विचार
कलेजो मानव शरीरका महत्वपूर्ण अंगमध्ये एउटा हो । कलेजोमा हुने हेपाटोट्रोपिक विषाणुको संक्रमणलाई 'भाइरल हेपाटाइटिस' भनिन्छ ।
कलेजोलाई दुई प्रकारका विषाणुले संक्रमित गर्छन् - एउटा हेपाटोट्रोपिक र अर्को ननहेपाटोट्रोपिक । हेपाटोट्रोपिक विषाणुअन्तर्गत हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ पर्छन् । यिनले कलेजोलाई मात्र असर गरेपनि शरीरका अन्य भागमा दीर्घकालीन असर पुर्याउदैँनन् ।
नन हेपाटोट्रोपिक विषाणुअन्तर्गत ‘हर्पिस सिम्प्लेक’ र ‘इब्स्टेनवार’ विषाणु पर्छन् । यिनले भने कलेजोलगायत शरीरका अन्य अंगमा समेत असर पुर्याउँछन् ।
भाइरल हेपाटाइटिस ए, बी, सी, डी र ईलाई दुई समूहमा बाँडिएको हुन्छ । पहिलो समूहमा ‘ए र ई’ पर्छन् । यिनीहरू विशेषगरी प्रदूषित पानी तथा खानेकुराबाट सर्छन् र तुरून्त असर गरे पनि दीर्घकालीन असर गर्दैनन् ।
अर्को समूहमा बी, सी र डी पर्छन् । यिनीहरू रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ र आमाबाट बच्चामा सर्छन् । यिनीहरू दीर्घकालीन प्रकृतिका पनि हुन्छन् र कलेजोलाई असरसमेत गर्छन् । हेपाटाइटिस बी एचआईभी एड्सभन्दा खतरनाक रहेको प्रचार गरिए पनि शरीरको प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत वयस्क मानिसमा ६ महिनाभित्र यो रोग आफैँ निको भएर जान्छ ।
बाँकी १० प्रतिशत संक्रमितमा भने कलेजो कडा हुनेलगायतका दीर्घकालीन समस्या देखिन्छ । त्यसैलाई ‘लिभर सिरोसिस’ भएको भनिन्छ । लिभर सिरोसिस भएकामध्ये केही संक्रमितलाई क्यान्सरसमेत हुनसक्छ ।
हेपाटाइटिस भयो भने जन्डिस देखिन्छ । यस्तो हुँदा मुख बार्ने, जडिबुटीको प्रयोग गर्ने, नाइटोमा लेप लगाउनेजस्ता चलन पनि प्रचलित छ । तर, मुख बार्दा पोषणको कमी हुन्छ र रोगसँग लड्ने क्षमतामा ह्रास आउन सक्छ । यस्ता कुरामा जनचेतनामार्फत् खानाप्रतिको धारणाबारे जनसमुदायलाई स्पष्ट पार्नु जरुरी हुन्छ ।
जन्डिस रोग होइन रोगको लक्षण मात्र हो । त्यसैले उपचार गरेर त्यसलाई समाप्त गर्नुपर्छ । तर, यसबारेमा हामीले हाम्रा बिरामीलाई राम्ररी बुझाउन अझै सकेका छैनौ । त्यसैले बिरामी र बिरामीका आफन्तलाई यसबारे राम्ररी जानकारी गराउनु जरुरी छ ।
हेपाटाइटिसबाट हरेक वर्ष बिश्वभर १५ लाखभन्दा बढी मानिसको मृत्यु हुनेगरेको छ । संसारमा ‘मेडिकल डिजिज’ मा मानिसको ज्यान लिने यो आठौं ठूलो रोग हो ।
ठूलो रोग भए पनि मानिसले धेरै चासो नदेखाएका कारण विश्व स्वास्थ्य संगठनले संसारको हेपाटाइटिसप्रतिको धारणा बदल्न र यस रोगबाट पर्ने आर्थिक भारको चेतना जगाउन विश्व हेपाटाइटिस दिवस मनाउन सुरुगरेको छ ।
हरेक वर्षको जुलाई २८ का दिन हेपाटाइटिस दिवस मनाउने गरिन्छ । हेपाटाइटिस भइसकेकाले अपनाउनुपर्ने सावधानी र भइनसकेकाले अपनाउनुपर्ने सुरक्षात्मक उपाय तथा यस विरुद्धको खोप बारे जनचेतना अभियानमार्फत् बुझाउनु आवश्यक छ ।
हेपाटाइटिसका कारण हुने लिभर सिरोसिस र लिभर क्यान्सर पनि भयावहरूपमा बढ्दो छ । हेपाटाइटिसको रोकथाम गर्न सके ठूलो जनधनको क्षति हुनबाट बचाउन सकिन्छ । सबै किसिमका हेपाटाइटिसको खोप अझै उपलब्ध भइसकेको छैन । बजारमा हाल हेपाइटिस ए र बी कोमात्र खोप उपलब्ध छन् ।
यो रोग लाग्दैमा हात मिलाउन नहुने, सँगै बस्न नहुने, एउटै ओछ्यान प्रयोग गर्न नहुने भन्ने हैन । हेपाटाइटिसको भाइरस धेरै समयसम्म बाँच्ने हुनाले मात्र यसलाई डरलाग्दो रोग भनिएको हो । हेपाटाइटिसले कलेजोलाई असर गर्छ । यसैले समस्या देखिइसकेपछि यसलाई लुकाउनुभन्दा समयमै उपचार गर्नुपर्छ ।
हेपाटाइटिस बी र सी को उपचार तुलनात्मकरूपमा केही महँगो छ । हेपाटाइटिस बी को औषधि २ वर्ष वा जीवनभर पनि सेवन गर्नुपर्ने हुनसक्छ । जसका कारण आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई खर्च धान्न मुस्किल पर्नसक्छ ।
नेपालमा हेपाटाइटिस बी र सीका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । करिब २ प्रतिशत अर्थात् ६ लाखको हाराहारीमा हेपाटाइटिस बी र एक लाख हेपाटाइटिस सी का बिरामी रहेको अनुमान गरिएको छ ।
नेपालमा यस रोगबारे चेतना स्तर निकै कम रहेकाले सरकारले हेपाटाइटिसलाई जनस्वास्थ्य कार्यक्रममा समेटेर स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालसम्म चिकित्सकसँगै जनस्वास्थ्यमा सरोकार राख्ने हरेकलाई यसको रोकथाम, सर्ने माध्यम तथा उपचारलगायतका विषयमा सुसूचित गर्नु जरूरी छ ।
समाजमा नकारात्मकरूपमा लिने गरिएकाले यस रोगका बारेमा सरकारसँगै सबै सरोकारवाला निकायले अभियान चलाएर जनचेतना फैलाउनु जरुरी छ । यो रोग निको हुने प्रकृतिको हो भन्ने जनसमुदायलाई बुझाउनु जरुरी छ ।
(पेट तथा कलेजो रोग विशेषज्ञ, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल)
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३ ११:०८
प्रतिक्रिया दिनुहोस्