site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लचिला तन्नेरी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
शुक्रबार अस्ट्रेलियन दूतावासअघि ‘कार्टुन्ज क्रु’लाई भेट्दा सातै जना तन्नेरीहरू शरीरका लगभग सबैजसो अंग बटारेर नाचिरहेका थिए । कम्मर भाँच्ने त पुरातन ‘मेटाफोर’ हो– उनीहरू शरीरका हरेक जोर्नीलाई उत्तिकै सजिलै भाँचिरहेका थिए ।
नाच्दा उनीहरूको मात्रै होइन, हेर्ने दर्शकको पनि शरीर बटारिन्थ्यो ।
उनीहरूलाई भेट्न जाँदा हामी पनि करिब आधा घण्टा शरीर बटार्दै हेरिरह्यौं ।
‘कार्टुन्ज क्रु’का लिडर सविन कार्की असिन–पसिन देखिन्थे । उनी सुनाउँदै थिए, “निकै गाह्रो पो छ त हौ बी–बोइङ गर्न । बी–बोइङ हेर्दा आँखालाई जति आनन्द आउँछ, प्रस्तुति देखाउन उस्तै गाह्रो ।”
कहिले हावामा तैरिएर, कहिले शरीरलाई १० ठाउँ बंग्याएर, त कहिले हत्केलाले ज्यान अड्याएर नाच्नु जति सामान्य देखिन्छ, उति असामान्य छ देखाउनु ।
सविन र उनका अरु ६ साथीहरू त्यसै पसिनामा बगेका थिएनन् ।
पसिना पुछ्दै उनीहरू हामीछेउ आए । सविनले भने, “ब्रो, हामी त नाच्नै जन्मिएका हौं । नाचेरै संसार जित्छौं ।”
‘संसार जित्ने’ उनीहरूको सपनाको सुरुआती कथा उस्तै चाखलाग्दो छ ।
० ० ० 
सन् २०१० मा कीर्तिपुरका ९ युवाले ‘ब्वाइज अफ कीर्तिपुर’बाट सुरु गरेको बी–बोइङ यात्रा सन् २०११ देखि ‘द कार्टुन्ज क्रु’मा रुपान्तरित भएपछि विस्तारित मात्र भएन, त्यसले बी–बोइङप्रति आममानिस को धारणा नै बदल्यो । अल्मोडा राना उप्रेतीले गाएको ‘पानी पर्‍यो असिना झर्‍यो, दाइको रुमाल भाउजूलाई मन पर्‍यो’ बोलको गीतमा प्रस्तुति देखाएपछि त झन् उनीहरूको ‘बी–बोइङ बजार’ ह्वात्तै माथि पुग्यो । यो भिडियोले अल्मोडाको आफ्नै सुरुवाती भिडियोलाई पनि उछिनेर २० लाखमाथिको आँकडा पार गरेको छ, युट्यूबमा ।
सरोज अधिकारीले ‘ब्वाइज अफ कीर्तिपुर’ मार्फत् बी–बोइङ कला उजिल्याइरहेका थिए । त्यसैक्रममा प्रस्तुति देखाउन भारत जानुपर्ने भयो तर अभ्यास गर्ने ठाउँ अभावका कारण उनी बडो द्विविधामा थिए । त्यही बेला फेला परे सविन । क्षेत्र एकै भएकाले होला– सरोज र सविनबीच राम्रै चिनजान थियो ।
त्यसो त प्रस्तुतिको सिलसिलामा उनीहरू कयौँपटक सँगै पनि भएका थिए । भावनात्मक हिसाबले पनि एक–आपसमा अत्यन्त नजिक थिए ।
एकदिन सरोजले सविनलाई भने, “डान्स देखाउन इन्डिया जानु छ तर प्राक्टिस गर्ने ठाउँ पो भएन त !”
सविनले अप्ठ्यारो फुकाए, “पुतलीसडकको साधना कला केन्द्र मैले चिनेको छु, त्यहीँ अभ्यास गर्दा हुन्छ नि !”
सरोजलाई ‘ढुंगा खोज्दा देउता मिलेझैँ’ भयो । तत्कालै प्रतिक्रिया जनाइहाले– आजैबाट प्राक्टिस सुरु गर्नुपर्‍यो ।
० ० ०
साधना कला केन्द्रमा दुई–चार दिन अभ्यास गरेर उनी भारततर्फ हानिए । भारतबाट फर्किनु उनको ‘टर्निङ प्वाइन्ट’ भयो । सरोज स्वदेश फर्कनेबित्तिकै सविनले प्रस्ताव ल्याए, “अब हामीसँगै होऔं । हामीबीच कला र उद्देश्यमा समानता छन् भने अलग समूहबाट किन प्रस्तुति देखाउनु, एकै भए हुँदैन ?”
कुरो मिलिहाल्यो ।
“त्यो केटौले अवस्थामा गरेको निर्णय वास्तवमा निकै सही रहेछ,” पसिना सुकेपछि सविनले लामो सास फेर्दै भने ।
सविन र सरोज दुवैमा बी–बोइङको हुटहुटी थियो । बी–बोइङ कुनै कला होइन, यो ‘स्टन्ट’ हो । र, यस प्रकारको नृत्य नेपाली मौलिक संस्कृतिमाथिको पाश्चात्य आक्रमण हो भन्ने अतिवादी दृष्टिकोणलाई उनीहरूले चिर्न आवश्यक ठानेका थिए ।
“खै किन हो– ममा किशोरवयमै त्यो किसिमको चेतना जागृत भयो, म मौलिक र परम्परागत नृत्यलाई माया नगर्ने होइन, जबकि मैले नृत्यमा पाइला नै ‘कल्चरल डान्स’बाट गरेको हुँ भने मैले यसलाई माया नगर्ने प्रश्नै आउँदैन  । तर ममा लोक–आधुनिक नृत्यमा बी–बोइङ मिसाएर अझ स्वादिष्ट र बास्नादार बनाउने हुटहुटी थियो,” सविनले सुनाए ।
त्यसैको परिणाम थियो हामीले युट्यूबमा देख्ने यी युवाहरूको ‘स्टन्ट’ नाच ।
सविनको कुरामा सहमति जनाउँदै सरोजले भने, “स्कुल पढ्दादेखि नै बी–बोइङमा केही गरौँ भन्ने हाम्रो समान उद्देश्य थियो र बी–बोइङलाई नेपाली माटोसुहाउँदो बनाउने उत्तिकै चाहना पनि थियो । यो अध्याय पूरा गर्न हामी समान धारणा राख्नेहरू एक ठाउँमा उभिन जरुरी थियो । त्यसैको समष्टिगत रूप हो– कार्टुन्ज क्रु ।
र, हो पनि ।
० ० ० 
‘कार्टुन्ज क्रु’ निर्माणपछि पनि उद्देश्यमा पुग्न सहज भएन । टोल र स–साना मञ्चहरूमा देखाइरहेको बी–बोइङ, लकिङ/पपिङ कलालाई ठूला मञ्चमा उकाल्न नै महाभारत पर्‍यो । तर, पनि उनीहरूले अठोट लिए । अठोट लिएनन् मात्रै– पूरा पनि गरे ।
सविन भन्छन्, “हामी नेपाली नृत्यमा ‘र्‍याडिकल चेन्ज’ ल्याउन गन्तव्यकृत भएका थियौँ । त्यसकारण हामी रोकिएनौँ । हामीलाई विश्वास थियो, एकदिन हामी लक्ष्यमा पुग्छौँ । नभन्दै त्यो दिन आयो ।”
सविनले खुसीको सास फेरे ।
सविनको कुरामा सरोजले जोड दिए, “हामीलाई नाच्नुमात्र थिएन, उद्देश्यमा पुग्नु पनि थियो । बी–बोइङ के हो, दुनियाँलाई देखाउनु थियो ।”
सुरुवाती दिनमा घर–परिवारले पनि बी–बोइङमा लाग्न खोज्दा खासै महत्त्व दिएनन् । ‘नाचेर भात खान पुग्दैन, किताब पढ्’ भनेर बाबुले सम्झाएको हिजो जस्तो लाग्छ सरोजलाई । र, पनि उनी नसुनी आफ्नो उद्देश्यमा अविचलित रहे ।
“घर–परिवारलाई ‘इग्नोर’ गरेको होइन, एकदिन देखाउँछु भन्ने अठोट पालेर आफ्नो लक्ष्यप्रति इमान्दर मात्र भएको हुँ,” उनले प्रष्ट्याए । 
‘कार्टुन्ज क्रु’मा सात जना सदस्य छन्, ती पनि सबै १८ देखि २२ वर्ष उमेरका । उनीहरूमध्ये कसैले पनि यो नाचको तालिम लिएका थिएनन् । भिडियो पनि उनीहरू आफैं निर्देशन गर्छन् । आफ्नै युट्यूूब च्यानल पनि छ । प्रस्तुतिको व्यवस्थापन पनि आफैं गर्छन् ।
सबैथोक आफैँ ।
बाफ् रे !
० ० ०
हँसिली र मिजासिली स्वभावकी आष्मा विश्वकर्मा भर्खर २० वर्षमा टेकिन् । र, पनि उनको परिपक्वता लोभलाग्दो छ । यो समूहकी एक्ली महिला सदस्य हुन् उनी ।
भन्छिन्, “तपाईं सत्य बाटोमा हुनुहुन्छ भने पनि तपाईंलाई त्यो बुझाउन निकै लामो समय पर्खनुपर्ने हुन सक्छ ।”
आश्माको जीवनमा पनि भयो त्यस्तै ।
सानैदेखि नृत्यमा रुचि राख्ने उनलाई घरमा नाच्न त कुनै रोक–तोक थिएन  । तर, बी–बोइङ सिक्ने भनेपछि परिवारले सुरुमै अनुहार बिगार्‍यो । ‘त्यस्तो उत्ताउलो नाच्नु पर्दैन’ भनेर परिवारले कयौ पटक उनको आग्रह लत्यायो । तर, उनले त्यसको कुनै पर्वाह गरिनन् । र, आफूमा निराशा पनि पालिनन् ।
“७–८ कक्षामा पढ्दा सिनियर दाइहरूले बी–बोइङ गरेको देख्दा मन थाम्नै सक्दिनँथें । यस्तैगरी नाच्न पाए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो,” उनले बाल्यकालीन हुटहुटी सुनाइन् ।
मनमा बी–बोइङप्रतिको उत्कट चाहनाले घर गरेपछि उनी लुकी–लुकी नृत्य सिक्न थालिन् ।
उनी घरबाट ‘साथीकोमा गएँ’ भन्दै सिनियर दाइ–दिदीसँग नृत्य सिक्थिन् । तर, उनले पढाइमा भने बाधा पुर्‍याइनन् । यसले पनि घरपरिवारलाई ‘कन्भिन्स’ गर्न असाध्यै सजिलो भयो ।
“पढाइ बिग्रिएको भए उहाँहरूले झनै चिन्ता गर्नु हुन्थ्यो होला । बी–बोइङसँगै पढाइलाई पनि अघि बढाएपछि उहाँहरूको बोली बन्द भयो,” उनी फिस्स मुस्कुराइन् ।
बी–बोइङ सिक्ने र नाच्ने दौरानमा ‘यसरी तात्तो न छारोसँग उफ्रिएर पनि कहीँ नृत्य हुन्छ ?’ भन्ने कयौँ हप्की–दप्की पनि खानुपरेको रहेछ । “बी–बोइङलाई फगत स्टन्ट मात्रै मानिन्थ्यो, त्यसलाई हटाउन गर्न हामी सफल भयौँ,” उनको अनुहारमा खुसीको लाली चढ्यो ।
त्यही बेला कान्तिपुर साप्ताहिकको अग्रपृष्ठमा उनको तस्बिर छापिएछ । त्यो देखपछि उनको परिवार निकै खुसी भयो ।
“बी–बोइङ सिक्छु भनेर हत्ते गर्थी, छोरीले यस्तो नाच नाच्न थालेर राम्रै गरिछे, पत्रपत्रिकामा पो आउन थाली त !”
घर परिवारले त्यसो भनेको दिन आष्मा कहिल्यै बिर्सिन्नन् ।
उनी ‘कार्टुन्ज क्रु’सँग सन् २०१२ को सुरुवाततिर जोडिएकी हुन् । 
“त्यसभन्दा अघि ‘बी–गर्ल’ भएर सँगै प्रस्तुति त देखाउँथें, ‘कार्टुन्ज क्रु’मा चाहिँ अलि पछि जोडिएँ,” उनले सुरुवाती क्षण स्मरण गरिन् ।
उनलाई अर्को कुरामा पनि गर्व रहेछ– उनी नेपालकै पहिलो बी–गर्ल पनि हुन् ।
‘कार्टुन्ज क्रु’सँग जोडिएपछि अनेक कुरा काट्ने र हतोत्साहित गर्नेहरू बग्रेल्ती भेटिए । ६–६ जना केटाहरूको बीचमा एक्लै नाच्छे, लाज–शरम पचेकी !
यस्तो सुन्नुपथ्र्यो कानले ।
तर, दुईमध्ये एउटा कानको काम उनलाई थाहा थियो । त्यही गरिन् । कुरा काट्नेका कुरा सुनिन्, अनि उडाइदिइन् ।
चौतारीमा बसेर कुरा काट्नेहरूसँग लुछालुछ गरेर बस्दा त बाटो हिँड्न अबेला भइहाल्छ नि !
कुरा सही ठहर भयो पनि उनको ।
० ० ० 
गफ भइरहँदा छेवैमा थिए सुविन चौहान । बी–बोइङ सिक्छु भन्दा घर परिवारले हप्काएकाले सुरुमा उनी निकै निराश भए । स्कुल जान्छु भन्दै झोला बोकेर उनी कयौँ पटक साथीसँग बी–बोइङ सिक्न जान्थे ।
“नृत्य नसिकोस् भन्ने चाहना त होइन तर पनि नाचेर हामीलाई पाल्न सक्दैन, आफ्नो जीवनलाई पनि सुखी बनाउन सक्दैन भन्ने उहाँहरूको चिन्ता थियो,” उनले थपे, “मेरो दिमागमा चाहिँ उहाँहरूलाई देखाउन भए पनि बी–बोइङ सिक्नैपर्छ भन्ने थियो ।”
‘कार्टुन्ज क्रु’मा उनलाई ‘स्टन्ट म्यान’को उपमा दिइएको रहेछ । हावामै तैरिएर स्टन्ट देखाउनमा पारंगत उनी वायुवेगमा नृत्य गर्ने खुबी राख्छन् । तर, उनी त्यसै बी–ब्वाइ भएका भने होइनन् ।
उनले घाउका खतहरू देखाए, जुन यही लगनको परिणाम थियो ।
कयौँपटक उनी पछारिएका छन्, चोटपटक लागेको छ । र त, उनी भन्छन्, “बी–बोइङ गर्नु पहरासँग कुस्ती खेल्नु र भीरमौरीको मह काढ्नुजत्तिकै गाह्रो बिधा हो ।”
अब त शरीरका सबै अंगहरू लाटिइसकेका छन् ! पछारिँदा–पछारिँदा ठेस लागेको बूढी औँला जस्तो !
उनको अनुहारमा कष्टको प्रतिविम्ब प्रष्टै देखियो ।
० ० ०
राम घले ऐना अघिल्तिर पुरानो स्टेप दोहोर्‍याउँदै थिए । भुइँमा बङ्लंगै पछारिए ।
धूलो टक्टक्याउँदै उठेर लामो स्वास फेर्दै भने, “बी–बोइङ सिक्न निकै गाह्रो छ । फ्रि स्टाइल डान्स भनेर के गर्नू, स्वास रोक्दै मुन्टो टेकेर उभिँदा प्राण फुत्केला झैँ हुन्छ ।”
उनले ‘कार्टुन्ज क्रु’ले बी–बोइङमा क्रान्ति नै ल्याएको दाबी गरे । बी–बोइङ भन्ने बित्तिकै ‘आवाराहरूको नाच’ भन्ने ठान्नेहरूलाई स्टेज अघिल्तिर उभिने बनाए उनले । सविनलाई ‘ग्रेट’ गर्दै उनले भनी पनि हाले, “यो श्रेय सबै हाम्रो लिडर सविनलाई जान्छ, उनले राम्रो व्यवस्थापन गरेर टिम अघि बढाएका छन् ।”
बी–बोइङप्रति आममानिसको धारणा परिवर्तन गराउन निकै समय लागेको भन्दै ‘कार्टुन्ज क्रु’ले ठूलो भूमिका खेलेकोमा उनले खुसी पनि व्यक्त गरे ।
० ० ० 
 
‘कार्टुन्ज क्रु’ समूह निर्माण भएपछि उनीहरू विभिन्न प्रस्तुतिमा सहभागी भए । ‘एनटीभी नाइट’लगायत थुप्रै स्टेज सोमा धमाका मच्चाए । र पनि, उनीहरूको मनमा खड्किरहेको थियो– यूट्युव च्यानलमार्फत पनि केही गर्न पाए हुन्थ्यो ।
उनीहरूलाई थाहा थियो– धेरै मानिस इन्टरनेटको पहुँचमा छन्, उनीहरूले पनि हाम्रो प्रस्तुति हेर्न चाहिरहेका छन् ।
र, सन् २०१४ मा उनीहरूले ट्रेलर सार्वजनिक गरे । त्यसले धेरथोर चर्चा बटुल्यो । उनीहरू उत्साहित भए ।
त्यसपछि सन् २०१५ मा उनीहरूले ‘रेसम फिलिली’ चलचित्रको ‘जालमा’ गीतको कभर तयार पारे । त्यसले पनि उनीहरूलाई राम्रो माइलेज दियो ।
तर, अलमोडाले गाएको ‘पानी पर्‍यो असिना झर्‍यो’ले भने धमाका नै मच्चायो । युट्यूबमा २६ लाखभन्दा बढीले अवलोकन गरिसकेको त्यो भिडियोले उनीहरूका ‘सब्सक्राइबर’ ह्वात्तै बढायो । लाइक र कमेन्टको बाढी छ । त्यो कभर डान्सले उनीहरूलाई ‘खोजीका पात्रहरूको’ रुपमा प्रस्तुत गरिदियो ।
तर, त्यो भिडियोले विवाद पनि निम्त्यायो ।
गीतको म्युजिक भिडियोसँगै डान्स कभर पनि युट्यूबमा अपलोड गरेको भन्दै म्युजिक कम्पनीले विरोध जनायो ।
यसलाई प्रष्ट्याउँदै सविन भन्छन्, “त्यो केवल बुझाइको समस्या थियो, केही समयमै हल भयो । नृत्य गर्ने भएकाले हामी युवा पुस्ताले तुरुन्तै क्याच गर्न सक्ने गीतमा प्रस्तुति देखाएका हौँ, उहाँहरूले त्यसलाई एसेप्ट गरिसक्नुभएको छ ।”
‘फन्टास्टिक’को डान्स कभरपछि हरेक स्टेजमा उनीहरूलाई ‘वान्स मोर’ भन्न थालिएको छ अचेल । देशका कुना–कन्दराबाट  स्टेज पफर्मेन्सका लागि अफर आउन थालेका छन् ।
लाक्पा लामा उर्फ ‘स्पिडी’ विगततिर फर्कन्छन्, “हिजो बी–बोइङ सिक्दा कयौँ छाक भोकै बसेका छौँ, गोजीमा भाडासमेत नहुँदा हिँडेर गन्तव्यमा पुगेका छौँ । आज केही रुपैयाँ/पैसा कमाउने माध्यम मिलेको छ ।”
त्योभन्दा पनि उनी नृत्यलाई पेसा नै होइन, फगत मनोरञ्जनको माध्यम सम्झने र नाचेर जीवन चल्दैन भन्ने मान्यता राख्नेहरूलाई पाठ सिकाउन आफूहरू हात धोएर लागिपरेको बताउँछन् ।
० ० ० 
आजियाटा समूहअन्तर्गत आएको एनसेलले रिब्रान्डिङका लागि ८ वटा प्रमुख सहरमा सांगीतिक प्रस्तुति देखाउन लागेको छ । त्यसका लागि उसले ‘कार्टुन्ज क्रु’लाई अनुबन्धनसमेत गरिसकेको छ ।
पहिलो लोगो सार्वजनिकीकरिणका दिन पनि यो समूहले स्टेजमा कम्मर र जोर्नी सबै भाँच्यो । कयौं पाहुनाको ताली उनीहरूले पाए ।
पारिश्रमिक नि ?
एउटा कार्यक्रमको ५० हजार जति ।
एनसेलसँग पनि सोहीबमोजिम सम्झौता भएको छ ।
 
नोट:अनुप प्रकाशले भित्र्याएको बी–बोइङ फ्रि स्टाइल डान्सलाई ‘माइन्ड गेम’ पनि भनिन्छ । किनकि थोरैमात्र सावधानी अपनाइएन भने शरीरमा चोटपटक मात्र होइन, ज्यानै तलवितल पर्न सक्छ ।
तस्बिरः राेजित खड्का
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC