ad

विचार

न्हु पुखु पुल्हाम : कि टोपी ? 

डा. पुण्यसागर मरहट्टा

न्हु पुखु पुल्हाम : कि टोपी ? 

जसले उनीसँग संगत गर्न पाएको छ, उसैलाई थाहा छ उनलाई कुनै उपमा, उपाधि र विद्को टोपी पहिराउनु गिज्याउनुजस्तै हो  । समकालीन नेपाली वास्तुकलाका प्रयोगार्थी, शोधार्थी, विद्यार्थीले कि त्यस तीर्थको पानी खाएको छ, नभए त्यही तीर्थको पानीले स्नान गरेको छ । सुदर्शनराज तिवारी नामक तीर्थले रानीपोखरीको जीर्णोद्धारमा अग्रसरता देखाएपछि आत्मा कतै छ भने सर्वाधिक खुसी प्रताप मल्लको आत्मा भयो होला । नेपाल खाल्डोको पानी व्यवस्थापनका बृहस्पति हुन् ती तीर्थ ।

उनी खरो बोल्छन्, मिहीन र गहन अध्ययन गरेका छन् । केही अनुयायीका आँखामा बाघ हुन् उनी, तपस्या र ज्ञानले खारिएका बूढा जब आफ्ना चेलाचपेटासहित संरक्षणको दुन्दुभी बजाएर निस्किए, बडेबडे ‘जनसेवक’ले ‘म्याउँ’ गरे ।  तिनै तीर्थले एकबाजी मीठो ज्ञान धारा बाँडे – संस्कृति उध्र्वगामी हुन्छ । कुनै नयाँ प्रयोग समाजको उपल्लोले सुरु गर्छ, सर्दैसर्दै समाजको तल्लो समूहमा आउँछ, ‘ल्याटरल डिस्ट्रिब्युसन’ हुन्छ र जमेर बस्छ । यो उनले मौलिक नेपाली आवासीय वास्तुकलाको प्रसङ्गमा भनेका थिए । जिकिर उनको बोधगम्य किन थियो भने नेपाली वास्तुकलामा आफ्नो भनेर गर्व गर्न लायक नेपाः वास्तुकला अहिले आएर लोपोन्मुख अवस्थामा पुगिसकेको छ । त्यसका कारक धेरै हुन सक्छन् । तर, प्रमुख कारण तत्कालीन सत्तासीन महाराजहरुको हेय भाव प्रमुख हो । 

इतिहास पढ्ने हो भने पृथ्वीनारायण शाहका नातिसम्मले पनि येनकेन नेपाः वास्तुकलाको प्रयोग गरेको देखिन्छ । भीमसेन थापाको पालोमा धरहरामार्फत् सुरुभएको हाम्रो मौलिक वास्तुकला उपरको बलात्कार राणा कालमा र पछि राजा महेन्द्रको नारायणहिटी निर्माणमा चर्कोरुपमा गरिएको र मरणान्त पारिएकै हो । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लाजलाग्दो रुपपछि हाम्रो मौलिक वास्तुकलाले अन्तिम सास फेरेको हो । तथ्य त्यही हो, ज्ञानी गुरु तिवारीले भने झैँ जब श्री ५ वा श्री ३ ले कलकत्ते शैलीका दर्बार, महल, भवन बनाए, उनका कारिन्दाले त्यही सिको गरे । कारिन्दामार्फत त्यो समाजको तल्लो समुदायमा आइपुग्यो र सबैले त्यही सिको गरे । मौलिक वास्तुकलाको निधन भयो । 

सामान्यतया, अहिलेको काठमाडांै महानगरपालिकाका मेयर र उनका अनुचरहरु वैचारिक हिसाबले सम्पदा, संस्कृति वा मौलिकतासँग करैबलै हिमचिम गर्नेजस्ता देखिन्छन् ।  किन म यो लेख्दैछु भने मैले मेयर निर्वाचित हुनासाथ उनले सगुन लिएको फोटो देखेको थिएँ जहाँ ‘सलिचा र ऐला’को साटो भ्याट ६९ को बोतल थियो । उसैमाथि इतिहासका भन्ते र वर्तमानका बाँडा मेयरलाई न्हू पुखुमा द्रव्य नजर आएको सायद जातिगत हिसाबले नै वास्तुशिल्पी ‘स्थापित’को साथ भएर होला ।

रानीपोखरीको संरक्षण गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा बहस चल्दै गर्दा ‘केही पुरातनपन्थीको रोढ्याइँ’ देख्ने र लेख्ने स्वनामधन्य ‘प्रगतिशील इन्जिनियर’ पनि हिजो जोडतोडले मेयर जिताउ अभियानमा किशोर थापालाई सराप्दै गरेका भेटिन्थे । विम्बमा लेख्ने हो भने कुप्रीआमाका गालाका मुजा छोप्न किरिम पाउडर घस्नुपर्छ भन्दै छन् विद्यासुन्दर र अर्बौं खर्चेर लाखौं कमाउने सपना देख्दैछन् ।  सम्पदा चेत द्रव्यचेतभन्दा फितलो देखिन्छ तर त्यो मन मुटुमा जमेर बस्छ । जब त्यो चेतमा आँधी ल्याउँछन् प्रगतिशील ‘गठे’ हरूले, टोलबासी उर्लेर ‘आजुजे हा’ गर्न राँकोसहित सहरबजारमा निस्कन्छन् । अनि जब तिनै गठेहरु टोपी झिकेर बेतोड भाग्छन्, फेटा गुथेका देवताहरु रमिता देखेर हाँस्दा हुन् ।  

आजको युग नेपालको लागि पुनर्जागरणको युग हुनुपर्ने थियो तर लाग्छ, ध्वंश अझै बाँकी छ नेपाली समाजको प्रारब्धमा । त्यसको सुरु मौलिक नेपाः वास्तुकलाको निधनबाट भयो । यो लेख वास्तुकलाको मृत्यमा मात्र सीमित छैन । नेपाली वास्तुकलाका तीर्थको प्रसङ्ग त यसकारणमात्र गाँसिन आयो कि संस्कृतिमा वास्तुकलाको महत्त्वपूर्ण भूमिका रहन्छ । भर्खरै होहल्ला गरिएमुताबिकको हाम्रो टोपी कहिलेदेखि हाम्रो शिरमा छ र किन यो होहल्लाको बिषय हुनुहुँदैन भनेर घोत्लिन मन लाग्यो र यस विषयमा लेख्न जाँगर चल्यो । मलाइ थाहा छ यो लेख मैले लेखेका अहिलेसम्मकै सबै लेखभन्दा विवादास्पद हुनेछ र यसले अनुसन्धाताहरुलाई खुराक पनि दिनेछ ।   
चलनचल्तीको नाम रानीपोखरी भएपनि जुन पोखरीलाई न्हु पुखुः भनिएको छ त्यो पोखरी सन् १६७० को हो भनी इतिहासकारहरुले बताएका छन् । नेपाल भाषामा न्हू को अर्थ नयाँ र पुखुको अर्थ पोखरी हुन्छ । यहाँ नयाँ पोखरीको इतिहास नै ३४७ वर्षको छ भने भूगोलको त्यस खण्डमा मानव निर्मित पोखरीको इतिहास कति पुरानो होला ? रोचक कुरा, पुखु वा पोखरी संस्कृत शब्द पुष्करिणीको अपभ्रंश रुप हो । वैदिक कालदेखि नै तसर्थ पुष्करिणी त्यस सभ्यता र संस्कृतिको अंग रहेको हुनुपर्छ ।

अनि टोपी ? खै ? किन खै भनेको भने त्यही न्हू पुखुको दक्षिणमा हात्तीमा सवार तत्कालीन राजा प्रताप मल्लको सपरिवारको प्रतिमूर्ति छ जसमा राजाले फेटा गुथेको पो देखिन्छ । तत्कालीन राजाले समेत नपहिरेको टोपीलाई हाम्रो सान, मानभन्दा अलि असहज हुनेरहेछ । नेपाल खाल्डोको राजाले नलगाएको टोपी एकीकृत नेपालका राजा पृथ्वीनारायण शाहले पनि नलगाएको नै पाइयो । उनको तत्कालीन सालिक सायद पशुपतिनाथ प्रांगणमा पशुपति मन्दिर र उन्मत्त भैरवको मन्दिरको बीचमा छ । दुई रानीसहित वन्दना मुद्रामा रहेका पृथ्वीनारायण फेटा गुथेर बसेका भेटिन्छन् । त्यसै सेरोफेरोको भित्ते चित्र भक्तपुर दरबारमा छ । उक्त चित्रमा जनमानस देखाइएको छ जसमा समेत टोपी देखिँदैन । साँच्चै, प्रचलनको पृथ्वीनारायण शाहको काल्पनिक चित्र बनाउने चित्रकारका छोरा हुन् रवीन्द्र मिश्र । कोही तराजु प्रोफाइल पिक्चरवालाले ती ‘सुकिलामुकिला’ मिश्रमार्फत् मूर्धन्य चित्रकार मनुजबाबु मिश्रलाई सोधिदिनु – किन पृथ्वीको तस्बीरमा कुनै टोपी छैन ? भनेर ।

राजाको टाउकोमा श्रीपेच हुन्छ भन्ने हो भने पनि तत्कालीन युद्धसम्बन्धी चित्रहरुमा फेटा गुथेका सिपाही देखिन्छन् । गुर्जुको पल्टनले नलगाएको टोपी,  आदिकवि भानुभक्त, युवाकवि मोतीराम भट्टले नलगाएको टोपी, लेखनाथ पौडेललाई वा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली भन्न नचाहिएको टोपी नेपालका कुनै आदिवासी, जनजातिको पारम्परिक पोसाकमा पनि देखिँदैन । गुरुङ, मगर, थारु, थकालीका कुरा छोडौँ, नेपाल राष्ट्रको उद्गम नेपाल खाल्डोका परम्परागत पोसाकमा समेत टोपी भेटिन्न । स्थानीय भाषामा ‘जंको’ भनिने भीम रथारोहण गरिने पर्वमा ज्येष्ठ नागरिकलाई फेटा गुथाइन्छ, टोपी लगाइँदैन । त्यो पनि पुरुषलाई मात्र । महिलाको लागि भिन्नै शिरपोसको व्यवस्था देखिन्छ । खस आर्यको पारम्परिक पोसाक खोज्न त नेपालको मध्य अनि सुदूरपश्चिम जानु पर्ला । त्यहाँको परम्परागत पोसाक र संस्कृति हेर्ने हो भने फेटाकै बाहुल्य देखिन्छ । नपत्याए पश्चिमको धामी नाच हेरे हुन्छ । 

फेरि एकपल्ट नेपाल खाल्डोमा फकौँ । हाम्रा परम्परागत पर्व र संस्कृतिको मसिनो अध्ययन गर्ने सबैलाई थाहा छ – देवता र मानिस उस्तै गरी बसाइएका थिए नेपाल खाल्डोमा । ती देवताहरु हिउँदभर द्योछेंमा बस्थे, हामीजस्तै भात, समयबजी, ऐला खान्थे । जब मौसम अलि अनुकुल र न्यानो हुन्थ्यो ती  खटमा, रथमा चढेर देशाटनमा निस्किन्थे । देशाटनमा निस्किँदा यदाकदा नागरिकका छोरीचेलीलाई दागा धर्थे र दण्डितसमेत हुन्थे । रहर लाग्नेले इन्द्रजात्राका किस्सा पढे हुन्छ वा भक्तपुरमा गणेशको रथलाई किन कुमारीको रथले ठोकाइन्छ ? पढे ज्ञान बढ्नेछ । त्यसरी टोल टोलमा रक्षकका रुपमा बसेका गणेश हुन् कि टोलभित्र नागरिकसरह बसेका अन्य देवीदेवता हुन् सबैबिना टोपी नै बसेका थिए र तिनको मूर्तिमा बरु मुकुट देखिन्छ, टोपी देखिँदैन । भनिन्छ, चित्रकला र मूर्तिकला तत्कालीन समाजको प्रतिविम्ब हुन्छ । न्यातपोलमा द्वारपाल बसेका दुई मुस्तण्ड दिक्पालहरुको शिरमा समेत टोपी छैन । 

कुनै पनि संस्कृति र सभ्यतामा प्रकृतिको अकल्पनीय प्रभाव हुन्छ । पश्चिमी जगतमा हिन्दु भनेपछि साकाहारी बुझिन्छ तर नेपाली र कस्मिरी ब्राह्मणहरु मांसाहारी हुन्छन्भन्दा अन्य हिन्दु नै छक्क पर्छन् । इन्डोनेसियाको बाली टापुका हिन्दुहरु गोमांससमेत उति परहेज गर्दैनन् । भन्न के खोजिएको हो भने खाद्य पनि पहिरनजस्तो संस्कृतिको एक अकाट्य हाँगा हो । जसरी आफू बसेको भूखण्डमा उत्पादन हुने खाना खाइन्छ त्यसरी नै सभ्यताले आफूलाई अनुकूलन गर्छ मौसमसँग । नेपालको भूबनौट हेर्दा चिसो हुँदा कान छोप्न मिल्ने, गर्मी हुँदा तालु छोप्न मिल्ने फेटा मौलिक हुनुपर्छ । त्यसैले आदिवासी, जनजातिका पोसाकमा फेटा देखिन्छ । माथि उल्लेख भएझैँ खस आर्य पनि फेटा नै गुत्थे । 

त्रिभुवन राजाका टाउकामा चढेपछि महेन्द्र, अनि वीरेन्द्र वा सम्भ्रान्त बालकृष्ण सम हुँदै उध्र्वगमन गरेको टोपी संस्कृति । त्यसैले न्हू पुखु भन्दा पनि नयाँ हो । जिरह जे गरे पनि भयो, हाम्रो टोपीको इतिहास २०० वर्षभन्दा पुरानो नहोला । उसै पनि पाल्पाली ढाका टोपीको इतिहास १५० वर्ष नाघ्दैन । भादगाउँले टोपी पनि न्हू खुभन्दा पुरानो होइन ।  न्हू पुखु भन्दा नयाँ हो टोपी, यो मेरो दाबी हो । त्यसो भन्दैमा टोपीको विरोध गर्नुपर्छ भन्दिन म । मलाई सुहाउँछ, त्यसैले म आफैँ टोपी लगाउँछु । तर टोपी नलगाउने अनेपाली हुने पनि होइन, नेपालीबाहेकले टोपी नलगाउने समेत होइन । त्यसैले टोपीमा अल्झेर नस्लीय घृणा फैलाउनुभन्दा रानीपोखरी जोगाउनु पर्छ भन्नु कसरी पुरातनवादीको रुग्ण सोच हुन सक्छ ? 

तपाईंको मत