हरिवंश आचार्य नेपाली हास्य जगतमा सबैभन्दा अगाडि आउने नाम हो । टेलिचलचित्रदेखि कथानक चलचित्रसम्म उनको ठूलो योगदान छ । हास्य विधाको प्रयोग गर्दै चोटिलो सन्देश दिनु उनको विशेषता हो । मदनकृष्ण श्रेष्ठसँग मिलेर उनले करिब चार दशकदेखि काम गर्दै आएका छन् । ३७ वर्ष पुरानो महसञ्चारको ब्यानरमा अहिले चलचित्र ‘शत्रुगते’ बनिरहेको छ । किरण केसीको निर्माण रहेको चलचित्रलाई प्रदीप भट्टराइले निर्देशन गरिरहेका छन् । महसञ्चारले १७ वर्षपछि कथानक चलचित्र निर्माण गरेको हो । चलचित्रमा हरिवंश आचार्यले पनि अभिनय गरेका छन् । केही दिनअगाडि सार्वजनिक भएको चलचित्रको गीत ‘रुपै मोहनी’ मा हरिवंशको पनि नृत्य छ । तर, हरिवंश भने यसलाई नृत्य मान्न तयार छैनन् । हरिवंशसँग ‘शत्रुगते’सँगै समग्र नेपाली चलचित्रका विषयकमा केन्द्रीत रहेर बाह्रखरीका लागि नरेश फुयाँल ले गरेको कुराकानीः
करिब दुई दशक कुर्नुपर्यो यहाँलाई ठूलो पर्दामा हेर्न । किन यति लामो समय 'फिचर फिल्म' मा काम गर्नुभएन ?
यो बीचमा माओवादी द्वन्द्व भयो । त्यो द्वन्द्वको प्रभाव नेपाली चलचित्रबजारमा पनि पर्यो । चलचित्र ओरालो लाग्न थाले । बन्नै छाडे भन्दा पनि हुन्छ । निकै कम संख्यामा मात्रै बने यो समयमा चलचित्र । ४–५ वर्षमात्रै भयो चलचित्र आफ्नो लयमा फर्किएको । अहिले चलचित्रले राम्रो बजार बनाउन थालेका छन् । केही नेपाली चलचित्रले त नाम चलेका हिन्दी चलचित्रलाई समेत व्यापारका हिसाबले पछि पारेका छन् । नेपाली चलचित्रले आफ्नो भाषा, संस्कृति, परम्परालाई समेटे भविष्य उज्जवल छ ।
नेपाली चलचित्रले मौलिक विषय कम उठाए भन्ने यहाँको बुझाइ हो ?
डिजिटल प्रविधिको विकास र विस्तार भएपछि केही हदसम्म नेपालमा मौलिक चलचित्र बन्न थालेका छन् । यसभन्दा अगाडि हिन्दी र नेपाली सिनेमा निर्माणको ‘ट्रेन्ड’ मा केही फरक थिएन । हिरो, हिरोइन र भिलेन राख्यो, तीन वटा फाइट र ४ वटा गीत राखेर चलचित्र बनाउने चलन थियो ।
तर, डिजिटल प्रविधिको विकासभएपछि नयाँ प्रविधिको प्रयोग हुन थालेको छ । स्क्रिप्टमा पनि नयाँ प्रयोग हुन थालेको छ । जस्तो– हामीले पहिला बनाएका ‘१५ गते’, ‘लालपुर्जा’, ‘बनपाले’ जस्ता टेलिचचित्र बनाएका थियौैं । त्यसलाई हामी टेलिभिजनको चलचित्र भन्थ्यौं । टेलिभिजनको भन्दा बाहिरको ‘ट्रेन्ड’ भनिन्थ्यो । अहिले आएर त्यही नै ठूलो पर्दाको चलचित्रको ‘ट्रेन्ड’ भएको छ ।
भनेपछि तपाईंहरुले दुई दशक अगाडि उठाएको विषय र प्रस्तुतिको शैलीअहिले फिचर फिल्मले उठाउँदैछन् भन्न खोज्नुभएको हो ?
हामीले मात्रै भन्दिन म, अरुले पनि बनाउनु भएको थियो । त्यो समय टेलिचलचित्रले उठाएर ‘सेट’ गरेको ‘ट्रेन्ड’ मा अहिले चलचित्र बन्न थालेका छन् । यो मैले भनेको मात्रै हो, हेर्नेहरु सबैलाई थाहा छ ।
हिन्दी ‘फर्मुला’लाई छोडेर अब हामीले आफ्नै चलचित्र बनाउन थालेका हौं कि जस्तो लाग्छ । नेपालीपन बोक्ने मौलिक चलचित्र बन्न थालेका छन् अहिले । महसञ्चारको ब्यानरमा चलचित्र निर्माण भइरहेको छ ‘शत्रुगते’ । यो कस्तो खालको चलचित्र हो ?
सामाजिक विषयवस्तुमा बनाइएको चलचित्र हो । हास्यप्रधान चलचित्र पनि भन्दिन म यसलाई । मान्छे हाँस्नुभयो भने त्यसै हास्यप्रधान हुन्छ । यसको विशुद्ध उद्देश्य भनेको मनोरञ्जन हो । चलचित्रमा मनोरञ्जनलाई सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्छ । चलचित्र भवनभित्र दर्शक पसेपछि खुसी भएर निस्कनुपर्छ ।
मह जोडीको चलचित्र भन्नेबित्तिकै हाँसोसँगै सन्देश पनि हुन्छ भन्ने अपेक्षा त होला नि दर्शकमा ?
विषयले केही न केही कुरात बोल्छ नै । तर सन्देशलाई नै अगाडि राखेर मनोरञ्जनलाई चलचित्रमा पछाडि राख्नु हुँदैन । मनोरञ्जनलाई अगाडि राखेर विषयवस्तुलाई पछाडि राखेर चलचित्र बनाएका छौं । पक्कै पनि विषयसँगै सन्देश पनि आउँछ ।
चलचित्रको गीत ‘रुपै मोहनी’ मा आफैं नाच्नुभएको छ । रहर हो कि कथाले माग्यो ?
चलचित्रमा अभिनय गरेपछि गीतमा पनि समावेश हुनुपर्छ । कथाले त्यस्तो वातावरण आफैं क्रिएट गर्छ । यो गीतमा पनि त्यही अनुसार प्रस्तुत भएकै छु । यो गीतमा मैले ‘डान्स’ गरेको छैन । यसमा मैले शारीरिक ‘एक्सप्रेसन’ दिएको छु । ‘डान्सर’ को जस्तो, नृत्य गर्न पोख्त मान्छेको जस्तो मेरो शरीर चल्दैन । मैले शरीरले ‘डान्स’ नगरे पनि मैले ‘एक्सप्रेशन’ ले ‘डान्स’ गर्ने प्रयास गरेको छु । विषयले मागेअनुसार प्रस्तुत हुने कोसिस गरेको छु । ‘डान्स डाइरेक्टर’ ले मलाई मेरोकमजोरी पत्ता लगाएर यसलाई अफ्ठ्यारा‘स्टेपहरु’ दियो भने गर्न सक्तैन भनेर मलाई ‘एक्सप्रेसन’ मात्रै गर्न लगाउनु भएको छ ।
केही वर्षयता ‘कमेडी जानरा’ का चलचित्रले ‘बक्स अफिस’ मा राम्रो उपस्थिति जनाइरहेका बेला ‘शत्रुगते’ सामाजिक विषयवस्तुमा निर्माण गर्नुभयो । यो जोखिम होइन र ?
नेपामा मात्रै होइन, विश्वभर नै हास्यप्रधान चलचित्र मन पराइन्छन् । नेपालमा पनि त्यो ‘ट्रेन्ड’ सुरु भएको छ । पहिला पहिला ‘ह्युमर’ सिर्जना गर्दा हास्य कलाकारले मात्रै गर्थे । तर अहिले हिरो हिरोइनले पनि ‘ह्युमर’ सिर्जना गर्छन् । ‘स्क्रिप्ट’ नै त्यस्तो बन्नुपर्यो । ‘स्क्रिप्ट’ त्यस्तो होस् कि मैले खेले पनि दर्शक हाँसुन् र हास्य कलाकारले नखेले पनि हाँसुन् । विषयमा ‘ह्युमर’ हुनुपर्छ र पक्कै पनि ‘शत्रुगते’ मा पनि ‘ह्युमर’ छ ।
‘शत्रुगते’ पछि ठूलो पर्दामा यहाँलाई कत्तिको देख्न पाइने छ ?
वर्षको एउटा चलचित्र बनाउने हामीले सोचेका छौं । अर्को चलचित्रको पनि हामी तयारी गर्दै जान्छौं यो चलचित्र प्रदर्शनमा आइसकेपछि ।
काँचको पर्दामा कम देखिनुहुने हो ?
होइन । काँचको पर्दामा पनि काम गर्छौं । काँचको पर्दामा पनि चलचित्र बनाउने कुराहरु आइरहेका छन् । काँचको पर्दाकमसल माध्यम होइन । एक दिनमा करोडौं मान्छेले हेर्ने माध्यम हो टेलिभिजन । हामीले यसलाई पनि छोड्नु हुँदैन । प्राथमिकतामै छ । वर्षको एउटा चलचित्र महसञ्चारबाट निर्माण गर्ने कि भन्ने कुरा भैरहेको छ ।
तपाईं आफैंले‘फिचर फिल्म’ निर्देशन गर्ने सम्भावनाचाहिँ कत्तिको छ ?
म अभिनय गर्ने कलाकार हुँ । अभिनयमै जोड दिन मन लाग्छ । निर्देशन गरेपछि फेरि अभिनयमा फर्किन पनि त्यति राम्रो हुँदैन । त्यसैले अभिनयमै रहन्छु म । अहिले पछिल्लो पुस्तामा हामीभन्दा पनि राम्रो निर्देशकहरु आउनु भएको छ । मैलेभन्दा पनि अहिलेको प्रविधिलाई चिन्नु भएको र प्रयोग गर्नसक्ने निर्देशकहरु आउनु भएको छ । उहाँहरुलाई नै निर्देशन गर्न दियो भने मेलै भन्दा उहाँहरुले राम्रो चलचित्र बनाउन सक्नुहुन्छ जस्तो लाग्छ ।
नेपाली चलचित्रले उठान गरेका विषयलाई हेर्दा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
विश्वभरमै चलचित्र हेर्ने हो भने पनि ९० प्रतिशत चलचित्र सन्तोषजनक हुँदैनन् । बलिउडकै हेर्ने हो भने वर्षमा हजारौं चलचित्र बन्छन् तर हिट हुने १०–१२ वटामात्रै हो । हाम्रोमा पनि धेरै चलचित्र बन्न थालेका छन् । नाम चलेका चलचित्र हेर्न हामी पनि जान्छौं । धेरै अपेक्षा राखेर पनि गइन्छ, सोचेजस्तो हुँदैन । तर, कति नामै नचलेका चलचित्र हेर्दा राम्रो विषय उठान गरेको देखिन्छ । यस्ता चलचित्रलाई व्यावसायिक बनाउन पाएको भए हुन्थ्यो भन्ने लाग्छ ।
चलचित्र प्रोपागाण्डा बिजनेस पनि हो । कतिले चलचित्र राम्रो बनाउँदैनन् । प्रोपागाण्डा मात्रै गरेर इनिसियल बिजनेस दुई दिनमै राम्रो गरेर हिँड्छन् तर कति भने राम्रो चलचित्र बनाएर पनि दर्शकसामुजान सक्तैनन् । यी दुइटै ‘मेथड’ बाट हामी भने टाढा छौं । नराम्रो चलचित्रबाट पनि कमाउनुपर्छ भन्ने मान्यतामा म छैन । अरुलाई पनि म यही भन्छु, इमान्दार भएर काम गर्नुपर्छ भन्छु । राम्रो चलचित्र बनाऔं, हाम्रो मात्रै होइन, सबैको चलचित्र चलोस् भन्ने मेरो चाहना छ ।
के भयो भने नेपाली चलचित्रलाई अझै राम्रो बनाउन सकिन्छ ?
नेपाली चलचित्र राम्रा बन्न थालेका छन्र अझै राम्रो भविष्य छ राम्रा चलचित्रका लागि किनभने विद्युतीकरण हुँदैछ । पूर्वदेखि पश्चिमसँग विद्युतीकरण हुँदैछ । विद्युतीकरणसँगै राम्रा राम्रा फिल्म हलहरु जन्मिन्छन् । अहिले सयवटा चलचित्र हलमाहामीले चलचित्र देखाइरहेका छौं भने आगामी दिनमा हामी ५ सयवटा हलमा चलचित्र देखाउन सक्छौं । चलचित्रको बजार खुम्चिँदैन, बढ्दै जान्छ । बजार बनेअनुसार गुणस्तरीय र मौलिक चलचित्र भने हामीले बनाउन छोड्नु हुँदैन ।