site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
 
केही दिन यता भयावह सडक दुर्घटना नियमित शृंखलाजस्तै बन्न पुगेको छ ।  हालै काभ्रे, चितवन, बैतडी, धनकुटा, त्रिशुलीलगायतका विभिन्न दुर्घटनाले सडक दुर्घटना रोक्न सरकारले पहिलो प्राथमिकता दिनुपर्ने देखिएको छ । हुनत, प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गरेको र त्यसको रोकथाम गर्न प्राथमकिता दिएको समाचार सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताले सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । सञ्चार माध्यमले पनि सडक दुर्घटनालाई दुःखद समाचारमा सीमित नगरी यसका विविध पक्ष केलाई रहेका छन् । तर, दुर्घटनाका मूल कारक यातायात व्यवसायीहरू भने मौन देखिएका छन् । सडक दुर्घटनाबाट हानि त उनीहरूको पनि हुन्छ तर सडक आवागमनलाई 'यमलोकको यात्रा' बनाउने पनि तिनीहरू नै हुन् । अर्कातिर, सडक दुर्घटना नियन्त्रण गर्न सबैभन्दा पहिले गर्नुपर्ने काम सिन्डिकेटको कब्जाबाट सडकलाई मुक्त गर्ने विषयमा पनि नीति निर्मातादेखि कानुन कार्यान्वयनकर्तासम्म कसैले पनि एउटा शब्द उच्चारण  गरेका छैनन् । 
 
सडक दुर्घटना रोक्नका लागि यथास्थितिमा जति नै प्रयास गरे पनि सम्भव देखिँदैन । नियम पालन गर्ने र गराउने कार्य बिस्तारै शिथिल हुने र दुर्घटनाको दुश्चक्र दोहोरिने अभ्यास निरन्तर दोहोरिइरहेको छ । गृह मन्त्रालयले दुर्घटना न्यून गर्न दिने निर्देशन होस् वा यातायात विभागले गर्ने अनुगमन संस्थागतरूपमै प्रभावकारी र सुदृढ नबनाउन्जेल सडकमा थोत्रा गाडी गुडाउन छाडिने छैन । सडकमा सेवा सञ्चालन गर्ने अनुमति लिन पनि माफिया शैलीमा सञ्चालन हुने यातायात समिति नामका सडक सिन्डिकेटको सिफारिस चाहिने कानुनी व्यवस्था कायम राखेर यातायात सेवा र सुरक्षामा सुधार गर्छु भन्नु पाखण्डबाहेक अरू केही हुँदैन । यसैगरी सडक दुर्घटनाको अर्को अपराधी सरकार स्वयं हो । सडक निर्माण र मर्मत सुधारलाई अहिलेजस्तै राज्यको ढुकुटी दोहन गर्ने माध्यम बनाउने सोच हुँदासम्म सडकको गुणस्तरमा सुधार हुँदैन । अगतिला सडकमा दुर्घटना हुनु आश्चर्य हैन । मोटर हाँक्ने लाइसेन्स दिन ढिलो भयो भनेर कार्यालय थप्न निर्देशन दिने प्रधानमन्त्रीले बरु लाइसेन्स थोरैलाई देऊ तर मोटर चलाउन नजान्नेलाई सवारी चलाउने अनुमति पत्र नदेऊ भनेका भए पो सरकार दुर्घटना नियन्त्रण गर्न गम्भीर छ भन्न मिल्थ्यो । नेपालको सडकमा भन्दा बढी मोटर चल्ने धेरै मुलुकका सडक दुर्घटना दर नेपालका तुलनामा कम हुनुले पनि व्यवस्थापनका कमजोरी भएकै पुष्टि हुन्छ ।
 
राज्यका सडकमा तोकिएका मापदण्ड पूरा गर्नेले सुरक्षा र सुविधामा प्रतिस्पर्धा गर्ने गरी नयाँ बस सेवा सञ्चालन गर्न चाहनेले विना अवरोध व्यवसाय गर्न पाउने अधिकारमात्र उपभोग गर्ने वातावरण हुने हो भने दुर्घटना नियन्त्रणका निम्ति मूल आधार तयार हुनेछ । निजी क्षेत्रको कुनै कम्पनी तयार नभए राज्यकै अग्रसरतामा पनि गुणस्तरीय सार्वजनिक यातायात सेवा सञ्चालन गरिनुपर्छ । यातायात व्यवसायीका समितिहरूले सडकमा नयाँ यातायात सेवा सुरु गर्न अवरोध गर्दै आएका छन् । यसैले यातायात व्यवसायीका नाममा संगठित समितिहरूको कब्जाबाट सडकलाई मुक्त गर्न सरकारले आवश्यक भए नयाँ कानुन बनाएर पनि दृढतापूर्वक अगाडि सर्नुपर्छ । सडक निर्माण र मर्मतमा यात्रुको सुरक्षा तथा सुविधा दुवै पक्षमा विशेष ध्यान दिनुपर्छ । प्रमुख सडकहरू र नगरक्षेत्रभित्र 'जिरो स्क्य्राच' अर्थात् कतै पनि बिग्रन नदिने प्रणाली अपनाउने हो भने पनि दुर्घटना नियन्त्रण गर्न सहयोग पुग्नेछ । ड्राइभिङ लाइसेन्सलाई किनबेचको वस्तु बनाइँदासम्म अरू सबै पूर्वाधार भएर पनि दुर्घटना रोकिँदैन । यसैले सवारी चालक अनुमति पत्र पोख्त नहुँदासम्म दिइनु हुँदैन । यसका लागि सवारी चालक अनुमति पत्र दिने अहिलेको प्रक्रियामा सुधार आवश्यक छ । यस प्रक्रियामा हुने भ्रष्टाचारबाट धेरै जनाको ज्यानै जान सक्ने भएकाले लाइसेन्स दिँदा पटक्कै सम्झौता हुन दिइनु हुँदैन । सवारी चालकको मानसिक र शारीरिक स्वास्थ्यको नियमित परीक्षणको प्रावधान पनि सवारीको चेकजाँचसँग अभिन्नरूपमा जोडिनुपर्छ । सवारी साधन, सडक र चालकको अवस्था तन्दुरुस्त राख्नैपर्ने व्यवस्था गर्न सके अहिलेको दुर्घटना दरमा निश्चय पनि कमी आउनेछ । यसका लागि यात्रुको सुरक्षा र सुविधालाई सर्वाधिक प्राथमिकता दिने सोच सरकारी संयन्त्रमा संलग्न जनशक्तिमा हुनु अपहरिहार्य हुन्छ ।  दुर्भाग्य, सरकारी संयन्त्रमा यही यात्रु अर्थात् जनतामुखी सोच छैन । यसैले प्रधानमन्त्रीदेखि सञ्चारकर्मीसम्म जति चिन्तित भए पनि यस क्षेत्रमा सुधार सजिलै हुने देखिँदैन ।    
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC