site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धान झुलेको याम
Sarbottam CementSarbottam Cement

– अक्षर काका


धान समृद्धिको प्रतीक हो । मेहनतको प्रतिविम्ब हो । र, खुसीको स्थूल स्वरूप पनि ।

हेमन्त ऋतु समुन्नतिको याम पनि हो । त्यसो त मंसिरलाई रोपेको मानो मुरी बनाएर थन्क्याउने र धुरीसरह खुसी चुलिने मास भनेर पनि चिनिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

किसानका खेतमा धान झुलेका छन् भने किसानको अनुहारमा हाँसो फुलेका छन् । फाँटहरूमा हावाले बयली खेलेको छ भने गरिबका अनुहारमा सुखको उजेली मुस्कुराएको छ ।

तराई मुलुककै ‘अन्न भण्डार’ हो । उर्वरताको पर्याय हो । र त, मधेसका समथर फाँटहरूमा सुनका मालाजस्ता धानका बालाहरू लहलह झुलेका छन् । धानको सुवासले फाँट होइन, गावैँ बसाएको छ । र, निमुखा, निम्झरा, दीनहीनहरूको मन हँसाएको छ ।

Global Ime bank

एकछाक रुखो र एकछाक पीठोको सहरामा जीवन व्यतीत गरेका किसानहरूले केही छाक नै सही मीठो–मसिनो खान पाउने आशमा छन् । शीला खोजेर धोक्रा होइन, पेट भर्ने मुसहरहरूको मुहारमा पनि गुलाफ उन्मुक्त फक्रिएको छ, यतिबेला ।

आन्दोलन, बन्द, हड्ताल, नाकाबन्दीले तराई–मधेस लामो समय आक्रान्त बन्यो । सिंगै देशले दुःख बेहोर्‍यो । तर, बारादेखि सप्तरीसम्मको जनजीवन बेसी अशान्त बन्यो ।

केही समय भयो आन्दोलनको राप सेलाएको । र, मधेसमा अहिले चुनावको ताप छ । चुनावी गर्मीले हेमन्तको ठिहीलाई पत्तै नपाई विस्थापित गरिदिएको छ ।

किसानहरू जसरी असारमा रोपेको मानोलाई मनमा बदल्ने चेस्टामा छन्, त्यसैगरी आन्दोलनको उपलब्धिलाई आफ्नो पोल्टामा पार्न राजनीतिक दलहरू किसानका खेत खलियानमा पुगेका छन् । र, हात जोड्दै बिन्ती बिसाइरहेका छन् ।

० ० ०

तराई उब्जनीको जननीमात्र होइन, गरिबीको ‘अर्धाङ्गिनी’ पनि हो । घरमा खाने अन्न नहुँदा चिसै चुल्हो सुत्ने र साल, कटुसका पातको छानो हालेर शीत छल्ने परिवार कति छन् कति !

तराई–मधेसका जमिनमा साहुमहाजनकै अधिपत्य छ । भरदिन दुःख गरेर अधियाँ कमाउँछन् तर बाली उठाउने बेलामा मालिक आइपुग्छन् । र, खान पुग्ने समेत नछाडी धोक्रा भरेर लैजान्छन् ।

ठीक त्यस्तै नियति छ, राजनीतिमा पनि । हरेक परिवर्तनको आन्दोलनको अग्रपंक्तिमा छन् तराई–मधेसका निमुखा । खेत–खलियानमा पसिना खन्याउन होस् या सडकमा बलिदानीको रगत बगाउन, कहीँ पछि पर्दैनन् उनीहरू । तर, दुःख, पीडा, अभाव र विभेद उनीहरूको ‘प्रारब्ध’ बनेको छ । सरकारको विभेदकारी नीति उनीहरूको नियति बनेको छ, हरसमय ।

राजनीतिक परिवर्तनको लडाइँ तिनै निमुखा लड्छन् । छातीमा गोली तिनै निम्छरा थाप्छन् । तर, बाली उठाउन ‘महाजन’ आइपुग्छन् र सदनदेखि सत्तासम्मको रसस्वादन पालैपालो गर्छन् । अविकास तिनै गरिबलाई थमाउँछन् । आन्दोलनमा कोटी हुन्छन् । सत्तामा सय पुग्छन् । र, तिनले ‘जुठोपुरो’ समेत जनतालाई दिन तयार हुँदैनन् ।

पछिल्लो समय संविधान बन्यो । पहाडमा दीपावली भयो । तर, रोग, भोग र शोकले अभिशप्त मधेस अन्धकार भयो । पहाडले क्रान्तिकारी संविधान जारी भयो भनेर दियो जगायो । मधेसले पश्चगामी भन्दै सङ्घर्षको मसाल सल्कायो । ०६२/६३ को परिवर्तनपश्चात होस् या संविधान जारी भएपछिको सङ्घर्ष– व्यवस्था परिवर्तनका लागि देश र मधेस सँगै लड्नुपर्छ तर जब आफ्नो हकहित र अधिकारको कुरा उठाउँछ, तब एक्लै पर्छ मधेस । यसो भनौँ, आफ्नो आवाज काठमाडौँसम्म पुर्‍याउन शहादत प्राप्त गर्नु मधेसको ‘आदत’ भइसक्यो ।

०६२/६३ यता मधेस आन्दोलनको नाममा मृत्युवरण गर्नेको संख्या शतक नाघिसक्यो । तर, विकासका हिसाबले तराई शताब्दी पछाडि रहेको प्रतीत हुन्छ ।

० ० ०

शुक्रबार स्थलगत रिपोर्टिङका लागि म सप्तरीको मलेठ पुगेको थिएँ । मलेठ त्यही भूमि हो, जहाँ एमालेले सञ्चालन गरेको मेचीकाली अभियानका क्रममा सभा बिथोल्न खोज्ने आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीको गोली लागी पाँच जनाको मृत्यु भएको थियो । र, मलेठ आँशुमा डुबेको थियो त्यतिबेला ।

अहिले त्यही मलेठका फाँटमा धान झुलेको छ भने मलेठबासी पीडा भुलेर निर्वाचनमा होमिएका छन्, आफ्ना अधिकार प्राप्तिका लागि । 

मलेठमा गोली चलेको फागुन २३ गते हो । त्यसयता सप्तकोसीमा धेरै पानी बगिसकेको छ । र, मुलुकको राजनीतिमा धेरै उतार–चढाव आइसकेको छ ।

विभेदकारी र त्रुटिपूर्ण संविधान बनेको र संशोधनमार्फत त्यसलाई सच्याउन माग गर्दै मधेसमा आन्दोलनको आँधिबेहरी ल्याउने शक्ति मुठभेड छाडेर निर्वाचनमा होमिएको छ । र, तराई–मधेसका जनता मतमार्फत आफ्ना विचार÷भावना अभिव्यक्त गर्न आतुर छन् ।

शीतयाममा तराई मधेसको आकासमा आन्दोलनको तुँवालो उघ्रिएको छ र निर्वाचनको पारिलो घाम लागेको छ ।

० ० ० 

एउटा वर्ग छ, जसले मधेसका उत्पीडित, उपेक्षितलाई ‘कालो छाला, कालै चाला’को देख्छ । तर, ती सरकारले पुरस्कार दिएको ‘अन्धकार’ हो भनेर मान्न तयार हुँदैनन् । मधेसमा गरिबी छ, अभाव छ भनेर नथाक्ने तर दिन मुठ्ठी बाँध्ने स्वभाव छ सरकारको ।

छानो र मानोविहीन मधेसीहरूको आङ होइन, सरकारको नियतचाहिँ उदांगो देखिन्छ, तराईमा ।

काठमाडौँमा बस्नेहरूलाई ‘राष्ट्रियता’ बेस्करी दुख्छ । तर, तिलाठीबासीले हरदिन टाउको फुटाएर जंगेपिलर जोगाइदिनुपर्छ । र, तिनै सीमाका सिपाहीहरू हकअधिकारको ‘अंशबण्डा’मा भित्ता र उस्तै परे ‘बिहारी’को कित्तामा पुर्‍याइन्छन् ।

हर सालको बाढीले मधेसकै निमुखाको छानो बगाउँछ, तराईमै अभाव जगाउँछ । उर्वर फाँटहरूमा मरुतुल्य माटो थुपार्छ । मधेसका लाखौँ दीनहीनलाई घरको न घाटको पार्छ ।

लाखौँ मधेसी बालबालिका सरकारको ‘भैँसी गोठालो’ बनेका छन् । विद्यालय जाने उमेरमा चउरमा सिम्किनो हल्लाउन अभिशप्त छन् । विद्यालय जाने उमेरमा दुलाहाको घर जान बाध्य छन् किशोरीहरू । मागेजति दाइजो नदिएको निहुँमा मट्टितेलसँगै सल्कन विवश छन् महिला । गाउँ छाडौँ– सहरी क्षेत्र डेंगु, मलेरिया, आउँ फैलाउने कारखाना बनेका छन् । दूरदराज होइन, सदरमुकामले समेत पिच बाटोको अनुहार देख्ने कहिले हो, यकिन छैन ।

तर, चुनावमा यस्ता विषय एजेन्डा बनेका छैनन् । मासु, च्युरा र रक्सीकै भरमा चुनाव जितिने भएपछि यस्ता गह्रुँगा विषय उठाउने लेठो किन गरिरहनू ? उमेदवारको अनुहारको दुःख र चिन्ताको क्लेशसमेत छैन ।

० ० ०

आन्दोलनको रापताप र पुस्तैनी अभावको धूपले खारिएका निमुखा मधेसी समुदायमा चेतनाको लहर आएको छ । यसपटक उनीहरू आफूले लगाएको बाली आफैँ थन्क्याउने ध्याउन्नमा छन् । र, बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म खेतखलियानमा मात्र होइन, चुनावी आँगनमा पनि उसैगरी पसिना बगाइरहेका छन् । शुभकामना !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC