site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महशूर कवि
Sarbottam CementSarbottam Cement

– अक्षर काका


सीमापारिको कुनै अज्ञात दरबारबाट 
लिएर चुपचाप अदृश्य तथास्तु
वा लोकतन्त्रको रंगीन पर्दाभित्र
धोकापूर्वक आवधिक वरदान लिएर
असली भस्मासुरहरू– 
दुनियाँलाई नै लखेटिहिँड्छन् निरन्तर
घातको उपल्लो क्षितिजसम्म

(प्रमाणस्वरूप मेरी आमाको आँखाबाट बगिरहेको झरनाको आवाज काफी छ । – भस्मासुरको देश– पृष्ठ ४१)

Prabhu Bank
Agni Group
NIC Asia

सहरमा एउटा कवि परिचय लुकाएर बाँचिरहेका छन् । उनको निहितार्थ परिचय लुकाएर सहरमा गुमनाम रहनु होइन । बरु थिति–बेथिति, संगति–विसंगतिविरुद्ध आगो ओकलिरहनु हो, अविश्रान्त । 

ओखलढुंगाको वाक्सामा जन्मिए उनी । र, थर अगाडि त्यही फुर्को झुन्ड्याए– वाक्सेली ।

Global Ime bank

उनी आफूलाई कहिल्यै पारंगत कवि मान्दैनन् । सिकाइको अनन्त शृंखलामा कहाँ आइपुगेँ भनेर बिसौनीमा उभिएर हेर्दैनन् पनि । त्यसो त घुम्ती, काव्यिक गोष्ठी, स्वनामधन्य कविहरूका भीडभाडमा मिसिएर आफूलाई उजिल्याउन पनि रुचाउँदैनन् उनी ।

पेसाले सुरक्षामा छन् । प्रहरी निरीक्षक हुन् उनी । त्यसैले होला– उनको काव्यिक ‘ट्रिगर’ शक्तिशाली छ । उनले खोलेको शाब्दिक ‘फायर’ले काव्यिक पारखीहरूका आङ जिरिंग तुल्याउन सक्छ । दिमाग खज्मज्याइदिन सक्छ । भन्न अनुपयुक्त हुँदैन– रैथाने शासनप्रणालीविरुद्ध सचेतनाको आवाज उन्नत छ उनको ।

इतिहास मेट्दै 
आफ्नै पुर्खाको सीमित चम्किला अक्षरहरू
यहाँ मूर्तिहरू मात्र हराएका छैनन्
बाँच्न चाहने अभागी आत्माहरूका 
प्रगति–मन्त्र पनि हराएका छन्
यहाँ हजारौँ रोपनी उर्वर जमिनमात्र घेरिएका छैनन्
अग्ला पर्खालहरूले घेरिएका छन्–
अग्रगमन र उन्नतिका पथहरू (पेज नम्बर ३७)

वेतन थापेकै भरमा शासकका कुकृत्यलाई जतन गर्न उचित ठान्दैनन् उनी । नुन खाएकैले बैगुन बिर्सनुपर्छ भन्ने मान्यताका पक्षपाती पनि होइनन् उनी । शासन व्यवस्थाले मन अमिल्याएर र दृश्य धुमिल्याएका बखत उनका मानसपटलमा काव्यिक विम्बका अनेक छटा कुँदिन्छन् र ती कविता भइदिन्छन् ।

भर्खरै उनले ‘भस्मासुरको देश’ कविता संग्रह ल्याएका छन् । ५१ वटा कविता सङ्गृहीत ‘भस्मासुरको देश’ फगत कविता होइन । यो त सचेतनाको आवाज हो । निमुखा, निम्छरा र सबाल्टर्नहरूको समवेत आवाज हो । अझ भनाैँ– आमपीडाहरूको स्थूल स्वरूप हो ।

उनका कविता एकांकी छैनन् । शासन–कुशासन, विचार–कुविचार, दर्शन–प्रदर्शन, जिन्दगीका अनेक आयामका केस्रा केलाएका छन् । उनका काव्यिक अभिव्यक्ति सपाट लाग्दैनन् । तथापि क्लिष्ट पनि छैनन् ।

सरकार–
फगत चाहन्छ कि
अनपढ मेरी आमा आफैँले पढून्
आफ्नो दुःखका निस्पट्ट कथाहरू
र भरपूर दुःखी होऊन्
अभावको डरलाग्दो गहिराइमा पुगेर
त्यसैले डाकिरहेछ रात–विरात 
थाकलले छाएको छाप्राको प्रौढकक्षामा

(प्रौढकक्षामा आमा, पेज नम्बर– ५५)

उनका कथामा भूपिका रंग भेटिन्छन् । किन त ?

वाक्सेली शब्दमा पोखिन्छन्, “सानैदेखि भूपिका काव्यिक सान्निध्यमा हुर्किएँ । त्यसको जबर्जस्त प्रभाव पर्‍यो होला ।”

कुनै यस्तो समय थियो– उनले भूपिको कविता नपढेको रात थिएन । भूपिकृत ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ दर्जनभन्दा बढी पटक खरिद गरिसके । अझै पनि बाटामा जहाँ देख्छन्, त्यहीँ भूपिको किताब किन्छन् उनी । 

किन त ? जवाफमा भन्छन् “जतिपटक किताब किनेर घरमा लैजान्छु, त्यति नै पटक हराउँछ । आफूलाई भूपिको किताब नहेरी काव्यिक प्यास नै मेटिँदैन !” अट्टहास छाडे उनले ।


काव्यिक सहवरण

ओखलढुंगाको वाक्सामा जन्मिए पनि बाल्यकाल त्यहाँ व्यतीत हुन पाएन । बाबुबाजे त्यहीँको भीर र तीरमा गिर खेलेर हुर्किए पनि उनीचाहिँ सानैमा सिन्धुलीको दुधौली झरे । बाबु सरकारी कर्मचारी । प्रायः सरुवा भइरहन्थ्यो । प्रवेशीका परीक्षाचाहिँ महोत्तरीको जलेश्वरबाट दिएका हुन्, उनले । तिनताकासम्म कवितासँग उठबस सुरू भइसकेको थिएन ।

“पहिलो कविता ‘पृथ्वीनारायण’ शाह शीर्षकमा लेखेको हुँ, आफूले लेखेको खासै चित्त बुझ्दैनथ्यो । तथापि सबै कविता डायरीमा उतार्थें र सुरक्षित गर्थें, कक्षा ८ पढ्दादेखि लेखेको कविता छ मसँग,” अनुहारमा नोस्टाल्जिक भाव छायो । क्रमशः किशोरवय उधिन्न थाले उनी ।

जसोतसो कविता कोर्थे तर छाप्ने कहाँ ? बाल्यवयमा ‘मुना’ र किशोरवयमा ‘गरिमा’ उनका प्रिय–सखा बने । त्यसैलाई ओल्ट्याउनु–पल्टाउनु, तिनैमा लेखिएका काव्यिक–सुधाको रसस्वादन गर्दै आफ्नो काव्यिक चेत माझ्नु उनको दिनचर्या बन्न थाल्यो । ‘मुना’ र ‘गरिमा’ सकेसम्म पहिलो रात, नभ्याए दोस्रो रात कटाउँदैनथे उनी ।

“यसैगरी झ्यांगिएको हो साहित्यिक चेत,” उनी अहिले सम्झन्छन् ।

कविता कापीमा संगृहीत हुँदै गएपछि छाप्ने चेष्टा थाले । ‘भित्ते पत्रिका’मा छाप्ने । एकाध साथीलाई सुनाउने कृत्यले मात्रै तिर्सना मेटिएको थिएन ।

तिनताका उनले ‘गरिमा’, ‘मधुपर्क’मा पाठक प्रतिक्रियासमेत पठाउन थालिसकेका थिए र ती छापिन्थे पनि । हुलाकमार्फत कविता पनि पठाउन थाले उनले । तर, छापिँदै छापिएनन् ।

भूपिका कवितासँगै दाँज्थे आफूलाई, कुनै कमी पाउँदैनथे । “किन छापिएन होला त ?” मनमा कौतुहलता सघन हुन्थ्यो । धेरैचोटि प्रयास गरे तर कविता नछापिएपछि उनमा इख जाग्यो, “किताब नछापिएसम्म कतै कविता पठाउँदिन अब !”

उनलाई लाग्थ्यो– कविता निरूढ थिएनन् तर छाप्नै अयोग्य पनि होइन । शायद त्यो ‘शष्प’ थियो । त्यसैबेलादेखि हो उनले कविता मस्काउन थालेको ।

“तर, त्यतिबेलामा ममा घमण्ड रहेछ । अहिले सम्झँदा लाग्छ– सिक्न बाँकी धेरै थियो,” फिस्स हाँसे उनी ।

गिनेचुनेका कविहरूको भीडमा ‘फुच्चे कवि’ अटाउँदैन पनि थियो, शायद । तर, त्यसले उनलाई घाटा गरेन ।

० ० ०

५१ कविता संगृहीत ‘भस्मासुरको देश’ तीन खण्डमा विभक्त छ । आरम्भका १३ कविता ‘अँध्यारो पर्दाभित्र’ शीर्षकमा अटाइएका छन् ।

अनेकन सन्धि–सम्झौता, राजकीय निर्णय मध्यरातमै भएको र उज्यालो परिणाम नआएको विम्ब हो त्यो । देशको शासन–व्यवस्थाबाट विरक्तिएका अनेक सुस्केरा छन् उनका कवितामा ।

‘हतियारको हरक’, ‘ज्ञाने चोर होइन’ र ‘भस्मासुरको देश’ शीर्ष कविता पढ्दा लाग्छ– देशको सुरक्षा निकायमा भएको मानिसले यस्तो लेख्ने साहस कसरी जुटाए होलान् ? उनका काव्यिक छटाले पेसागत संवेदनशीलतालाई उछिनेको ठानियो भने अन्यथा हुँदैन ।

कवि डा. नवराज लम्सालले अनौपचारिक संवादमा मुखै फोरे रे, “सुरक्षा निकायमा भएको मानिसले यस्तो कविता लेख्ने आँट कसरी गर्‍यौ ?”

कतिपय शब्द मुटु कमाउने नै छन् उनका ।

दोस्रो खण्डमा उनले ‘आगोको दर्शन’मा दार्शनिक चेत उजिल्याएका छन् ।

१५ वटा कविता संगृहीत उक्त उपशीर्षकभित्रका कविता विचारप्रधान छन् तर नाराका रूपमा आएका छैनन् ।

“कविता विचारप्रधान हुनुपर्छ तर नाराका रूपमा आउनु हुँदैन । कवितामा परिवर्तन मुखर हुनुपर्छ तर जबर्जस्ती होइन,” प्रष्ट्याउँछन् उनी ।

दश डिसेम्बरमा 
कैदीलाई फलफूल बाँडेजस्तै लाग्छ
जब एकाबिहानै
श्रीमती जल चढाउँछिन्
तुलसीको फेदमा
सोचमग्न हुन्छु म
प्रश्नहरूले मगज छेडिरहन्छ वारिपारि
यिनी धर्म कमाइरहेकी हुन्छिन्
वा अधिकारको रखवारी ?

¬(पूजा– पेज नम्बर ७१)

तेस्रो उपशीर्षकभित्रको ‘सत्ताच्युत’मा प्रेम प्रदर्शित छ । तर, त्यो उच्छृङ्खल छैन र दर्शनकै रूपमा मुखर भएको छ ।

प्रियसी !
तिम्रो गालाको डिलैमा
राताम्यै फुलेको लालीगुराँसले
मलाई यतिसम्म मोहक बनाएछ कि
त्यही गुराँसका जराहरू फैलिएर
मेरो मुटुको गहिराइसम्म अनायास
रगत चुस्न थालेछन्– बेसरम
पत्तो नै भएनछ मलाई
र, क्रमशः म पहेँलिदै गएछु
तर पनि बिना कुनै प्रतिवाद आजसम्म
म त सिर्फ तिम्रो गाला हेर्दो भएछु

अन्तिम खण्डमा ‘जिन्दगीको जिन्दगी’ संगृहीत छ । ग्राम्य छटा र साहित्यिक भाषा शिल्पले ओतप्रोत कविता विम्बमा नौनी मान्न सकिन्छ । कविले साहित्यिक भावना र परिवर्तनप्रतिको चेतलाई यसरी मथेका छन् । मखनमा मोही होइन, त्यसको बाछिटासमेत भेट्न मुस्किल हुन्छ ।

सलाम त ती पात्रहरूलाई
जसले पीडाको ढाकर बोकाएर 
बीचमै बिसाउन बाध्य बनाए
सिर्जनाको सुन्दर टेकन
र त म कवि भएर
तपाईंसामु उपस्थित भएको छु ।

(पात्रहरू– पेज नम्बर ११६)

० ० ०

यति हुँदाहँदै पनि वाक्सेलीका कविता कमजोरीमुक्त छन् त ? मानिस आफैँमा पूर्णताको प्रतिविम्ब हुँदै होइन । त्यसैले सिर्जना दोषमुक्त कसरी हुन्थ्यो र ? वाक्सेलीका कविता कमजोरीरहित होइन, कमजोरीसहितको सिर्जना हो ।

५१ वटा कविता संगृहीत कृतिभित्रका कतिपय गद्य खण्ड किताबको आयातन अभिवृद्धिका लागिमात्रै थुपारिएजस्तो लाग्छ । सिर्जनालाई नौनीको उपमा त दिइयो तर त्यहाँ प्रशस्त ‘गाईभैंसीका रौं’ भेटिन्छन् । जसलाई हटाउन सकिएको भए कृतिको गुणवत्ता थपिनेमा शंका थिएन ।

कतिपय कविता काव्यिक गुण कम, निबन्ध ज्यादा लाग्छन् । र, पढ्दापढ्दै आँखा थाक्छन् ।

पहिलै कृतिमा सर्वगुणसम्पन्न सर्जक खोजियो भने अन्यथा पनि हुन सक्छ । यति कुरालाई मनन गर्ने हो भने वाक्सेलीका फाँटका कविता उन्नत फसल नै हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १, २०७४  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC