site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपालमा समीक्षकले विश्वास कमाएका छैनन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
२० कथा, २० प्रश्न
 
 
१. ‘शुक्रराज शास्त्रीको चश्मा’ कथा संग्रहमा ‘यस कथा संग्रहका पात्र तथा घटनाहरू काल्पनिक हुन्, कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ’ जस्तो केही लेखिएको भेटिनँ । किताब कसैप्रति समर्पण गरेको पनि देखिनँ । तपाईंले यो लेख्न भुल्नुभएको हो कि लेख्न नचाहनु भएको ?
भुलेको हैन । यसअघिका मेरा सबै किताबहरूमा समर्पण छ । सबै किताबमा समर्पण राख्नुपर्छ या हिन्दी टेलिसिरियलतिर देखिने जस्तो यसका पात्रहरू÷कथा काल्पनिक हुन्, कसैसँग मिल्न गएमा संयोगमात्र मान्नुहोला भनेर भन्नुपर्छ जस्तो मलाई लाग्दैन । लेखनको यो ३१–३२ वर्ष भयो, तर लेखनमा मेरो काल्पनिक पात्रतिर ध्यान जाँदैन । ती पात्रहरू, जसलाई म कथामा मेरै वरिपरिको समाजबाट र मेरै माटोबाट टिपेको हुन्छु, ती काल्पनिक पात्र हुँदैनन् । म कथामा जो पात्रलाई प्रयोग गर्छु, ती कथामा जस्तै पूरै त्यही अभिनयमा हुन्छन् भन्नचाहिँ म सक्दिनँ । तर, कहीँ न कहीँ ती पात्रहरू जीवन्त पात्र हुन् । त्यसकारण पनि यी काल्पनिक घटना या कथा भनेर भनिरहनुपर्छ भन्ने मलाई लाग्दैन । यसको अर्थ मेरो कथामा कल्पनाशीलता छैन भन्न खोजेको चाहिँ हैन । चाहे सानै घटना किन नहोस्, जब त्यसले झिल्का दिन्छ, तब म त्यस झिल्कालाई मिल्ने पात्र खोज्न थालिहाल्छु । त्यसैले पनि मेरा कथाहरू यथार्थका निकै नजिक हुन्छन् । 
 
२. तपाईंको किताबमा भएको ‘एकालाप’ कथा हो कि दैनिकी ?
एकदिनको कथा भएको हुनाले त्यो दैनिकी भन्न खोजेको होला । यो कथा मैलेस्त्री पात्रमाथि केन्द्रित गरेको छु । त्यो कथा कुनै कल्पनामात्र हैन । घटनाहरूलाई अलिकति कल्पनाशक्तिले थिच्ने प्रयास गरेको हँु । त्यो एकदिनको एउटा घटनाको कथा हो । 
 
भनेपछि अब दैनिकीहरूलाई पनि कथा भन्दा भयो ?
दैनिकी लेखेर त्यसलाई कथा भन्न सकिन्छ भन्ने भ्रममा चाहिँ नपरेको राम्रो । दैनिकीलाई पनि कथात्मकता त दिनुपर्छ नि । मैले कथात्मकता दिने प्रयास गरेको छु । मैले दैनिकी लेखेको हैन, कथा नै लेखेको हुँ । 
 
३. तपाईंको ‘गोस्ट राइटर’ भन्ने कथामा एउटा लाइन छ, ‘कुनै गरिब केटीलाई मैले आर्थिक सहयोग गरेर जीवन बाँच्न सहयोग गरेबापत बदलामा यौनसम्पर्क राख्दा पनि पाप लाग्ला ?’ उत्तरमा तपाईंले ‘लाग्दैन’ भन्ने प्रकृतिको उत्तर दिनुभएको छ । यो लाइनसँग सम्बन्धित तपाईंको दर्शन के हो ?
त्यो मेरो हैन, मैले कथामा उठाएको पात्रको दर्शन होे । कथामा आएका सबै पात्रहरूको दर्शन मेरो दर्शन हैन । जुन पात्र मैले ‘गोस्ट राइटर’मा बाबाजीको स्वरूपमा उतारेको छु, उसको मनोवृति हो त्यो । उसको मनोवृति यो समाजमा चलेको निकृष्ट सोचाइको पराकाष्ठा हो । त्यस्तो सोचाइ राख्ने मानिस पनि हाम्रो समाजमा छन् भनेर मैले कथामार्फत् भन्न खोजेको हुँ ।
 
४. सुनेअनुसार त पात्रमार्फत् लेखकले आफ्नो दर्शन मिसाउँछन् भन्छन् नि त !
मैले कथाको रचनागर्भ लेख्या’थें अलि अगाडि ‘नागरिक’मा । त्यो सबै कथाका विषयमा लेख्दाखेरि यी कुनै पनि कथाहरू मेरा निजी घाउ हैनन् । म चाहे प्रेमकथा, युद्धका कथा, राजनीतिका कथा या भूकम्पका कथा लेखुम्, ती कुनैमा पनि मैले आफ्नो निजत्वलाई स्थान दिएको छैन । मैले त तिनै कथा लेखें, जुन घटनाले मलाई झिल्का दिएका छन् । मैले अघि पनि भनें, घटनाले झिल्का दिएपछि म पात्र खोज्न थाल्छु र सो पात्रले कतिसम्म सोच्न÷बोल्न सक्छ, सोचेर म त्यसलाई कथामा उतार्छु ।
 
४. आफ्नो फिलोसोफी/लिगेसी/पीडालाई कथामा उतार्दिनँ त भन्नुभयो, तर किताबभित्र कम्तीमा ६–७ वटा कथामा कतै न कतै माओवादीलाई छरपस्टै पारेर गाली गर्नुभएको छ नि !
मैले मेरो लिगेसी, मेरो सिद्धान्त हैनन् भनें । तर, कथामा कहीँ न कहीँ लेखकले लेख्दाखेरि आफ्ना कुरा छुँदैनन् भनेर भनेको पनि हैन । सम्पूर्ण मेरै सिद्धान्त, मेरै विचारद्वारा निर्देशित कथा हैन । माओवादीको कुरा गर्दा ०४६ सालको मुभमेन्टपछिको केही समय छोड्ने हो भने अधिकांश समय वामपन्थीहरूको बहुमतमा सरकार निर्माण भएका छन् । २६ वर्षमा २४ सरकार परिवर्तन हुँदा एमाले भन्ने पार्टी ९ पटक हो या ११ पटक सरकारमा गइसक्यो । उसले सर्वहारा जनताको पक्षमा काम गर्छु भनेकै हो । उसको घोषणापत्र नै त्यही हो । पछि १० वर्षे युद्धबाट आएको माओवादीले भुइँमान्छेलाई शासनका माध्यमबाट धनी बनाउछौं पनि भनेकै हो । यसरी राजनीतिका माध्यमबाट सबैभन्दा बढी भ्रम बामपन्थीहरूले छरे, जुन स्पष्ट रूपमा जनताले बुझिसकेका छन् । नत्र एकचोटि त्यत्रो मत दिएर जिताएको माओवादी एकाएक दोस्रो संविधानसभाको चुनावबाट कसरी तेस्रो पार्टी हुन पुग्यो ? त्यसकारण जनताका नाममा काम गर्छु भन्नेले नै जनतालाई बढी दमन गरेको कारणले त्यो दल, त्यो राजनीतिप्रति आमजनताको जस्तै मेरो पनि वितृष्णा हो, मेरो पनि प्रहार हो ।
 
५. भनेपछि तपाईंको वामपन्थीप्रतिको यो प्रहारलाई बुझ्ने हो भने तपाईंको लेखनको धार पनि पहिल्याउन सकिएला ?
मैले आजसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन । जवानीमा २२–२३ को हुँदा देशका गरिब निमुखाहरूको हित गर्ने भनेका वामपन्थी हुन् भनेझैं लाग्थ्यो, तर त्यो भ्रम त्यही समयतिरै पूर्णतः टुटिसकेको थियो । यसो भनिरहँदा म कांग्रेसप्रति लचिलो बनेको हैन । ‘राजनीति’ भन्ने कथा हिमालमा छापिएको छ । त्यो पूर्ण रूपमा कांग्रेसको कार्यशैलीप्रति प्रहार गरेर लेखिएको कथा हो । 
 
६. ‘भर्‍याङ’ कथामा तपाईंको एउटा लाइन छ, ‘सामान्य रिपोर्टरले पैसा कमाएर काठमाडौंमा घर घडेरी जोडिसके ।’ तपाईं त पाको पत्रकार ! तपाईं आफू पनि पत्रकारितामा संलग्न हुनुहुन्छ । यो हिसाबले सोध्दा सामान्य रिपोर्टरले काठमाडौंमा घर घडेरी जोड्न सक्ने कस्तो काम हुन्छ पत्रिकामा ?
पत्रकारितालाई देखाएर दाम बटुल्ने काम अर्थात् पित पत्रकारिता । अहिले त देशमा एनजीओ÷आईएनजीओ च्याउसरि छन् । तिनलाई सहयोग गरिदिएर पैसा कमाउनेहरू पनि छन् । यद्यपि, त्यो क्रम अहिले कम भएको छ । मेरो हकमा चाहिँ म काठमाडौंको रैथाने । पत्रकारिता र साहित्य मेरो रोजाइका क्षेत्र हुन् । म जाँगरका कारण यो क्षेत्रमा आएको हुँ, पैसाको कारण हैन । त्यसैले यी दुई क्षेत्रबाट मेरो अपेक्षा भनेको मैले जिन्दगी रमाइलोसँग बिताऊँ भन्ने हो र म रमाइरहेको पनि छु ।
 
८. भनेपछि तपाईंको जिन्दगी त प्रेमिल हुनुपर्ने, रमाइलो हुनुपर्ने । ‘प्रेम–मूर्दावाद’ भनेर चाहिँ किन लेख्नुभयो नि ?
हाहा ... । हो, मेरो जिन्दगी प्रेमिल छ । यसलाई यसरी बुझौं, ‘प्रेम–मूर्दावाद’ भन्ने एउटा कथामात्र हो, जसमा पैसावालसँग चाहिँ प्रेम ‘इन्जोय’ हुने तर गरिबसँग चाहिँ ‘हाफ हार्टेड’ हुने भनेर देखिएको सन्दर्भ उठाउन चाहेको हुँ । मैले प्रेमलाई नै सम्पूर्णतः गलत भन्न खोजेको हैन । 
 
९. ‘माई म अहिले जन्मन चाहन्नँ’ भन्ने कथालाई आधार मानेर तपाईं मधेस आन्दोलन, नाकाबन्दी र तत्कालीन सरकारले देखाएको मधेसप्रतिको उदासीनतालाई कसरी सम्झनुहुन्छ ?
मैले मधेस आन्दोलनको अन्तर्यमा पुगेरै यो कथा लेख्ने कोसिस गरेको हुँ । चार पटक त मोरङ र वीरगन्ज छेउछाउका मुसहर बस्तीमा पुगेको छु । आन्दोलनमा तिनै गरिबहरू हुन्थे । तिनका नाममा राजनीति गर्नेहरू कि भारत हुन्थे कि काठमाडौं । त्यो समयमा एउटा गर्भभित्रको बच्चाले यसरी पो सोच्ला कि भनेर त्यो कथा लेखें । यद्यपि, त्यो कथाको पृष्ठभूमि, त्यो आन्दोलन देशभित्र दोस्रो दर्जाको नागरिक हुनुपर्ला कि भन्ने चिन्ताले ग्रसितहरूको आन्दोलन थियो र तिनै नागरिकहरूको कुरा मैले एउटा भ्रुणमा लगेर राखेको हुँ । राज्यले त्यो वर्गमाथि गरेको उपेक्षा असह्य थियो जबकि तिनको मुक्तिका लागि भनेर लड्ने मधेसका नेताहरूले गरेको क्रियाकलाप झनै नाजायज थियो । 
 
१०. ‘समायान्तर’ भन्ने कथाको रत्नकुमार पात्रको नियति कतिपल्ट भोग्नुभयो तपाईंले ? 
मैले धेरै पटक भोगेको छु ।
 
के नेपालको पत्रकारिता यसैगरी चलेको छ ?
अहिले त धेरै ‘प्रोफेसनल’ हुँदै जाँदैछ । स्वाभिमानी पत्रकारलाई स्वाभिमानपूर्वक काम गर्न नदिइएको अवस्थाको कथा हो ‘समयान्तर’ । अहिले अवस्था थोरै सुधार भएको छ । सम्पूर्णतः सुधारचाहिँ भएको छैन । 
 
११. ‘नारा’ कथाको रचनागर्भ के हो ?
म मीनभवन क्याम्पस पढेको । ४०–४२ सालमा नेविसंघ र अखिलबीच त्यो समय त्यहाँ असाध्यै बढी झगडा हुन्थ्यो । नेविसंघका मेरा एकजना उग्र मित्र थिए । उनी अखिलले कही नारा लेखेको देख्यो कि गएर पिसाब फेरिदिन्थे । त्यो प्वाइन्टलाई समातेरै यो कथा लेखेको हँु । 
 
१२. ‘वृद्धाश्रम’ कथाको एउटा लाइन यस्तो छ– ‘ईश्वरमान अलिक बढी भावुक थिए । आँसु खसालिहाल्थे । साथीहरू उनलाई रुन्चे भन्थे । कवि हुनुपर्ने मान्छे कहाँबाट पत्रकार भएछ भन्थे ।’ तपाईं आफू पनि कविता लेख्नुहुन्छ क्यारे, कविलाई यसरी रुन्चेको ट्याग किन लगाउनुभएको ?
हाहा.. । यो कस्तो छ भने गाउँका साथीहरू भेला हुँदा कहिलेकाहीँ मलाई ‘ए कवि !’ भनेर बोलाउँछन् । म बोलिनँ भने ‘ए बहुला !’ भन्छन् । हाम्रो समाजमा अहिलेसम्म पनि कवि भनेको पावरवाला चश्मा लगाउने, फोहोरी, रुन्चे, झुत्रे, चुस्स दाह्री पालेको, थोत्रो झोला बोकेको हुन्छ भन्ने मान्यता छ । मैले त्यो कथामा त्यही समाजलाई प्रतिनिधित्व गरेको हुँ ।
 
१३. ‘बहिर्गमित’ भन्ने कथामा श्यामसुन्दर जो अयोग्य लडाकु थियो, उसलाई जनयुद्धपछि राजनीति छोडेर गाउँ बस्न थालेपछि ‘तिमी पुनः असल बाटोमा फर्किएछौ श्यामसुन्दर, खुसी लाग्यो’ भनिएको छ । यस अर्थमा तपाईंको १० वर्षे जनयुद्धप्रतिको दृष्टिकोण के हो ?
अहिलेको नतिजा र परिणति हेर्ने हो भने त्यो गलत सिद्ध भइसकेको छ । त्यसका नेतृत्वकर्ताहरूले ‘कन्फेसन’ गर्न आवश्यक छ । बाबुरामले ‘कन्फेसन’ गरेको भए उनको नयाँ पार्टी ठूलो र राम्रो हुनेथियो । तर, अहिलेसम्म कसैले ‘कन्फेसन’ गरेका छैनन् ।
 
१४. ‘बयान’ कथामा तपाईंले यस्तो लेख्नुभएको छ– ‘मलाई हीराको दुइटा कुरा मन पर्दैनथ्यो । अलि बढी रक्सी खान्थ्यो ऊ ।’ र, फेरि लेख्नुभएको छ– ‘रक्सी कहिलेकाहीँ त म पनि खान्थें, तर ऊ दिनहुँ खान्थ्यो थोरैथोरै ।’ यहाँ विरोधाभाष देखियो । बढी खाने र थोरैथोरै खाने कुरा सम्पादनमा मिस्टेक भएको हो या अरु केही ?
त्यस्तो कहीँ प्राविधिक गडबडी भएको होला । तर, यसको चाहिँ स्पष्टीकरण दिइराख्न मन लाग्दैन । ऊचाहिँ बिहानदेखि खान्थ्यो भन्ने कुरा बुझाउन खोजेको हुँ मैले । बिहानदेखि खाने मान्छेले अलिअलि खाँदा पनि त धेरै नै हुन्छ नि ! खाली पेटमा खाएको पनि प्रसंग छ । यद्यपि, त्यसलाई सच्याउन सकिन्छ ।
 
१५. तपाईंको यो संग्रहमा आफूलाई झुर लाग्ने र मन नपर्ने कथा ?
मलाई सबै कथाको माया लाग्छ । तर, अरुले भनेजस्तै यी सबै मेरा सन्तान हुन् भनेर भन्दिनँ । पाठकको ‘पर्सेप्सन’ अनुसार ‘वृद्धाश्रम’ कथा ‘मधुपर्क’मा छापिएपछि एकजना नजिकका साहित्यकार÷पाठक दाइले ‘तेरो यो कथाचाहिँ मलाई कमजोर लाग्यो’ भन्नुभयो । तर, संग्रह आइसकेपछि ‘वृद्धाश्रम’ फरक स्वादको कथा भनेर धेरैले मन पराए । पक्कै पनि २० वटा कथामा सबै एउटै उचाइका छैनन् । तथापि, मेरो ‘कन्फेसन’ यी सबै कथामा अझै बढी रिसर्च गरेर अझ राम्रो बनाउन सकिन्छ भन्ने नै हो ।
 
१६. तपाईंको ‘विकल्प यात्रा’, ‘जाडोमा भोक’, ‘सपनामा माक्र्स’ र यो ‘शुक्रराज शास्त्रीको चश्मा’सहित चारवटा कथा संग्रह, ‘अनायिका’ उपन्यास र ‘भ्रष्ट संवेदना’ कविता संग्रह निस्केका छन् । यीमध्ये आफूलाई प्रिय लाग्ने कुनै किताब ?
म सकेसम्म एकपछि अर्को गर्दै अब आउने किताबमा झन् बढी मेहनत गर्ने स्वभावको मान्छे छु । तुलनात्मक रूपमा अघिल्ला किताबभन्दा बढी मैले यसमा मेहनत गरेको छु । त्यसकारण पनि मलाई यही ‘शुक्रराज शास्त्रीको चश्मा’ नै अझ बढी प्रिय लाग्छ । फेरि पनि माया त सबैको लाग्छ । 
 
१७. किताब निस्केपछि बिक्री हुनुपर्छ भन्ने मान्यता कत्तिको छ ?
बिक्री त हुनुपर्छ । नत्र त प्रकाशकले किन मेरो किताब छाप्थे ?
 
उसो त नेपालमा किताब बिक्री हुनका लागि गोजीका समीक्षक हुनुपर्छ भनिन्छ नि !
समीक्षाको विश्वास भन्ने एउटा आर्टिकल लेखेको छु ‘कान्तिपुर’मा । नेपालको हकमा चाहिँ खासै समीक्षकले विश्वास कमाएको म देख्दिनँ । समीक्षकले झुर भनेको किताब पनि बिक्री भएका छन् र समीक्षकले महान् भनेका किताब पनि ‘डम्प’ भएर बसेका छन् । मुख्य कुरो लेखनप्रतिको इमानदारी, समर्पण र निरन्तरता नै हो । म पहिलाका संग्रहहरू एकदमै बिक्री भएको लेखक हैन । औसतमा मेरा किताब हजार–पन्ध्र सय प्रति बिक्री भएका छन् । ती छापिएकै त्यत्ति थिए । मेरो पहिलो कथासंग्रह ‘विकल्प यात्रा’ ५ सय प्रति छापिएको थियो । ‘कान्तिपुर’ले पढ्नैपर्ने कथाहरू भनेर लेखिदियो । त्यो ५ सय प्रति हारालुछ भयो । हारालुछ यो अर्थमा कि आठ–दश महिनामा मेरा किताब सकिए । अहिले निजी प्रकाशन गृहहरू एकदमै व्यावसायिक भएर आएको बेला छ । प्रकाशकले यो किताब कसरी बढी बिक्री गराउने भनेर सोचेकै होला । तर, मेरो निजी विचारमा चाहिँ कति बिक्री होला भन्ने चिन्ताले बिल्कुलै ग्रस्त छैन । 
 
१८. यो कथासंग्रहको नाम ‘शुक्रराज शास्त्रीको चश्मा’ नै राख्नुको कारण ? अन्य पनि त कथा थिए ।
यो पूर्वप्रकाशित कथा हो । संयोग भनौँ या दुर्भाग्य, यो कथा दुई पटक छापियो । केही प्राविधिक मिस्टेक भयो होला । आफैंलाई दोष दिऊँ या पेज संयोजकलाई ? यो ‘नागरिक‘ र ‘नेपाल’ साप्ताहिकमा एक–डेढ हप्ताको अन्तरालमा छापिएको छ । त्यसैले पनि यो कथा धेरैले पढे र धेरैले राम्रो रेस्पोन्स पनि दिए । अर्को कुरा, मलाई किताबको शीर्षक के राख्ने भनेर अन्योल भइरहेको थियो । आफ्नो कथाको शीर्षक राख्न धेरै गाह्रो पनि लाग्छ मलाई । गाह्रो लाग्दालाग्दै झ्याप्पै यही राखौं जस्तो लाग्यो, यही राखेँ । कुनै सुनियोजित हैन । 
 
१९. आफ्नो लेखनप्रति कत्तिको इमानदार हुनुहुन्छ ?
मेरो लेखनको सबैभन्दा ठूलो शक्ति भनेकै मेरो इमानदारी हो । तर, म बढी इमानदार हुन खोजेर होला, मेरा कतिपय कथामा कलात्मकता अलिकति कम भएको हो कि जस्तो महसुस हुन्छ । म कलम चलाउने मान्छे, पत्रकारिता गर्छु, त्यसैले मैले बेइमानी गर्नु हुँदैन । आफैंलाई ढाँटेर, आफैंलाई महान् बनाएर अरुलाई तुच्छ पनि बनाउन हुँदैन । म समाजप्रति उत्तरदायी हुनुपर्छ भन्नेचाहिँ अलि बढी नै सोच्छु । 
 
२०. तपाईंको किताब नपढ्दा पनि हुन्छ कि पढ्नैपर्छ भन्ने जस्तो कारण केही छ ?
म आग्रहसम्म गर्न सक्छु पाठकलाई । मैले आफू बाँचेको समाजको, मैले भोगेको देश दुनियाँको, अभावको, सीमान्तकृत वर्गका पीडा, छटपटी, यो समयको र यो माटोको कथा लेख्ने प्रयास गरेको हुँ । म अनुरोध गर्छु, यो समयलाई बुझ्नका लागि पनि मेरो किताब पढ्दा घाटाचाहिँ लाग्दैन कि ?
 
 प्रस्तुतिः सौरभ कार्की

Twitter.com/canvassss

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC