site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भोक र भोगको भेद
Sarbottam CementSarbottam Cement

– अक्षर काका 


संसारका ठुल्ठूला वादहरूको जननी ‘भोक’ हो । तथापि भोक आफैँको भने कुनै वाद हुँदैन । भुइँका हुन् कि उचाइका, भोक सबैलाई लाग्छ । र, त वर्गविहीन अनुभूति पनि हो– भोक ।

यही भोकले निम्त्याएको भोग र विलासीले बनाएको ‘बादी’को सीमान्त स्वर बोकेर आएको छ– ‘ऐलानी’ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘ऐलानी’ अभावले सिर्जना गरेको सामाजिक प्रभावको स्थूल वर्णन हो । समाजका उपल्ला समुदायले निम्छराको आत्मिक भोकमाथि कसरी सिकार गर्छ र शारीरिक भोक पूरा भएपछि विकारझैँ पन्छाउँछ भन्ने सफेद दृष्टान्त पनि ।

‘ऐलानी’ विम्बमा भोक र भोगकै सामाजिक आयाम हो र समाजका दोयम नागरिकका अन्त्यहीन कथाशृङ्खला ।

Global Ime bank

‘ऐलानी’का पात्रहरूको यो धर्तीमा एकधूर जग्गा छैन । खुला आकाशमुनि सकसपूर्ण तवरले जीवनका जीजीविषा साँचिरहेका सबाल्टर्न हुन्, उनीहरू ।

‘ऐलानी’ कैलालीको साविक दोदोधरा गाविस मुडा, महेन्द्र राजमार्गको छेउमा घाम–शीत नछल्ने साल, कटुस, खरका छाप्रा हालेर काल पर्खिइरहेका दीनहीन बादी समुदायको व्यथा हो । भरजीवन दुभिक्ष्य बेहोरिरहेका र क्षुदाका लागि परपुरुषको पोल्टामा शरीर सुम्पन बाध्य निमुखाहरूको पुस्तैनी कथा पनि ।

० ० ०

“ओई ! मुडा जान्छस् ?”

“मुडामा यसलाई पनि पल्काइदिऊँ न, मुडा नगई बूढा हुन्छ कि क्या हो यो, कि कपाल पाकेपछि बैँस आउँछ यसको,” साथीहरू बेलाबखत खिसिट्युरी गर्थे । तर, पनि मुडा उनको मगजमा आश्चर्यवाचक विम्ब थियो । केटौले उमेरको कूतुहलताको विषय पनि ।

अछामबाट बालखैमा कैलालीको टीकापुर झरे । ब्लक नम्बर १८ मा थियो उनको घर । यायावरीका लागि देशको सुदूरपूर्वबाट थातथलो छाडी आएका र पहाडबाट बसाइँ झरेकाहरूका सामूहिक आवास–क्षेत्र हो टीकापुर ।

रैथाने, मूलबासी थारूहरू उनका बालसखा बने । तिनैसँग धुलीमाटी खेल्दै, उनीहरूको संस्कृतिसँग चिनापर्ची गर्दै बालवय बित्यो भनौँ ।

किशोर उमेरमा खुट्टा राखेपछि भने समाजका सीमान्त कुराहरूले उनलाई चिथोर्न थाले । गरिबी, अभाव, वियोग, दुःख र पीडाले हरबखत पिरोलिरह्यो ।

स्वभावैले जिज्ञासु केटौले उमेर । साथीहरू मुडाको किस्सा सुनाउँथे, “त्यहाँ त च्वाँक तरुनीहरू छन्, भनेजस्तीसँग स्त्रीसङ्गम गर्न पाइन्छ, जीवनको मज्जानुभूति त्यहाँ पो छ !”

अभिभावक, शिक्षकको आँखा छलेर ती पूर्वपश्चिम राजमार्ग छेउछाउका कटेरा, झुपडी टहलिन जान्थे र फर्कंदा नयाँ किस्सा बोकेर आउँथे ।

“आज त यस्ती फेला पारियो, ती बूढी आमाले यसो भनिन्, फलानोलाई पनि फलानीसँग रासलीला गर्दै गरेको आँखैले देखेँ, हाम्रो छेउमा चाहिँ साखुल्ले पल्टिन्थ्यो !” शिक्षक आँखाबाट ओझेल पर्नेबित्तिकै कक्षामा थुक निल्दै सुनाउँथे तिनले ।

ती किस्साहरूले विवेकलाई कहिल्यै कामेच्छा जगाएनन्, न स्त्रीभोगको उत्कण्ठा नै बढायो । यौवनको पूर्वाद्धमै भए पनि रतिइच्छाको उद्वेगले कहिल्यै पिरोलेन । बरु सीमान्त बादी समुदायको दूरावस्था र भोकले निम्त्याएको भोगले घण्टौँ घोत्ल्यायो उनलाई ।

पढ्ने उमेरका किशोरीहरू, जो यौनतुष्टिको माध्यम बन्न अभिशप्त छन् । खेतीकिसानी गर्न सक्षम बलिष्ठ पाखुरा भएका तन्नेरी, पुरुषहरू श्रीमतीले तताएको ओछ्यानबाट पेट न्यानो बनाउँछन् । कटक्क काट्थ्यो कलेजो ।

खुल्लमखुला यौन बर्जित छ । किशोर, किशोरीले सीधा आँखाले एक–अर्कालाई हेर्न सक्दैनन् । तर, त्यही समाजमा कोही यस्ता समुदाय छन्, जो शरीर सुम्पिएरै गृहस्थी चलाउँछन् ।

किन ?

उत्तर खोज्न हिँडेको, लेखक पो बने विवेक ।

० ० ०

०७१ सालको हेमन्तको ठिही, रत्नपार्कतिर टहलिन पुगेका थिए विवेक । रत्नपार्क– मस्तिकमा मुडाकै विम्ब कैद थियो । रत्नपार्कको बारतिर पिठ्युँ अड्याएर अनेक पात्रको अनुहार दृष्टिगोचर गरे । हुन सक्छ, ती पात्रमध्ये अधिकांश यौनकर्मी थिए । हुन सक्छ, कति स्त्रीसङ्गममा लत बसालेका थिए । जेहोस् उनले दिनभरका दृश्य मथिङ्गमा संगृहीत गरे ।

तिनताका मुलुकमा पहिचानको मुद्दा पेचिलो बनेको थियो । पहिचाको आडमा आ–आफ्ना अधिकारको पैरवी गर्नेहरू सक्रिय भएको समय थियो त्यो । 

आख्यान, उपाख्यानमा कलम चलाउने मानिस । त्यसो त लेखक बन्ने सपनाको कुम्लोकुटुरो मात्रै बोकेर काठमाडौँ आएका थिएनन्, केही कथाकुथुङ्ग्री पनि साथै ल्याएका थिए उनले ।

“सके प्रकाशन गर्छु, नसके पढेर आफैँ आस्वादित हुन्छु,” उनको ध्येय यही थियो । सपनालाई पानीले होइन, पसिनाले सिञ्चित गर्नुपर्छ– यो मान्यताका दृढ थिए उनी । अतः पैतालाले नाप्न थाले काठमाडौँका गल्ली र संगत हुन थाल्यो गिनेचुनेका साहित्यकारसँग ।

त्यसबाट मस्तिष्कमा अंकुरित कथाले आकार ग्रहण गथ्र्यो/गर्दैनथ्यो, सपनाले साकार रूप धारण गथ्र्यो/गदैनथ्यो– थाहा छैन तर साहित्य–सिर्जनासँग साक्षात्कार हुने प्रशस्त मौका पाए ।

०७१ कै शीतयाम । साथीहरूको लहैलहैमा लागेर डान्स क्लब पुगे उनी । बाह्य सहरको रूखो जीवनमा पसिना पोख्दापोख्दै सहरको भित्री पाटो नियाल्न भ्याएकै रहेनछन् उनले । हावामा पैसा फ्याँकेका, चुरोटको धूवाँमा सपना रङ्मङ्ग्याएका तरुणतन्नेरीको रात्रिकालीन जीवनशैलीले पुनः उनको मन उद्वेलित बनायो । भोक र भोगबीचको भेद खोज्न पो थाले उनी ।

“बाध्यता पन्छाउन देह बेचिरहेका र विलासमा रमाउन देहभोग गरिरहेका बीचको भेद पर्गेल्न पो थालेँ मैले,” उनी अहिले सम्झन्छन् ।

क्लबहरूमा यस्ता पात्र देखे, जसलाई ‘काम’का अघिल्तिर रुपैयाँ निस्काम छ । मुडामा यस्ता किस्सा सुनेका थिए, जहाँ पैसाका अघिल्तिर सपना, कौमार्य, यौवन, इज्जत होइन, शरीर नै फिक्का हुन्छ । पैसासँग यौनाङ्ग साट्दासाट्दै सिंगै जीवन रित्याएका छन् उनीहरूले ।

क्लबका सुन्दरी र सुरतमा अभ्यस्त नवयौवनाको अनुहारले दिमाग खज्मज्यायो उनको । मुडामा उनले देखेका थिए– हरदिन शरीर सुम्पिए पनि बेलुका खाना पस्किएर खाने सामथ्र्य राख्दैनथे बादीहरू । जिन्दगीभर परपुरुषको शरीरलाई तुष्ट तुल्याउँदा तुल्याउँदै आफ्नो शरीरका लागि सोच्नै समय पाएनन् । न समस्यालाई पर्गेल्न नै सके । उनीहरूका घर र थर सदियौँदेखि ओतविहीन रहे । सालकटुसका भीमकाय रूख छिचोलेर उनीहरूका झुप्रामा कहिल्यै पहारिलो घाम लागेन ।

मुलुकभर पहिचानको आन्दोलनको भुङ्ग्रो खडा भयो । अल्पङ्ख्यक बादीहरूले भने त्यसबाट केही लाभ पाउन सकेनन् । न शासन–सत्तामा उनीहरूको पहुँच स्थापित भयो न ‘यौनकर्मी’को दाग नै हट्यो । समाजले होइन, सरकारले समेत ‘पिङ्गला’ मात्रै ठान्यो उनीहरूलाई ।

मुकाममा फर्किएको अबेर रातिसम्म उनलाई निद्रा परेन । बादी समुदायको दुःख कहरले मन पिल्स्याइरह्यो र सोही दिन अठोट गरे– यही विषयलाई उपन्यासको शीर्ष कथा बनाउँछु । कसैले पढेनन् भने पनि राज्य–सत्ताको दैलोमा त समस्या पुग्ला नि !

उपन्यास लेखनको हुटहुटी त झ्यांगियो तर कसरी लेख्ने ? दिमाग रन्थनिन थाल्यो । बादी समुदायकै किस्सा सुनेर हुर्किएका र त्यहीँको माटोमा धुलीमाटी खेले पनि काठमाडौँमै बसेर पुस्तक पार लगाउनु दुस्साहसजस्तै हुन्थ्यो । त्यसैले उनी पोकापन्तुरा बोकेर थातथलो नै फर्किए । सपनालाई सपनाले नै मलजल तुल्याउन सक्दैन, आर्थिक जोहो अनिवार्यजस्तै हुन्छ ।

झन्डै एक वर्ष कैलालीकै विद्यालयमा अध्यापन गर्न गरे । त्यही समयावधिमा उपन्यासको पाण्डुलिपि तयार पारे ।

“दीर्घसूत्री बनेर काठमाडौँतिरै अल्झिएको भए अहिलेसम्म ‘ड्राफ्ट’ पूरा हुँदैनथ्यो शायद,” फिस्स हाँसे उनी ।

० ० ०

मस्तिष्कमा उपन्यासका स–साना फगटा तयार पारेर बादी बस्ती पुगे । त्यहाँ पुगेपछि चित खाए उनी । बादी बस्ती पुगेँ कि समस्याको चक्रव्यूहमा ? खुट्याउनै सकेनन् ।

कतै प्लास्टिक टाँगिएका । सालका पातसमेत राम्ररी नछापिएका झुप्रा । र्‍यालसिंगा काढेका, अनागरिकतुल्य बालबचेरा । मीनपचासको छुट्टीमा आएका पाहुनाझैँ लाग्ने दुःख, गरिबी । पीडाले ३६ मुजा परेका अनुहारहरू । आफूभन्दा दोब्बर उमेरका पुरुषलाई कौमार्य सुम्पन अभिशप्त स्कुले किशोरी । फाटेका र टाल्न नसकेका कपडाका प्वालबाट गोप्य अंगले समेत आकाश चिहाइरहेको, बडो विद्रूप दृश्य उनको आँखामा पर्‍यो । मन अमिलियो ।

मानवीय सभ्यता र विकासबाट कोसौँ टाढा । भनौँ न– मध्ययुगीन अवस्थाबाट बाँचिररहेको थियो बस्ती ।

उपन्यास लेखनका क्रममा कैयौँपटक उनी बस्ती पुगे । त्यहाँका दुःख, कष्ट र शरीर मोलमोलाइको साक्षी बने । जतिपटक बस्ती पुग्थे, कुराकानी गर्थे र बाहिर आउँथे । त्यहाँ पुरुषहरूको सिरुतुल्य प्रश्नले घोच्थ्यो, “काम भयो ?”

भेटेमध्ये केही पात्रहरूलाई टपक्क टिपेर उपन्यासमा राखे र तिनको ‘फ्याक्ट’ लाई ‘फिक्सन’मा बदले ।

कुनै घटनाविशेषलाई कथा बुन्न सजिलो छ तर समुदायमाथि उपन्यास लेख्ने साहस बटुल्नु पहाड पल्टाउनुसरह हो । उनी बस्ती पुग्दा बादी समुदायका मानिसहरू खुल्लमखुला देहविलासमा संलग्न हुने परिस्थिति थिएन । कानुनतः बर्जित थियो त्यो कार्य । बस्तीमा प्रहरी बेलाबखत छापा मार्न पुग्थे ।

“पुलिसहरू छापा मार्न होइन, सित्तैमा मोजमस्ती गर्न आउँछन्, हामीलाई दुःख दिन्छन्,” आमाहरू पीडा पोख्थे ।

विशेषगरी ०६३ को आन्दोलनपश्चात् बादी समुदायको सामाजिक स्तरोन्नतिका लागि विभिन्न संघ/संस्थाको आँखा पनि परिरहेको थियो ।

सभ्यताको सुरूवाती चरणदेखि नै खेतीकिसानी र पशुपालन नगर्ने बादी बस्तीमा कुखुरा चर्न थालेका थिए । केही खेती किसानी पनि गर्थे । जीवनशैली बदलिए पनि स्तरोन्नति भने हुन सकेको थिएन ।

त्यसैले बादी समुदायमाथि नै लेख्ने अठोट गरेर लेखोट खोजे । अभिलेखहरूमा आँखा पुर्‍याए । उनीहरूको इतिहास, सभ्यता र विकासक्रम उत्खनन् गर्न थाले । तर, हात लाग्यो शून्य हुन्थ्यो ।

बादी समुदायको कुनै पनि लिखित इतिहास भेटिँदैन । कतै भेटिन्छ– अल्पसंख्यकको रूपमा चिनिने बादी समुदाय नेपालका ७५ जिल्लामध्ये ७२ जिल्लामा ९ हजारको संख्यामा बसोबास गर्दै आएका छन् ।

बादीहरू १४ औं शताब्दीतिर भारतीय उपमहाद्वीपबाट सल्यान हुँदै दाङ, रुकुम, रोल्पा र जाजरकोटमा बसोबास गर्न आइपुगेका हुन् । त्यतिबेला उनीहरूको मुख्य पेशा थियो– चाडपर्व, विवाह–व्रतवन्ध, भोज–भतेर आदि अवसरमा राजामहाराजा र धनाढ्यहरूको दरबारमा नाचगान गर्नु । त्यसबापत बक्सिसमा प्राप्त हुने जग्गा–जमिन, घर अनि नगद–जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो ।

कतै उल्लेख छ– लिच्छवीकालपूर्वदेखि नै नेपाल देशमा बादीहरू बसोबास गर्दै आएका हुन् । नाचगान गरेर राजारजौटालाई खुसी पार्दापार्दै स्त्रीहरू भोगविलाको माध्यम बन्न अभिशप्त भए ।

स्पष्ट अभिलेख नहुँदा हैरान भए उनी ।

बादी समुदायको आफ्नै मिथ छ– भगवान शिवद्वारा श्रापित हुनाले उनीहरू पौराणिककालदेखि नै यस्तो कर्ममा लाग्न अभिशप्त छन् । अर्को मिथ पनि छ– धर्मग्रन्थमा उल्लिखित स्वर्गका अप्सराकै शाखासन्तती हुन् र वैदिककालदेखि नै उनीहरू यौनपेसामा छन् ।

समुदायको पढेलेखेका मानिसहरू छैनन् । साक्षरता प्रतिशत पनि उकास्न सकिएको छैन । अतः उनीहरूले आफ्नो इतिहासबारे खोज–अन्वेषण, अध्ययन अनुसन्धान पनि गर्न सकेका छैनन् ।

“किन यस्तो पेशामा सक्रिय हुनुहुन्छ ?” कपाल तिलचामल भएका कतिपय प्रौढ उमेरका महिलालाई यो प्रश्न सोध्थे उनी ।

“हामी त दैवीकालदेखि नै यो काममा छौँ । भगवानको आदेशानुसार नै यो काम गर्छौं,” खुल्लमखुला भन्थे उनीहरू ।

“म आफ्नो पतिबाहेक अरूसँग त्यस्तो कार्य गरिनँ । म पो भगवान हुँ,” कसैकसैले आफूले सतित्व जोगाएको अड्डी कस्थे । एकाथरीले यौनकर्मलाई भगवानको आदेश मान्छन्, अर्काथरीले परपुरुषसँग सम्बन्ध नरहनुलाई सतित्व–पालना ठान्छन् ! एकै समुदायको जीवनदर्शबारे यो कस्तो विरोधाभाष ? उनीहरूको जीवन–दर्शनप्रति मतैक्य नहुँदा दिग्भ्रमित हुन्थे उनी ।

कतिपय सन्दर्भहरूको सवाल उठाउन गाह्रो हुन्थ्यो तथापि उनीहरू खुलेआम जवाफ दिन्थे र यौनकर्ममा लागेकाप्रति गर्व गर्थे ।

० ० ०

बादीसमुदायबारे लेखनको दौरानमा उनले एउटी किशोरी फेला पारे, त्यस्तै १९ वर्षकी । उनी १४ वर्षदेखि बाध्यात्मक देहव्यापारमा थिइन् । उपन्यासको मूलकथा तयार पार्न धेरै सघाइन् उनले ।

“रहरमा त यस्तो घृणित काम कसले गर्दो होला र दाइ ? हातमुख जोर्ने अरू माध्यम छैन । सबैले बादी भन्छन्, यस्तो काम नगरे पनि यस्तै काम गर्छे होली ठान्छन् । समाजको नजरमा हामी कुनै मानिस होइनौँ, फगत उनीहरूका यौनचाहना पूरा गर्ने जन्तु हौँ,” बरबरी आँसु झार्थिन् उनी ।

प्रशासनले छापा मार्न थालेपछि त्यहाँका ६० भन्दा बढी महिला र युवतीहरू भारतीय कोठीमा पुगेर यौनकर्म गरिरहेका छन् ।

त्यहाँका महिलाहरूको जीवन आफ्नो काबुमा चल्दैन । न आफ्नो इच्छामुताबिक आफ्नो जिन्दगी नै अघि बढाउन पाउँछन् । बिहान उदयाचलदेखि अरूको शारीरिक भोक मेटाउन शरीर पस्कन्छन् र अरूको ओछ्यान तताँउदा तताउँदै रात ढल्किन्छ । हमेसा परपुरुषको अँगालोमा बाँधिदा बाँधिदा सामाजिक मूल्यविहीन बनेका कथा–व्यथा सुन्दा उपन्यास कसरी टुंग्याउने होला भनेर चिन्तित हुन्थे विवेक ।

एउटी आमै थिइन्, बादी समुदायकी । अछामबाटै झरेकी हुन् । दिन बिराएर विवेकको दैलामा अन्नपात माग्न आइरहन्थिन् उनी ।

“कुप्रो र झुत्रो शरीरकी वृद्ध आमै हाम्रो घरमा बरोबर माग्न आइरहन्थिन् । ती आमैले पनि उपन्यास लेख्न घच्घच्याएको हो मलाई । उपन्यासमा किशोरी र आमैलाई पनि पात्रका रूपमा उभ्याएको छु,” रचनागर्भ प्रष्ट्याए उनले ।

० ० ०

बादी समुदायसँग शव गाड्नेबराबरको जमिनसमेत आफ्नो छैन । जीवनभर कतिजनासँग देहभोग गर्नुपर्छ र अनिच्छामा कतिको गर्भ बोक्नुपर्छ, यकिन छैन । सरकारले देहव्यापार बर्जित त ग¥यो र सामाजिक पुनःस्थापना गर्न सकेको छैन । श्रमयोग्य बादी समुदायलाई आर्यआर्जनका विकल्प दिन सक्ने हो भने, शायदै देहव्यापार गर्थे उनीहरू ।

उनीहरूले सदियौँदेखि भोग्दै आएको अर्को समस्या हो– नागरिकता ।

सरकारले हरेक दिने नागरिकको पहिचान नपाउँदा उनीहरू अनागरिक बन्नुपरेको छ । त्यसले विद्यालय भर्नादेखि ज्यालामजदुरी गर्नसमेत अप्ठ्यारो पारिरहेको छ ।

‘आमाको नामबाट नागरिकता पाइने’ सरकारले कागजी नियम त बनाएको छ तर अनेक कानुनी जटिलता छिचोलेर नागरिकताको ढोकासम्म पुग्दै सक्दैनन् बादीहरू ।

दुख्ने कसलाई ?

“यही दुःखाइको समष्टिगत रूप हो ‘ऐलानी’,” यति भनेर कुराकानी टुंग्याए उनले ।
 

(विवेक ओझाकृत ‘ऐलानी’ सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २२, २०७४  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC