदूषणमा चिन्ता व्यक्त गरेको छ भने राजधानीले सहायता वितरणमा भएको ढिलाइमा चिन्ता गरेको छ ।
तस्बिर रासस 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC