ad

बाह्रखरी समीक्षा

मौन अवधिमा ‘मत किन्ने’ चलखेल

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको मतदानको पूर्वसन्ध्यामा मत किन्ने चलखेल हुन लागेको समाचार कान्तिपुरले महत्त्वका साथ प्रकाशित गरेको छ । दोस्रो चरणमा ४५ जिल्लाका १२८ प्रतिनिधि सभा सदस्य र २५६ प्रदेश सभा सदस्यका लागि मंसिर २१ गते मतदान हुनलागेको छ । मधेसका ग्रामीण बस्ती, पिछडिएका समुदाय र विपन्न वर्गको मत प्रभावित गर्न मौन अवधि बढी प्रयोग हुने गरेको समाचारमा लेखिएको छ । 

जनकपुरबाट अखण्ड भण्डारी तथा श्यामसुन्दर शशि, वीरगन्जबाट भुषण यादव तथा राजविराजबाट अवधेश झाको रिपोर्टिंगको आधारमा कान्तिपुरले बनाएको मौन अवधिको रिपोर्टाजका अनुसार मधेसमा मौन अवधिलाई ‘मनि अवधि’ वा ‘कत्ल कि रात’ पनि भन्ने गरिएको छ । समाचारमा जनकपुर–३ को दलित चमार टोलमा मंगलवार दिउँसो एक टोलीले भोटको कुरा गर्न आएको भनेर त्यहाँको निर्माणाधीन भगवती गहवर (मन्दिर) को निर्माणका विषयमा कुरा गर्न आएका थिए । त्यहाँका बासिन्दा पनि सो मन्दिरमा ढलान गर्न जुन उमेदवारले एक मुष्ट पाँच लाख दिन्छ उसैलाई मत दिने प्रतीक्षामा रहेका छन् । यसभन्दा अघि एक जना उमेदवारले ढलानका लागि छड खसाली दिएको तर हारेपछि मत नदिएको आरोप लगाउँदै सो छड फिर्ता लगेको नमीठो अनुभव पनि उनीहरूसँग छ । 

कान्तिपुरको समाचारअनुसार मधेसका ग्रामीण बस्ती, पिछडिएका समुदाय र विपन्न वर्गमा मत प्रभावित गर्न मौन अवधि प्रयोग हुन्छ । विश्वासिलो बिचौलियामार्फत पैसाको पनि चलखेल हुनेगरेको छ । आर्थिकरूपमा त्यति प्रगति नगरेको समाजमा अगुवाको इसारामा सबैले एकै ठाउँमा मतदान गर्ने हुनाले पनि यस्तो मतमा किनबेच भएको देखिएको छ । कतिपय अगुवाले लिखितरूपमै यस क्षेत्रबाट यति मत ल्याइदिन्छु भनेर वाचा गर्ने र सोही अनुरूप पैसा लिने गर्छन् । तर, मत परिणाममा सो स्थानबाट वाचा गरेअनुरूप मत खसेको नदेखिएमा विवाद पनि हुनेगरेको समाचारमा लेखिएको छ । 

मौन अवधिमा मादक पदार्थको विक्री वितरणमा रोक लगाएको भए पनि राजविराजका मदिरा व्यापारीले यस समयमा सबैभन्दा बढी मदिरा विक्री भएको कान्तिपुरको संवाददातालाई बताएका छन् । त्यस्तै मासु पसलमा पनि २, ३ वटा कुखरा बेच्ने पसलेले दर्जन बढी कुखुराको मासु बेच्न थालेका छन् । उमेदवारको घरमा पनि कार्यकर्ताको भीड देखिएको र अधिकांश यस्ता कार्यकर्ता पैसाको मोल मोलाइमा व्यस्त रहेको समाचारमा जनाइएको छ । 

प्रत्यक्षको परिणाम चार दिनमै

निर्वाचन आयोगले मंगलवार प्रेस भेटघाट कार्यक्रम राखेर मतदान सकिएको चार दिनभित्र प्रत्यक्षका सबै उमेदवारको नतिजा सार्वजनिक गरिसक्ने प्रतिबद्धता गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने मतपत्र छरितो र गणना गर्न पनि सहज हुने कारणले चाँडो गन्ती हुने र परिणाम आउने निर्वाचन आयोगको अनुमान रहेको छ । मत गन्ती गर्न तीन सिफ्टमा कर्मचारी खटाएर चौबीसै घन्टा मत गन्ने काम गरिने पनि निर्वाचन आयोगले जनाएको छ । समानुपातिकको मत गन्तीमा केही समय लाग्ने र त्यसको परिणाम निकाल्न पनि थप समय लाग्ने भएकाले पूर्ण मत परिणाम भने आठ दिनभित्र आइसक्ने जानकारी निर्वाचन आयोगले दिएको छ । यस्तो मत गणना कार्य गर्दा गणकबाहेक अरूले मतपत्र छुन पनि नसक्ने व्यवस्था गरिएको र कतिपय स्थानमा सीसी क्यामेरासमेत जडान गरिएको छ । 

यो समाचारलाई आजका अधिकांश दैनिक पत्रिकाले प्रमुखताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले ‘परिणाम चार दिनमै’ शीर्षक दिएर मुख्य समाचार प्रकाशित गरेको छ । गोरखापत्रले ‘आठ दिनभित्र परिणाम’ शीर्षक दिएको छ । त्यस्तै हिमालय टाइम्सले पनि ‘मत परिणाम ८ दिनभित्र’ शीर्षकमा एउटा र ढुक्क भएर मतदान गर्न ‘सबै तयारी पूरा’ भन्ने अर्को समाचार छापेको छ । राजधानीले ‘निर्वाचन तयारी पूरा’ शीर्षकको मुख्य समाचार बनाएको छ । अन्नपूर्ण पोस्टले पनि ‘सबै परिणाम आठ दिनभित्र’ भन्ने शीर्षकमा कार्टुनको मुनि समाचार राखेको छ । 

आफैँलाई भोट हाल्न नपाउने ठूला नेता

नयाँ पत्रिकाले आफैँलाई भोट हाल्न नपाउने ठूला नेताको सूचीलाई उपल्लो समाचार बनाएको छ । यस्ता नेतामा नेकपा (एमाले) अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल छन् । ओली झापा – ५ बाट उमेदवार भए पनि नाम भक्तपुर – २ मा भएको र माधव नेपाल काठमाडौं – २ का उमेदवार भए पनि मतदाता नामावली सूचीमा रौतहटमा नाम रहेको छ । यस्ता आफैँलाई भोट हाल्न नपाउने अन्य नेतामा नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर महरा, सुरेन्द्र कार्की तथा झक्कुप्रसाद सुवेदी छन् । त्यस्तै नेपाली कांग्रेसका आरजु राणा तथा मीनेन्द्र रिजाल पनि यस्तै उमेदवारभित्र परेका छन् । राजपाका महन्थ ठाकुर तथा राजेन्द्र महतोले पनि आफैँलाई मतदान गर्न पाउनेछैनन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई भोट हाल्न पाउनेछैनन् । 

सम्पादकीय

बुधबारको नागरिक दैनिकले मुलुकको समस्या समाधानका निम्ति हिंसात्मक बाटो परित्याग गर्न आह्वान गरेको छ । हिंसात्मक गतिविधिलाई धेरै मलजल गरेको खण्डमा कालान्तरमा त्यसले आफँैलाई सिध्याउनेछ भनेर नागरिकले हिंसामा सरिक दल तथा ठूला दलका ठूला नेतालाई समेत लक्षित गरेर सम्पादकीय सुझाव दिएको छ । 

अन्नपूर्ण पोस्टले बूढानीलकण्ठको चपलीमा भएको बम प्रहारपछि शिक्षण अस्पताल महाराजगन्जमा देखिएको अव्यवस्था तथा धेरै मान्छे घाइते हुने अवस्थाप्रतिको संवेदनशीलताका सम्बन्धमा सम्पादकीय लेखेको छ । अस्पतालमा जानेले गर्ने व्यवहारका विषयमा पनि पोस्ट चिन्तित देखिएको छ । मान्छेले स्थान र समयअनुसार व्यवहार नगर्ने र कोही बिरामी भएको छ भने ओइरिएर भेट्न जाने कामले सबैतिर व्यवस्थापनको समस्या पर्ने कुराको पनि उठान गरेको छ । 

नयाँ पत्रिकाले स्थानीय सरकार बस्ने स्थानको अभाव, कर्मचारी पुगिनसकेको अवस्थाका विषयमा चिन्ता गरेको छ । राजधानीले प्रदेशको राजधानी चाँडो तोकियोस् भनेर सम्पादकीय लेखेको छ । नयाँ पत्रिकाले मुख्य समाचार पनि निर्वाचन सकिएलगत्तै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकिने विषयको मुख्य समाचार प्रकाशित गरेको छ । 

हिमालय टाइम्सले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न आआफ्नो स्थानबाट सहयोग गर्न आह्वान गर्दै सम्पादकीय लेखेको छ । गोरखापत्रले अन्तर्राष्ट्रिय स्वयंसेवा दिवसको अवसरमा यसको महत्त्वका विषयमा लेखेको छ भने कान्तिपुरले खानेपानी र ट्यांकरबाट पानी वितरणको निर्देशिका पालना नगरी जथाभावी भएको विषय उठाएको छ । 
 

तपाईंको मत