मतदाता लोभलालचमा परेर बहकिन पनि सक्छन् । बलपूर्वक मतदाताको अधिकार खोस्ने प्रयत्न पनि हुनसक्छ । चुनावमा उमेदवार र तिनका समर्थकले ढाँट, छल, झुट, फरेब प्रयोग गरेर मतदातालाई बराल्न पनि खोज्छन् । यस्ता कुनै पनि कार्य नहुनु पर्ने हो तर भइरहेको छ । नेपालमा मात्र हैन अधिकांश गरिब मुलुकमा यस्तै हुनेगरेको छ । लोकतन्त्रमा निर्वाचनलाई जनताले सार्वभौम सत्ताको प्रयोग गर्ने मुख्य विधि मानिन्छ । शासनका लागि जनादेश प्राप्त गर्न बालिग मताधिकारका आधारम आवधिक निर्वाचन हुने गर्छ । यसैले निर्वाचन स्वच्छ र निष्पक्ष भएन भने वा मतदाता कुनै पनि रूपमा अलमलिए वा अनुचित प्रभावमा परे भने लोकतन्त्र नै कमजोर हुन्छ । मतदाताले आफ्नो ठानेनन् भने जति नै ठूलो बहुमत ल्याए पनि सरकार स्थिर हुनसक्तैन ।
नेपालमा मतदाताको निर्णयमा खोट देखाउने ठाउँ खासै देखिएको छैन । उनीहरुले मौका पाएका बेला राम्रै निर्णय गरेका छन् । नेपाली मतदाताले सबै ठूला दललाई मौका र सजाय दुवै दिएका छन् । दलका नेताले भने आफू वा आफ्नो दलले चुनाव हार्दा मतदाताको सधैँ अपमान गरेका छन् । चुनाव हार्नेबित्तिकै धाँधली भयो, मतदाता बिकेजस्ता आरोप लगाउँछन् । जनताले आपूmलाई मत नदिएको वा विश्वास नगरेको आत्मसात गर्दैनन् । अपमान नगर्नेहरूले पनि मतदाताको सम्मान गरेर चुनावका वाचा पूरा कहिल्यै गरेका छैनन् । सत्ताका लागि जनादेशविपरीत गठबन्धन गरेका छन् । अर्थात्, सामान्य मतदाताले हैन दलका नेताहरूले शासन पद्धति बिगारेका हुन् । यसैले मतदाताको निर्णयबाट शासनमा ठूलो परिवर्तन हुने अपेक्षा खासै राख्न सकिँदैन ।
विगतमा नेपालीले संविधान सभाकै लागि दुईपटक मतदान गरे । दोस्रो संविधान सभाले निकै मुस्किलसँग संविधान बनायो । जारी भएलगत्तै संविधान संशोधन पनि गरियो । तैपनि संविधानलाई अझै एउटा समूहले पूर्णरूपमा आत्मसात गरेको छैन । अर्कातिर, शासन प्रणाली नै परिवर्तन गर्ने चाहना केही दलका नेताले प्रकट गरेका छन् । अर्थात्, प्रतिनिधि सभाको निर्वाचनपछि पनि राजनीतिक स्थिरताको चाहना पूरा नहुन सक्छ । यसपटक चुनावपूर्व गठबन्धन गर्ने अभ्यास सुरु भएको छ । यो चुनावपछिको अवसरवादी गठबन्धनभन्दा सकारात्मक हो । तर, स्थानीय निकायको निर्वाचनमा भएको गठबन्धनको हबिगत सम्झने हो भने यिनै पात्रबाट कुनै पनि प्रकारको राजनीतिक इमानदारीको अपेक्षा गर्नु मूर्खता हुन्छ । मतदाताले सकेसम्मको विवेक प्रयोग गरेर निर्णय गर्ने तथा जित्ने र हार्ने सबैले तिनको मतको सम्मान गर्ने हुन सक्यो भने पनि लोकतन्त्रको जित हुनेछ ।
मतदातालाई आफ्नो शक्तिको बोध गरेर मतदानमा विवेक प्रयोग गर्नुपर्छ । मताधिकारको प्रयोग नगरेर मतदाताको हित हुँदैन । निर्वाचन आयोगले सबै तयारी पूरा गरेको बताएको छ । सरकारले सुरक्षा प्रबन्ध सुदृढ बनाएको दाबी गरेको छ । मतदाताले तिनलाई विश्वास गर्नुको विकल्प छैन । आशा गरौँ, मतदान सहजरूपमा सम्पन्न हुनेछ । स्वतन्त्र, भयमुक्त र स्वच्छ मतदानबाट प्राप्त जनादेशको नैतिक वैधता पनि हुन्छ ।