हग हेफ्नर
हग हेफनर ती थिए, जसले ‘प्लेब्वाइ’ नामको पत्रिका प्रकाशित गरे । मिडिया र मनोरञ्जन क्षेत्रका यी हस्तीको निधन सेप्टेम्बर २७ तारिखका दिन १९ वर्षको उमेरमा भएको थियो । हेफ्नरलाई यौन क्रान्तिका प्रवर्तक पनि मानिन्छ । सामाजिक मूल्य–मान्यतालाई चुनौती दिन उनी सधैं अगाडि सर्थे । समलैंगिक अधिकारका सर्मथकसमेत रहेका हेफ्नर रंगभेदी सोचविरुद्ध पनि मुठ्ठी कस्थे । हेफ्नरले सन् १९६१ मा आफ्नो ‘शिकागो प्लेब्वाइ क्लब’का लागि हास्यकलाकार रिचार्ड ग्रोगरीलाई नियुक्त गरेका थिए । सन् १९५३ डिसेम्बरमा उनले आफ्नै घरको भान्साबाट निकालेको ‘प्लेब्वाइ’को पहिलो अंक ५० हजार प्रति बिकेको थियो, जसबाट ८ हजार डलर आम्दानी भएको थियो ।
चक बेरी
‘रक एन्ड रोल’ संगीत सिर्जनाका सुरुवाती संगीतकर्मीमध्ये एक चक बेरी (चाल्र्स एडवार्ड एन्डरसन बेरी) अमेरिकी गायक, गीतकार र संगीतकार थिए । गत मार्च ८ का दिन उनले ९१ वर्षको उमेरमा आँखा चिम्लिए । आमस्रोतामा उनको प्रभाव यति धेरै थियो कि उनकै देखासिकीबाट केथ रिर्चाड, पल म्याक्कार्टने, जोन लेनन र ब्रुस स्प्रिङ्स्टिन जन्मिए । बब डायलनले चक बेरीलाई ‘रक एन्ड रोलका सेक्सपियर’ भन्थे । लेनन भन्थे, “यदि रक एन्ड रोलको अर्को नाम छ भने त्यो चक बेरी हो ।”
रोजर मुर
ब्रिटिस नायक रोजर मुरले जेम्स बोन्डको सेक्रेट एजेन्टको भूमिका खेलेपछि अन्तर्राष्ट्रिय प्रसिद्धि कमाएका थिए । मे २३ तारिखका दिन ८९ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको १२ वर्षे जेम्स बोन्डको यात्राले नै उनलाई करोडपति बनाएको थियो । उनी युवाहरूका ‘आइकन’ पनि मानिन्थे ।
एडम वेस्ट
सन् १९६० मा टिभीबाट प्रसारण हुने ‘ब्याटम्यान’ सिरिजको भूमिकापछि एडम वेस्ट चर्चामा आएका हुन् । ल्युकेमियाका कारण जुन ९ मा ८८ वर्षको उमेरमा संसार त्यागेका वेस्टको सम्मानस्वरूप लसएन्लजसको सिटी हलमा चमेरा आकारको बत्ती (जुन १५) बालिएको थियो ।
ग्लेन क्याम्पबेल
‘राइनस्टोन काउब्वाइ’ र ‘विचिता’का गायक सुपरस्टार ग्लेन क्याम्पबेलको प्रसिद्धि गाउँ–सहर, टेलिभिजन हुँदै फिल्मसम्म फैलिएको थियो । अगस्ट ८ तारिखका दिन ८१ वर्षको उमेरमा संसार त्यागेका क्याम्प्बेलले पाँच वटा ग्य्रामी अवार्ड जितेका थिए । उनका १२ वटा एल्बम ४ करोड ५० लाखभन्दा बढी प्रति बिक्री भएका थिए । उनले ‘एकेडेमी अफ कन्ट्री म्युजिक’बाट दुईपटक उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गरेका थिए । उनको अन्तिम रेकर्ड ‘अडियस’ जुनमा सार्वजनिक भएको थियो ।
जेरी लेविस
जेरी लेविस अमेरिकी हास्यकलाकार, अभिनेता, गायक, निर्माता, निर्देशक, पतकथाकार र समाजसेवी थिए । उनको निधन ९१ वर्षको उमेरमा अगस्ट २० तारिखका दिन भएको थियो । फिल्म, टिभी, मञ्च, रेडियोमा उनको हास्यव्यंग्य प्रस्तुतिका कारण उनलाई ‘किङ अफ कमेडी’ भनिन्थ्यो । २० वर्षकै उमेरमा डिन मार्टिनसँगको जोडीले उनलाई अन्तर्राष्ट्रिय रूपमा ख्याति दिलाएको थियो ।
टम पेट्टी
टोमस अर्ल पेट्टी अमेरिकी गीतकार, बहुवाद्यवादक, कलाकार थिए । अक्टोबर २ तारिखका दिन ६६ वर्षको उमेरमा उनको निधन भएको थियो । पेट्टी र उनको ब्यान्ड ‘हर्ट ब्रेकर’ले भर्खरै ४० औं वार्षिकोत्सव (१९७६)का अवसरमा सांगीतिक भ्रमण गरेको थियो । ८ करोड प्रति एल्बम बिक्री गरेर उनले चार दशक पुरानो कीर्तिमान तोडेका थिए ।
फ्याट्स डोमिनो
‘रक एन्ड रोल’का ‘गडफादर’ मानिने फ्याट्स डोमिनोको निधन अक्टोबर २४ तारिखका दिन ८९ वर्षको उमेरमा भएको थियो । उनका एल्बम ११ करोड १० लाखभन्दा बढी प्रति बिक्री भएका थिए, जसमा ‘ब्लुबेरी’ र ‘इएन्ट द्याट अ सेम’ गीत पनि पर्छन् ।
माल्कोम योङ
अस्ट्रेलियन हेभी मेटल ब्यान्ड ‘एसी÷डीसी’का सहसंस्थापक माल्कोम योङको निधन नोभेम्बर १८ तारिखका दिन ६४ वर्षको उमेरमा भएको थियो । उनले स्थापना गरेको ‘एसी÷डीसी’ ब्यान्ड ‘ब्ल्याक इन ब्ल्याक’ र ‘हाइवे टु हेल’ बोलका गीतले चर्चित छ । ‘एसी÷डीसी’ले निकालेका १७ वटा २० करोडभन्दा प्रति बिक्री गरेर कीर्तिमान कायम गरेको थियो ।
डेभिड क्यासिडी
गायक र नायक डेभिड क्यासिडी समलैंगिक विशेषता र सुमधुर आवाजका कारण युवाहरूको धड्कनमा बस्न सफल भए । उनको निधन नोभेम्बर २१ तारिखका दिन ६७ वर्षको उमेरमा भएको थियो । सन् १९७२ मा सार्वजनिक उनको पहिलो एल्बम ‘चेरिश’ दशौं लाख प्रति बिक्री भएको थियो ।
डन विलियम्स
चर्चित अमेरिकी लोकगायक डन विलियम्सको ‘आई विलिभ इन यु’ सर्वाधिक चर्चित गीत हो । उनको निधन ७८ वर्षको उमेरमा भएको थियो ।
ओम पुरी
बलिउड जगतका अनुभवी कलाकार ओम पुरीको जनवरी ६ तारिखमा ६६ वर्षको उमेरमा निधन भएको थियो । उनले बलिउडमा लामो समय चर्चा कमाए । हलिउड र ब्रिटिस फिल्महरूमा पनि उनको नाम सम्मानले लिइन्छ । ‘द रिलक्ट्यान्ट फन्डामेन्टलिस्ट’, ‘इस्ट इज इस्ट’ र ‘द हन्ड्रेड फुट जर्नी’जस्ता अंग्रेजी फिल्ममा पनि उनले अभिनय गरेका छन् । ‘अर्ध सत्य’ र ‘आक्रोश’मा गरेको अभिनय कारण उनले धेरै पुरस्कार प्राप्त गरेका थिए ।
विनोद खन्ना
पिसाब थैलीको क्यान्सरका कारण अप्रिल २७ का दिन ७० वर्षको उमेरमा संसार त्यागेका नायक विनोद खन्ना पनि बलिउडमा सम्मानले लिइने नाम हो । ‘अमर अक्बर एन्थोनी’, ‘परवरिश’, ‘रेश्मा और शीला’, ‘मुकद्दर का शिकन्दर’, ‘जमिर’, ‘हेरा फेरि’, र ‘खुन पसिना’ उनका चर्चित र सफल फिल्म हुन् । १४१ चर्चित फिल्ममा अभिनय गरेका विनोद खन्नाले फिल्म ‘मनका मित’बाट अभिनय शुरु गरेका थिए । ओशो रजनिशको शिष्य बनेर सन् १९८२ मा ओरेगन पुगेपछि भने उनले बलिउडबाट विश्राम लिए । उनको विवाह गीताञ्जलीसँग भएपछि दुई छोराहरू अक्षय र राहु जन्मिए । त्यसपछि उनले श्रीमतीलाई छोडे । उनीहरूको विवाह सम्बन्धबिच्छेदमा गएर १९८५ मा टुंगियो । त्यसको पाँच वर्षपछि उनी फेरि बलिउडमा देखा परे । त्यसपछि उनका फिल्म ‘इन्साफ’ र ‘दयावान’ निकै चर्चित भए । त्यसपछि उनले कवितासँग विवाह गरे, जसबाट छोरा साक्षी र छोरी श्रद्धा छन् ।
रिमा लागो
रिमा लागो बलिउड फिल्म जगतकी चर्चित कलाकार थिइन् । धेरैजसो फिल्ममा आमाको भूमिका निभाएकी रिमाले छोटो पर्दाका ‘तु तु मे मे’, ‘खानदान’, ‘श्रीमान् श्रीमती’, ‘दो और दो पाँच’ र ‘नामाकरण’ जस्ता टेलिशृंखलामा पनि अभिनय गरेकी थिइन् । मे १८ तारिखका दिन हृदयघातका कारण उनको निधन भएको थियो । ‘रंगिला’, ‘मैने प्यार किया’, ‘हम आपके हे कौन’ ‘कुछ कुछ होता हे’ उनले अभिनय गरेका चर्चित फिल्म हुन् ।
शशी कपुर
बलिउडका रोमान्टिक कलाकार शशी कपुरको निधन डिसेम्बर ४ तारिखका दिन ७९ वर्षको उमेरमा भएको थियो । उनले बाल कलाकारको रूपमा सानैदेखि अभिनय गर्न थालेका थिए । ‘देवर’, ‘कभी कभी’, ‘नमक हलाल’ र ‘काला पत्थर’ उनका चर्चित फिल्म हुन् । उनले तीनवटा राष्ट्रिय स्तरका पुरस्कार हासिल गरेका थिए भने ‘दादा साहेव पालिके अवार्ड’ पनि प्राप्त गरेका थिए । यो अवार्ड पाउने कपुर खानदानका उनी तेस्रो सदस्य थिए । उनले अंग्रेजी फिल्म ‘सेक्सपियर वाल्लाह’मा पनि अभिनय गरेका थिए ।
टम अल्टर
टम अल्टरको निधन सेप्टेम्बर २९ तारिखका दिन ६७ वर्षको उमेरमा भएको थियो । क्यान्सरका कारण संसार त्यागेका अल्टरले ३ सयभन्दा बढी भारतीय फिल्ममा अभिनय गरेका छन् । हिन्दी, बंगाली, आसामी र तेलेगु भाषामा उनले प्रशस्त अभिनय गरेका छन् । ‘सतरंज के खेलाडी’, ‘गान्धी’, ‘परिन्दा’, ‘क्रान्ति’, र ‘जुनून’ उनले अभिनय गरेका चर्चित फिल्म हुन् । क्रिकेटमा अत्यन्त रुचि राख्ने अल्टरले विभिन्न खेल पत्रिकाका लागि आलेख लेखेका छन् । उनले सन् २००८ मा पद्मश्री अवार्ड प्राप्त गरेका थिए ।
– तारक मेहता (८८) : लामो रोगका कारण मार्च १ मा आँखा चिम्लिएका तारक मेहताको पुस्तक ‘दुनियाँ ने अन्धा चस्मा’मा आधारित रहेर चर्चित टेलिशृंखला ‘तारक मेहता का उल्टा चस्मा’ बनेको हो ।
– इन्दर कुमार (४५) : नायक इन्दर कुमार ‘तुम्को ना भुल पाएंगे’ र ‘वान्टेड’ चर्चित फिल्म हुन् । हृदयाघातका कारण जुलाई २८ मा उनको मृत्यु भएको थियो ।
– सीताराम पञ्चल (५४): अभिनेता सीताराम पञ्चलको निधन अगस्ट १० तारिखमा भएको थियो । उनी लामो समयदेखि मृगौला र फोक्सोको क्यान्सरबाट पीडित थिए । उनको पहिलो फिल्म ‘ब्यान्डिट क्विन’ हो । उनले ‘पिप्ली लाइभ’, ‘स्लमडग मिलेनियर’मा पनि काम गरेका छन् ।
– शकिला (८२): नायिका शकिला ‘आर पार’ र ‘सीआईडी’ फिल्मबाट चिनिन्छिन् । हृदयाघातका कारण सेप्टेम्बर २० तारिखका दिन ८२ वर्षको उमेरमा उनको निधन भएको थियो ।
– कुन्दन शाह (६९) : हृदयाघातका कारण अक्टोबर ७ तारिखमा निधन भएका निर्देशक कुन्दन शाहको चर्चित फिल्म ‘जाने भी दो यारो’ हो । उनले ‘नुक्कड एन्ड वाग्ले की दुनियाँ’ जस्ता टेलिभिजन शो पनि बनाएका थिए ।
– नीरज भोरा (५४) : बहुप्रतिभाशाली कलाकार, निर्देशक नीरज भोराको मृत्यु डिसेम्बर १४ तारिखमा भएको थियो । आमिर खानको ‘रंगिला’बाट चर्चामा आएका नीरजले निर्देशन गरेको पहिलो फिल्म सन् २००० को ‘खिलाडी ४२०’ हो । ‘दौड’, ‘मन’जस्ता फिल्ममा उनको अभिनय उत्कृष्ट छ । ‘फिर हेरा फेरी’ उनको अर्को निर्देशकीय सफल फिल्म हो ।