site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कस्तो नेता चाहिन्छ विपक्षलाई ?

अबको विपक्षी राजनीति परम्परागत प्रतिक्रियाका भरमा चल्न कठिन हुन्छ । कुनै बेला थियो अहिलेका कांग्रेसका ठूला नेताहरू भन्थे — हामीले विरोध गर्ने हो गरेका छौँ । अरू के गर्ने ? नेतृत्व परिवर्तनको प्रश्न उठाउँदा अबका नेताले पूरा गर्नुपर्ने भूमिकाका विषयमा पनि स्पष्ट हुनुपर्छ । सामान्य लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गर्ने आँट कम्युनिस्टहरूले पनि गर्न सक्नेछैनन् । अप्रत्यक्षरूपमा गरिने प्रहारलाई पहिचान गरेर रोक्ने सुझबुझ देखाउन सक्नुपर्छ अबको विपक्षले । मूलतः आउने दिनमा विपक्षी राजनीति लोकतान्त्रिक संस्थाको रक्षा, कर्पोरेट भ्रष्टाचारको विरोध र दण्डहीनताको अन्त्य जस्ता मूल विषयमा केन्द्रित गर्नुपर्नेछ । 

लोकतान्त्रिक संस्थाको रक्षा

सर्वसत्तावादी मनसाय राख्ने शासकहरू ( नेपालका हकमा त सबै पार्टीका नेताहरू) ले सबैभन्दा पहिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने र तिनको साख समाप्त पार्ने षड्यन्त्र गर्छन् । कम्युनिस्ट गठबन्धनको शासन यसको अपवाद हुनेछ भनेर पत्याउने कुनै आधार छैन । कांग्रेसले नै बहुमत पाएको भए पनि सर्वसत्तावादी शासनको जोखिम थियो । मात्रामा घटबढमात्रै हो नियत सबैको उस्तै देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अदालतले सरकारको निर्णय उल्ट्याउनेबित्तिकै महाभियोगको धम्की दिइनेछ । निर्वाचन आयोगमाथि त अहिले नै आक्रमण भइरहेकै छ । सत्ताको अहंकारले लोकसेवा आयोगदेखि महालेखा परीक्षकसम्म, राष्ट्रिय मानव अधिकार आयोगदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका संस्थालाई सत्ताप्रति राज्यप्रति हैन सरकारको नेतृत्वप्रति निष्ठावान् बनाउने प्रयास हुनेछ ।

अर्कातिर, त्यस्ता संस्थामा नियुक्ति पाउने वा पाएकाहरूमा पनि ’अतिभक्ति’ देखाउने प्रवृत्ति बढी नै देखिनसक्छ । कहिले कहीँ त अतिभक्तिसँगै षड्यन्त्र पनि जोडिएको हुन्छ । भारतको महालेखा नियन्त्रक तथा परीक्षकको ’टु जी स्पेक्ट्रम’ वितरणमा भ्रष्टाचार भयो भन्ने प्रतिवेदनलाई निकै महत्त्व दिइयो । भारतीय जनता पार्टीले त्यसैलाई कांग्रेसविरुद्ध प्रचारको अश्त्र बनायो । सीबीआईले मुद्दा चलायो । सम्बन्धित व्यक्ति जेलमा परे । तर, अहिेले सीआईबी अदालतले भ्रष्टाचार भएको नदेखिएको भन्दै सबैलाई सफाइ दियो । हुन पनि, राज्यलाई नोक्सान भएकै थिएन । हुनसक्थ्यो भनेकै भरमा प्रतिवेदन दिइएको थियो । अबको विपक्षले धेरैको गर्धनमा झुन्डिन सक्ने यस्ता तरबारको जोखिम रोक्न काम गर्न सक्नुपर्नेछ ।

Global Ime bank

कर्पोरेट भ्रष्टाचारको विरोध

कम्युनिस्ट र कांग्रेस नेतामा भ्रष्टाचार गर्ने र हेर्ने दृष्टिकोणमा एउटा स्पष्ट अन्तर छ । कांग्रेसहरू व्यक्तिगतरूपमा भ्रष्टाचार गर्छन भने कम्युनिस्टहरू संगठित भ्रष्टाचार गर्छन् । पार्टीका नाममा जति पैसा जोसँग लिए पनि हुन्छ भन्ने मान्यता देखिन्छ कम्युनिस्टहरूमा । यसैले उनीहरू पार्टीको कुनै नेतालाई भ्रटाचारको आरोप लगाउन र आरोप लागेको व्यक्तिलाई बचाउन सिंगो पार्टी संयन्त्रलाई प्रयोग गर्न हिचकिचाउँदैनन् । अर्कातिर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरू प्रभावशाली नेतालाई पैसा खुवाएर प्राकृतिक साधन स्रोतको दोहन गर्न पल्केका हुन्छन् । बाहिर हेर्दा ठूला विकास योजनामा अन्तर्राष्ट्रिय लगानी आएको देखिन्छ तर यथार्थमा भ्रष्टाचारको पैसा बाहिर गएर भित्र आउने गर्छ ।

भारतीय जनता पार्टीको तीन वर्षको शासनमा यस्ता थुप्रै घटना उजागर भएका छन् । उही कम्पनीले आयात गर्छ, ठेक्का लिन्छ र निर्यात पनि गर्छ । एउटाबाट अर्को कम्पनीमा जाँदा कमिसनको रकम बढ्दै जान्छ र सबै पैसा राज्यको ढुकुटीबाट खर्च हुन्छ । यस्ता अनेकौँ विकृति आगामी दिनमा देखा पर्न सक्छ । विपक्षमा बस्नेहरूले पैसाको लोभमा नपरी यस्ता कम्पनी र आचरणविरुद्ध आवाज उठाउन र जनतालाई सजग गराउनुपर्नेछ । 

दण्डहीनताको अन्त्य 

नेपाली समाजले अहिले भोग्नुपरेको अर्को समस्या हो दण्डहीनता । शान्ति प्रक्रियाका नाममा दण्डहीनतालाई संस्थागत मान्यता दिइयो । माओवादी हिंसाकालको मात्र हैन त्यसपछिका जघन्य अपराधहरूमा पनि अपराधीले उन्मुक्ति पाउने गरेको देखिन्छ । समाजमा राजनीतिक आवरणमा हुने अपराधलाई नियति ठानेर स्वीकार गर्ने प्रवृत्ति बढ्दै गएको छ । अदालत र मानव अधिकार आयोगजस्ता संस्थाका निर्णयहरू कार्यान्वयन नगरेर सरकारहरूले तिनलाई निरीह बनाइएका छन् ।

माओवादीहरू विद्रोह कालको मानवता विरोधी अपराध सामसुम बनाउन उद्यत हुनेछन् । राज्यको सुरक्षा संयन्त्र पनि उति बेलाको अपराध सामसुम होस् भन्ने चाहन्छ ।

पीडितहरूबाहेक अरूले खासै चासो पनि नलिन सक्छन् । अर्कातिर, विधिको शासन स्थापित भएन भने कमजोर नागरिकका साथै सत्ताको विरोध गर्नेहरूमाथि ज्यादती बढ्नसक्छ । यसैले माओवादी हिंसाकालमा भएका मानवताविरुद्धको अपराधलाई सामसुम पारेर थन्क्याउन नदिन विपक्ष सजग रहनुपर्छ । 

अबको विपक्षी नेता सडक र सदन दुवैतिर स्पष्ट दृष्टिकोण राख्ने र आवश्यक परे अनशन बस्नसक्ने आँट भएको हुनुपर्छ । संसार र नेपाल दुवै बुझ्ने हुनुपर्छ । आधारातसम्म संसद्मा बहस गरेर भोलिपल्ट सडकमा विरोध प्रदर्शनको अगुवाइ गर्नसक्ने नेता हुनुपर्छ ।

पार्टीको पराजयपछि नेतृत्व परिवर्तनको माग चर्केको छ । स्वाभाविक पनि हो । राजनीतिक नैतिकता भए नेतृत्वले पराजयको जिम्मेवारी लिनु पनि पर्छ । तर, कांग्रेसको अहिलेको नेतृत्वसँग राजनीतिक नैतिकताको अपेक्षा गर्नु मूर्खता हुन्छ । अर्कातिर, नेतृत्व परिवर्तन भए कांग्रेसको सबै समस्या समाधान हुन्छ भन्ने सोच पनि उत्तिकै गलत हो । पार्टीको पुनरुत्थानका लागि अहिलेको कांग्रेसको सोच, संस्कार र जीवनशैलीमै आमूल परिवर्तन आवश्यक छ । परिवर्तनको अगुवाइ अहिलेको नेतृत्वबाट सभ्भव देखिँदैन । यसका लागि नेतृत्व परिवर्तन आवश्यक हुन्छ । तर, नेपाली कांग्रेसलाई कस्को र कस्तो पार्टी बनाउने हो भन्ने स्पष्ट नहुँदासम्म नेतृत्व बदल्दैमा पार्टीको पुनरुत्थान हुँदैन । 

अहिले कांग्रेसकै नेताहरू पनि अन्योलमा देखिन्छन् — यो कस्तो र कस्को पार्टी हो र अरू पार्टीहरूभन्दा फरक के छ ? सामान्य जनतामा अन्योल हुनु त झन् स्वाभाविक हो । आफैँ अन्योलमा रहेको नेतृत्वको पछि कोही लाग्दैन । चुनावमा कांग्रेसले एउटा सही विषय उठाएको थियो — कम्युनिस्ट एकताबाट सर्वसत्तावादको जोखिम बढ्छ । तर, यसबाहेक अरू कुनै विषयलाई कांग्रेसले आफ्ना पक्षमा जनसमक्ष राख्न सकेन । कांग्रेस पुँजीवादी पार्टी हो भन्ने आरोप विपक्षीले लगाए । कांग्रेसले ’हो भने हो !’ भने झैँ विनोद चौधरीलाई आर्थिक चेहरा बनायो ।

जनताले कांग्रेसलाई अस्वीकार गर्नुको एउटा कारण सायद यो पनि हो । यो त एउटा उदाहरणमात्र हो । चौधरीले त नेपाली कांग्रेसमा प्रवेश गर्दा पक्कै निकै विचार गरे होलान् । सफल व्यापारी हुन् घाटाको सौदा पक्कै गरेनन् होला । तर, के कांग्रेस नेतृत्वले पनि गम्भीरतापूर्वक विचार गरे होलान् ? पार्टीभित्र छलफल भएजस्तो देखिँदैन । नत्र, कांग्रेस कम्युनिस्टहरूको जस्तो बन्द पार्टी त हैन ? कम्युनिस्टहरूले पो पार्टी एकता गर्ने निर्णय समेत गोप्य राख्न सक्छन् । जेहोस्, कांग्रेसले स्थापना कालदेखिको छवि एकैपटक बदल्यो तर पार्टीमा पर्याप्त छलफलै गरेन । यस्तो शैली र प्रवृत्ति रहुन्जेल कांग्रेसमा नेता बदले पनि नबदले पनि जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनेछैन ।

धेरैले अनुमान गरेका थिए — चुनाव यति नराम्ररी हारेपछि नेपाली कांग्रेसको नेतृत्वले पक्कै यसको गम्भीर समीक्षा गर्नेछ । कांग्रेसका नेतालाई राम्ररी चिन्नेहरूले भने समीक्षाको हुने पत्याएका थिएनन् । चुनावी परिणामको घोषणागत्तै कांग्रेसलाई अर्तीबुद्धि दिनेहरू पनि थाक्तै गएका छन् । कांग्रेसका नेताहरू भने प्रदेश सभाको समानुपातिक सदस्यमा आफ्नो गुटका धेरै जनालाई पार्न विवाद गर्नमा व्यस्त रहे । ’राष्ट्रिय मेलमिलाप दिवस’ मनाउनसमेत उनीहरू एकै ठाउँमा उभिन सकेनन् ।

यिनैले कांग्रेसलाई पुनर्जीवन देलान् भन्ने आशा गर्नु सायद शल्यलाई सेनापति बनाएर महाभारत जित्ने दुर्योधनको आशाजस्तै हो ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताले नै यसको आर्थिक, सामाजिक र राजनीतिक पहिचान बनाउनुपर्छ । कांग्रेसलाई कसरी चलाउने हो भन्ने निर्णय पनि उनीहरूले गर्ने हो । उनीहरूकै रोजाइलाई जनताले चुनावका माध्यमबाट कसी लगाउने हो । कम्युनिस्ट गठबन्धनले पाएको स्पष्ट र पर्याप्त बहुमत नेपाली कांग्रेसलाई ५ वर्ष सत्ताबाहिर बस्ने जनादेश पनि हो । सत्ताबाहिर रहनुको अर्थ विपक्षमा राजनीति गर्नु हो अराजनीतिक हुनु होइन । 
कांग्रेसमा क्षमता भएका नेता त छन् तर के तिनीहरू छानिन सक्छन् ?

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १७, २०७४  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC