Skip Advt.
ad

साहित्य र कला

पृथ्वीनारायणलाई नबिर्सम् !

पृथ्वीनारायणलाई नबिर्सम् !

– रवि मिश्र


के भाको यो ? यत्रो मुलुक एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई भसक्कै बिर्सिन थाले यसरी मुलुक एकीकरण गर्नेलाई पनि बिर्सिन हुन्छ ? पृथ्वीनारायण बिर्सेर नि हुन्छ ? आज पृथ्वीनारायण बिर्सियो भोलि नेपालै बिर्सेला पर्सि भूकम्पमा ढलेको धरहरा बिर्सेला निपर्सि हनुमानढोका अगाडिको गरुडको मूर्ति बिर्सेला कानेपर्सि बाहिर निस्किँदा कानेटोपी नै बिर्सेला यसरी हुन्छ ? जाडो हुन्न ?

त्यसैले जसरी हुन्छ- पृथ्वीनारायण नारायणलाई सम्झिम् सम्झिन गाह्रो भै'राछ भने कापीमा टिपम् । घोकम् कण्ठ पारम् मोबाइलमा रिमाइन्डर राखम् अलार्म राखेर भए नि दिनको - फेर सम्झिम् सिलिङमा पृथ्वीनारायणका पृथ्वीनारायण लेखम् ताकि बिहान उठ्नासाथ देखियोस् त्यसपछि ओछ्यानमै उत्तान्टाङ लाएर नाम वाचन गरम् एउटो माला किनम् एक्से आठ फेर पृथ्वीनारायण जपम् बस्दा टुप्पी लगेर माथि दलिनमा बाँधम् ताकि कतै उङ लाग्न खोज्दा झोट्याक्क टुप्पी तानियोस् टुप्पी नछिनुन्जेल उनैलाई सम्झिम् पृथ्वीनारायणलाई सम्झिम् है सम्झिम् ! नत्र मुलुक नरहला

मेमोरी पावरको नि ख्याल गरम् पुग्दैन भने मेमोरी पावर बढाम् तर नभुलम् सम्झिरम् अरु सब भुलम् पृथ्वीनारायण नभुलम् राष्ट्र निर्मातालाई भुल्न हुन्छ ? भुल्नेलाई कारबाही गरुम् कसैले भुलेका छन् कि वा भुल्छन् कि- अनुगमन गरम्

स्मरण रहुन्जेल, चेतना रहुन्जेल उनलाई सम्झिम् क्यै गरी स्मरण गुमेछ भने पनि 'गजनी'का आमिर खानले जस्तो तत्काल पिन्ट हुने एकथान केमरा किनम् शालिकमा गएर खिचिक्क फुटो खिचम् खोकिलामा राखम् हरेक घुम्तीमा, चोकमा ट्राफिक जाममा झिक्दै, हेर्दै गरम् सकिन्छ- सबले निधारमा ट्याटु हानुम् ताकि हरेक मान्छे देख्नासाथ उनको याद आओस् बसमा, सिनेमाहलमा, नाटक घरमा, सपिङ मलको छिर्ने निस्कने ढोकामा उनको नाम लेखम् ताकि उनको स्मरण भई नै रहोस् इन्टरनेट दुनियाँमा मायालुको साटो उनकै नाम पासवर्ड राखम्

पृथ्वीनारायण भनेका मुलुक हुन् अझ उनको नामअघिको नारायण झिक्ने हो भने पृथ्वी नै हुन् कवि माधवप्रसाद घिमिरेको गीतिकवितामा 'नेपाली हामी रहौंला कहाँ नेपालै नरहे' भनेझैं मनुस्से हामी रहौंला कहाँ पृथ्वी नै नरहे ? मनुष्य जातिको अस्तित्व रक्षाका खातिर पनि पृथ्वीनारायणलाई नभुलम् पृथ्वी नै भुलेसी के रहन्छ ? माथि आकाश रहन्छ तल टेक्ने ठाउँ रित्तै भएन ? त्यसैले जति सकिन्छ, पृथ्वीनारायणलाई सम्झिम् हप्तौंपछि वाइफाइ भेटेको मोबाइल फुनको हुरुरु नोटिफिकेसनझैँ उनलाई बाडुल्की चलाम्

बरु हाम्रो वर्तमान बिर्सम् वर्तमानका आवश्यकता जिम्मेवारी बिर्सम् देशको उन्नति, प्रगति समृद्धिको कार्यभार बिर्सम् शहीदका रगत बिर्सम् आफ्नै सपना बिर्सम् भविष्य बिर्सम् सम्झम् केवल पृथ्वीनारायण सम्झिम् आखिर हामीसँग गाथा गाएरै बाँच्न पुग्ने ढलिमली इतिहास छँदै त्यसैलाई सिरान हालम् मस्त निदाम्

उनको सम्मान गरम् यतिसम्म कि मन्दिरै बनाम् पूजा गरम् घण्टा बजाम् पृथ्वी चालीसा बनाम् पाठ गरम् सप्ताह लगाम् भजन-किर्तन गरम् अपुङ्गो खाम् हनुमान निकालम् नारान पो हुन ! शालिकमा माला लगाएर पुग्छ ? अझ सकिन्छ भने जात्रै निकालम् कीर्तिपुरमा मुखुण्डो लगाएर छमछमी नाचम् सकिन्छ भने अन्तर्राष्ट्रिय, सकिन्न भने राष्ट्रिय भए नि बिदा गरम् विभिन्न शक्तिपीठमा आराधना गरम् अझ नेपाल बन्दै गरम् कर्फ्यु लगाम्

ओई ! को हो त्यो 'राष्ट्र निर्माता'को बड्डेमा काम गर्ने ? ठोक् !

तपाईंको मत