site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
राजनीतिक दलका नेता संस्कारहीन र अभद्र भएकै कारण समाजमा राजनीतिक कार्यकर्ताको छवि बिग्रेको हो । यसै पनि ओरालो लाग्दै गएको राजनीतिक संस्कारमा दशक लामो माओवादी हिंसाले असहिष्णुता, विद्वेष, कुण्ठा तथा दम्भ व्याप्त बनाएको छ । अहिले समाजमा राजनीतिक कार्यकर्ता भन्ने बित्तिकै दम्भी, पाखण्डी, भ्रष्ट र कुण्ठित व्यक्तिको छवि प्रक्षेपित हुनपुग्छ । सम्भवतः जनमानसमा बसेको यस्तो छविलाई राम्ररी ठम्याउने व्यंग्यकारहरू नै हुन् । टेलिभिजनका हास्य शृंखलादेखि सञ्चार माध्यमका कार्टुनहरूसम्ममा राजनीतिकर्मीको नराम्रो छवि सम्प्रेषित हुनुको कारण यस क्षेत्रमा व्याप्त अपसंस्कार नै हो । अपसंस्कारको एउटा लाजमर्दो उदाहरण प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बोलाएका प्रमुख दलहरूको बैठकमा प्रकट भएको छ । 
 
प्रधानमन्त्री दाहालले संविधान संशोधन, स्थानीय तहको निर्वाचन, मधेस समस्याजस्ता विषयमा छलफल गर्न बैठक बोलाएका थिए । नेपाली कांग्रेसका सभापति र नेकपा (एमाले)का अध्यक्ष उपचारका लागि देशबाहिर भए पनि पार्टीका शीर्ष तहकै नेताहरू बैठकमा सहभागी थिए । तर, प्रधानमन्त्री दाहालकै उपस्थितिमा बहालवाला र पूर्व उपप्रधानमन्त्रीहरूको दन्त बझान सुरु भयो । आरोप प्रत्यारोप चर्कदैँ जाँदा स्थिति निकै अप्रिय हुनपुगेको समाचार बैठककै सहभागीले सञ्चारकर्मीलाई दिएका छन् । विशेषगरी एमाले नेताले संविधान संशोधनका विषयमा भारतीय नेताहरूसँग छलफल गरेको विषयलाई उठाएपछि प्रतिवादमा उत्रेका उपप्रधानमन्त्रीले एमाले नेताहरूप्रति पनि कटाक्ष गर्न पुगे । एक अर्कामाथि विदेशीको इसारामा चलेको आरोप लगाउँदा दुवै नेताले जनताका सामु आफैँ निर्वस्त्र हुन पुगेको भेउ नै पाएनन् । उनीहरूको संस्कार हेर्दा ती पदका लागि योग्य थिएनन् भन्ने स्पष्ट देखिन्छ । सम्भवतः नेपालको राजनीतिक नेतृत्वमा देखिएको संस्कारगत ह्रासको यो एउटा ज्वलन्त दृष्टान्त हो ।
 
कुनै पनि दलका नेताले आफूलाई 'पानीमाथिको ओभानो' बन्ने प्रयास नगर्नु नै उत्तम हुन्छ । राजनीतिमा अहिले उच्च शिक्षा पाएका व्यक्तिहरू सायद विगतभन्दा धेरै छन् । धेरै त विद्यार्थी राजनीतिबाट आएका नेता हुन् । झन् मंगलवारको बैठकमा दन्त बझान गर्ने नेताहरू त दुवै जना विद्यार्थी राजनीतिमा कहलिएकै व्यक्तिमध्येका हुन् । तर पञ्चायत कालमा हुर्केकाले हो कि यिनले औपचारिक उच्च शिक्षा हासिल गरे पनि राजनीतिक संस्कारको दीक्षा भने पाएका रहेनछन् । सत्ता गुमाएका नेतामा कुण्ठा र ईर्ष्या हुनसक्छ । यसै सत्तारुढ नेतामा दम्भ र घमण्ड हुनसक्छ । मानवीय कमजोरी हुन् यस्ता अवगुण । तर, तिनलाई देखाउने वा प्रकट गर्ने ठाउँ प्रधानमन्त्रीले बोलाएको गम्भीर बैठक होइन । त्यसमाथि जति नै ठूलो आरोप पनि सभ्य र शिष्ट शब्दमा लगाउन अनि त्यसरी नै भद्रतापूर्वक त्यसको प्रतिवाद गर्न सकिन्छ ।  यसैगरी, कुण्ठा र अहङ्कार तुष्टिका लागि राष्ट्रिय महत्त्वको बैठकको समय खेर फाल्ने नैतिक अधिकार पनि कसैलाई हुँदैन । राजनीतिक दलका नेताहरूले सभ्य र भद्र व्यवहार गर्न नसक्ने हो भने सभा, बैठकहरूमा सहभागी नहुनु नै उचित हुनेछ । पार्टीहरूले पनि झगडालु स्वभावका संस्कारहीन व्यक्ति आफ्नो दलका लागि जति नै उपयोगी भए पनि अरू दलसँगको बैठक, संवाद, छलफलमा तिनलाई अगाडि पर्न दिनु हुँदैन । व्यक्ति विशेषको कुण्ठा र अहङ्कारलाई दलहरूले प्रतिष्ठाको विषय बन्न दिनु हुँदैन । संविधान कार्यान्वयन सबैको प्रतिबद्धताको विषय हो भने स्थानीय तहको निर्वाचन गर्नै पर्छ । त्यसका लागि मधेसी मोर्चालगायत असन्तुष्टहरू पनि निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्छ । संविधान संशोधनविना सम्भवतः मधेसी दलहरू निर्वाचनमा सहभागी हुनेछैनन् । संविधान संशोधनका मधेसी मोर्चालगायत तीनैवटा प्रमुख दलबीच सहमति अपरिहार्य हुन्छ । यसैले कसैको कुण्ठा र अहङ्कार विरेचनका लागि भएका यस्ता मर्यादाहीन दन्तबझानलाई प्रतिष्ठाको विषय बनाएर राजनीतिक दलका शीर्ष नेता अलमलिने छैनन् भन्ने जनअपेक्षा छ । प्रधानमन्त्री निवास बालुवाटार मंगलवार भएजस्तै मर्यादाहीन दन्तबझान दोहोरिने छैन भन्ने आशा गर्न सकिएला ?    
 
  
 
    
   
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७३  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC