site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चुट्किलाको सँगालो
Sarbottam CementSarbottam Cement

- अज्ञात लुइँटेल


विगत केही समयदेखि नेपाली चलचित्रको धार फेरिएको छ । झन्डै-झन्डै संकटकाल लागिसकेको चलचित्र क्षेत्रमा हिजोआज करोडौंको कारोबार भइरहेको छ । कमेडीको नाममा फेसबुके चुट्किलामात्रै थोपरिएका चलचित्रहरु पनि हाउसफुल भइरहेका छन् । त्यस्तो चलचित्रले व्यावसायिक रूपमा सफलता पाए पनि त्यसले चलचित्र क्षेत्रमा कस्तो खालको दिगो प्रभाव पारेको छ त ? त्यसले चलचित्र हेर्ने दर्शकमा कस्तो असर गरिरहेको छ त ? यसको बारेमा आजसम्म खासै केही अध्ययन भएको पाइएन । चलचित्रको बारेमा कुनै टिप्पणी गर्दा पूरै युनिट नै आइलाग्ने अवस्थासमेत सिर्जना भएको छ ।

त्यसैले व्यावसायिक रुपमा सफल केही प्रतिनिधि चलचित्रहरुको बारेमा हामीले शृङ्खलाबद्ध रूपमा समीक्षात्मक सामग्रीहरु प्रस्तुत गर्ने जमर्को गरेका छौं । त्यसैअन्तर्गत यो हप्ता चलचित्र 'छ एकान छ'को बारेमा लेखेका छौं :

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली टेलिभिजनहरुमा हाँस्य कार्यक्रमहरुको लोकप्रियता एकदमै लोभलाग्दो छ । देश–विदेशका स्टेज कार्यक्रममा पनि हाँस्य कलाकारहरुको नै माग उच्च देखिन्छ । विभिन्न च्यानलहरुले आफ्नो प्राइम समयमा सकेसम्म हास्य कार्यक्रम नै प्रसारण गर्ने गरेका छन् ।

हास्य कार्यक्रमको यो लोकप्रियतालाई टेलिभिजनमा मात्रै सीमित नराखी ठूलो पर्दामा पनि देखाउनु पर्छ है भनेर शिवहरि पौडेल, जितु नेपाल, सन्दीप क्षेत्री, सीताराम कट्टेल, केदार घिमिरेलगायतको समूहले दीपकराज गिरीको नेतृत्वमा चलचित्र 'छ एकान छ' निर्माण गर्‍यो । नेपाल टेलिभिजनबाट प्रसारण हुने 'ट्वाक्क-टुक्क' मार्फत प्रायः सबै हास्य कलाकारलाई ब्रेक दिएका दिनेश डीसीको निर्देशनमा चलचित्र 'छ एकान छ' बनेको हो । फिल्मको सामान्य तथा सहयोगी भूमिकामा पनि टेलिभिजनका परिचित कलाकारहरुकै अभिनय देख्न पाइन्छ ।

Global Ime bank

ठूलो पर्दाको चलचित्र निर्माण गरे पनि 'तीतो सत्य', 'जिरे खुर्सानी', 'मेरी बास्सै'को ह्याङओभरबाट कुनै पनि कलाकार माथि उठ्न नसकेको प्रष्टै देखिन्छ । केदार घिमिरेले त आफ्नो माग्ने बुढाकै चरित्र निर्वाह गरेका छन् ।

कृत्रिमजस्तो संवादको पछाडि बज्ने ब्याकग्राउन्ड साउन्डले फिल्म हेर्दा पनि अझै टिभी नै पो हेर्दैछु कि भन्ने भान पर्छ । फिल्ममा दर्शक हँसाउनका लागि निर्देशक डीसीले मुख बङ्ग्याउने, अमिल्दो लुगा लगाउने, ठाउँ-कुठाउँ लड्ने जस्ता पुरानो जमानामा प्रयोग भइसकेका फर्मुलाहरुलाई रिसाइकल गरी भरपुर प्रयोग गरेका छन् । चलचित्रमा सिर्जनशीलताको व्यापक खडेरी देखिन्छ ।

पढेलेखेकी धनी शहरिया युवतीको रूपमा देखा पर्ने नायिका निता ढुंगानाले नारीलाई एकदमै कमजोर रुपमा प्रस्तुत गरेकी छन् । त्यत्रो व्यवसाय सम्हालेर बसे पनि पुरुषसँग विवाह गरेपछि मात्रै नारीको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिन्छ चलचित्रले । समाजमा जतिसुकै सफल भए पनि बिहे नभएसम्म नारीलाई सफल भएको मानिन्न भन्ने अडानमा चलचित्र अडिग देखिन्छ । एउटी शहरिया युवतीले विवाह गर्नका लागि गरेको संघर्ष नै चलचित्रको सार हो ।

नायक र नायिकाको भेट भएपछि एउटा गीत त जसरी पनि हाल्नैपर्छ भन्ने फर्मुलाबाट निर्देशक डीसी एक इन्च डगमग भएका छैनन् । रचनाकारले गीतका शब्द रचना गर्न खासै समय खर्चिएको जस्तो देखिन्न । त्यसैले गीत सुन्दा जबर्जस्ती शब्दहरु थोपरिएको जस्तो लाग्छ । एउटा गीत त हिन्दी चलचित्र 'दबङ्ग'बाट सीधै अनुवाद गरिएको छ । जेहोस्, चलचित्रले अनुवादकहरुलाई नयाँ रोजगारी सिर्जना गर्दिन सफल भएको छ ।

सलमान खानद्वारा अभिनित 'दबङ्ग'को इन्सपेक्टर चुलबुल पाण्डेको जोकर भर्सनको रूपमा दीपकराज गिरीले निर्वाह गरेको चरित्र इन्सपेक्टर चन्चल पाण्डे देखापरेको छ । गिरीको उक्त भूमिकाकै लागि जबर्जस्ती नायिकालाई सलमान खानको फ्यान देखाइएको छ । चरित्रमात्रै होइन, द्वन्द्व, गीत-सङ्गीतलगायतका सम्पूर्ण कुराहरू 'दबङ्ग'बाट थपक्क चोरी गरिएको छ । चलचित्र हेर्दाहेर्दै दर्शकहरु 'छ एकान छ' हेर्दै छु कि 'दबङ्ग'को प्यारोडी हेर्दै छु भनेर एकछिन झुक्किन्छन् । नेपाली फिल्महरु भारतीय फिल्मबाट प्रेरित हुन्छन् भन्ने आरोपलाई खण्डन गर्नुको सट्टा झन् मलजल गर्न गिरी सफल देखिन्छन् ।

लेखकले संवादहरुको अन्त्यमा जबर्जस्ती राइमिङ मिलाउन खोजेका छन् । एउटै पन्चलाइनलाई दोहोर्‍याएर प्रयोग गरिएको छ । वकिलको भूमिकामा देखा पर्ने जितु नेपालले आफ्नो डाइलग बोल्दा धारा र दफा भन्न छुटाउँदैनन् । यदि चलचित्रमा कोही डक्टरको भूमिकामा थियो भने प्रत्येक संवाद बोल्दा औषधिको नाम लिन्थ्यो कि भनेर लख काट्न सकिन्छ । सन्दीप क्षेत्रीले निर्वाह गरेको कविको भूमिका 'तीतो सत्य'बाटै थपक्क उठाएर ल्याएजस्तो देखिन्छ ।

पुराना हिन्दी फिल्ममा देखिने दृश्यहरु, जस्तै: खाजा पोको पारेको पत्रिकामै महत्वपूर्ण जानकारी भेटिने अविश्वसनीय संयोग, रक्सी खाएपछि अङ्ग्रेजी बोल्नै पर्छ भन्ने मान्यतालाई 'छ एकान छ'मा पनि कायमै राखिएको छ ।

आशालाग्दी नायिका भनिएकी निताको अभिनय औसतभन्दा निकै थोरै छ । उनले अभिनयको प्रशिक्षण लिएर मात्रै चलचित्र खेल्न सुरु गर्नुपर्थ्यो । अतिथि भूमिकामा नीर शाहले गरेको कमेडी बिर्सनलायक छ । 'गोलमाल- ३' मा जोनी लिभरको पछाडि बज्ने ब्याकग्राउन्ड म्युजिकसहित राजबल्लभ कोइराला भिलेनको रूपमा देखापरेका छन् । पोखरामा रेडियो जक्की हुँदा विभिन्न व्यक्तिहरुको आवाज निकालेर प्रख्यात भएका कोइरालाले हाकु कालेको आवाज निकालेर आफ्नो क्षमता पुनः देखाएका छन् । 'लुट'को लोकप्रियता क्यास गर्नुबाहेक उनले गरेको हाकु कालेको मिमिक्रीको कुनै तुक देखिन्न ।

समग्रमा भन्नुपर्दा चलचित्र 'छ एकान छ' आजसम्म प्रसारण भएको 'तीतो-सत्य'को सारांशजस्तो देखिन्छ । दिनहुँ टिभीको सानो पर्दामा देखिने कलाकारहरुलाई ठूलो पर्दामा देख्न पाउनेबाहेक दर्शकहरुले अरु केही नयाँ कुरा पाउँदैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC