site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यो ‘दिल’ छ क्यामरामा...
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


बिहीबार अपरान्ह ‘कान्तिपुर टेलिभिजन’को लिफ्ट चढेर चौथौ तला पुग्दा प्रधानसम्पादक दिलभूषण पाठक ‘अलि व्यस्त छु’ भन्दै थिए । टेबलभरि छरिएका पेन, डायरी, व्यक्ति–व्यक्तिको पहिचान बोकेर छरिएका भिजिटङ कार्ड, पानी पिउने कप, ल्यापटपसँगै उभिरहेको थियो एउटा अत्तरको बोतल ।

“योचाहिँ म अफिसबाट कतै फर्मल कार्यक्रममा जानु पर्‍यो भने युज गर्छु ।” यतिन्जेलसम्म दिलको हातमा चकलेट आइसकेको थियो ।

Agni Group

“चकलेट मेरो ड्रयरमा कहिल्यै छुट्दैन, कसैको बर्थडे पर्‍यो भने साथीहरूलाई दिएर आत्मीयता साट्छु ।”

खुला किताब हुन् दिल– धेरै कुरा सोध्नै पर्दैन, आफैं भन्छन्, “आजमात्रै हो यी छरपष्ट सामान । नत्र मलाई तपाईंले निकै व्यवस्थित देख्नुहुन्छ । हम्मेसी म क्याजुअल ड्रेसमा अफिस आउँदिनँ । आएका बेला अपर्झट कतै जानुपरे ऊ त्यो कोट लगाएर जान्छु,” कुनातिरको कोटलाई देखाउँदै सुनाए ।

Global Ime bank

रसिलो अनुहार, भर्खर फुल्न सुरु गर्दै गरेको कपाल अनि मनभरि संकल्प र परिवर्तनको खाका बोकेर आफ्नो कालो कुर्सीमा बिराजमान गोरो वर्णका अग्ला दिललाई एकदिन एक व्यवसायीले औंला उठाएर भने, “तपाईंको पत्रकारिताले के गरिरहेको छ, थाहा छ तपार्र्ईलाई ? काठमाडौंमा अपवादकै घटनाका रूपमा एउटा सामान्य बम पड्किन्छ, तपाईंहरू त्यसलाई ब्रेकिङ न्युज बनाएर ठूलो–ठूलो अक्षरमा ‘काठमाडौंमा बम विष्फोट’ भनेर समाचार लेख्नुहुन्छ । तपाईंको समाचार सुनेर युरोपबाट नेपाल आउन लागेका २ सय पर्यटकले एकैचोटि टिकट क्यान्सिल गर्छन् । ती २ सय पर्यटक ल्याउन ५ महिनादेखि ट्राभल एजेन्सीले सबै प्रक्रिया पूरा गरेर दिन गन्दै बसेको हुन्छ । तपाईंको एउटा समाचारले उसका सारा मेहनत विफल हुन्छन् । त्यो ट्राभल एजेन्सीले कति नोक्सानी बेहोर्छ, राज्यले कति राजस्व गुमाउँछ, थाहा छ ? समाचार लेख्नुस् तर त्यो समाचारको अन्तिममा बम पड्किए पनि काठमाडौंको जनजीवन सामान्य छ भनेर लेखिदिँदा ती पर्यटकले भिसा क्यान्सिल गर्दैनन् । एक लाइन लेख्दा तपाईंको के जान्छ ?”

व्यवसायीको यो कुराले दिलको मन पग्लियो । आफूहरूले गरिरहेको पत्रकारिताको समीक्षा गर्न थाले । पत्रकारको उत्तरदायित्व र जिम्मेवारीको बोध भयो । सूचना बोकेर बसेको पत्रकारको एक वाक्यले कति असर गर्छ र त्यसको परिणाम कस्तो आउँछ, त्यसमा घोत्लिन थाले । दिल समाचारको अर्थ, आवश्यकता र प्रभावकारिता मात्रै सोच्दैनन्, दैनिक जनजीवनमा त्यसले खेल्ने भूमिकाको पूर्वानुमान लगाउँछन्, अनिमात्रै टेलिप्रोमोटरमा पठाउँछन् ।

खान्नँ जागिर !

पत्रकारितामा एमफिल गर्दै गरेका दिल यसमै पीएचडी गर्ने सोचमा छन् । आरआर कलेजबाट पत्रकारिताको अध्ययन गरेका उनी त्यहीँबाट ‘हेड हन्ट’ गरेर कान्तिपुर पुर्‍याइएका पत्रकार हुन् ।

दिल आईए दोस्रो वर्ष पढ्दा भित्तामा टाँसिएको पात्रोमा २०४९ सालका तिथिमिति कुँदिएका थिए । दिन बिताउन उनलाई पात्रोको अंक गोलो गर्नै पर्दैनथ्यो । परिवार सम्पन्न थियो । जागिरका लागि सोच्नुपर्ने बेलै भएको थिएन ।

हरिबहादुर थापाले उनलाई ‘जाऊँ कान्तिपुर’ भने । ‘कान्तिपुर’का संस्थापक सम्पादक योगेश उपाध्याय थिए । उनले चार वटा समाचार लेख्न लगाए । झापाबाट पठाइएको गाँजासम्बन्धी समाचार थियो, सम्पादन गर्न लगाए । आफ्नै गृह जिल्लाको समाचार सम्पादन गरे । त्यो दिन ०४९ फागुन ११ गते थियो । अर्थात् ‘कान्तिपुर’ दैनिक सुरु भएको चार दिनमात्रै पुगेको थियो । योगेशले जागिर खान बोलाए । दिलले ठाडै भने, “म जागिर खान आएको होइन । साथीले जाऊँ भनेर यत्तिकै आएको, मलाई अहिले जागिरको आवश्यकता छैन ।”

योगेशले यसो टाउको उठाएर दिलको मुहारमा हेर्दै भने, “कस्तो मुला रहेछ यार ! आईए पनि पास नभैसकेको मान्छेले जागिर पाउँछ ? र, पनि गर भनिरेको छु । ठूलो संस्था छ । उद्देश्य ठूलो लिएर पत्रिका खोलिएको छ, काम गर्न आऊ ।”

यसो भनेपछि दिलले नकार्न सकेनन् । आईए पास गरिनसक्दैको कच्चा उमेरमै उनले पत्रकारिता सुरु गरे । दोस्रो पेज उपत्यका थियो । राशिफल, सूर्योदय, सूर्यास्त, आकस्मिक सेवाका नम्बरदेखि उपत्यकाका समाचार छापिन्थे । त्यही पेज हेर्थे उनी ।

भुटानबाट नेपाली साहित्यमा एमए गर्न त्रिभुवन विश्वविद्यालयमा छात्रवृत्ति पाएर नेपाल आएका नेपालीभाषी भुटानी क्षेत्रपति फुयाँल पनि दोस्रो पेजमै काम गर्थे । दिल संवाददाता नै नभएर सीधै डेस्कमा बसेका थिए । उनका सहपाठी हरिबहादुर थापाले कम्प्युटरमा जागिर खान थालिसकेका थिए ‘कान्तिपुर’मै ।

समाचार लेख्नु पर्दैनथ्यो तर पनि कहिलेकाहीँ रहर लाग्थ्यो उनलाई । लेख्थे । समाचार लेखेको पैसा आउँथ्यो । “काठमाडौंमा ढुंगेधारा सुक्दै गएको समाचार मैले लेखेको शायद पहिलो समाचार होला,” दिलले सम्झिए ।

उनी ०५२ सम्म काठमाडौं बस्दा पहिलोदेखि अन्तिम पेजसम्म हेरेर डेस्कमा बसे । प्रतीक भण्डारी, रमेश केसी, रघु मैनालीहरू समाचार लेख्थे । 

 

नेपालगन्ज सरुवा 

‘कान्तिपुर’मा पत्रकार महासंघको प्रतिष्ठान शाखा खोल्ने तयारी भइरहेको थियो । दिलले सभापतिमा उमेदवारी दिए । उनकै शब्दमा त्यो धेरैलाई मन परेको थिएन । पछि उनी उपसभापतिमा बस्न सहमत भए ।

“ठ्याक्कै थाहा छैन मलाई किन अचानक नेपालगन्ज पठाउने निर्णय भयो । साथीहरूले शाखा खोल्ने क्रममा अग्रसरता लिनु र त्यसको कार्यसमितिमा बस्नु एउटा कारण हुन सक्छ भन्छन् । हुन सक्छ त्यो पनि । त्यो बेला अलि अल्छी थिएँ कि भन्ने पनि लाग्छ,” उनी सम्झिन्छन्, “त्यो बेला मलाई चेयरम्यान (हेमराज ज्ञवाली)ले भनेको अहिले पनि सम्झिन्छु, यो मेरो गृहजिल्ला जस्तै ठाउँ हो । कार्यालय पनि हाम्रो घरमै छ । त्यहीँ गएर बस्ने हो । तपाईंले त्यहाँ गएर त्यो ठाउँको मान राखिदिनुपर्छ, इज्जत गरिदिनुपर्छ । हाम्रो आफ्नै ठाउँ भएकाले त्यहाँका मान्छेले ठूलो आशा गरेर हेर्छन् । पछि क्षेत्रीय कार्यालय बनाउनु पर्‍यो भने विराटनगर औद्योगिक क्षेत्र होला तर नेपालगन्जलाई भावनात्मक हिसाबले पनि हामी महत्वपूर्ण मान्छौं । अहिले बेस बनाइदिनुस् ।”  

अनि ? 

०५२ सालको समय थियो । उमेर छिप्पिएर परिपक्व भइसकेका थिएनन् । झापा घर, जानु पर्ने थियो मध्य र सुदूरपश्चिमको ‘कान्तिपुर’को क्षेत्रीय कार्यालय नेपालगन्ज । सोच्दै नसोचेको ठाउँ । दिलको मन अमिलो भयो । जाऊँ कि नजाऊँ– दोधार भयो । एक मनले सोचे– जान्नँ, राजीनामा दिन्छु ।

यो कुरा सँगै काम गर्ने साथीलाई सुनाए । उनले भने, “जागिर छोड्ने नै हो भने १५ दिनपछि छोड । अफिसको पैसामा नेपालगन्ज जाऊ । कालो चस्मा लगाऊ, गितार समाएर हिँड । बाइक लैजाऊ । सर्टमा धार पर्ने गरी इस्त्री लगाऊ । बिहान–बेलुका छतमा बसेर गितार बजाऊ । साथीभाइ हुन्छन्, माया गर्न थाल्छन् । नयाँ ठाउँमा मजा हुन्छ । बस्ने, काम गर्ने । चित्त बुझेन भने आएर राजीनामा दिने । जिन्दगीमा एउटा अनुभव त हुन्छ ।”

सहकर्मीले यसरी हौस्याएपछि उनले नेपालगन्जका लागि झिटीगुन्टा कसे । काठमाडौंको रंगीन दुनियाँमा भुलेका दिलले सोचेजस्तो थिएन नेपालगन्ज । नयाँ परिवेश, नयाँ मान्छे । काम शून्यबाट शुरु गर्नु थियो । ठाउँ, मान्छे चिन्नु र चिनाउनु थियो । आफूलाई स्थापित गर्नु थियो । तर, यो सबै गर्न कहाँ सजिलो थियो र !

त्यसपछि ?

सोचेजस्तो त थिएन नेपालगन्ज तर साह्रै उराठ पनि थिएन । मनमा जिज्ञासा हुनेहरूका लागि भने त्यो ठाउँमा समाचार थिए । मात्रै स्रोत खोजेर लेखिदिए पुग्थ्यो । काठमाडौंका लागि कैयौं नयाँ विषय थिए, मात्रै पहिचान गरेर त्यसलाई शब्दमा उनीदिए पुग्थ्यो ।

नदी सुरुमै समतल भूभाग भेटेर बग्दैन । चट्टानी पहाड फोडेर आफूलाई चाहिने समतल क्षेत्र निर्माण गर्दै बग्छ । दिललाई पनि नदीझैं आफ्नो बाटो आफैं बनाउनु थियो । उकाली–ओरालीलाई सम्याउनु थियो । थाले काम गर्न ।

त्यो समय नेपालगन्जलाई काठमाडौंका पत्रपत्रिकाले प्राथमिकतामा राखेका थिएनन् । एकाधले संवाददाता राखे पनि स्रोत–साधनले सम्पन्न थिएनन् । त्यहाँका समाचार छापिए भने पढेर कसैले प्रतिक्रियासमेत दिँदैनथे । राजधानीबाट उपेक्षित थियो नेपालगन्ज । 

 

समाचारको यात्रा

माओवादी द्वन्द्व भर्खर सुरु भएको थियो । रुकुम, रोल्पा, जाजरकोट र सल्यानमा मात्रै माओवादी केन्द्रित थिए । उनीहरूका समाचार खासै काठमाडौंसम्म आइपुग्दैनथे । कर्णालीमा भोकमरी थियो । मान्छे खान नपाएर भोकभोकै मरिरहेका थिए । उनी त्यस्तै ठाउँ पुग्थे समाचार खोज्दै । ‘कान्तिपुर’ले पैसा दिन्थ्यो गएको । त्यही खर्च लिएर दिनरात हिँड्दै दिलले समाचार लेख्न थाले ।

काठमाडौंबाट रुकुम, रोल्पा, जाजरकोट र सल्यान पुगेर लामो समय रिपोर्टिङ गर्ने र निरन्तर फलोअप गर्ने पहिलो पत्रकार हुन् उनी ।  सुधीर शर्मा ‘हिमाल खबरपत्रिका’बाट केही समयपछि पुगेका थिए । दिल सम्झिन्छन्, “माओवादीले मान्छे मारेर फ्याँकेको दृश्यसहित मैले पठाएको फोटोसहितको समाचार पहिलो पृष्ठमा छापिएको मलाई अहिले पनि सम्झना छ ।”

समाचारलाई उनी फरक कोण दिन्थे । फरक समाचार खोजेर पठाउँथे । उनका प्रायः हरेक समाचार ‘कान्तिपुर’ले एंकर न्युज बनाएर छाप्थ्यो । ‘कान्तिपुर’को एंकर दिलकै कोलमजस्तै भएको थियो ।

जाजरकोटमा हरिहरसिंह राठौर थिए ‘कान्तिपुर’का संवाददाता । उनलाई लिएर दिल रुकुम, रोल्पा, जाजरकोट र सल्यानका कुनाकुना पुगे । ती क्षेत्रका अप्रेसनमा बसेका प्रहरी, सेनादेखि माओवादीका नेता–कार्यकर्ता अधिकांशले उनीहरूलाई चिन्थे । दुबैको चेपुवामा परेर जुनसुकै बेला ‘इन्काउन्टर’को नाममा उनीहरुलाई सिध्याउन सक्थे । तर पनि दिलले आफ्नो कलममा बिर्को लगाएनन् । झापाको तातो पानी खाएर हुर्किएका गोडालाई थाक्न दिएनन् । बरु पहाडका तरेलीहरूसँग लुकामारी गरिरहे ।

नेपालगन्जबाट गएका डीएसपी र एसपीलाई रोल्पाको प्रहरीले माओवादीबारे यसरी शब्दचित्रमा व्याख्या गर्‍यो, लाग्थ्यो– दुर्लभ वन्यजन्तु पहिलोपटक जंगलमा देखिएको थियो र त्यसका अनौठा विशेषताहरू सुनेर जोकोही चित खान्थ्यो । भर्खरै तल्लो गाउँमा आएका थिए रे माओवादी ! सेनाजस्तै देखिने उनीहरू प्रत्येकले सेनाकै कम्ब्याट ड्रेस लगाएका थिए । काँधमा राइफल भिरेका माओवादीहरूले गाउँलेलाई आफ्नो पक्षमा पार्न सरकारको सत्तोसराप गरे । लेनिन र माओका कुरा गरे । जनताको दुःख अन्त्यका लागि जनयुद्ध सुरु गरेको बताए । परेड खेले र दुश्मनलाई सिध्याएर जनताको राज्यसत्ता स्थापनका गर्न सहयोगको आग्रह गर्दै हिँडे ।

“विडम्बना ! रोप्लाका पुलिसहरुले त्यो समयसम्म माओवादी भन्ने कस्तो हुन्छ देखेकै थिएनन् । गाउँमा छोडिएका एकाध पर्चा र झन्डाबाहेक उनीहरूलाई केही थाहा थिएन,” दिल भन्छन्, “त्यसको केही समयपछि मात्रै हो एकाध घटना भएका । त्यो पनि गाउँका चौकीहरूमा । तर, त्योबेला पनि पुलिसका एक–दुई बन्दुक फुत्काउनुभन्दा बढी केही भएकै थिएन ।”

०५३ सालमा जसरी उनी द्वन्द्वग्रस्त क्षेत्रमा गएर समाचारको भारी बोके, त्यसैगरी उनी कर्णालीको हुम्ला पनि पटक–पटक पुगे । हुम्लामा भोकमरी थियो । खान नपाएर जनता भोकभोकै मरिरहेका थिए । उनले त्यहीँबाट रिपोर्टिङ गरे । ०५४ को चुनाव सकिएर जिल्ला परिषदको बैठकबाट निर्णय गराएर दिललाई जिल्ला विकास समिति हुम्लाले अभिनन्दन गर्‍यो । नारायण वाग्ले पनि त्यो समय दिलसँगै समाचार लेख्न हुम्ला पुगेका थिए ।

‘कान्तिपुर’मा समाचार छापिएपछि राज्यको आँखा कर्णालीमा पुग्यो । सांसदहरूले संसद् सदनमा ‘कान्तिपुर’ पत्रिका पछारेर औंला उठाए, “हेलो प्रधानमन्त्रीज्यू ! हेलो गृहमन्त्रीज्यू ! कर्णालीमा जनता चामलको गेडो खान नपाएर भोकभोकै मरिरहेका छन्, कान्तिपुरले समाचार लेखेको छ, जवाफ दिनु पर्‍यो ।” त्यसपछि राज्यले कान सुन्यो । हेलिकप्टरबाट चामल झार्‍यो र जनतालाई बाँड्यो । 

दुई वर्ष पुगेपछि उनले केन्द्रीय कार्यालय फोन गरेर ‘म फर्किन्छु’ भने । उनको एकै आग्रहमा ‘कान्तिपुर’ले ‘ओके’ गरेर उनलाई पुनः काठमाडौं नै फर्कायो ।

 

टेलिभिजनको यात्रा

दिल नेपालगन्जमा थिए । कोहलपुरमा नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण कार्यालय थियो । त्यहाँ समाचार वाचनका लागि नेपाल टेलिभिजनले आवेदन आह्वान गर्‍यो । सयौं आवेदन परे । तीमध्येबाट दिल छानिए । रेवन्त ओलीसँग उनले समाचार पढ्न सिके । क्षेत्रीय प्रसारण भएकाले उनले पढेको समाचार सीमित ठाउँमा मात्रै सुनिन्थ्यो ।

दिल काठमाडौं आएपछि नेपाल टेलिभिजन पुगेर दुर्गानाथ शर्मालाई भने, “झापामा बस्ने मेरी आमाले मलाई टेलिभिजनमा हेरेर न्यास्रो मेट्नुहुन्छ । हामीजस्ता युवालाई प्रमोट गर्नुपर्‍यो । ‘कान्तिपुर’मा जागिर खान्छु, नैतिक रूपमा मैले अरु दिन काम गर्न मिल्दैन तर बुधबार मेरो साप्ताहिक बिदा पर्छ । त्यो दिन बिहान मलाई समाचार पढ्न दिनुस् ।” 

दुर्गानाथले पनि ‘हुन्छ’ भने । दिलले हप्ताको एकदिन नेपाल टेलिभिजनमा समाचार पढ्न थाले ।

‘कान्तिपुर’ दैनिक १० वर्ष पुगेपछि ‘कान्तिपुर टेलिभिजन’ खुल्ने भयो । उनलाई ‘कान्तिपुर टेलिभिजन’ले समाचार संयोजक बनायो ।

दिलले पुराना दिन सम्झिए । ‘कान्तिपुर’को पहिलो समाचार बुलेटिन पढेको स्मरण गरे, “पहिलो समाचार मैले पढेको थिएँ । बाटोभरि होर्डिङबोर्ड लागेको थियो । थापाथली, जाउलाखेलजस्ता चोकचोकमा मेरो होर्डिङबोर्ड थियो । समाचार वाचकको पनि हिरोहरूको जस्तो होर्डिङ राखिएको थियो । कलेज र स्कुलबाट प्रिन्सिपलसहित सय–डेढ सय विद्यार्थी ‘कान्तिपुर’को कार्यालयमा अटोग्राफ लिन आउँथे । त्रिविका प्रोफेसरहरू ‘हामीले पनि तपार्ईंजस्तो समाचार पढ्न पाइँदैन ?’ भन्दै आउँथे । न्युज एंकर बन्ने ठूलो क्रेज थियो । अमेजिङ क्रेज ।”

तीन वर्ष ‘कान्तिपुर टेलिभिजन’मा काम गरिसकेपछि उनको मनमा टेलिभिजन अमिट भएर बस्यो । दृश्हरूसँग अझ नजिकबाट खेल्न थाले । टिभीको समाचारमा हुने ध्वनि, रंग, संगीत र फ्रेमले उनलाई झनै आकर्षित गर्‍यो । शब्दभन्दा दृश्यको मजा लिन थाले । दृश्यको जीवन्त शक्ति देखेर उनलाई शब्द फिक्का लाग्न थाले ।

 

वृत्तचित्र 

एकदिन उनले समाचार पढिरहेका थिए । अछामको डेटलाइनमा उनले एउटा समाचार देखे, लेखिएको थियो, “महिलाले गर्भपतनका लागि झिर हालेर फलामको रड योनिबाट छिराएर पाठेघरमा प्वाल पारी भ्रुण (बच्चा) मारिन्छ र अन्नततः उनको ज्यान जान्छ ।”

यो समाचारले उनलाई औडाहा भयो । त्यो रात जतिपटक उनी निदाउने प्रयास गरे, हरेक पटक त्यही समाचारको दृश्य आँखामा आइह्यो ।

त्यसपछि के भयो ?

“त्यसपछि म झोला बोकेर भोलिपल्टै अछाम लागें । मेरो झोलामा एउटा क्यामेरा पनि थियो । खिचेको सामग्रीबाट एउटा डकुमेन्ट्री तयार भयो– ‘न्युजरुम बाहिर’ । त्यो डकुमेन्ट्री विश्वका धेरै फिल्म फेस्टिबल र डकुमेन्ट्री फेस्टिबलहरूमा पुग्यो,” दिलले सम्झिए ।

एकपटक उनी पोखरामा घुमिरहेका थिए । एउटा सरकारी विद्यालयमा ७९ वर्षे वृद्ध सुकबहादुर अधिकारी (जसले राम्रोसँग कान सुन्दैनथे)ले कक्षा ४ मा एउटा कान थुनेर अर्को कानबाट शिक्षकले पढाएको सुनिरहेका थिए । सोध्दा थाहा भयो– उनी ५० वर्ष भारतमा काम गरेर घर फर्किएका रहेछन् । अहिले पढ्न मन लागेछ र कक्षा लिन थालेछन् । दिललाई विचित्र लाग्यो । र, उनले वृत्तचित्र बनाए– ‘सुकबहादुर अधिकारी कक्षा ४’ । त्यो पनि धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरूमा गयो । त्यसपछि उनलाई लाग्यो– मेरो विषय त डकुमेन्ट्री पो रहेछ ।

यतिबेलासम्म दिलले ‘कान्तिपुर टेलिभिजन’ छोडिसकेका थिए । व्यवस्थापनसँग उनका केही असन्तुष्टि थिए । चाहना पनि शायद मौलाइरहेका थिए । ‘स्पेस’ ठूलो थिएन । थप ‘ग्रो’ हुने ठाउँ नदेखेपछि उनले ‘कान्तिपुर’बाट राजीनामा दिएका थिए ।

उनले सयभन्दा धेरै डकुमेन्ट्री बनाए । उनले धेरै त अन्तर्राष्ट्रिय संस्थाहरूका लागि बनाइदिए । राष्ट्रसंघीय स्वयंसेवीहरूलाई टिचिङ भिडियोसम्म पनि उनले बनाइदिए । राष्ट्रसंघको मुख्यालयले उनलाई काम दिन्थ्यो । त्यसबाहेक आईसीआरसीले पनि उनलाई काम दिन्थ्यो । ‘अधिकारका लागि सञ्चारको भूमिका के हो ?’ भनेर अभियान पनि चलाए । उनको निजी संस्था ‘इन्टरफेस नेपाल’ले यही काम गर्छ ।

 

‘टफ टक’ र न्युज २४

दिल ‘इन्टरफेस नेपाल’मा सक्रिय थिए । चराजस्तै स्वतन्त्र भएर खुला आकासमा उडिरहेका थिए । अचानक एउटा विज्ञापन एजेन्सीले उनलाई ‘टक शो’का लागि आग्रह गर्‍यो । त्यो एजेन्सीले ‘न्युज २४’ रोज्यो । तर, उनीहरू चलिरहेका भन्दा फरक खालको ‘टक शो’ खोजिरहेका थिए । दिलले पनि इच्छाइरहेकै विषय थियो ।

“साधारणतया नेपाली टक शोमा एकजना गेस्ट ल्याएर एक घण्टा प्रश्न सोध्ने, उनलाई अमन हुने गरी बोल्नै नदिने र एउटा पनि प्रश्नको सिंगो उत्तर नदिएर लखेट्ने चलन थियो । हामीले साच्यौं– व्यक्तिका बारेमा प्रशस्त रिसर्च गर्ने, प्रश्न पहिले नै तयार गर्ने, जो पायो त्यही मान्छेलाई नल्याउने र ल्याएको मान्छेलाई बोल्न दिने,” दिलले ‘टफ टक’को उद्देश्य प्रष्ट्याए, “विषयको अन्तरवस्तुसम्म पुग्ने र दर्शकले कार्यक्रम हेरिसक्दा त्यो व्यक्तिलाई किन ल्याइयो भनेर आफैं थाहा पाऊन् भन्ने हेतुले यो कार्यक्रम शुरु गरेका थियौं । हामी हाम्रो उद्देश्यमा सफल भइरहेका छौं जस्तो लाग्छ ।”

 

फेरि ‘कान्तिपुर टेलिभिजन’

‘टफ टक’ तेस्रो वर्षमा प्रवेश गर्दै थियो । ‘कान्तिपुर टेलिभिजन’ले दिललाई ‘टफ टक’ सहित आउन आग्रह गर्‍यो । केही पहिले नै बोलाए पनि उनी दोधारमा थिए । ७३ जिल्ला घुमिसकेका थिए । मिडिया ‘कन्सल्ट्यान्ट’का रूपमा काम गरिरहेका थिए । परामर्शदाताको काम उनको हातमा थियो । ‘फिल्म मेकर’ भएका थिए । त्यसैले उनले अटेर गरिरहेका थिए ।

भिडियोसँग रमाउने र त्यसमै आफ्नो संसार देखर मुस्काुराउने पत्रकारलाई देशकै सर्वश्रेष्ठ टेलिभिजनले नेतृत्वका लागि बोलाउँदा किन नजाने त भन्ने भयो । उनले ‘ग्रो’ गर्ने ठाउँ शायद देखे होला, नेतृत्वमा बसेपछि भनेजसरी काम गर्न पाइन्छ भन्ने सोचे होला, समाचारमा परिवर्तन ल्याउन सकिन्छ भन्ने पनि लाग्यो होला । अन्ततः उनी ‘कान्तिपुर टेलिभिजन’को सम्पादकका रूपमा फर्किए । पहिले संयोजक थिए, यसपटक ‘प्रधान’ थपिएर उनी प्रधानसम्पादक भए ।

“म जुन दिन कान्तिपुर फर्किएँ, त्यो दिनदेखि म तन, मन र वचनले एकाग्र भएर काम गरिरहेको छु,” उनले आफ्नो नैतिकता र व्यावसायिकता प्रष्ट्याउँदै भने, “म आएपछि एउटा पनि अनइथिकल समाचार बजेको छैन र एउटा पनि क्रु मेम्बरलाई विभेद गरेको छैन ।”

दृश्यमा पनि व्याकरण हुन्छ भन्छन् दिल । अक्षरहरूको लाइन लगाएर झ्याप–झ्याप दृश्य टाँस्ने चलन छ नेपाली टेलिभिजनमा । भन्छन्, “जसरी शब्द बुनिन्छ, त्यसैगरी दृश्य पनि बुनिन्छ । कथाले मागेअनुसारका ‘शट’ हुन्छन् । ‘शट’ खिच्ने पनि विधि र सूत्र हुन्छन् । त्यसमा खेल्न नसके टेलिभिजन पत्रकारिता हुँदैन ।”

 

अहिलेको पत्रकारिता

समाचार लेख्दै गर्दा त्यसले समाजमा पार्ने असर र दर्शक÷स्रोता÷पाठकको धारणा निर्माणमा त्यसले खेल्ने भूमिकाबारे पत्रकारहरू सोच्दैनन् भन्ने आमबुझाइ छ । उनीहरूलाई लाग्छ– पत्रकारहरू ‘केही भएन केही भएन’ मात्रै भनिरहन्छन् । तर, धेरै कुरा भएका छन् । देशले लामो द्वन्द्वबाट मुक्ति पाएको छ । हिंसाको राजनीतिबाट माओवादी मूलधारमा आएको छ । दलहरूले गणतन्त्र ल्याएका छन् । दुःखैदुःखको बीचबाट दलहरूले संविधान ल्याएका छन् । लामो समयपछि स्थानीय निकायको निर्वाचन भएको छ । मुलुक अर्को ठूलो निर्वाचनमा केन्द्रित छ । यसबीचमा उद्यमशीलता विकास भएको छ । तर, दिललाई लाग्छ– हामीले निराशामात्रै बाँडेका छौं । आशा जगाउन सकेका छैनौं । मिडियाले सूचना त दिए तर त्यस्तो सूचना, जसले नागरिकमा नकारात्मकता बढायो ।

“अहिले देश निर्वाचनको प्रक्रियामा छ । मिडियाहरू उमेदवारले पाएको र पाउने मतको जोडघटाउ गरेर बसिरहेका छन् । तर, कसैले पनि उमेदवार कस्तो हो र उसको वास्तविक पृष्ठभूमि कस्तो छ भनेर किन भन्न सक्दैन नेपाली मिडिया ?” दिलको प्रश्न छ, “यदि उमेदवारको बारेमा स्पष्ट बताइदिने हो भने जनताले कुन उमेदवार छान्दा ठीक हुन्छ भन्ने निर्णय गर्न सक्थे र राजनीति सङ्लिँदै जान्थ्यो ।”

आफू छुचो देखिनु परे पनि दर्शकले सही उत्तर पाऊन् भन्ने लाग्छ उनलाई । भन्छन्, “छुच्चो ठान्छन् भने त्यही सही तर देश र जनताका लागि स्पष्ट सूचना दिनबाट पछि हट्न हुँदैन । मैले ‘टफ टक’ चलाइरहँदा निकै छुचो हुन्छु । तर, मैले व्यक्तिगत रूपमा कसैसँग दुश्मनी लिन खोजेको होइन । मलाई मेरा आफन्तले ‘किन छुच्चो हुनुपर्‍यो ? समाजमा एक्लै बस्ने मन छ ?’ भनेर सोध्नुहुन्छ,” उनले अन्तिममा भने, “कहिलेकाहीँ त हो कि जस्तो पनि लाग्छ । ५ वर्षदेखि ट्राई गर्दा पनि केही व्यक्ति आउनुभएको छैन । यही कारण त होला । तर, पनि मेरो शोले लाखौं जनता स्पष्ट हुन्छन् भने म एक्लिन पनि तयार छु । मैले मेरो पेशाप्रतिको धर्म इमान्दारीसाथ निभाउनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC