१४ हजार ८ सयको एक भोट

१४ हजार ८ सयको एक भोट

– नरेश फुयाँल


मंसिर -२०

गायक हेमन्त शर्माले आफ्नो फेसबुक एकाउन्टमा एउटा पोस्ट गरे । दुइटा तस्बिरसहित गरिएको पोस्ट भन्थ्यो, “गैरपार्टीगत मतदाताको खर्च पनि कम्ता छैन नि हजुर ! अब त जिम्मेवार हुनुहुन्छ कि नेताज्यू ! मतदानका निम्ति प्रस्थान गर्दै... ।”

एयरपोर्टमा सेल्फी खिचेर पोस्ट गरिएको तस्बिर र त्यससँगै लेखिएको वाक्यले उनी मतदानका लागि घर जाँदैछन् भन्ने बोलिरहेको थियो । 

मंसिर - २१

हेमन्तले मतदान गरेको प्रमाणस्वरूप नङको चिन्ह तस्बिर पोस्ट गरे । 

मंसिर  - २७

उनै हेमन्त अचानक भेटिए, थापाथली चोकैछेउको कफी स्टेसनमा । ‘कान्तिपुर साप्ताहिक’का पत्रकार कृष्ण भट्टराईसँग गफिरहेका हेमन्तलाई मैले ठट्टैठट्टामा सोधें, “कति रुपैयाँ पर्‍यो एक भोटको ?”

फेसबुक पोस्टमा आधारित तर अनपेक्षित प्रश्न सुनेपछि उनले फ्याट्टै जवाफ दिन सकेनन् । एकछिन हिसाब गर्न थाले ।

“आतेजाते सवारी भाडा र घरमा आमालाई ढोगेको पैसा... । जम्मा १४ हजार ८ सय परेछ,” उनको जवाफ थियो । 

उनले हाँस्दै अगाडि थपे, “यसमा खाना खर्च भने हिसाब गरिएको छैन है ।”

उनले फेसबुकमा गरेको पोस्ट र मैले सोधेको प्रश्न– दुवैको उद्देश्य एउटै थियो– हजारौं रुपैयाँ र समय खर्चेर गरेको मतदानले जनप्रतिनिधि त बने, अब उनीहरूको दायित्व के ? राजनीतिक अस्थिरता, भागबन्डा, बर्सेनि सरकार परिवर्तन, बेथिति, विकासप्रतिको वेवास्था यस्तै रहिरहने हो ?

जनताले आफ्नो सम्पूर्ण काम छोडेर सरकारले जहिले भन्यो, त्यही समय मतदान गरेका छन् । ६७ प्रतिशत मत खसेको छ । बेरोजगारी र केन्द्रिकृत शासन व्यवस्थाका कारण युवा शहरकेन्द्रित भएका कारण चुनावमा खसेको मतलाई सकारात्मक मान्नुपर्छ ।

“जनता नेताप्रति उत्तरदायी भए, अब जनताप्रति नेता पनि उत्तिकै जिम्मेवार हुनुपर्छ,” हेमन्त भन्दै थिए, “जनता र देशको विकासका लागि अब नेताहरूले पनि सोच्नुपर्छ ।”

उनको एउटा भोटलाई १४ हजार ८ सय परेको छ । हेमन्तजस्तै हजारौं रुपैयाँ खर्चिएर गाउँ गई मतदान गर्ने मतदाताको त्यति नै खर्च भएको छ ।

“म त कुनै राजनीतिक दलविशेषको कार्यकर्ता हैन । म मन लागे जान्छु, मताधिकार प्रयोग गर्न नलागे जान्नँ तर कुनै राजनीतिक दल वा विचारप्रति आस्था राख्ने व्यक्तिको कति खर्च हुन्छ ?” प्रश्न गर्दै उनले थपे, “अब यसको हेक्का नेताले राख्ने कि नराख्ने ?”

गीत÷संगीतमा मात्रै होइन, हेमन्त खेलकुददेखि राजनीतिमा पनि उत्तिकै चासो राख्छन् र जानकारी लिन्छन् । उनी भन्दै थिए, “नेपालका सबै भू–भाग सुगम छैनन् । मतदान केन्द्र पुग्न एक दिन बास बसेर जानुपर्ने ठाउँ पनि छन् । दूरदराजका ती विपन्न मतदाताले गरेको खर्चको हेक्का अब नेताले राख्ने कि नराख्ने ?” उनको प्रश्न सिधै नेतातर्फ सोझिएको थियो । नेता तथा जनप्रतिनिधिलाई उनको खबरदारी थियो ।

देशमा व्यवस्था बदलियो, राजनीतिक दलहरु थपिँदै गए, नयाँ–नयाँ अनुहारका नेता पनि जन्मिँदै गए । तर, चरित्र बदलिएन । नेताहरूको जीवनशैली बदलियो तर जनताको जीवनशैली उस्तै रह्यो ।

यस्तै असन्तुष्टि थियो हेमन्तको, “नेता र सरकारका मुहारसँगै दीनहीन विपन्न जनताको मुहार पनि फेरिऊन्, नेताहरूले जनादेशको सम्मान गर्दै त्यसको पालना गरून् । एकछाक मीठो खान र लुगा फेर्न घर धितो राखी कोही खाडी जानु नपरोस्, सपनाको भारी बोकाउन छोडेर मौलिक स्रोत–साधन प्रयोग गर्ने वातावरण सिर्जना होस् ।”

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

सभापतिलाई कोरमको हैरानी, सांसदको जम्काभेट ढोकामा

काठमाडौं । कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसदमा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको

नजिब मुहम्मदसँग जम्काभेट

— राजेन्द्र पराजुली दोस्रो पटक पुस्तक पढेको केही दिनपछि नजिब मुहम्मदसँग सपनामा मेरो जम्काभेट भयो । सपना त्यत्ति स्पष्ट थिएन, दृश्यहरू

जम्काभेट

गणेश पौडेल "बेतुकको पानी, बेला न कुबेला दर्किन्छ। रक्सी, जवान केटी र यो मौसमको त कुनै भरनै नहुने भन्या " " हे

न रहर, न बाध्यता

– नरेश फुयाँल पत्रकारिता कसैका लागि रहर होला त कसैका लागि बाध्यता । तर, राजाराम (गौतम)का लागि पत्रकारिता न रहर हो,