Skip Advt.

मेलमिलापको नीति : नेपाली राजनीतिको मियो

विपुल पोख्रेल

आज राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका कार्यकर्ताले विशेषगरी यस दिनलाई सम्झने गर्छन् । राजनीतिलाई मेलमिलापका आधारमा अगाडि बढाएमात्र हाम्रो अस्तित्व जोगिन्छ र लक्ष्य प्राप्ति सहज हुन्छ भनेर प्रेरित गर्ने दिन हो यो । बीपी कोइरालाले प्रतिपादन गरेको मेलमिलापको नीति अहिले पनि नेपाली राजनीतिको मियो बनीरहेको छ । यसको आफ्नै राजनीतिक महत्त्व छ । 

’मेलमिलाप’ शब्दले नै एउटा सकारात्क र रचनात्मक चेत जगाउँछ । मानिसको स्वभाव नै मिलेर बस्ने प्रकृतिको हो । यही स्वभावका कारण मानव सभ्यताको विकास सम्भव भएको हो । तर, विभिन्न स्वार्थ र फरक दृष्टिकोणका कारण मानिसबीचमा पनि फरकपन रहन्छ, यो पनि स्वाभाविक नै हो । यी दुवै मानवीय चरित्रलाई मनन गर्ने हो भनेमात्र मेलमिलापको वास्तविक अर्थ बुझ्न सहज हुन्छ । मानिसबीचमा हुने स्वाभाविक अन्तर संगठित हुँदै फरक फरक शक्तिकेन्द्रको निर्माण हुने हो । यसरी निर्माण भएका शक्तिकेन्द्र बीचको टकरावले साझा स्वार्थसमेत ओझेलमा पर्ने खतरा सधैँ रहन्छ । यही खतरा न्यून गर्दै साझा स्वार्थमा एकै ठाँउमा उभिन गरिने आह्वान नै मेलमिलाप हो । 

राष्ट्रिय साझा स्वार्थ भूलेर अस्वस्थ्य प्रतिस्पर्धामा नेपाली शक्तिकेन्द्रबीच टकारावको अबस्था निम्त्याउन उद्यत रहेकै बेला महामानव बीपी कोइरालाले साझा स्वार्थको स्मरण गराउँदै मेलमिलापको प्रस्ताव गरेका थिए । विसं २०३३ सालमा राष्ट्रिय मेलमिलापको प्रस्ताव गर्दै बीपी आफ्ना निकटतम सहयोगीहरूसहित भारतको निर्वासित जीवन त्यागेर नेपाल फर्केका थिए । उनी नेपाल फर्किरहँदा एयरपोर्टबाटै उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो । । त्यतिबेला उनीमाथि मृत्युदण्डको सजायसम्म हुने प्रकारका ७ वटा मुद्दा लगाइएको थियो । मेलमिलापको नीति नेपालको कमजोर बन्दै गएको राष्ट्रियताका लागि सञ्जीवनी थियो । यो सञ्जीवनी पत्ता लगाउने ‘वैद्य’ थिए बीपी कोइराला । राष्ट्रियता र प्रजातन्त्रबीचको अन्तरसम्बन्धका विष्यामा स्पष्ट उति बेलाका एकमात्र नेता बीपी कोइरालाले यो नीति अख्तियार नगरेको भए नेपालको राष्ट्रियता नै संकटमा पर्न सक्ने अनुमान धेरैले गरेको देखिन्छ ।

देशमा राजाको प्रत्यक्ष शासन, राजाको सक्रिय शासन अस्वीकार गर्नेहरूलाई अराष्ट्रिय तत्व भनेर देश निकाला वा कैदको सजाय हुने गरेको अवस्था र दक्षिण एसियाका साना देशहरूको अस्तित्व नै संकटमा परेको बेला बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी राष्ट्रियतालाई पुनर्जीवन दिएका थिए । उनको सो प्रस्ताव राष्ट्रियतामा आक्रमण हुँदा देशभित्रका शक्ति एक ठाउँमा उभिएर देश जोगाउनुपर्छ भन्ने राष्ट्रिय भावनाको उच्चतम चिन्ता र चासोको अभिव्यक्ति थियो ।

त्यतिबेला नेपाली राजनीतिका शक्तिका रूपमा राजा र जनपक्षीय शक्ति स्थापित थिए । बीपीले जनपक्षीय शक्तिको प्रतिनिधित्व गर्थे । जनपक्षीय शक्तिको नेतृत्वकर्ताले राजासँग प्रजातन्त्र प्राप्तिको आन्दोलन थाती राखेर देश जोगाउन गरेको प्रस्तावलाई नै राष्ट्रिय मेलमिलापको प्रस्तावका नामले चिनिन्छ । यो प्रस्ताव नेपाली राजनीतिको एउटा विशिष्टतम नीतिका रूपमा अहिले पनि स्थापित छ । हुनत, आजको दिनलाई कांग्रेस, उसका भातृ तथा शुभेच्छुक संस्थाले विषेश पर्वका रूपमा मनाउने गर्छन् तर देशको वर्तमान राजनीतिले मेलमिलाप (साझा राष्ट्रिय चासोका विषयमा) आवश्यक रहेको तथ्यलाई विभिन्नरूपमा स्वीकार्दै त्यसका लागि राजनीतिक नेतृत्वको ध्यान खिच्ने गरेको छ । यही ध्यान खिचाइले नै पछिल्ला परिवर्तनहरूका लागि दलहरूलाई एउटै थलोमा उभिन प्रेरित गरेको हो ।

विसं २०४६ को आन्दोलन र त्यस यताका सबै आन्दोलन, सम्झौता, गणतन्त्र, संविधान सभाको निर्वाचन, संविधान निर्माणजस्ता महत्त्वपूर्ण घटनाक्रमको जग यही मेलमिलापको नीति नै हो । रक्तपातबिना नै गणतन्त्र स्थापनाको नौलो अनुभव होस् या दुनियालाई आश्चर्यचकित तुल्याउने ढंगले अगाडि बढेको र टुङ्गोमा पुग्न लागेको शान्ति प्रक्रिया यी दुवै ऐतिहासिक घटनाक्रमको सफलताको आधार पनि मेलमिलापको नीति हो । कम्युनिस्टहरूले यस नीतिलाई त्यतिबेला कांग्रेसले राजासँग समर्पण गरेको भन्दै सतही व्याख्या गरे । त्यसैकारण उनीहरू अहिलेसम्म पनि त्यस नीतिको ऐतिहासिक महत्त्वको विवेचना गर्न हिचकिचाउँछन् । तर, कम्युनिस्ट क्रान्तिको रणनीति त्यागेर लोकतन्त्रको साझा कार्यसूचीमा मेलमिलापको नीतिमा प्रवेश गरी तिनले पनि यो नीतिको पक्षमा आफूलाई उभ्याएको भने प्रष्ट बुझ्न सकिन्छ । त्यसैले राष्ट्रिय राजनीतिको अहिलेको मुख्य धार बीपी कोइरालाले नेपाली राजनीतिमा प्रवेश गराएको मेलमिलापको नीति नै हो । 

मेलमिलापको नीति घोषणा गरेर बीपी कोइराला नेपाल फर्कदाका घटनाक्रम अपत्यारिला, जोखिमको बेवास्ता गर्ने अद्भूत दुस्साहसको प्रदर्शनजस्ता मानव मस्तिष्कलाई रोमाञ्चित तुल्याउने घटना लाग्न सक्छन् । ती घटना विभिन्न स्मरण र पुस्तकमा उल्लेख गरिएका पनि छन् । तर, नेपाली राजनीतिलाई आफुले चाहेको मोडमा लैजान सक्ने र देशलाई एकताको सूत्रमा बाध्न अचुक सूत्र आविष्कार गर्न सक्ने महामानव बीपी कोइरालाको मेलमिलापको नीति हामी सबैलाई एक ठाउँमा राख्न गरिएको महान् आह्वान हो । यसको सान्दर्भिकता सधैँ रहिरहनेछ । यस दिवसले दिने सन्देश ग्रहण गर्दै साझा एजेन्डामा मिलेर अगाडि बढ्न सबै तयार हुन सक्नुपर्छ । यही नै अहिलेको राष्ट्रिय आबश्यकता पनि हो । 

विडम्बना, बीपी कोइरालाको मृत्युपछि यो नीतिको पृष्ठपोषण गर्ने र स्वामित्व लिनुपर्ने नेपाली कांग्रेस आफँैभित्र बेमेलबाट ग्रस्त छ । आन्तरिक मेलमिलापका माध्यमबाट देशको राजनीतिलाई सही दिशा दिने संकल्प सबैभन्दा पहिले कांग्रेसबाटै हुनुपर्छ । यसो हुनसक्यो भने मेलमिलापको नीति अझ पनि हाम्रो देशको निर्देशक सिद्धान्त बन्न सक्नेछ । 

प्रतिकृया दिनुहोस