काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो र दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै निजी क्षेत्रले निर्वाचन आयोग, सरकार, राजनीतिक दललगायतलाई बधाई दिएको छ । निर्वाचनपश्चात मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्ने समेत निजी क्षेत्रको अपेक्षा छ ।
मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहने घोषणापत्रमार्फत सबै राजनीतिक दलहरुले प्रतिवद्धता गरेको भन्दै अब बन्ने सरकार र सबै प्रमुख राजनीतिक दलहरूले मुलुुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण निजी क्षेत्रले गराएको छ । यसप्रति प्रतिवद्ध रहन राजनीतिक दलहरुलाई निजी क्षेत्रको आग्रह छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले संविधानपछि परिकल्पना गरिएको मुलुकमा तीन तहकोे व्यवस्था पूर्णतः कार्यान्वयन हुने विश्वास व्यक्त गरे । “मुलुक संक्रमणकाल पूरा गरी स्थिरतातर्फ अघि बढ्ने र आर्थिक विकास हुने विश्वास हामीले गरेका छौं,” उनले भने ।
उनका अनुसार विगतमा अस्थिर सरकार भएकोले मुलुकको दिगो विकासमा नकारात्मक असर परेको हो । “प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको जारी मतगणनाको परिणामले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन हुने संकेत मिलेकोे छ । यो समग्र नेपाली जनता, उद्यमी व्यवसायी तथा सिङ्गो निजी क्षेत्रका लागि खुसीको विषय हो,” उनले भने ।
यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई) ले सम्पन्न निर्वाचनले विगत दुई दशकदेखिको राजनीतिक संक्रमणकालको अन्त्य र आर्थिक विकासको नयाँ युग सुरु हुने विश्वास लिएकोे छ । निर्वाचनपछि स्थायी सरकार निर्माण हुने अपेक्षा परिसंघको छ । सरकारले लगानी प्रवद्र्धन गर्न व्यापक नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको परिसंघले आैंल्याएको छ ।