नेपाली कांग्रेसले राजनीतिक इतिहासमा कहिल्यै नदेखेको पराजयको सामना अहिले आएर गर्नु परेको छ । नेपाली कांग्रेस पराजित हुँदा पनि दोस्रो दलको रुपमा सम्म पुगेर रोकिन्थ्यो भने २०७४ साल मंसिर १० गते र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तेस्रो दलको रुपमा समेटिदै छ । नेपाली कांग्रेसका हस्तीहरू सबैजसो पराजित भएको समाचारलाई सबै दैनिक पत्रिकाले प्रकाशित गरेका छन् ।
कान्तिपुरले वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हारको संघारमा भएको वस्तुस्थितीबा समाचार शुरु गरेको छ । २०४८ साल देखि निर्वाचनमा पछि नपरेका पौडेल योपल्ट पराजयको नमिठो स्वाद चाख्न विवश हुनुपर्ने अवस्थामा पुगेका छन् । त्यस्तै नेपाली कांग्रेसका मधेसका ठूला हेभिवेट बिमलेन्द्र निधिलाई राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धुलो चटाइदिएका छन् । सुर्खेतमा पूर्वमहामन्त्री पूर्णबहादुर खड्का पनि संकटमा रहेको तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि राप्रपा र वामपन्थी गठबन्धनका उमेदवार राजेन्द्र लिङ्देनसँग पछाडि धकेलिएका छन् । त्यस्तै अन्तिम समयमा नेपाली कांग्रेससँग पार्टी मिलाएका विजय कुमार गच्छेदार पनि हारको संघारमा रहेको कान्तिपुरले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूमा एनपी सावद, फरमुल्लाह मन्सुर, प्रधानमन्त्री पत्नी आरजु राणा समेत कडा प्रतिस्पर्धामा भएको कान्तिपुरले लेखेको छ ।
कान्तिपुरले कांग्रेसका पराजित हस्तीहरूको तस्विरको वृत्त बनाउँदै केन्द्रमा मोरङ ६ बाट एमालेका लालबाबु पण्डितसँग पराजित शेखर कोइरालाको तस्विर राखेको छ भने वृत्त वरिपरि नुवाकोटबाट संघर्षरत रामशरण महत तथा अर्जुन नरसिंह केसी त्यसपछि मोरङ ४ बाट पराजित महेश आचार्य, सिन्धुपाल्चोकमा हारेका मोहन बस्नेत, काठमाडौं ९बाट पराजित नविन्द्रराज जोशी तथा सोलुखुम्बबाट पराजित बलबहादुर केसीको तस्विर राखेको छ ।
नयाँ पत्रिकाले पनि प्रभावशाली जो हारे भनेर यिनै नेताको तस्विर राखेको छ । नयाँ पत्रिकाले तस्विरमा बिमलेन्द्र निधि राखेको छ भने वामगठबन्धनका नारायणकाजी श्रेष्ठको तस्विर पनि राखेको छ । त्यस्तै संघर्षरत नेताको लिस्टमा वामदेव गौतम, रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी तथा कमल थापाको तस्विर प्रकाशित गरेको छ ।
नयाँ पत्रिकाले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ सिटमा कुन कुन दल कति क्षेत्रमा विजयी वा अगाडि लागेका छन् त्यसको पाईचार्ट बनाएर राम्रोसँग प्रस्तुत गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ सातैवटा प्रदेशमा कुन दलले कति प्रदेश सिटमा अग्रस्थान वा विजय हासिल गरेका छन् भनेर पनि प्रदेशैपिच्छेको पाई चार्ट बनाएर प्रस्तुत गरेको छ ।
नेपाली कांग्रेसको हेभिवेटलाई धक्का भनेर गोरखापत्रले पनि समाचार प्रकाशित गरेको छ भने अन्नपूर्ण पोस्टले पनि सो समाचारलाई महत्व दिएको छ ।
राष्ट्रियसभा निर्वाचन कहिले ?
नागरिक दैनिकले अबको राजनीतिक प्रक्रिया कसरी अघि बढ्छ भनेर एक कोलमको महत्वपूर्ण समाचार प्रकाशित गरेको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको नतिजा मंसिर २६ गतेभित्र तथा समानुपातिकको नतिजा मंसिर ३० गतेभित्र आइसक्ने जनाएको र पुसको अन्त्यभित्र संघीय संसदको बैठक आह्वान गर्नुपर्ने भनेर जनाएको छ । संघीय संसदको आह्वान गर्नुअघिनै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने हुनाले त्यसका लागि राष्ट्रिय सभाको निर्वाचन ऐन चाहिन्छ । सो ऐन अध्यादेशको रुपमा अहिले राष्ट्रपति कार्यालयमा अड्किएको छ ।
दुई महिना पुरानो अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएको छैन । यो विधेयकमा प्रदेशबाट प्रतिनिधित्व हुने ५६ सदस्यहरू कुन निर्वाचन प्रणालीबाट ल्याउने भन्ने विषयमा कांग्रेस–एमालेबीच विवाद भएको थियो । कांग्रेस एकल संक्रमणीय मत प्रणालीबाट सदस्य निर्वाचित गर्नुपर्ने अडानमा छ भने एमालेले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा बहुमतीय प्रणालीका आधारमा हुने भएकोले सोही अनुरुप हुनपर्ने अडान कायमै राखेको छ । एमालेको यो अडानलाई माओवादी केन्द्रले पनि साथ दिएको छ । प्रदेशसभाको सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले राष्ट्रिय सभाको निर्वाचन गर्नेछ । यसमा स्थानीय निकायको मतभार १८ हुनेछ भने प्रदेशसभाको मतभार ४८ रहनेछ ।
सम्पादकीय
नयाँ पत्रिकाले आइतबार रोचक सम्पादकीय लेखेको छ । नेपाली कांग्रेस नराम्ररी पराजित भइरहेको अवस्थामा नयाँ पत्रिकाले भने प्रधानमन्त्री शेर बहादुर देउवालाई सम्पादकीय मार्फत धन्यवाद दिएको छ । तर नयाँ पत्रिकाले कुनै व्यंग्य गरेको होइन । उसको धन्यवाद एकदमै समयानुकूल र उचित छ । सबै विपक्षीले निर्वाचन हुँदै हुँदैन भनेर आरोप लगाइरहेको समयमा नेपाली कांग्रेसका प्रधानमन्त्रीले आफ्नै पार्टीको नराम्रो पराजय हुने निर्वाचन गराएको सन्दर्भमा यो धन्यवाद तर्क संगत देखिन्छ । नयाँ पत्रिका भन्छ, यसपालिको निर्वाचन भने २००७ सालबाट आरम्भ भएर ६७ वर्ष जारी रहेको विभिन्नखाले राजनीतिक संघर्षहरू र संक्रमणकालको अन्त्यतर्फको यो एउटा महत्वपूर्ण पाइला हुने निश्चित छ । यस निर्वाचन मार्फत शेर बहादुर देउवाले आफूलाई लागेको आरोप पखालेका मात्र होइनन् बरु देशलाई लोकतन्त्र संस्थागत गर्ने मार्गमा अघि बढाएर गुन समेत लगाएका छन् भनेर नयाँ पत्रिका लेख्दछ ।
अन्नपूर्ण पोस्टले वाम सफलताको लागि यी दलले अघि सारेका राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धिको नारो हो भनेको छ । कान्तिपुरले अब वाम गठबन्धनको जिम्मा संविधान कार्यान्वयन गराउँदै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनु हो भनेर सम्पादकीय टिप्पणी गरेको छ ।
हिमालय टाइम्सले अहिलेको मत परिणामले जनता राजनीतिक स्थिरता चाहन्छन् भन्ने सन्देश दिएको बताएको छ । मतपरिणामले निकट भविष्यको राजनीतिक संकेत गरिसकेको छ भन्दै टाइम्स लेख्दछ, ‘भावी सत्तापक्ष र विपक्ष सरकार बनाउने गिराउने विकृतिबाट अलग रहेर राजनीतिक स्थायित्वतिर अघि बढ्न सकेभने उनीहरूले जनमतको सम्मान गरेको ठहरिनेछ ।’
राजधानीले भने अब जित्नेमा अभिमान होइन सहनशीलता, प्रतिशोध होइन दूरगामी योजना आवश्यक छ भन्दै धैयपूर्वक बिना हतारो योजनाबद्ध विकासका कार्यक्रम मात्र होइन सामाजिक रुपान्तरणका योजनामार्फत यो जनमतको सम्मान हुनसक्छ ।
नागरिकले राष्ट्रियसभाको प्रतिनिधित्वको बारेमा सम्पादकीय लेखेको छ । गोरखापत्रले अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवसको विषयमा सम्पादकीय लेखेको छ ।