ad

निर्वाचन विशेष

तपाईँ कस्तो ‘भोटर’?

निर्वाचनको बेला आएपछि उमेर पुगेका व्यक्ति सबैको एउटै पहिचान हुन्छ – ऊ एउटा भोट बराबर शक्तिशाली हुन्छ । युवावृद्ध, धनीगरिब, शिक्षितअशिक्षित, महिलापुरुष, व्यवस्थापक र श्रमिक सबै वर्ग समान हुन्छन् । अझ, कुनै जात, धर्म, कर्म केहीमा पनि कुनै भेदभाव हुँदैन । सबैको एउटै अनुहार हुन्छ – मतदाताको । तर, मतदाता सबै एकै प्रकारका भने हुँदैनन् । आफ्नो मत कसलाई दिने भन्नेमा मतदाताको चरित्रअनुसार फरक व्यवहार देखिन्छ । दोस्रो चरणको निर्वाचनमा अघिल्लो चरणका मतदाताको चरित्र चित्रण गर्ने र सकभर मतदातालाई आफू गलत भएमा पुनर्विचार गर्ने कोसिस गरिएको छ । 

पहिलो प्रकारका मतदाता नेताका ‘भ्राता’ हुन् । भ्राता सुन्दा पुलिङ्गी सुनिएपनि मतदाताको प्रकारका हकमा यो उभयलिङ्गी शब्द हो । नेता र मतदाताको सम्बन्ध कस्तो गजबको हुन्छ भने बाजे समानको नेता पनि दाइ हुन्छ भने प्रेमिकाले समेत पनि सार्वजनिक स्थलमा नेतालाई ‘दादा’ भनिदिन्छन् । यही शब्दको समानान्तर प्रयोग हुने अर्को शब्द ‘कमरेड’ हो । जो पनि जसको पनि कमरेड हुन्छन् । त्यसैले ‘कमरेड’ पनि पहिलो प्रकारकै मतदाता हुन् । 

पहिलो प्रकारका मतदाता अधिकांश कुनै दलका कार्यकर्ता वा नेता हुन् । यिनलाई मत केमा हाल्ने भनेर सोध्नुको अर्थ छैन वा यिनको विचार बदल्न संभव हुँदैन । यस्ता मतदाताको कारणले गर्दा ठूला पार्टीको नेतृत्वमा जस्तोसुकै चरित्रहीन र भ्रष्ट व्यक्ति पुगे पनि ‘महापुरुष’ हुन्छ । अनि जति फटाहा र झुटो व्यक्ति पनि ‘विचारवान्’ कहलिन्छ । यस वर्गका मतदाता आफूलाई ‘काला’ र ‘राता’ भनेर परिचित गराउन पाउँदा गर्व गर्छन् । अचम्म त के छ भने ५० देखि ६० प्रतिशत मतदाता यही वर्गमा पर्छन् । यिनको आधारमा मात्र हेर्दा त निर्वाचन क्षेत्रको बस्तीमा को को बस्छन् तिनको गन्ती गरेर विजेता घोषित गरिदिए पनि हुन्छ । तर, अर्को ४०–५० प्रतिशत मतदाताको कारणले गर्दा निर्वाचन गर्नुपर्ने हुन्छ । निर्वाचनको परिणाममा उलटफेर पनि यिनै आधाउधी मतदाताको कारणले हुने गर्छ । 

हुनत, बाँकी मतदाता पनि त्यति सजिला कहाँ छन् र ? धेरै प्रकारका व्यक्ति धेरै प्रकारका रूप धारण गरेर मतदाता बनेर बसेका हुन्छन् । यिनमा सबैभन्दा सहजै पाइने मतदाता चाहिं लेनदेनमा व्यावहारिक हुन्छन् । यिनलाई कसले जित्छ, कुन सिद्धान्तले जित्छ, जितेपछि देश र जनतालाई के फाइदा हुन्छ भन्ने कुराको कुनै मतलब हुँदैन । ‘खल्ती गरम त भोट दानम’ यिनको एउटै धर्म हो । कतिपय लेनदेन व्यावहारिक भोटर चाहिं सामूहिकरूपमा यस्तो कर्म गरेर व्यक्तिगत पापको भारी बोक्नबाट बच्न चाहन्छन् । सामूहिक फाइदाका नाममा आफ्नो मत आँखा चिम्लेर रछ्यानमा फाल्ने यिनको प्रवृत्ति हुन्छ । 

एकसँग लेन र अर्कोलाई देन गर्ने अर्का एकथरी खाइदेउ मतदाता पनि हुन्छन् । यस्ता मतदाता एउटाको पैसाले साइकल चढ्ने, सारी, चोलो लगाउने तर अर्कैलाई मतदिने प्रकारका हुन्छन् । जसले जे दियो त्यही खाइदिने तर आफ्नो मत कसलाई दिने भन्ने विषयमा यस्ता व्यक्ति निकै सजग हुन्छन् । कतिपय त सामूहिक दबाबका कारण एउटाको खाएर अर्कोमा मतदान गर्न विवश हुन्छन् भने कतिपय चाहिं धोखा दिएर रमाउने प्रवृत्तिका हुन्छन् । 

काँतर मतदाता पनि अनौठा प्रकारका मतदाता हुन् । यिनले आफ्नो मन कुन उमेदवारमा बसेको छ त्यो कुरो खोल्दैनन् । यस्ता मतदाता मतदान केन्द्रमा गएर भोट खसालेर चुपचाप फर्किन्छन् । जसले सोध्यो उसैलाई मत दिएँ पनि भनिदिन्छन् । कहिले गोप्य मतदानको दुहाई दिएर चुपचाप बस्छन् । यस्ता मतदाताको कारणले गर्दा अधिकांश निर्वाचनमा सोचेको भन्दा फरक परिणाम निस्कन्छ । साधारणतया कुनै नयाँ उमेदवारको लहर आयो भने धेरै मतदाता काँतर मतदाताको खोल ओड्छन् ।

उनीहरूलाई मत दिन मन भएको व्यक्ति वा पार्टीले जित्छ कि जित्दैन भन्ने टुंगो नभएकाले यस्ता मतदाता चुपचाप बस्न मन पराउँछन् । काँतर मतदाता सकभर सबै दलको जुलुसमा सँगै लागेर हिँडिदिन्छन् र कसैलाई आफ्नो शत्रु बनाउँदैनन् ।

कतिपय मतदाता निकै सचेत हुन्छन् । यिनीहरूमध्ये कोही राष्ट्रियताको नाममा, कोही जातीयताका नाममा, कोही संप्रदायका नाममा र कोही राजाको नाममा त कोही विदेशी नीतिको नाममा मत दिने वा नदिने काम गर्छन् । धार्मिक सापेक्षता वा निरपेक्षताको विषयले पनि धेरै मतदातालाई निकै असर परेको देखिन्छ । तर, यस्तो सचेतता सबै मतदातामा एकै प्रकारको हुँदैन । कुनै पनि एउटा विषयमा अलि धेरै जनमत एकातिर भयो भने सचेत मतदाताले पनि मत परिणाममा धेरै फरक पार्न सक्छन् । तर, यी सचेतना आपसमा जुध्ने र एक अर्कालाई काट्ने हुनाले सचेत मतको ठूलो एकतर्फी असर पर्दैन । 

माथि भनिएका मध्ये कुनै पनि प्रकारको मतदाता भए पनिपरिवर्तन हुन चाहने हो भने वास्तवमा गाह्रो छैन । नेपालको संविधानले अहिलेको अवस्थामा जति अधिकार र राजनीतिक उदारताको व्यवस्था गरेको छ त्यसले गर्दा यो निर्वाचनमा कमसेकम कुनै एक राजनीतिक व्यवस्थाको पक्ष पोषण गर्नुपर्ने ठूलो जिम्मेवारी छैन । कुनै दलले दुई तिहाइ बहुमत ल्याएको दम्भले व्यवस्था नै परिवर्तन गर्न खोज्यो भने त्यो अवस्था पनि आउला । तर, यो निर्वाचनमा त्यति गहिरिएर सोच्नु पर्दैन । 

अहिलेको निर्वाचनमा मतदान गर्न सहज छ । दुई तीन कुरामा ध्यान दिए पुग्छ । आफूले मतदान गर्छु भनेको व्यक्ति जनताको अधिकार र जनताप्रतिको उत्तरदायित्वमा विश्वास गर्छ कि गर्दैन ? त्यो सबैभन्दा बुझ्नुपर्ने कुरा हो । त्यो ठम्याउन सकिएन भने सजिलो बाटो भनेको त्यो व्यक्ति दलाली गर्ने, गुण्डागर्दी गर्ने र कुनै नराम्रो काम गर्ने बाटोमा लागेको व्यक्ति हो कि हैन भनेर निर्क्यौल गर्ने । त्यतिबाट निष्कर्ष निस्के पनि ननिस्के पनि सामाजिक सञ्जाल र सञ्चार माध्यममा उठेका विषयलाई जनताको प्रतिनिधि हुन्छु भन्ने नेताले कति जिम्मेवारीपूर्वक हेर्छन् भन्ने विषयमा ध्यान दिने । सार्वजनिक माध्यमबाट जनताले उठाएको विषयलाई मनन गरेर जवाफ दिन्छन् भने त्यस्तालाई जनताप्रति उत्तरदायी नेता भन्न सकिन्छ । 

तर, माथिका मध्ये कुनै पनि श्रेणीमा नपर्ने र भनिएझैँ मनन पनि नगर्ने अर्का एकथरीका मतदाता पनि हुन्छन् । त्यस्तालाई ‘गान्धारी’ मतदाता भन्न सकिन्छ । देश, समाज र वस्तुस्थितिको विषयमा मनन गर्नै नसक्ने, सामाजिक, आर्थिक अवस्थामा पनि पिछडिएको र उमेरको हिसाबले पनि धेरै वसन्त देखेको व्यक्ति हुन् भने त ठीकै छ । अन्यथा, यस्ता गान्धारीले पनि निर्वाचनमा आउनुपर्ने परिणामको उल्टो परिणाम ल्याउन भूमिका खेल्ने गर्छन् । ‘म त यसलाई मतदान गर्ने हो’ भने पछि किन, कसरी र के कारण भनेर मनन नगर्ने प्रवृत्तिले पनि सही प्रतिनिधि छान्न व्यवधान बन्ने गर्छन् ।

माथि भनिए जति सबै थरीका मतदाता भए पनि घरमै बस्ने मतदाता चाहिं ‘बेवकुफ’ प्रकारका हुन् । यिनलाई बाटोघाटो राम्रो चाहिन्छ, धुलो उडेको मन पर्दैन, सबैतिर काम ठीक हुनुपर्छ तर आफू चाहिं मत दिन जानसम्म पनि अल्छी गर्छन् । त्यसैले सबैथोक हुनु ठीक बेवकुफ मतदाता चाहिँ नहोऊँ । बाँकी त निर्वाचन परिणाम आउन थालेपछि सबै तपसिल हुँदै गइहाल्छ ।


 

तपाईंको मत