काठमाडौं । वर्षौंदेखि अदुवा खोलाको कहर खेप्दै आएका झापाका स्थानीयले यसबाट मुक्ति पाउने भएका छन् । स्थानीय तह निर्वाचनपछि आएका जनप्रतिनिधिले जिल्लाको अधिक समस्याका रुपमा रहेको नदी कटान नियन्त्रणलाई आफ्नो योजनामा पारेपछि स्थानीयले नदीको जोखिम कम हुने आशा गरेका छन् ।
“अदुवा खोलो नियन्त्रण हुने भएपछि हर्षित छौं,” अर्जुनधारा ६ का बासिन्दा भेषराज घिमिरेले भने, “अदुवा खोलाले वर्षांैदेखि पीडित हुँदै आएका हामी जनप्रतिनिधिले खोला बाँध्ने भएपछि केही राहत महसुस गरेका छौं ।”
यसअघि स्थानीयले अदुवा खोला नियन्त्रणका लागि बारम्बार प्रयास गरे पनि यसका लागि सरकारी स्तरबाटै पहल शून्य थियो । पछिल्लो समय खोला किनारको जग्गा मिच्दै प्लटिङ गर्ने प्रवृत्ति फस्टाएपछि झापाका शनिश्चरे, बिर्तामोड, देवीबस्ती, बिर्ताबजार, देउनिया क्षेत्रका बस्तीमा वर्षाको समय अदुवा पसेर दुःख दिने गरेको छ ।
“अदुवा खोलाले वर्षौंदेखि दिँदै आएको सास्ती अब हल हुनेछ,” अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लोकनाथ गौतमले भने, “यसका लागि हाम्रो क्षेत्राधिकारभित्र बग्ने खोलाको साँध क्लियर गर्ने काम भइरहेको छ, तारजाली लगाएर केही दिनमै यो कामलाई पूर्णता दिन्छौं ।”
जग्गा प्लटिङ गर्नेहरुले अदुवा खोलाको जथाभावी दोहन गरेका कारण खोलाको आकारमा एकरुपता नभएका कारण वर्खाको समयमा खोलामा पानी नअट्ने स्थानीय बताउँछन् । अदुवा खोलाको चौडाइ ५० फुट कायम रहनुपर्ने स्थानीय र इञ्जिनियरहरुको भनाइ रहे पनि बिर्तामोड बजार छेउका केही स्थानमा जग्गा प्लटिङ भएका कारण उक्त क्षेत्रफल कायम गर्न समस्या देखिएको वडाध्यक्ष गौतमले बताए ।
कार्की डाँडाबाट डुङ्गाडाँगीसम्म अदुवा खोलाको प्रभाव क्षेत्र रहे पनि तत्काललाई बिर्तामोड बजार उत्तरका पुष्पलाल चोक, देवीबस्तीलगायत स्थानमा तार जाली लगाई अदुवा खोला नियन्त्रण गरिने बताउँदै गौतमले बाह्रखरीसँग भने, “पहिला बिर्तामोड बजार उत्तरतर्फ खोला दायाँबायाँ मोडिने स्थानमा काम अगाडि बढाइन्छ ।” त्यसपछि जनप्रतिनिधि र स्थानीयसँग छलफल गरी बजार क्षेत्रमा काम अघि बढाइने गौतमले जानकारी दिए ।
पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र इलामबाट झापा बिर्तामोडमा बसाइँसराईको क्रम उच्च भएकाले यहाँको जनसंख्या बढेको र खोला बग्ने स्थानलाई साँघुरो बनाउँदा वर्षाको समयमा अदुवा खोलाले दुःख दिने गरेको पत्रकार महासंघ झापाका पूर्वसभापति तथा बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका पूर्वशिक्षक केशव आचार्यले बताए ।
“खोला बग्ने जग्गा मिचेर घर बनाउने प्रवित्तिले अदुवा खोलो साँघुरिएको छ,” आचार्यले भने, “पहिला बिर्तामोड बजारमा केही ठाउँमा पैनी थिए, ती स्थान नम्बरी जग्गामा रहेकाले अहिले पैनीहरु मासिए । वर्षाको समयमा बजारमा जम्ने पानी अदुवा खोलामै पानी मिसाउनाले खोलाको आकार बढ्ने गर्छ ।”
नदी नियन्त्रण योजनामा मेयरहरु
अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले जिल्लाका नदीनाला नियन्त्रणका लागि नगरपालिका लागिपरेको बताए । यसका लागि नेपाल सरकार अन्तर्गतको ‘जनताको तटबन्ध’ र ‘भू–संरक्षण’ले बिरिङ र टाङटिङ नदी नियन्त्रणको काम सुरु गरेको रानाले जानकारी दिए ।
जिल्लाका टाङटिङ, बिरिङ, सुखानी, नेते, राते, पगला, दहीझोडा र हिले नदीले वर्षाको समयमा स्थानीलाई सताउने गरेको र यसको रोकथाममा नगरपालिका अग्रसर रहेको उनले बताए । “यी नदीहरु बर्खाको समयमा बस्तीतिर पस्दा र सीमा मिच्दै नम्बरी जग्गातिर पस्दा समस्या उत्पन्न हुने गरेको छ,” रानाले भने ।
यता शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र शेर्मा पनि नगरपालिकासँग खोला नियन्त्रणको योजना रहेको बताउँछन् । “हाम्रो नगरपालिकामा पर्ने कनकाइ र कमल दुई ठूला नदी नियन्त्रणका लागि नगरपालिकाको बजेटले भ्याउँदै यसलाई माथिबाटै हेरिनुपर्छ,” शेर्माले भने, “दूधे, सताक्षी, झरनालगायतका साना खोला नियन्त्रणका लागि हामीसँग बजेट र योजना दुवै छ ।”
यस्तै बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले आफ्नो नगरपालिका क्षेत्रभित्र रहेका र नगरपालिकाको बजेटले भ्याउने खोलानदी नियन्त्रणको योजना रहेको बताए ।
झापाका बिरिङ, टाङ्टिङ, फूलमती, कनकाई, कमल, सुखानी, राते, अदुवा, हँडिया, हर्चना, घाग्रा, निन्दा र मेची खोलानदीमा वर्षेनी बाढीको जोखिम उच्च रहन्छ ।