site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रान्ति र भ्रम कतिपय
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
चैतेदसैँ आउन त्यस्तै १०–१२ दिन बाँकी थियो । यता हाम्रोतिर चैतेदसैँ उस्तो मनाइँदैन । कमसेकम मेरो सम्झनामा चैतेदसैँ मनाएको याद छैन ।
म खै त्यस्तै के काम परेर ग्वाल्डुब्बा हुँदै गौरादह जाँदै थिएँ । सुख्खा हावाले मेरो साइकललाई पछाडिबाट बेस्करी धकेलिरहेको थियो । म पाइडल नमारी ह्यान्डिलमात्रै सोझ्याएर साइकल बत्ताउँदै थिएँ । बेपत्तासँग धूलो उडिरहेको थियो । आवादीका खेतहरूबाट उडेको धूलोले सर्वत्र सेतो धूवाँको प्रतीत हुन्थ्यो ।
यो बाटोमा दिउँसोतिर त्यति धेरै मान्छे हिँडेको देखिँदैन । तर, आज बजारको दिन भएकोले बाटो एकदमै गुल्जार थियो । घरबाट ग्वाल्डुब्बा त्यस्तै ३ किलोमिटरजति हुँदो हो । घरबाट निस्केर उत्तर लागेपछि बरालको मिल आउँछ अनि त्यहाँबाट साइकलमा झन्डै १० मिनेट सोझै पूर्वतिर बत्तिएपछि ग्वाल्डुब्बा बजार ।
सापकोटाको चिया दोकानअगाडि साइकलमा ताला मारेर म गौरादह जाने बस कुर्दै थिएँ । बस आइपुग्यो, चढ्न लागेको के थिएँ, गाउँको एउटा भाइले एक्कासि छेउ आएर भन्यो, “दाइ ! तपाईंलाई स्कुलमा बोला’को छ ।”
चट्याङजस्तै बज्रेका थिए यी शब्द मेरो कानमा ।
किन बोला’को, के काम, यो सबै सोध्ने आवश्यकतै परेन । मैले कुरो बुझिहालें ।
“कति बेला ? को–को आउने रे ?” मैले सोधें ।
“अहिले नै, तुरुन्तै । खै ! चन्द्र दाइ, हरि काका सबै आउने कुरा छ,” उसले भन्यो ।
म ग्वाल्डुब्बाबाट घर फर्किंदै थिएँ । र, अब साइकललाई हावाको विपरीत दिशातर्फ हाँक्नुपरेको थियो । केही दिनअघिदेखि विकसित भएका अनौठा घटनाक्रमले आफ्नै जीवनलाई जबर्जस्ती बहावको विपरीत दिशातर्फ धकेलिरहेझैँ !
चन्द्र दाइ पनि आउने भनेपछि अलि ढुक्क लागेको थियो । आखिर उनै त हुन् नि मेरा पथप्रदर्शक । अतिशय रुमानी, भावुक र अबचाहिँ अलिअलि डरडर लाग्ने यो यात्राका मेरा आँट, भरोसा सबै सबै उनै थिए । उनकै आँट र विश्वासको सहारामा मैले यो कठिन यात्रा तय गर्ने कठोर निर्णय गरेको थिएँ । त्यसैले मलाई आशा हैन, पूर्ण विश्वास थियो । उनले मेरो पक्षमा घ्वाप्पै काँध थाप्छन् भन्नेमा म ढुक्क थिएँ । तर, यो कस्तो अनौठो डर मनभित्र ! आफूले नगरेको गल्तीको यो कस्तो सजाय पाउन लागिरहेछु । द्विविधा, छटपटी र बेचैनीले त्यसैत्यसै अत्यास लागेको थियो ।
 
फ्ल्यासब्याक
एसएलसी सकेर घरमा यसै बसिरहेको थिएँ । एउटा घमाइलो मध्यान्हमा खाना खाएर बुबाको सानो ¥याक खोतल्न थालें । ¥याकमा मोदनाथ प्रश्रित र सञ्जय थापाका केही किताबहरू, ‘गौरी’, ‘मुनामदन’ र साप्ताहिक तथा मासिक पत्रिकाहरू हुने गर्थे । ‘दृष्टि’, ‘रंगमञ्च’, ‘युवामञ्च’ र ‘मूल्यांकन’ प्रायः नछुटी आउँथे घरमा । म धेरैजसो ‘रंगमञ्च’ र ‘युवामञ्च’ पढ्थें ।
कहिलेकाहीँ बेलुकाको खानापछाडि कहिले ‘मुनामदन’ अनि कहिले ‘गौरी’ सुनाएर आमालाई र हामीलाई रुवाउने गर्नुहुन्थ्यो बुबाले ।
त्यो मध्यान्हचाहिँ मलाइ खै के सनक चढ्यो कुन्नि, ‘मूल्यांकन’को नयाँ अंक लिएर पारिलो घाममा पढ्न बसें । विश्व कम्युनिस्ट आन्दोलनबारे तुल्सीदास महर्जनको एउटा रिपोर्ट पूरा पढें । त्यसपछि मूल्यांकन नशा भयो– नभई नहुने ।
एसएलसी पास गरेर जब कलेज जान थालें, तिनै दिनहरूमा चन्द्र दाइसँग भेट हुन थाल्यो । ०५३ तिर नै उनी प्रतिबद्ध माओवादी भइसकेका रहेछन् । हाम्रो गाउँमा माओवादी आन्दोलन तिनै दाइको माध्यमले ममार्फत आयो । एक–दुई भेटपछि उनले मेरो आँखामा टाँसिएको एमालेको जालो सरक्क निकालेर फ्याँकिदिए र समाजलाइ हेर्ने एउटा नयाँ राजनीतिक दृष्टिकोण दिए ।
मलगायत अरू दुई–चार जना साथी मिलेर गाउँ–गाउँमा माओवादीका पोस्टरहरू टाँस्न थाल्यौं । मान्छेहरू अनौठो पाराले सशंकित हुँदै ती पोस्टर हेर्थे । हामी थाहा नपाएजस्तो गथ्र्यौं र भित्रभित्रै खुसी हुन्थ्यौं ।
एक–दुई वर्षपछि साथीहरू कोही कता लागे, कोही कता । एकजना सरकारी जागिर खान थाल्यो, अर्को एउटा दुबई हानियो । तर, म अनवरत रूपमा सम्पूर्ण विश्वासका साथ आन्दोलनसँग जोडिइरहें । नयाँ–नयाँ संगठन बनाएँ । दूूरदराजका पिछडिएका वस्तीहरूमा रात–साँझ नभनी पुग्थें र जनवादी कार्यक्रमको बारेमा स्थानीय अगुवासँग छलफल गर्थें । ती दिनहरूमा ‘पावेल’ (आमाको हैन, अग्निदीक्षाको) मेरो आदर्श थियो । कतिसम्म भने एकजना केटीलाई मन पराउँथें तर प्रेममा डुबेर अनावश्यक भावुकता देखाउने समय थिएन । उनीप्रति प्रायः निस्पृह भइरहें, कतिपय आग्रहप्रति उदास बनिदिएँ । र, जस्तो कि अपेक्षित नै थियो– त्यो सम्बन्धलाई हामीले वर्ष दिनभन्दा धेरै डो¥याउन सकेनौं ।
उता, आन्दोलनसँग जोडिएका कार्यक्रमहरूको प्रभावकारिताको मिहीन समीक्षा गर्न भने मलाई भ्याइनभ्याइ भइराख्यो । त्यो वर्षको गौरीगन्ज क्याम्पसमा भएको स्ववियू चुनावमा ममार्फत् आन्दोलनमा आएका साथीहरूले (अखिल क्रान्तिकारी) प्यानल नै कब्जा गरेका थिए । राजनीति, परिवार र समाजसँग एकसाथ समानान्तर भएर अगाडि बढ्छ भन्ने मान्यतालाई व्यवहारमै लागू गरेर देखाउन साथीहरू प्रतिबद्ध थिए । महेन्द्र चौधरी, जगन्नाथ राजवंशी र गणेश पौडेललगायत साथीहरू कृषिमा नयाँ–नयाँ प्रविधि र सीप विकास गरेर घर र समाजमा आफ्नो प्रभाव विस्तार गरिरहेका थिए । आखिर क्रान्तिको सुरुवात पहिला आफ्नै घर अनि समाज हुँदै बिस्तारै अन्यत्र विस्तारित गर्नु जो थियो । र, यसरी म क्रमशः त्यो क्षेत्रमा उदीयमान क्रान्तिकारी भएर देखा पर्न थालें ।
 
अनिँदो बिहानी 
हिजो रातिको लाटो काण्डले सुत्नमा विलम्ब भएको थियो । आफ्नो नियमित गाउँ डुल्ने आदत सक्काएर राति करिब साढे ९ बजेतिर घर फर्किएँ । मधुरो जून लागेको थियो, बत्ती थिएन । म सरासर काठको लिस्नु चढ्न के लागेको थिएँ, झ्यास्स अगाडि, अलि पर नरिवलको रुखमुन्तिर कोही बसेको देखें । मेरो शरीरमा बुरुरु काँडा उम्रिए, शितांग भएँ । भर्खरै हजुरबा बित्नुभएको थियो । अलि नसक्ने हुनु भएपछि दिसा–पिसाब गर्न सजिलो हुन्छ भनेर हजुरबा तलै सुत्ने गर्नुहुन्थ्यो । मैले कैयौं पटक त्यही नरिवलको रुख तलतिर त्यस्तै अवस्थामा हजुरबालाई पिसाब गर्दै गरेको देखेको थिएँ । म त एक्कासि कराएछु, आमा !
आमाले शायद बुझ्नुभयो । माथि ओछ्यानबाटै भन्नुभयो, “लाटो हो, नडरा ।”
“को लाटो ?” मैले सोधें ।
“खै, अघि साँझमा आइपुगेछ, को हो चिन्दिनँ म । थुप्रै घर चहारेछ, कसैले खान दिएनछन् । भोकले मर्नै लागेको र’छ । भात खान्दिएर त्यहीँ खाटमा सुत् भन्देको थिएँ,” आमाले भन्नुभयो ।
त्यसपछिमात्रै मैले गएर लाटोलाई हेरें । हजुरबाले ओढ्ने गरेको रेडीको खास्टोभित्रबाट लाटो मलाई हेरेर मुसुक्क मुस्कुरायो । मुस्कुराउँदा जस्तोसुकै मान्छे पनि सुन्दर देखिँदो रहेछ भनेर त्यसदिन पहिलो पटक थाहा भयो मलाई ।
कोही जोड–जोडले चिच्याएको आवाजले बिहानको मिठो निद्रा एक्कासि बिथोलियो । तन्द्रामै ‘भरत, भरत’ भनेर चिच्याएको सुनेर एक्कासि ब्युँझिएँ । घरमा त्यतिबेला कोही पनि उठेका थिएनन् । आँखा मिच्दै बाहिर निस्किएँ र देखें– आँगनमा बलराम दाइको धमिलो आकृति ।
एमालेका स्थानीय युवा नेता यी दाइ मेरा साथीजस्तै थिए ।
“ल, छिटो हिँडिहाल त । अहिले तुरुन्तै ग्वाल्डुब्बा जानुपर्ने भयो,” दाइले हतार लगाए ।
“यति बिहानै के भयो दाइ ?” मैले अल्छी मान्दै सोधें ।
“पैला साइकल निकाल, बाटोमा भनौंला ।”
त्यसको ३ मिनेटमा हामी आ–आफ्नै साइकलमा ग्वाल्डुब्बा हुइँकिँदै थियौं ।
“हरामखोरले पहिलो बसबाट भाग्ने सुर गरेछ । त्यसलाई समाएर ल्याउनुपर्ने भयो,” उनले भनेको कुराको मैले छेउ–टुप्पो केही बुझिनँ ।
“कसको कुरा गर्नभएको ? के भयो ? लु अब भन्नू त मलाई,” मेले जोड गरें ।
“कृष्ण सरको भाइले भेषराजको अँधियारलाई माओवादी लाएछ । हिजो राति विचरा त्यो गरिब अँधियारको घरमा दुई–चार जना लठैत गएर उसकी स्वास्नीले लगाएका गहना ताने रे भन्दै अघि बिहानै रुँदै आइपुगेको थियो मकहाँ ।”
“लौ को माओवादी ? कृष्णसर भन्या हाम्रो हेडसर ?” मैले आत्तिएर सोधें ।
“अँ हौ !”
“अनि माओवादीचाहिँ को नि ?”
“मलाई के थाहा ? त्यै डाकालाई थाहा होला नि ।”
 
बलराम दाइ माओवादीप्रति कहिल्यै सकारात्मक भएनन् । जनवादी आन्दोलनको रूपबारे उनीसँगको छलफलमा उनलाई म जहिल्यै निरीह पाउँथें । तर न त उनी कहिल्यै मसँग सहमत भए, न हाम्रो मित्रतामा नै कुनै कमी आयो ।
कृष्ण सरका भाइ वर्षमा कहिलेकाहीँ गाउँ आउँदा रहेछन् । उनले भेषराज दाइको अँधियारलाई केही पैसा सापटी दिएका रहेछन् ।
“यसपालि भएन रमेश भाइ । तपाईंलाई दिउँला नै भन्या हो के गर्ने, यी यो बिरामी भई । सप्पै पैसो यसलाई ओखती गर्दा सकियो ।” अँधियारको कथासँग रमेश भाइलाई लेना न देना ।
उनले भने, “तपाईंको जहिल्यैको बहाना यस्तै हो । कि मलाई मेरो साँवा–ब्याज चाहियो, नत्र यो दुई कठ्ठा जग्गा पास गर्देऊ ।”
उसले भुइँ कोट्याइरह्यो, वाक्य निस्किएन । तर, ऊ खेत पास गर्न मरे राजी भएन । यसको परिणाम रातमा माओवादीले उसलाई धम्क्याए, उसकी बूढीका गहना लुछ्न झम्टिए । उसकी छोरीमाथि हातपात गर्न खोजे ।
म आफैंलाई आश्चर्यचकित तुल्याउने यो घटना मेरो आफ्नै गाउँमा मेरै नाक तलतिर घटेको थियो र म बिलकुल अनभिज्ञ थिएँ । मलाइ लाग्यो– रमेशले गाउँकै केही फटाहा केटाहरूलाई माओवादीको नाममा प्रयोग गरेछन् क्यारे ! कसलाई प्रयोग गरे भन्ने अब केवल उनैले बताउन सक्थे । त्यसैले हामी उनलाई समाउन ग्वालडुब्बा जाँदै थियौं ।
उनलाई समाएर स्कुलमा ल्याइयो । सामान्य भाषाको केरकारले उनी गल्दै गलेनन् ।
‘मैले कसैलाई पठाको छैन र मलाई केही थाहा छैन’ भन्ने एकसूत्रीय रटान दोह¥याइरहे । डर, धम्कीलगायत सारा अस्त्रहरू फेल खाएपछि क्रान्तिकारी तुजुक देखाउँदै मैले घुमाएर उनको गालामा झापड हान्दिएँ । तुरुन्तै कृष्णसरको कान्छो छोरा श्यामले अगाडि आएर रुन्चे स्वरमा भन्यो, “मैले गरेको हो दाइ, काकालाई केही नगर्नुस् ।”
ककाकै योजनामा भतिज र अन्य केही गाउँकै केटाहरू मिलेर उक्त महान् जनवादी कार्य सम्पन्न गरेका रहेछन् । आश्चर्यजनक ढंगले उनीहरु सबै माओवादीका आधिकारिक कार्यकर्ता रहेछन् भन्ने रहस्य त्यस दिन उद्घाटन भयो, जुन दिन मलाई ग्वाल्डुब्बाबाट स्कुलमा बोलाइयो ।
 
र, अन्त्यमा स्कुल
म स्कुल पुग्दा उनीहरू आइसकेका रहेछन् । त्यस्तै ४०–५० जनाजति गाउँकै मान्छेहरू जम्मा भइसकेका रहेछन् । मैले स्वाभाविक रूपमा चन्द्र दाइ र हरि मामालाई खोजें तर उनीहरुको उपस्थितिको गन्धसम्म पनि पाइनँ । बरु एउटा नयाँ–नयाँ मान्छे र केही गाउँले भाइहरूका तीरजस्ता आँखा मतिर सोझिएको पाएँ ।
“हाम्रो गौरवशाली पार्टीको निर्णयलाई अवज्ञा गरेको आरोपमा तपाईंलाई आज सबैको अगाडि माफी मगाउने पार्टीको आदेश छ,” त्यहाँ पुग्नासाथ उक्त नयाँ मान्छेको यो उद्घोषले मभित्र निर्मित थोरबहुत् डरलाई ह्वात्तै बढाइदियो ।
“कुन निर्णय ? कस्तो अवज्ञा ?” मैले मधुरो स्वरमा प्रतिवाद गरें ।
“अझ थाहा नपाएजस्तो गर्ने ? तपाईंले के भनेर रमेशजीलाई हात हाल्ने आँट गर्नुभयो ?”
भन्छन्, डरको उत्कर्ष रिस हो रे ! त्यसैले हिंस्रक जनावरहरूले उक्त डर, रिसमा रूपान्तरण हुनुअगावै आक्रमण गर्छन् रे ! उक्त हुंकारले मेरो डर पनि क्रमशः रिसमा रूपान्तरण हुँदै थियो । ममा सञ्चार भएको थोरै रोषलाई मैले सोझै उसको आँखामा खन्याएँ र भनें, “तपाईंलाई घटनाको बारेमा के थाहा छ ?”
मेरो रोषको घाँटी अँठ्याउँदै आश्चर्यजनक रूपमा ऊ सरक्क तिमीमा ओर्लियो र भन्यो, “प्रश्न तिमीले सोध्ने होइन, तिमीले आदेश पालना गर्ने हो ।”
“अनि पालना नगरिएमा ?”
“तिमीलाई हामी आफूसँगै लिएर जान्छौं ।”
कतिपय मान्छेहरू हतियारको अगाडि पनि निर्भिक र निडर भएर बोल्न सक्दारहेछन् । एकजना गाउँले काकीको साहसले त्यहाँ भएका सबैलाई अचम्मित तुल्याइदियो । सबैजना मेरो पक्षमा थिए । मप्रति अतिशय सहानुभूति थियो उनीहरूको । तर, शक्ति र हतियारको अगाडि कसैको केही जोड चलेन । अन्ततः माफी नमाग्ने, बरु उनीहरूसँगै जाने निर्णय सुनाइदिएँ मैले ।
अचानक मेरो एउटा साथीले मलाई तानेर अलि पर लग्यो र भन्यो, “हेर्, तँलाई नचिन्ने यहाँ कोही छैन । सबैलाई थाहा छ, यो एउटा षड्यन्त्र हो । तैंले हात जोडेर माफी माग्दैमा तँ थोडी न अपराधी हुन्छस् ! यिनीहरुले कहाँ लान्छन्, के गर्छन् केही ठेगान छैन । खुरुक्क माफी माग्, मैले भनेको मान् ।”
मलाई उसको कुरो हो जस्तो लाग्यो । त्यसपछि आफूले नगरेको गल्तीका लागि मैले हात जोडेर माफी मागें । मैले माफी माग्दै गरेको फोटो खिचियो र मलाई आइन्दा सुध्रिने उर्दी जारी गरेर उनीहरू गए ।
मेरो वरिपरि मेरा सबै गाउँले साथीहरू थिए । राजनीतिक छलफलका दौरान मैले कैयौं पटक उनीहरूलाई लक्षित गरेर तिखो टिप्पणी गरेको थिएँ हुँला । तर, त्यहाँ उनीहरू कसैको अनुहारमा ‘ठिक्क परो’ भन्ने भाव थिएन । किन–किन त्यसबेला उनीहरू मेरा नजिकका, आत्मीय आफन्त प्रतीत भए ।
म उनीहरूसँग बिदा भएर घरतिर लागेँ । मानसिक पीडा र यन्त्रणाले म निथ्रुक्कै भिजेको थिएँ । मेरा सारा योजना, मेरो एकमात्र भविष्य, लक्ष्य र उद्देश्यको भर्खरै असमयमै घाँटी निमोठिएको थियो । मैले आन्दोलनका लागि भनेर पढाइ छोडेको थिएँ । मेरा वैंशालु यौवनका अनेक चाहनालाई भित्रै कतै दबाएको थिएँ । मलाई लाग्थ्यो, एकदिन मेरा सपनाहरूका आँकुरा पल्लवित हुनेछन् र सफलताको उज्यालो मुस्कान जूनजस्तै सर्वत्र मुस्कुराउनेछ ।
दुर्भाग्यवश ! सपनाहरूको यस्तो दुर्दान्त र विष्मयकारी अवशानको मैले किञ्चित आशा गरेको थिइनँ ।
बाटोमा पर्ने सानो खोल्सोमा त्यो साँझ जूनको मधुरो प्रकाशमा मैले आफ्नो अनुहार केवल कालोमात्रै देखें । निर्विकार, निस्चेष्ट कालो ! र, त्यही खोल्सोको पानीले भिजेका आफ्ना आँखा धोएर घरतिर लागें म ।

twitter.com/ Scorpiiioo

 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC