काठमाडौं । संघीय संरचनामा गएपछि पहिलोपटक भैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो निर्वाचनमा कलाकारहरुले पनि मतदान गरेका छन् । कलाकारहरुले मतदानास्थलमा पुगेर मतदान मात्रै गरेनन्, उनीहरुले फेसबुक पेजमा समेत मतदान गर्दै गरेको तथा मतदानपछिको तस्बिर पोष्ट गरेका छन् ।
यसरी मतदान गर्दै तस्बिर पोष्ट गर्नेमा नायिका देखि निर्देशक सम्म छन् । नायक भन्दा मतदान गरेको जानकारी गराउनेमा नायिका अगाडि देखिएका छन् । अधिकांश चर्चित नायिकाहरुले मतदान मात्रै गरेनन् मतदानको अधिकार प्रयोग गर्न पनि सबैसँग आग्रह गरेका छन् ।
नायिका रेखा थापादेखि निशा अधिकारी, प्रियंका कार्की देखि केकी अधिकारीसम्मले मतदान गर्दै मतदानका लागि आग्रह गरेका छन् ।
रेखाले काठमाडौं क्षेत्र नम्बर ४ पशुपति क्याम्पस मतदान केन्द्रमा मतदान गरेकी हुन् । उक्त क्षेत्रमा वाम गठबन्धनका तर्फबाट डा. राजन भट्टराई र कांग्रेसका तर्फबाट गगन थापा चुनावी मैदानमा छन् ।
नायिका थापा राप्रापा प्रजातान्त्रिककी सहमहामन्त्रि समेत हुन् । काठमाडौं क्षेत्र नम्बर ४ राप्रापा प्रजातान्त्रिकले कांग्रेसलाई समर्थन गरेको छ ।
प्रियंका कार्कीले आफ्नो पेजमार्फत मतदातालाई आग्रह गर्न नै भ्याइन् । कार्कीले पार्टीमुखी नहुन समेत आग्रह गरेकी छन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, “मतदान हाम्रो नैसर्गिक अधिकार हो । यसलाई हामी सबैले उपयोग गरौं । पार्टीमुखी हुनु भन्दा देशलाई प्रगतिको बाटोमा लानसक्ने सही उमेदवारको छनौट गरौं । सबैको जय होस् ।”
केकी अधिकारीले मतदान गरेको फोटो त पोष्ट गरिनन् तर उनले ‘देशले जिते हामी जित्छौं’ भन्दै सेयर गरेकी छन् । उनी केही दिन अगाडि देखि नै मत कसरी हाल्ने भनेर तयार गरिएको भिडियो समेत पोष्ट गरिरहेकी थिइन् ।
नायिकासँगै निर्देशकलाई पनि चुनावले छोयो । निर्देशकहरुले पनि आफ्नो फेसबुक पेजलाई चुनावबाट टाढा राख्न सकेनन् ।
निर्देशक निश्चल बस्नेत, दीपन्द्र के खनाल, ऋषि लामिछाने, निर्मल शर्माले पनि मतदान गर्दै मताधिकारको प्रयोगका लागि आग्रह गरेका छन् ।
निश्चलले ‘भोट चाहिँ हालौं है’ भन्दै विपिन कार्की र आसिफ शाहसँगको फोटछो पोष्ट गरेका छन् भने दीपेन्द्र के खनालले ‘भविश्यका लागि आज’ भन्दै मतदान गरेपछि नङमा लगाइदिएको मसी चिन्ह पोष्ट गरेका छन् ।
यस्तै अर्का निर्देशक ऋषि लामिछानले काठमाडौं क्षेत्र नम्बर ४ चावहिलबाट भोट हालियो भन्दै फोटो पोष्ट गरेका छन् ।
हाँस्य कलाकार हरिवंश आचार्यले मतदान गरेका छन् । उनले मतदान गर्दै गरेको तस्बिर आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै लेखेका छन्, “हार र जीत भनेको एउटा नियम हो । अब दल र नेताले भन्दा पनि देशले जित्न जरुरी छ । एक दशक लामो राजनीतिक संक्रमणकालको अन्त्य गर्दै देशले नयाँ संविधान अनुसार नयाँ संसद र नयाँ सरकार प्राप्त गर्दैछ । अबको बाटो भनेको स्थायित्व, समृद्धि र विकास नै हो र यस मै सबै दल, जनता र देशको जीत हुनेछ । मैले त मतदान गरे तपाईंले गर्नु भयो ?”
हाँस्य कलाकार विल्सनसवक्रम राइले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनले मताधिकार प्रषेग गर्न आग्रह गर्दै भनेका छन्, “देशको माया लाग्छ पनि भन्ने अनि भोट चाहिँ नहाल्ने, जैले नेतालाई गाली मात्रै गर्ने कहाँ हुन्छ ? मायाँले सन्सार थाम्दैन ।”
लोक दोहोरी गायक पशुपति शर्माले पनि आँफूले मतदान गरेको जानकारी गराएका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “गोप्य मतदान गरियो..., यो चुनावमा देशले जित्न पर्यो...।”