काठमाडौं । हालै अमेरिकाको न्यूयोर्कको सडकमा एक बंगलादेशी नागरिकले आत्मघाती हमलाको प्रयास गरेका छन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार हमलाकारीले बोकेको बम आधा मात्र विस्फोटन भएकाले उक्त दुर्घटनाले गम्भीर क्षति गर्न सकेन ।
घटनालगत्तै पक्राउ परेका २७ वर्षीय अकायद उल्लहले आफू आइएस आइएसको समर्थक रहेको स्वीकारेका छन् । उनले ट्रम्पका कारण जेरुसेलम मुद्दामा चलिरहेको हिंसाबाट आक्रोसित भएर त्यस्तो कदम उठाएको बताएका हुन् ।
आरोपी अलकायदाले उक्त बम आफ्नो शरीरमा राखेर आत्मघाती हमला गर्ने प्रयास गरेकाले उनी आफैँ पनि गम्भीर घाइते भएका हुन् । त्यसकारण अहिले उनको त्यहीँ नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ । गएका वर्षहरुमा अकायद जस्ता धेरै मुसल्मानहरु आइएस आइएसबाट प्रभावित भएर अत्मघाती हमला गर्न प्रोत्साहित भइरहेको पाइएको छ । उनले पनि यस आक्रमणका लागि आइएसका थुप्रै भिडियो हेरेको र इन्टरनेटमार्फत नै बम बनाउन सिकेको बताएका छन् ।
त्यहाँ ठूलो दुर्घटना घट्न नपाउँदै अमेरिकी पुलिसले घटनास्थललाई नियन्त्रणमा लिएका थिए । उनले घरमै बनाइएको पाइप बम बोकेका थिए । त्यसपछि सो बमलाई उनले धेरै मानिसहरु हिँडिरहेको ट्रान्जिट रेलको सडकमा विस्फोट गराएका हुन् । विस्फोट गरिएको बमको केमिकल मात्र पड्किएर पाइप चाहीँ विस्फोट हुन नपाएकाले नै त्यहाँ ठूलो हानि नपुगेको बताइएको छ । घटनामा पाँचजना अमेरिकीहरु सामान्य घाइते भएका छन् । यसबारेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकाको भिसा प्रणालीलाई अझ कडा बनाउनु पर्छ भन्ने प्रतिक्रिया दिएका छन् । राष्ट्रिय सुरक्षाका निम्ति आफूले अझै धेरै परिवर्तनहरु ल्याउन बाँकी रहेको उनले बताएका हुन् ।