बुद्ध एयर प्रालि नेपालको आन्तरिक वायुसेवामा करिब २ दशकदेखि सक्रिय छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार बुद्ध एयर नेपालको नम्बर १ वायुसेवा प्रदायक हो । आन्तरिक उडानमा अब्बल यो कम्पनीले भुटानको पारो, भारतको लखनउ र बनारससम्मको उडान अनुभव पनि संगालेको छ ।
कम्पनीका क्याप्टेन हुन् वीरेन्द्रबहादुर बस्नेत । बस्नेतको पुख्र्यौली घर भोजपुर हो, यद्यपि उनी काठमाडौंमा नै जन्मेका थिए । उनी बुद्ध एयरका संस्थापक प्रबन्ध निर्देशक हुन् । उनले नै नेपालमा पहिलो पटक माउन्टेन फ्लाइट सुरु गरेका थिए । बूढानीलकण्ठ स्कुलबाट एसएलसी, महेन्द्र मोरङ क्याम्पसबाट बिकम र बेलायतको विश्वविद्यालयबाट सिनियर क्याम्ब्रिज प्राप्त गरेका बस्नेत एभिएसन क्षेत्रका विज्ञ मानिन्छन् । मुलुकको उड्डयन क्षेत्र, बजार प्रतिस्पर्धा, बुद्ध एयरका आगामी योजना, रणनीतिलगायत विषयमा बस्नेतसँग बाह्रखरीका लागि गरिएको कुराकानी ।
नेपाली एयरलाइन्सको क्षेत्रमा सफल व्यक्तिको रुपमा चिनिनुहुन्छ । यस क्षेत्रमा कसरी सफल हुनुभयो ?
मसँग कुरा गर्ने सबैजसो पत्रकारको पहिलो प्रश्न नै यही हुन्छ । इमान्दारिता र प्रतिबद्धताका साथ हामी अघि बढेका हौं । अर्को कुरा, रणनीतिक रुपमा पनि हामी अघि बढेका हौं ।
धेरै ठाउँमा हात हाल्ने तर सफल नहुने अवस्था धेरै छ हामीकहाँ । नेपालको जस्तो सानो क्षेत्र र अपरिपक्व बजारमा समस्या छ । तर, त्यसको अर्को पाटो भनेको यहाँ सम्भावना पनि त्यतिकै छ ।
खासगरी कस्ता समस्याहरु झेल्नुपर्छ ?
हामी बुद्ध एयरको वार्षिक १५ लाख सिट बिक्री गर्छौं । जम्मा यात्रु सवा लाख होलान् । उनीहरु १० पटक उड्छन् । एउटा व्यक्तिलाई १०–१५ पटक उडाउनुपर्छ । यसका दुईवटा कारण छन् । एउटा नेपालको बाटोे पनि हो । अर्को सस्तो सेवा पनि दिइरहेका छौं । हामीले अप्रत्याशित सस्तो सेवा दिइरहेका छौं वास्तवमा ।
सेवामा दत्तचित्त नभएको भए र सिर्जनशिलता नभएको भए यस्तो हुँदैनथ्यो । हामीले थोरै यात्रु उडाउन बाध्य हुने थियौं । आज स्थापित भएको मुख्य कारण सस्तो पनि हो । सरकारले नियन्त्रण गरेको छ, त्यहाँभन्दा माथि हामी जान पाउँदैनौं । जनकपुरमा पनि हामीले यो लागु गरेर आएका छौं । केही मेहनत नगरी त सफल भइँदैन ।
अन्य एयरलाइन्स थप हुँदा चुनौती पनि थपिएको होला । अब यसमा कसरी अडिग रहन सक्नुहोला त ?
खर्च उठेन भने जहाँको भए पनि बन्द हुन्छ नै । त्यो बेलायतको होस् या जर्मनीको । ‘सस्टेनेबल अपरेसन’ हुन सकेन भने बन्द हुन्छ नै, हुनैपर्छ पनि । नेपालमा यो चौथो साइकल हो । यसअघि तीनपटक साइकलमा समस्या आइसकेको छ ।
बुद्ध एयरको आगामी योजना के के छन् ? तपाईंहरुले अन्तर्राष्ट्रिय योजना पनि बनाउनुभएको छ । धेरै नेपाली असफल भइसकेका छन्, तपाईंहरु कसरी सफल हुनुहोला ?
हामीले सुरु गरेको २० वर्षपछि अन्तर्राष्ट्रिय भनेका हौं । यसका भित्र–भित्र पुगेर हामीले अध्ययन गरेका छौं । हामी सफल हुन्छौं भनेरै यो पाइला चालेका हौं । हाम्रो लागि अन्तर्राष्ट्रिय भनेको नेपाली यात्रु प्रमुख लक्ष्य होइन । तर, हुँदै हुँदैनन् भन्न खोजेको पनि होइन । हामीले विदेशी यात्रुलाई नै बढी जोड दिन्छौं । त्यसमा पनि नेपालको पयर्टन विकासमा हामीले ध्यान दिन्छौं । पोखराबाट हामीले अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेका हौं ।
त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । त्यसलाई फोकस गरेका छौं । यसमा मार्केटिङ कसरी गर्ने भन्ने योजना बनाइरहेका छौं । सन् २०२१ अगष्ट २ देखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेका छौं । त्यही दिन पोखरा खुलेन भने के गर्ने भनेर पनि योजना बनाएका छौं । त्यहाँ नभए काठमाडौंबाट उडाउँछौं ।
हामीले बोइङ र एयरबससँग कुरा गरेका थियौं । बोइङले चासो देखाएन । त्यसैले एयरबससँग कुरा गरेका छौं । उसले चासो देखाएको छ । हामीले हाम्रो बिजनेस प्लान पनि बनाएका छौं ।
हामीले त्यहाँबाट २० वटा जहाज उडाउने योजना बनाएका छौं । तर पहिलो चरणमा हामीले ३ वटाबाट सुरु गर्छौं । ६ वर्षभित्रमा हामीले २० वटा जहाजबाट पोखरामा २० लाख पर्यटक ल्याउँछौं । सुरु गरेको ६ वर्षमा हामी सफल पनि हुन्छौं भन्ने लागेको छ ।
हामी अहिले यसैमा व्यस्त छौं । यसमा हामीले धेरै तयारी पनि गरेका छौं । त्यहाँ बन्न लागेको विमानस्थलमा पनि हाम्रो चासो छ । त्यहाँ आएका २० लाख पर्यटकको व्यवस्थापनको पनि कुरा हुन्छ ।
त्यसले पाल्पा र ४ नम्बर प्रदेशका सबै जिल्लाको कायापलट नै हुनेछ । त्यहाँ एउटा तरंग ल्याउँछौं । हाम्रो चाहना एयरलाइन्समात्रै चलाउने हो । त्यहाँ हामी न होटल खोल्छौं न प्याराग्लाइडिङ राख्छौं ।
२० लाख पर्यटकको व्यवस्थापन कसरी हुन्छ त ?
त्यहाँ आएका २० लाख पर्यटकमध्ये २–३ लाख पर्यटक रानीमहल लैजाने कि नलैजाने ? त्यहाँका बासिन्दाको पनि दायित्व हुन्छ नि ।
त्यहाँको कार्यक्रम त्यहाँका जनताले सञ्चालन गर्ने कि नगर्ने ? त्यहाँ त घान्दु्रकजस्ता स्पट सयौं आउनुपर्यो । त्यहाँ आफैं माहोल बन्छ । पहिलो चरणमा आएका पर्यटकले नै त्यो माहोल बनाउँदै लैजान्छन् ।
भनेपछि ४ वर्षभित्र बुद्ध एयरले पर्यटनको क्षेत्रमा क्रान्ति नै ल्याउँदैछ हैन त ?
हो, हामी त्यो तयारी गरेका छौं । झारा टार्ने कुरा होइन । हामी सफल हुनैपर्छ । हामी हरेक महिनाको कर कति तिर्छौं भनेर फेसबुकमार्फत सार्वजनिक गर्दैछौं ।
त्यहाँ पर्यटक थुपार्ने मात्रै होइन । त्यहाँ गतिविधि त हुनैपर्छ । त्यहाँ हामीले समन्वय त गर्छौं नै । आजको दिनमा पर्यटक उद्योगबाट के फाइदा भन्ने प्रश्न त उठ्छ नै ।
केही पछि फर्कौं । खाली बिजनेसका मात्रै कुरा हुन्छन्, यात्रुका समस्या त तपाईंहरु वास्तै गर्नुहुन्न, किन ?
विशेष समस्या भनेको डिले नै हो । यो संसारभरको समस्या हो । कुइरो लाग्न थालेपछि स्वभाविक रुपमा डिले हुन्छ । तर सरकारले गर्नुपर्ने काम पनि गरेको छैन । सरकारले गर्नैपर्ने पूर्वाधार समेत तयार गर्न सकेको छैन । यसले गर्दा पनि यात्रुलाई केही समस्या भएको छ । त्यसमा हामीले केही नगरेजस्तो देखिएको हो । हामीले त त्यहाँ सकेसम्म यात्रुलाई सहज होस् भन्ने चाहन्छौं । आज भैरहवा विमानस्थल निर्माणमा किन ढिलाइ भइरहेको छ ? पोखराको विमानस्थल ढिला किन हुँदैछ भनेर तपाईं (पत्रकार)हरुले पनि खोजी गर्नुपर्यो । यो तपाईंहरुको पनि दायित्व हो ।
हामीले हाम्रो प्रयास जारी राखेका छौं तर राज्यले गर्नुपर्ने काम निकै ढिलाइ भएको छ ।
निजी क्षेत्र राज्यसँग समन्वय नगरी अघि बढ्न सक्दैन । अहिले राज्य निजी क्षेत्रप्रति धारणा कस्तो छ ?
हिजोको सोचमा अब नजाऊँ । हिजो केन्द्रीकृत थियो । संक्रमणकाल थियो । सबैले पैसा कमाउनुपरेको थियो ।
डीजीलाई हटाउन २ महिनाका लागि आएको मन्त्रीको मुख्य काम हुन्छ । त्यो सोझै भ्रष्टाचार होइन ? हरेक तप्कामा अहिले जनप्रतिनिधि आएका छन्, आउँदैछन्, यो राम्रो हो । राम्रोको लागि भएको छ । हामी स्वःस्फुर्त रुपमा अघि बढेका हौं । हामी आफैंले गरेका हौं । यसले निकै सकारात्मक काम गर्नेछ । यो पाँच वर्षभित्रै नहोला तर जनताले आफ्ना प्रतिनिधिलाई औंला त अवश्य ठड्याउनेछन् ।
प्रादेशिक सरकारको दायित्व पनि हुन्छ । भोलिको प्रादेशिक सरकार बनेपछि पनि धेरै सहज होला भन्नेमा आशावादी छु ।