काठमाडौं । यस वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधव घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ । स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवसको अवसर पारेर मंगलबार नारायणगोपाल स्मृति सम्मान प्रदान गरिएको हो ।
राष्ट्रकवि घिमिरेसहित संगीतकार एवंं गायक सिके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालिप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतलाई सम्मान गरिएको छ । नारायण गोपाल संगीत कोषले नगद २५ हजारसहित उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रकवि घिमिरेले स्वरसम्राट नारायण गोपाललाई नेपालको गीतसंगीतको क्षेत्रमा कुनै पनि उपमा आवश्यक नपर्ने बताए । उनले नारायण गोपाल आफ्नै सुरतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको पनि स्मरण गरे ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नारायण गोपालका कालजयी गीतहरु जति सुनेपनि नपुग्ने अनुभूति सुनाए । उनले नारायण गोपाल संगीत कोषको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नारायण गोपाल संगीत कोषले नेपाली गीत संगीतको क्षेत्रमा उच्च योगदान पुर्याउनेहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।