देश चुनावमा होमिएको छ । पार्टी र तिनका नेता जनताका घरदैलोमा सपना बाँड्दैछन्, फोस्रा आश्वासन दिँदैछन् – ’बाउन्स हुने चेक’ जस्तो । यिनका चुनावी घोषणापत्र हेर्दा लाग्छ — यिनीहरूसँग जादुको छडी छ, छडी घुमायो देश आफैँ स्विट्जरल्यान्ड बनिहाल्छ । किन र कसरी भन्ने प्रमाण र जवाफ दिइरहनु नपर्ने रहेछ यिनलाई । यस्तो लाग्छ यिनले जे गरे पनि हुन्छ, जे बोले पनि छुट छ कारण शक्ति र हालीमुहाली जो यिनकै हातमा छ । राजनीति नितान्त सेवा भावले प्रेरित हुनुपर्ने कर्मलाई व्यापार, सिन्डिकेट, जागिर बनाए यिनले ।
अर्कोतिर जनता पीडित छन् राजनीतिक अस्थिरताबाट, हिंसाबाट अनि सामाजिक बेथिति र अन्यायबाट । जनता यी सबैबाट मुक्ति चाहन्छन् । स्वतन्त्रता र स्वाधीनताको लडाइँका नाममा, नक्कली फोस्रा राष्ट्रवादको नाममा देशलाई फिजी र सिक्किमको बाटोमा लगिएको छ । नेता र नेतृत्वमा सत्ता एवं शक्तिको उन्माद छ । अब जनता नयाँ राजनीतिक युगको सूत्रपात गर्न चाहन्छन् ।
देशको स्वाधीनता, सम्प्रभुता र भौगोलिक अखण्डताको संरक्षण चाहन्छन् आउने चुनावको माध्यमबाट । आउँदो चुनाव कसैको जितहारभन्दा पनि जनता हाम्रो वर्तमान र अर्को पुस्ताको भविश्य सुनिश्चित गर्न चाहन्छन् । तर, कसरी ? नेता र नेतृत्व अनि यिनको पार्टीको विगत, स्वार्थी, सत्तापरस्त चरित्र, यिनको हावादारी चुनावी घोषणापत्र र झन्डै तीन दशकदेखि जनतालाई भोट बैंकभन्दा माथिको हैसियत नदिएको स्थिति छ । त्यसैले जनता ठूलो अन्योलमा छन् । प्रतिनिधि कुन आधारमा छान्ने ? भोट कसलाई दिने ? किन दिने ? इत्यादि ।
यस लेखमा केही पार्टीका सैद्धान्तिक विचलनका दृष्टान्त पेस गर्दै भोट किन, कस्लाई र केको आधारमा दिने भन्ने चर्चा गर्ने जमर्को गर्दैछु ।
पार्टी र नेतृत्वमा सैद्धान्तिक विचलन
सत्ता केन्द्रित अवसरवादी चुनावी कम्युनिस्ट गठबन्धन र कथित प्रजातान्त्रिक खेमाको चुनावी तालमेल र पार्टीभित्रको चुनावको टिकटको बाँडफाँट हेर्दा त दलहरूमा घोर सैद्धान्तिक विचलन भित्रिएको देखियो । थोरै बचेको राजनीतिक संस्कार पनि अब निमिट्यान्न पारे यिनले अहिले । पहिला विभिन्न राजनीतिक सहमति र दाउपेचको नाममा मूल कानुन नै अवज्ञा गरे, खारेज गरे, संशोधन गरे । अहिले चुनावी तालमेलको नाममा खुल्ला प्रतिस्पर्धाको राजनीति अनि प्रजातान्त्रिक मूल्य र मान्यताको हुर्मत लिँदैछन् । मिलेमतो, तालमेल र सेटिङको नाममा ‘चुनाव’ शब्दलाई नै घृणित बनाएका छन् यिनले । कसलाई र किन भोट दिने भन्ने कुरामा जनता दोधारमा त पर्ने नै भए । हैन र ?
चुनावी टिकटको बाँडफाँट सिद्धान्तमा सक्षमताको आधारमा नभएर नातावाद, कृपावाद, धनवाद र डनवादमा आधारित देखियो । हुनेखाने, ठूलाठालु नेता र नेतृत्वको पत्नी, सालासाली, ज्वाइँ र भाइभतिजा र आफ्नै ’कोटरी’ भित्रकालाई पारियो । समानुपातिक प्रणालीको त खील्ली नै उडाइयो यो मुलुकमा । उदेक लाग्दो छ । जनताको प्रश्न यस्ता छन् : टिकट कसैको बिर्ता हो र ? कसैको पैत्रिक सम्पत्ति हो पार्टी र टिकट ? कांग्रेसमा विनोद चौधरीहरूले टिकट पाँउने आधार के ? नवराज सिलवालहरूलाई एमालेले टिकट दिने आधार के ? कसका लागि काम गर्थे यिनी प्रहरी सेवामा हुँदा ? पार्टीको वा देशको लागि ? कांग्रेसका प्रत्याशी दिपककुमार उपाध्याय दिल्लीमा राजदूत हुँदा पार्टी प्रवक्ताका रूपमा काम गर्थे कि राष्ट्रको लागि ? पार्टीको प्रतिनिधि थिए कि राष्ट्रको ? माओवादी केन्द्रभित्र पनि यस्ता धेरै उदाहरण छन् ।
सक्षम इमानदार र दशकौंदेखि पार्टीमा खट्नेहरूलाई पाखा लगाइएको छ । यो पार्टी र यसको नेतृत्वको निर्ममता हो, संवेदनहीनताको पराकाष्ठा हो । धनराज गुरुङहरूको आँसुले मूलधारका पार्टीलाई बगाएर टुकुचाको खोल्सीमा नहालोस् ।
माओवादी केन्द्र र यिनका नेतृत्वको सैद्धान्तिक विचलन र स्खलनको सूची त झनै दयालाग्दो छ । क्रमभंगका नाममा यिनले आफँैलाई भंग गरिसकेका छन् । हुँदाहुँदा एमालेजस्तो रंग न रूपको पार्टीमा आपूmलाई विलीन गराउने कसम खाइसकेका छन् । चुनावी एकता गरेका छन् अनि दुईतिहाइ बहुमतको हुँकार पिटेका छन् । कुन संसारमा छन् यिनीहरू ? मतदाता स्वतन्त्र छन् भन्ने किन नबुझेका यिनले ? विसं २०५१ सालमा ४० बुँदे माग तेस्र्याएर संसदीय व्यवस्था नमान्ने भनेर हिंसाको बाटो रोजे यिनले । तर, आज यीनै सबैभन्दा संसदवादी साबित भएका छन् । शान्ति प्रक्रियापछि धेरैपटक देश चलाए र आज पनि सत्तामै छन् तर ४० बुँदेको ‘च’ पनि उच्चारण गरेनन् । अहिलेको यिनको चुनावी घोषणापत्रमा यसको एउटा बुँदा पनि पारेका छैनन् । उदेक लाग्दो छ । लोक तीन छक्क परेको छ ।
हिजो ’सुरुङ्गयुद्ध’को हुँकार पिटे तर ’जनयुद्ध’को साँचो त उतै पो रहेछ भन्ने रहस्य भारतीय प्राध्यापक सुकदेव मुनीहरूले लेखेर, बोलेर खोली दिएपछि जगतलाई थाहा भइहाल्यो । हिजो बुर्जुवा शिक्षा काम लाग्दैन भनेर कलिला हातमा बन्दुक र बारुद राखिदिए, बोकाए, शिक्षक मारे, पाठशाला र संस्कृत भाषामाथि प्रहार गरे । अनि गरिबका छोराछोरीलाई बन्दुक बोकाए र शान्ति प्रक्रियामा प्रवेशपछि यिनले तिनलाई मात्रै हैन, पार्टीकै सिद्धान्त, औचित्य र उद्देश्य पनि सडकमै बेवारीसे छोडिदिए ।
हिंसात्मक विद्रोहको औचित्य पनि पुष्टि गर्नुनपर्ने रहेछ । कथित क्रान्तिमा हरेक हिंसा र क्रियाकलाप जायज नै हुँदारहेछन् । मानिसको जिन्दगी साँच्चै सस्तो हुँदोरहेछ सस्तो बनाइयो, बनाए । नयाँ नेपाल र क्रमभंगको नाममा हाम्रो इतिहास र जीवन पद्धतिमै प्रहार गरियो । माक्र्सले क्रान्ति भनेको त इतिहासको जर्गेना हो, संस्कारको जर्गेना हो भने यसैमा उभिएर अर्को इतिहास बनाउनु हो पो भनेका छन् । ’जनयुद्ध’को नाममा माओ र माक्र्सको विशाल दर्शनको नै खिल्ली उँडाए यिनले । अहिले पार्टी नै विघटनको संहारमा छ । सिद्धान्तको जग नै भत्केपछि सबै सकिँदो रहेछ ।
नेपाली कांग्रेस यो ऐतिहासिक पार्टीको कुरा गर्ने हो भने त झनै घीनलाग्दो छ । आजजस्तो सिद्धान्तविहीन र बाटो भुलेको अवस्थामा यो पार्टी इतिहासमा कहिल्यै थिएन । लाग्छ, कांग्रेसभित्र अब कांग्रेस छैनन् । थोरै भएकालाई पाखा लगाइएको छ । बीपीको दर्शन र व्यवहार अब इतिहास भइसकेको छ । इतिहासको ब्याजले, रहलपहलले कहिलेसम्म थेग्छ होला यस पार्र्टीलाई । प्रजातन्त्रको पर्याय मानिने यो पार्टीलाई प्रजातन्त्रको मूल्य र मान्यता कस्ले सिकाई दिने होला ? हँसिया र हथौडामा आफ्नो कार्यकर्ता र कांग्रेसजनलाई भोट हाल्न आदेश गर्ने अहिलेको यस पार्टीको नेतृत्वलाई बीपी बाँचेका भए कस्तो प्रश्न गर्थे होलान् ? कुरो बडो रोचक छ । नयाँ सोच र अर्को बीपीको पर्खाइमा छ यो पार्टी । आवश्यकता, समय र इतिहासले जन्माउने नै छ ।
अब रहयो कुरा एमालेको । मार्क्सवाद र लेनिनको आयातित सिद्धान्त रट्नेबाहेक केही छैन यो पार्टीसँग । जनधार हुँदाहुँदै पनि यो पार्टी नैतिकरूपमा खोक्रो राजनीतिकरूपमा घोरअराजनीतिक र सैद्धान्तिकरूपमा अत्यन्त विचलित भएर चौबाटोमा पुगेको छ । मार्क्सको दर्शन घोक्दैमा, रटान दिँदैमा कोही मार्क्सवादी भइहाल्छ ? मदन भण्डारीको अन्त्यपछाडि यस पार्टीको आफ्नो छुट्टै दर्शन केही छैन । विसं २०४६ पछि सत्ता यिनको हातमा पनि थियो तर के दिए त जनतालाई यिनले ? बितेका तीन दशकमा यस पार्टीले पनि घोर राष्ट्रघाती काम गरेकै हो । सत्ताको लागि घोर अवसरवादी चरित्र देखाएकै हो । सत्ताको लागि राजावादी, डनवादी, भ्रष्टाचारी र मण्डलेहरूसँग पनि गठबन्धन गरेकै हो । सत्य र सिद्धान्तमा चल्ने कोही छैनन् यहाँ ।
एमाले पार्टीको नाममा एउटा चतुर व्यापारी हो भने हैसियत एक गैरसरकारी संस्थासरह नै हो । यो पार्टी नै हैन भन्र्नहरू पनि धेरै छन् । अहिले आएर माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका छन्, प्रतिशतको आधारमा सिट बाँडेका छन् अनि बहुमतको हुंकार गरेका छन् । कम्युनिस्ट सर्वसत्तावादको सपना र भ्रम पालेका होलान् तर आजको विश्व राजनीतिक परिवेशमा कुनै पनि प्रकारको तानाशाही कँही पनि संभव छैन भन्ने बुझून् । तीन सय वर्ष पुरानो राजसंस्था जरैबाट उखेलेर फाल्ने जनता यिनै हुन् भन्ने बुझून् यिनले ।
तसर्थ, मूलधारका राजनीतिक पार्टी र यिनको नेतृत्व विगतको एवं वर्तमान व्यवहार देखेर जनता आजित छन्, दोधारमा छन्, अन्योलमा छन् । भोट कसलाई हाल्ने ? जनता विकल्पको खोजीमा छन् ।
विकल्प के हो त ?
मेरो विचारमा यो मामलामा हामी विकल्पविहीन छौँ । हाम्रो समसामयिक राजनीतिक परिवेशमा मूलधारका पार्टीको विकल्प छैन । कुनै साना समूह वा गुटले राजतन्त्रको पुनः स्थापनाको वकालत पनि गर्दैछन् तर लोकतन्त्र र गणतन्त्रको अब विकल्प छैन । धर्म निरपेक्षता र संघीयताको बारेमा भने अझै सोच्न सकिन्छ, विकल्प खुल्ला हुनुपर्छ, राख्नुपर्छ । दरबार हत्याकाण्डपछि नै प्रकारान्तरले राजतन्त्र समाप्त भएको हो । यो आफैँ, आफ्नै कारणले सकिएको हो । अब नेपालमा राजतन्त्रको स्थान संग्राहलय नै हो । हामीले राष्ट्रपतीय प्रणालीलाई नै अझ सुदृढ र सम्मानित गरेर अघि बढ्नु पर्छ ।
अहिले भरखरै गठन भएको अर्को साझा तथा विवेकशील नामको पार्टीले पनि आफुलाई विकल्पका रूपमा प्रस्तुत गर्दैछ, सपना बाँड्दैछ । यिनका नारा राम्रै लाग्छन् । केही दशकपछिको लागि संभावना पनि होला तर तत्कालको लागि यिनले राष्ट्रिय राजनीतिमा विकल्प दिन सक्तैनन् । यिनले सिक्न धेरै बाँकी छ । भारतको आम आदमी पार्टीको नक्कल गर्न खोजेका होलान् तर यो भारत हैन नेपाल हो भन्ने यिनले बुझून् । अनि हरेक थपिएको मतलाई आफ्नो विजय ठानून् । अंक गणितको राजनीतिबाट, हारजितको राजनीतिबाट माथि उठेरअघि बढून् यी ।
मतदान हरेक व्यक्तिको राज्य र समाजप्रतिको महान दायित्व हो, अभिभारा हो । राजनीतिक पार्टीहरू र यिनका नेतृत्वमा विचलन आए पनि हरेक पार्टीमा असल नेता, योग्य कार्यकर्ता अझै छन् । हरेक समजमा असल मानीस अझै छन् । समाज त जीवितै छ नि त । हामी चेतनशील समाजले चेतनाले काम गर्नुपर्छ । भोट हाल्नुअघि हजारपटक सोचौँ ।
अरू विकल्प नै नभएपछि हामीले प्रत्याशी छान्ने त यही मूलधारका पार्टीहरू भित्रबाटै हो । तर, कस्तो छान्ने ? कुन आधारमा छान्ने ? यो ठूलो प्रश्न हो । पार्टीगतभन्दा पनि व्यक्तिको ओज र योग्यता, राजनीतिक संस्कार र अडान, नैतिकवान, खुला समाजमा विश्वास गर्ने र कानुनको शासनको हिमायती प्रत्याशीलाई चुनौ । हरेक पार्टीबाट फिल्टर गरेर असल मान्छेहरूको समूह सदनमा पुर्याउन सके केही थोरै भए पनि राम्रो काम हुन्थ्यो कि ? असल नपाएमा कम बदमास र कम फटाहालाई छानौ । खराब प्रत्याशीको सार्वजनिकरूपमा खुलासा गरिनुपर्छ । अब हरेक व्यक्तिसामाजिक अभियन्ता र परिवर्तनको संवाहक बन्नुपर्छ । असल व्यक्तिलाई नेतृत्वमा र सदनमा पुर्याउने गहन दायित्व हामीलाई नै छ मतदानको माध्यमबाट ।
खराब चरित्रका, घोर अवसरवादी, स्वार्थवश आएका नयाँ अनुहार, जागिर छोडेर आएकाहरू, पैसा तिरेर आएकाहरू, व्यापारी, दलाल, भ्रष्टचारी, पार्टी अदलबदल गरिरहनेहरू, मानव अधिकार उलंघनमा मुछिएकालाई सशक्त बहिष्कार गर्नुपर्छ । यिनीहरू कसैका थिएनन्, हुने पनि छैनन् । यीसँग देश र जनताको लागि दिने केही छैन ।
हामीले यो गर्न सकेनौ भने अर्को पुस्ताले हामीलाई सराप्नेछ । हाम्रो आजको मतदानले, निर्णयले आउँदो पिँढीको भविष्यको निर्धारण गर्छ । आज हामीले राम्रो स्थिति सुरु गर्यौँ भने आउँदो पुस्ताले हामीले जस्तै पटकपटक सामाजिक न्यायको लागि लड्नुपर्ने छैन । इतिहास साक्षी छ, हाम्रो अग्रजहरूले गरेको गलत निर्णयहरूको नकारात्मक परिणाम आज हामी भोग्दैछौँ । उदाहरणका लागि १९५० को असमान सन्धि, गण्डक र कोसी सम्झौता, महाकाली सन्धि अनि एक दशकअघि दिल्लीमा भएको चर्चित १२ बुँदे सहमति ।
उदाहरण अरु पनि कति छन् कति । यसका साथै जातीय र क्षेत्रीय नारा बोकेर आएका प्रत्याशीहरू र विखण्डनवादीलाई सशक्त बहिष्कार गरिनुपर्छ । जनताले वुझेका छन् नेपाल अखण्ड हो । यो सबैको साझा तपोभूमि हो । विखण्डनवादी, लम्पसारवादी र जातिवादीलाई परास्त गर्नु हाम्रो दायित्व हो । कारण अर्को पुस्ताका लागि हाम्रै छोराछोरी र नातिनातिनाको लागि ।
राष्ट्र र जनता नहारोस्
चेतना र विवेक प्रयोग गरौँ । मत खसाल्नुअघि गम्भीर भएर सोचौँ । प्रश्न गरौंँ म केको लागि मत हाल्दैछु ? किन ? कसको लागि ? राष्ट्र र आफ्नो सन्तानको अनुहार अनि भविष्य सम्झौँ । हाम्रोे अमूल्य मत राष्ट्र हार्ने, हामी सबै हार्ने र हाम्रो आउँदो पुस्ताको भविष्य हार्ने छाप नबनोस् । हाम्रो मत देश नै विश्वको नक्शाबाट हटाउने साधन नबनोस् । राजनीतिक पार्टीको भरिया र कार्यकर्ताभन्दा माथि उठेर सोचौँ सबैले । नयाँ राजनीतिक संस्कारको थालनी आफैबाट सुरु गरौँ । राजनितिक स्थिरताको अस्त्र बनोस् हाम्रो यो मत ।
(विद्यावारीधि, अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुन )