site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रेडियोका सारथि
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


०७२ वैशाख १२, बिहान ११ः५६ बजे

सिंहदरबार परिसर हल्लिन्छ, परिसरमा रहेका घर र रुख हलिन्छन् । हरिशरणलाई जिउ थाम्नै गाह्रो हुन्छ । उभिन गाह्रो हुन्छ । ढुलमुलिन्छन् । ‘भूकम्प भूकम्प’ भन्दै सबै कराउँदै दौडिन थाल्छन् । भूकम्प थामिँदैन । जमिन हल्लिरहन्छ । जमिनका संरचना उही गतिमा हल्लिरहन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मध्यान्ह १२ः००

हरिशरण दौडिएर रेडियो नेपाल पुग्छन् । रेडियाका सबै कर्मचारी बाहिर बसिरहेका हुन्छन् । कोही फोनमा बोलिरहेका, कोही फोन हान्न प्रयास गरिरहेका । त्यतिबेला रेडियोबाट गीत प्रसारण भइरहेको थियो– आनी छोइङ डोल्माको ‘फूलको आँखामा फूलै संसार...’

Global Ime bank

“यस्तो बेलामा हामीले रेडियोबाट स्रोतालाई नआत्तिन सूचना दिनुपर्छ । कन्ट्रोल रुममा बस्नुस्, म बोल्छु,” उपलब्ध रेडियो प्राविधिकलाई हरिशरण भन्छन् । प्राविधिकले कन्ट्रोल रुममा बस्न इन्कार गर्छन् । रेडियो नेपालको भवन भूकम्प प्रतिरोधात्मक छ भन्ने उनलाई थाहा थियो । ढल्दैन भन्ने विश्वास थियो ।

१२ः०२ बजे

उनी ‘मिक्स्चर’को ‘फेडर’ अन गर्छन् र स्टुडियो छिर्छन् । उनको हातमा न समाचारको पेज थियो, न टेबलको कम्प्युटरमा नयाँ बुलेटिन नै । न कुनै कार्यक्रमको स्क्रिप्ट नै थियो ।

हरिशरण बोल्न थाले । भूकम्प गएको सूचना दिन थाले । अनलाइन न्युज पोर्टलहरू हेरेका थिए । भूकम्पको म्याग्नेच्युडबारे उनी अवगत थिए । स्रोत उल्लेख गर्दै उनले स्रोतालाई जानकारी दिए ।

“भूकम्प गएका बेला भाग्नु हुँदैन, सुरक्षित साथ खुला ठाउँमा बस्नुपर्छ,” उनले भने । 

हरिशरणले स्टुडियोबाट स्रोतालाई आफ्नो ठाउँको जानकारी दिन आग्रह गरे । ठाउँ–ठाउँबाट स्रोताले फोन गरे । आफ्नो ठाउँमा भूकम्पले पारेको क्षतिको प्रारम्भिक जानकारी आयो । धरहरा ढलेको खबर आयो । उनले प्रसारण गरे ।

उनले तत्काल राष्ट्रिय भूकम्प मापन केन्द्रमा फोन गरेर जानकारी लिए । अस्पतालमा घाइते र मृतकको भीड रहेको जानकारी दिए । विद्युत् प्राधिकरणमा फोन गरे । नेपाल टेलिकममा फोन गरेर ‘मुलुक प्राकृतिक प्रकोपमा रहेका बेला कति समय निःशुल्क सेवा प्रदान गर्न सक्नुहुन्छ ?’ भनेर ‘अन एयर’ प्रतिबद्धता जनाउन लगाए ।

स्क्रिप्ट पढ्ने रेडियो नपालको ‘फर्म्याट’ तोडियो । नागरिक पत्रकारिताको अभ्यास सुरु भयो । रेडियोले जनताकै मुखबाट जनताको सूचना लियो । सरोकारवाला निकायसमक्ष पुर्‍यायो । त्यसको सुरुआत गर्ने श्रेय हरिशरणले पाए । भूकम्पजस्तो परकम्प शक्तिशाली हुँदैन भन्ने थाहा पाएका हरिशरणलाई यही जानकारीले रेडियोको भवन भूकम्पले मच्चिरहेका बेला स्टुडियो छिराएको थियो । जनतासामु उनको ओजिलो आवाज पुर्‍याएको थियो ।

एफएम रेडियोको बोलावाला रहेका बेला कतिले रेडियो नेपालको आवश्यकतामाथि प्रश्नचिन्ह उठाउन थालेका थिए । खर्चिलो भएको भन्दै रेडियो नेपाललाई ‘सेतो हात्ती’ भन्न थालिएको थियो । ठीक त्यही बेला भूकम्पको २४ घण्टे सूचना प्रसारणमा यसले लिएको अग्रताकै कारण धेरैको मुख बन्द भयो । राष्ट्रलाई आवश्यक परेका बेला राष्ट्रिय प्रसारण माध्यम नै आवश्यक पर्दो रहेछ भन्ने पुष्टि भयो ।

“शनिबारको दिन थियो । मेरो बिदा थियो । म संयोगले त्यो दिन सिंहदरबारभित्र पुगेको थिएँ,” हरिशरण ०७२ वैशाख १२ को दिन सम्झन्छन्, “मलाई अचानक यस्तो बेला हामीले स्रोतालाई आवश्यक जानकारी दिनुपर्छ र यो हाम्रो कर्तव्य हो भन्ने लाग्यो, अनि म छिनभरमै स्टुडियो पुगेर बोल्न थाले । मसँग त्यो बेला हातमा न कुनै स्क्रिप्ट थियो न दिमागमा डिजाइन नै । आत्तिरहेका नागरिकलाई धैर्य गर्न आग्रह गर्नुपर्छ भन्ने लागेर बोलें ।”

हरिशरणको पत्रकारिता करिअरमा त्यो दिन सधैं मानक बनेर उभिइरहनेछ । उनमा यो आत्मविश्वास यत्तिकै आएको होइन । त्यसको पछाडि लामो कथा छ ।


सेनाको अधिकृत सपना

बुवा स्थानीय राजनीतिज्ञ थिए । नगरकोटस्थित घरछेउमा सेनाको क्याम्प थियो । सैन्य अधिकृतहरू घरमा आउँथे, बुवासँग गफिन्थे । सानैदेखि हरिशरणको खाइलाग्दो, लोभलाग्दो ज्यान देखेर सैन्य अधिकृतहरू ‘बाबु आर्मी अफिसर’ बन्नुपर्छ भन्थे । हरियो टाटेपाटे कमब्याट, काँधमा राइफल, माथिसम्म आउने छालाको बुट अनि हाकिमको रवाफिलो ‘हाईफाई’ । उनलाई पनि रहर लाग्यो । सोचे– जान्छु आर्मीमा, हुन्छु हाकिम र देखाउँछु देश दुनियाँलाई रवाफ ।

समय सधैं आफ्नै हुँदैन । उनको जीवनमा पनि समयले बल्छी हान्यो र बुवालाई लिएर गयो । बुवासँगै घरको मियो भाँचिएको थियो । जेठा छोरा हरिशरणको काँधमा जिम्मेवारीको भारी आयो । भाइ रवि सानै थिए । उनलाई पढाउनु थियो । अभिभावकको जिम्मेवारी बहन गर्नु थियो । उनलाई तत्काल कमाइ हुने काम चाहियो । सेनामा जाने रहर अधुरै रह्यो । हरिशरणले मुटु गाँठो पारेर सपनालाई बलि चढाए । काम खोज्दै काठमाडौंमा भौतारिए । समयले उनलाई प्रदीप उपाध्यायसँग भेटायोे । प्रदीपले म्युजिक नेपालको ‘सेटअप’ गरिरहेका थिए । हरिशरणले त्यहीँ काम गर्न थाले ।


ती नारायण गोपाल

नेपालको पहिलो व्यावसायिक रेकर्डिङ स्टुडियो थियो म्युजिक नेपाल । त्यहाँ हरिशरणले म्युजिक प्रमोसनको काम गर्थे । ब्याकग्राउन्ड भ्वाइस दिन्थे ।

नाराण गोपाल म्युजिक नेपाल आउँथे, गीत रेकर्ड गर्थे । रमाइलो स्वभावका नारायण गोपाललाई स्टुडियोमै चुरोट पिउने छुट थियो । बिहानै आएर उनी सबैलाई जोक भन्थे, हँसाउँथे । काम गर्नका लागि मुड तयार गर्दिन्थे ।

म्युजिक नेपालमा रहेका बेला हरिशरण नारायण गोपालका सांगीतिक सहयोगीजस्तै थिए । त्यसैले नारायण गोपाललाई नजिकबाट चिन्ने मौका पाए । उनलाई नारायण गोपाल ‘क्वालिटी कन्सस’ लाग्थे ।

पाइलट सुनील देउजा नारायण गोपालका फ्यान थिए । उनी बेलाबेला नारण गोपाललाई भेट्न आइरहन्थे । ड्रिंक्समा सौखिन नारायण गोपाललाई सुनील फ्लाइटबाट फर्किंदा ठाउँअनुसारको स्पेसल भन्दै ड्रिंक्स ल्याइदिन्थे । सुनील थोरबहुत गीत पनि लेख्थे । गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नारायण ठट्टा गर्दै भन्थे, “हेर सुनील ! तिमी मलाई जति नै ड्रिंक्स ल्याऊ तर तिमीले राम्रो गीत नलेखेसम्म म तिम्रो गीत गाउँदिनँ ।” त्यसपछि हाँसोले कोठा गुञ्जायमान हुन्थ्यो । हरिशरणलाई यस्ता थुप्रै क्षण अझै सम्झना आउँछन् ।

नेपाल टेलिभिजन भर्खरभर्खर खुलेको थियो । बेला–बेला टेलिभिजन स्क्रिनमा ‘फुल्चोकीमा चट्याङ परेर हाम्रो प्रसारण अवरुद्ध हुन गएकोमा क्षमाप्रार्थी छौं’ भन्ने वाक्य देखिन्थ्यो । त्यसलाई लक्षित गर्दै नारायण गोपालले म्युजिक नेपालका मालिक र नेपाल टेलिभिजनका परामर्शदाता प्रदीप उपाध्यायलाई भन्थे, “ए प्रदीप ! हामीलाई कति दुःख दिन्छौ ? बेलाबेलामा माफी मागिरहनुभन्दा बरु तीन महिनाका लागि बर्खे बिदा गर्देऊ, हामीलाई पनि बिदा देऊ ।”

०४२ सालमा नारायण गोपाल आफ्नो एल्बम ‘गीतियात्रा’को तयारी गरिरहेका थिए । हरिशरण ‘स्पेस’ खोजिरहेका थिए । नारायण गोपालले हरिशरणलाई प्रमोसनका लागि स्थान दिए । त्यसैले हरिशरण अहिले पनि उनीप्रति कृतज्ञ हुँदै भन्छन्, “मलाई स्थापित गर्नमा नारायण दाइको पनि ठूलो हात छ ।”

हरिशरणको करिअर उकास्न नीर शाहको प्रत्यक्ष हात नभए पनि पृष्ठभूमिमा उनको पनि योगदान छ । “उहाँ नेपालमा टेलिभिजन स्थापना गर्ने व्यक्ति, स्वरको एक अंशमात्रै सुनेर पनि उहाँ व्यक्तिको कण्ठ गुण थाहा पाउनुहुन्थ्यो । उहाँले ‘हरिबाबुको स्वर एकदम राम्रो छ, प्रसारण माध्यमका लागि’ भन्नुहुन्थ्यो । उहाँजस्तो व्यक्तिले गरेको प्रशंसा मात्रै पनि संघर्षका लागि पर्याप्त हुँदो रहेछ,” हरिशरणले सम्झिए । तिनै नीर शाह हुन्, जसले विजयकुमारको एक आग्रहमा नेपाल टेलिभिजनमा ‘टक सो’ चलाउन दिएका थिए । नीर शाह मान्छे परीक्षण गरेर होइन, सुँघेर चिन्छन् भनिन्छ ।


रेडियो यात्रा

घडीको सुइँको गतिसँगै हरिशरणले आफूलाई ‘अपग्रेड’ गर्दै लगे– प्राविधिक रूपमा पनि, आवाजमा पनि ।

समय पञ्चायतको थियो । एकदलीय व्यवस्था उत्कर्षमा थियो । पञ्चायती व्यवस्थाका हिमायतीबाहेक अरु दल प्रतिबन्धित थिए । कांग्रेस, कम्युनिस्टलगायतका दल भूमिगत थिए । उनीहरूले पञ्चायतविरोधी आन्दोलन छेडिरहेका थिए ।

रेडियो नेपालमा साँझको समाचार वाचक खोजी भयो । समाचार प्रमुख प्रचण्डमान सिंह थिए । उनले म्युजिक नेपालमा बसेर गीत–संगीतको प्रमोसन गरिरहेका हरिशरणको अवाज ‘नोटिस’ गरेका रहेछन् । उनले भनेछन्, “म्युजिक नेपालमा खै के नाम गरेको एउटा केटा छ नि, त्यसको स्वर राम्रो छ, बोलाउनु प¥यो ।”

हरिशरणलाई बोलाहट भयो । उनी रेडियो नेपाल पुगे । त्यो समय रेडियो नेपालमा ‘अन एयर’ हुनु फलामको च्युराझैं थियो । कम्तीमा दुई वर्ष ‘अन एयर’ हुन दिइँदैनथ्यो । सुरुमा जिल्ला बुलेटिन पढ्न दिइन्थ्यो । तर, हरिशरणको आवाज र उनको आत्मविश्वासप्रति प्रचण्डमान ढुक्क देखिए । दुई हप्तामै उनले पहिलो पटक राति ११ बजेको समाचार बुलेटिन पढे ।

पञ्चको शासन थियो । सरकारी रेडियो नेपाल त्यसको छत्रछायाँमा हिँड्थ्यो । दरबारका समाचार मुख्य हुन्थे । दरबारका सदस्यलाई समाचारमै ‘बक्सियो’ लगाउनु पथ्र्यो । दरबारबाट विज्ञप्ति आउँदैछ भनेपछि बिहान सबेरैबाट दरबारको ढोकामा बसेर घण्टौं कुर्नु पथ्र्यो । त्यसलाई ल्याएर सुरुदेखि अन्तिमसम्म हुबहु पाठ गर्नुपथ्र्यो । त्यो समाचार पढ्दा समाचार निर्देशकदेखि रेडियोका कार्यकारी निर्देशकसम्म कन्ट्रोल रुममा बसेर सुन्थे । कदाचित बिग्रियो भने स्टुडियोबाट निस्किएर समाचार कक्षसम्म पुग्दानपुग्दै जागिर गएको वा सरुवा भएको पत्र तयार भइसकेको हुन्थ्यो ।

देशअनुसारको वेश, समयअनुसारको चलन, मालिकअनुसारको खटन । दरबार र सरकारका महत्वूर्ण निर्णयका समाचार आएका दिन प्रचण्डमान आफैं समाचार पढ्न स्टुडियो छिर्थे ।

गीत–संगीतको रंगीन दुनियाँमा रमाइरहेका हरिशरण त्यसरी रेडियो नेपाल पुगे ।

उनलाई हामीले प्रश्न ग¥यौँ, “रंगीन दुनियाँ छोडेर ‘ड्राई’ पेशाका लागि रेडियो नेपाल किन जानुभयो ?”

“साथीहरू पनि मलाई यही प्रश्न गर्थे । तर, म आफूलाई अपग्रेट गर्दै जानु थियो । म्युजिक नेपालमा रहँदा नै म माइकसँग अभ्यस्त भइसकेको थिएँ । मेरो किशोरावस्थाको सपना दोबाटोमै छोडिएपछि मलाई रेडियोबाटै केही गर्नुपर्छ भन्ने लाग्न थालेको थियो,” ०४७ तिर फर्किएर उनी भन्दै थिए, “त्यसअघि नै मैले रेडियोमा तीनपटक स्वर परीक्षा दिइसकेको थिएँ । तर, नाम निस्किएको थिएन । पछि आफैं बोलाए, गएँ । शायद त्यो बेला पनि प्रतिस्पर्धा गराइएको भए के हुन्थ्यो, मलाई थाहा छैन । तर, शायद भाग्यले डोर्याएको थियो, सपना साकार भयो ।”

० ० ०

संगीतको कुनै निश्चित घेरा हुँदैन, भाषा र सीमा हुँदैन । सिर्जनालाई न कसैले छेक्न सक्छ, न अंकुश लगाउन नै । यही बुझे हरिशरणले । त्यसैले त सुगम संगीतका हस्ती स्वरसम्राट नारायण गोपालसँग संगत गरेका हरिशरणले रेडियो नेपालमा युवा पुस्ताको संगीतलाई छिराए ।

“नारायण गोपालसँग काम गरेको मान्छे पप गीतको किन वकालत गर्छ ?” मान्छे प्रश्न गर्थे । तर उनले कसैका कुरा सुनेनन् । युवा पुस्ताले रुचाइरहेको संगीतलाई रेडियो नेपालले ‘प्रवद्र्धन’ गर्नुपर्छ भनिरहे ।
 

अदृश्य फ्यान

मान्छेभन्दा वजनदार स्वर थियो । एफएम थिएनन् । प्रसारण माध्यम एउटै मात्र । रेडियो नेपालमा काम गर्ने मान्छे सेलिब्रिटी हुन्थे । दिनहुँ चिठ्ठी आउँथे । चिठ्ठीमा स्वरको प्रशंसा गरिएको हुन्थ्यो । भेटौं, बोलौं भन्ने आग्रह हुन्थ्यो । यस्ता सयौं चिठ्ठी आउँथे । भेट्न त के, उत्तर दिन पनि सम्भव हुँदैनथ्यो । केही त्यस्ता फ्यान हुन्थे, जो वर्षौंसम्म पनि चिठ्ठी लेखिरहन्थे ।

एउटी यस्ती फ्यान थिइन्, जसलाई हरिशरणले २० औं वर्षपछि पनि भुल्न सकेका छैनन् । हप्तैपिच्छे चिठ्ठी पठाउँथिन्, प्रशंसामा प्रशस्त शब्द खर्चिन्थिन् ।

“त्यो चिठ्ठी पढ्दा मलाई उनी कुनै आईएनजीओमा काम गर्थिन्जस्तो लाग्थ्यो । पछि कार्यक्रममा पटक–पटक भेट हुँदा तिनै महिला हुन् कि भन्ने धेरै पटक अनुमान गरें । तर, शब्दमा व्यक्तिको सबै अपिरियन्स नआउन पनि सक्छ भनेर मैले उनलाई सोध्न सकिनँ । उनले पनि मलाई भनिनन्,” हरिशरणले सम्झिए ।

मन पराउनु एउटा कुरा, माया गर्नु अर्कै कुरा । खोजेर भेट्नु एउटा कुरा, दोबाटोमा फेला पर्नु अर्कै कुरा । स्रोताका मायावी पत्रले हरिशरणलाई कामप्रति लगाव बढायो होला तर त्यसको मोहमा उनी फसेनन् । सबैलाई उत्तर पठाएनन् । उनको मन छोएका पत्र भए र सम्भव भए उनले तटस्थखाले रचना पठाइदिन्थे । हरिशरणलाई विश्वास गर्ने हो भने उनले आफ्ना स्रोतालाई चिठ्ठी लेखेको यस्तैमात्रै हो ।

० ० ०

मनमोहन अधिकारीको संसद भंग गरेको मुद्दा सर्वोच्च अदालतमा थियो । संसद् भंग गर्ने उनको निर्णयमा सर्वोच्चले फैसला गर्दै थियो । गिरिजाप्रसाद कोइरालाले संसद् भंग गर्दा त्यसलाई जायज भनेको सर्वोच्चले मनमोहनको मुद्दामा के भन्छ भन्नेमा सर्वत्र चासो थियो ।

फैसला सुन्न अदालतपरिसरमा जम्मा हुनेको भीड ठूलो थियो । जनता फैसला के आयो भनेर सुन्न आतुर थिए । रेडियो नेपालको ‘प्राइम टाइम’को प्रतिक्षित बुलेटिन साँझ ७ बजेको थियो । रेडियो नेपालले सोच्यो– यो समाचार सिधै दिइयो भने यसको असर नकारात्मक पनि पर्न सक्छ, त्यसको जवाफदेही हुन सकिँदैन ।

सूचना त दिनै पर्ने थियो । सल्लाह भयो । समाचार तयार भयो, “आज सर्वोच्च अदालतले गरेको फैसला संविधानका धारा .... आकर्षित हुन्छ ।” 

समाचार बज्यो तर कानुनका विद्यार्थी र राजनीतिज्ञबाहेक अरुलाई बुझ्न गाह्रो भयो । सर्वोच्चले संसद् भंग गर्ने मनमोहनको निर्णय गलत भएको फैसला सुनाएको थियो । गिरिजाप्रसादको त्यस्तै मुद्दामा ठीक उल्टो फैसला थियो । मनमोहनको विपक्षमा भएको फैसलाबारे समाचार बजाउँदा कम्युनिस्ट कार्यकर्ता र एमालेका शुभचिन्तकको आक्रोशको शिकार हुने भयले घुमाउरो शैली अपनाइएको थियो ।


अहिलेको पत्रकारिता– जागिरे मानसिकता

“नेपालमा मिडिया धेरै छन् । विदेशमा मिडिया सञ्चालनका लागि ६–७ वर्षको ‘ब्याकअप’ पुँजी देखाएपछि मात्रै लाइसेन्स दिइन्छ । तर, नेपालमा सानो लगानीमा मिडिया खुलेका छन् । जनशक्ति निकै कम छ । भएका पनि सबै दक्ष छैनन् । फलतः प्रकृतिमा फरक भए पनि विषयवस्तु उस्तै छन्,” हरिशरण भन्छन्, “अस्वस्थ प्रतिस्पर्धा छ । साउन्ड क्वालिटी राम्रो छैन तर अधिकांशलाई एचडी क्वालिटीमा जान हतार छ । मिडियाको प्रकृतिअनुसार सामग्री दिन सकेका छैनन् । जति नै संख्या थपिए पनि दर्शक÷स्रोताले अझै मीठो स्वाद भएको विषयवस्तु पाउन सकेका छैनन् । यसका लागि लगानी बढाउनुपर्छ । अहिले भएको लगानीमा कम्तिमा २० प्रतिशत बढाउन सकियो भने मात्रै केही प्रगति हुन सक्छ ।”

सरकारी सञ्चारमाध्यमलाई प्रतिष्ठानमा रुपान्तरण गर्ने कुरा चलिरहेको छ । सरकारी कर्मचारीमा जागिरे मानसिकता छ । जागिरे मानसिकता भएको व्यक्ति पत्रकार हुन सक्दैन । ढिलासुस्ती छ । मेहनत गर्ने बानी छैन । यस्तो अवस्थाबाट थाकिसकेका छन् हरिशरण ।

“इन्टरनेटका कारण नेपाली मिडिया पनि ग्लोबल हुन थोलका छन् । हामीजस्तो तेस्रो मुलुकका लागि यो सकारात्मक पक्ष हो । तर, पछिल्लो समय पत्रकारहरू ब्लगर बढी हुन थालेका छन् । सम्पादकीय स्वतन्त्रता भएपछि त्यसको असर उसको संस्थामा देखिन थालेको छ,” हरिशरण भन्छन्, “अनलाइनले प्रिन्टलाई जोखिममा पारेको छ । ब्रोडकास्ट मिडियालाई पनि चुनौती दिइरहेको छ । मोबाइलमा विश्व अटाइसकेको छ । भिजुअलमा मान्छे अभ्यस्त भइसकेको छ । त्यसैले यसलाई सम्बोधन गर्ने नयाँ क्रिएटिभ सोचसहितको पत्रकारिताको खाँचो छ ।”

उनी अडियो, भिडियो र टेक्स्टसहितको नयाँ मिडियाको खाँचो औंल्याउँछन्, जुन विश्वभरका व्यक्तिसामु समानरूपमा छिनभरमै पुगोस्, क्रयशक्ति कमजोर भएका व्यक्तिको पहुँचमा पनि सहजै पुगोस्, नेपाली सञ्चारले विश्वमा आफ्नो पहुँच छर्न सकोस् । यही सोचलाई साकार पार्न उनी अहिले लागिपरेका छन् । तर, विस्तृत खुलाएनन् ।

अन्तिममा उनले थपे, “नेपालले आफ्नै स्याटेलाइट राख्नुपर्छ । स्रोताले स्पष्ट साउन्ड र फ्रिक्वेन्सी पाउनुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC