site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड किन चितवनमा मात्रै केन्द्रित रहे ?
Ghorahi CementGhorahi Cement

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसपटक चितवनमा सबैभन्दा बढी समय चुनावी प्रचार प्रसारमा बिताए ।
कात्तिक १६ गते उमेदवार दर्तापछि २० गतेसम्म जिल्लाका विभिन्न क्षेत्रमा भएको कार्यक्रममा सहभागी भए ।  एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्र सार्वजनिक गर्न काठमाडौं पुगेका प्रचण्ड फेरि आफ्नो निर्वाचन क्षेत्र चितवन ३ मै व्यस्त रहे ।

उनी पाँच वर्षपछि आफ्नै क्षेत्र माडी पुगे । बाँदरमुढे घटनापछिको उनको माडी यात्रा स्थलमार्गको सम्भवतः पहिलो थियो ।  उनले घोषणापत्र सार्वजनिक गरेर फेरि ७ दिन  चितवनमा बिताएर आज काठमाडौं फर्किँदैछन् ।

पहिलो चरणमा औपचारिक कार्यक्रममा मात्रै सम्बोधन गरेका थिए उनले । त्यसबेला उनले चितवनको नाडी छामेका थिए । कहाँ कस्तो प्रतिक्रिया आउँछ । नभन्दै माडीबाट उनलाई एउटा झड्का लाग्यो । बाँदरमुढे घटना पीडितबाट । भेट्न आउँछु भनेर नआएको कुरा सञ्चारमाध्यमबाट बाहिर आयो ।

Agni Group

दोस्रो चरणमा चुनावी अभियान र घरदैलो चलिरहेको छ । आफ्नो पकड क्षेत्र रहेको भरतपुरको  पटिहानी, शिवनगर लगायत क्षेत्रमा उनले घरदैलो भ्याए । साविक क्षेत्र नम्बर ४ अर्थात काँग्रेसको बलियो क्षेत्र रहेको मंगलपुर, गुञ्जानगरका केही भाग, शारदानगर, लगायतमा पनि उनले घरदैलो गरे । 

जुन ठाउँमा पुग्यो त्यस्तै भाषण दिएर मख्ख पार्ने कला उनीसँग रहेको स्थानीय बताउँछन् । उनी राप्रपाको पकड क्षेत्रमा पनि पुगेर घरदैलो अभियान सके ।
उनी राप्रपाको बढी मत रहेको क्षेत्रमा पुगेर सय बढी राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश गराए । चितवनमा जुनसुकै पार्टीका कार्यकर्ताले पनि उनलाई फूलमाला लगाउन छुटाएका छैनन् । 

Global Ime bank

जनयुद्धको नेतृत्व गरेका पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्ति भएकैले सबैको स्वागत खाईरहेका हुन् । 

करिब १० दिन चितवनमा चुनावी कार्यक्रम गरिए पनि माडीमा एकदिन भलिबल उद्घाटन गर्नेबाहेक उनले चुनावी अभियानलाई सम्बोधन भने गरेका छैनन् । उनले घरदैलो अभियान नै जारी राखेका छन् ।

अब देशका विभिन्न १४ शहरमा एमाले अध्यक्ष केपी ओली र प्रचण्ड सँगसँगै भाषण गर्नै अभियान आजैबाट शुरु हुँदैछ ।  चितवनमा भने ५ गने संयुक्त सभा हुने भएको छ । त्यसको पुर्व सन्ध्यामा दाहालले चितवनमा आफ्नो प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।


किन प्रचण्ड चितवनलाई बढी समय दिँदैछन्  ?

चितवनको क्षेत्र नम्बर ३ मा प्रचण्ड कम्युनिष्ट गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेदवार छन् । उनीसँगको प्रतिष्पर्धामा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे छन् । जो यसअघिको निर्वाचनमा चितवन क्षेत्र नम्बर ५ बाट जितेका सांसदसमेत हुन् । सँगै अहिले कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उनको उमेदवारी छ ।

आर्थिक रुपले पनि सबल रहेका पाण्डे माडी क्षेत्रको विकासमा अव्बल नेताका रुपमा परिचित छन् । तर उनको यसपटक भरतपुरको मेघौली र जगतपुर क्षेत्रबाहेक अन्य वडामा खासै प्रभाव देखिँदैन ।

स्थानीय तहको निर्वाचनले पनि त्यो देखाएको छ ।  अझै उनका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेपछि भरतपुर क्षेत्रका कार्यकर्तामा केही विचलन आएको छ । 

तर पाण्डेलाई क्षेत्र नम्बर ३ मा निर्णायक मानिने कांग्रेसको साथ रहेको हुँदा प्रचण्डले पनि अफ्ठेरो महसुस गरेका छन् । उनले आफ्नो घरदैलो अभियानमा यस्तो कुरा व्यक्त गरिसकेका छन् ।

कांग्रेस र केही स्थानीय एमाले कार्यकर्ताले पाण्डेलाई सहयोग गरे उनको जित सहज देखिन्छ । त्यसका लागि कांग्रेसको पूरै र एमालेका करिब ३ हजार कार्यकर्ताको मत उनलाई आवश्यक पर्ने देखिन्छ ।

यस्तो सम्भावना देखेपछि प्रचण्डले पाण्डे नजिक मानिएका तिमिल्सिनालाई पार्टीमा भित्र्याए । अर्कोतर्फ अझै पनि नेकपा एमालेका स्थानीय नेताहरु प्रचण्डको पक्षमा खुलिसकेका छैनन् ।

यसअघि उमेदवारीको दाबी गरेका नेता रामप्रसाद न्यौपाने लगायतका नेताहरु कुनै कुनै कार्यक्रममा देखिए पनि प्रचारमा भने लागेका छैनन् । प्रचण्डलाई यतिबेला एमालेका देवी ज्ञवाली र राप्रपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका बद्री तिमिल्सिना नै चुनावी कमाण्डरका रुपमा अघि सरेका छन् ।

एमालेका एक स्थानीय नेता भन्छन्– अहिले प्रचण्डलाई सबैभन्दा ठूलो डर हामीजस्ताको मत आउँछ कि आउँदैन भन्ने नै देखिएको छ । त्यसैले पनि उनले कहिले मदन भण्डारीको त कहिले केपी ओलीको बयान गरिरहेका छन् । एमालेको केही मत आउँदैन कि भन्ने उनीमा देखिएको छ ।”

मतका हिसावले हेर्ने हो भने चिवतन क्षेत्र नम्बर तीनमा नेपाली काँग्रेसको मत हाबी छ । मुख्यतयाः भरतपुर महानगरका २९ वडामध्ये अधिकाँश वडा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा परेको छ । यसमा माडी नगरपालिका पनि जोडिएको छ । 

वडाध्यक्षको मतकाआधारमा कम्युनिष्ट गठबन्धन ७ हजार ३६५ मतले अगाडी देखिन्छ ।  भरतपुर महानगरको १९ वडामा नेपाली कांग्रेसले २३ हजार ४८७ मत ल्यायो । माडी नगरपालिकामा कांग्रेसले ल्याएको ३ हजार ४३६ मत जोड्दा कांग्रेसको मत २६ हजार ९२३ हुन जान्छ । 

राप्रपाले ल्याएको ८ हजार ३१० मत जोड्दा कांग्रेस राप्रपाको संयुक्त मत ३५ हजार २३३ हुन्छ ।

यता भरतपुर महानगरको १९ वटा वडामा नेकपा एमालेले २० हजार २५६ मत प्राप्त गरेको छ ।  उसले माडी नगरपालिकामा प्राप्त गरेको मत ४ हजार २३८ हो । यो दुई क्षेत्रको मत जोड्दा एमालेले कुल २४ हजार ५९८ मत प्राप्त गरेको छ । 

माओवादी केन्द्रले भरतपुर महानगरको १९ वटा वडामा १४ हजार ३३८ मत ल्याएको छ ।  माडी नगरपालिकामा माओवादीको मत ३ हजार ७६६ हो । यो दुई ठाउँको मत जोड्दा माओवादी केन्द्रको कुल मत १८ हजार १०४ हुन आउँछ । यो मतलाई एकल विश्लेषण गर्दा कांग्रेस अघि छ ।  त्यसैले अहिले प्रचण्ड कांग्रेसलाई बढि चिढ्याउने पक्षमा देखिँदैनन् ।

उनले सकेसम्म कांग्रेसका स्थानीय कार्यकर्ता पनि फकाउने प्रयासमा छन् । यसअघि स्थानीय तहको निर्वाचनका बेला माओवादी केन्द्रका नेता तथा कार्यकर्ता कांग्रेस कार्यकर्ताको घर घरमा पुगेर रेणु दाहाललाई मत मागेको आधार पनि बाँकी रहेको छ ।

त्यसबेला कांग्रेसको नाडी छाम्ने गतिलो मौका माओवादी केन्द्रले पाएको छ । आइतबार भएको चुनावी सभाका क्रममा पनि रेणुले कांग्रेसका स्थानीय नेताहरुलाई प्रचण्डसँग परिचय गराउने मौका पाएकी थिइन् ।

चितवनमा भएका हरेक कार्यक्रममा उनले बीपी, गणेशमान र गिरिजा प्रसाद कोइरालालाई पटक पटक सम्झिएका छन् । उनले गिरिजाबाबुले मर्ने बेलामा पनि देशको जिम्मा आफूलाई लगाएको भन्दै भाषण गरेका छन् ।

 

यस्तो छ उनले जारी गरेको प्रतिवद्धतापत्र 
आदरणीय जनसमुदाय,
न्याय, समानता र समृद्ध नेपालको स्थापनाका लागि सामन्ती राज्यव्यवस्थाविरुद्ध जनताले सञ्चालन गरेका जनआन्दोलन, महान् जनयुद्ध, मधेश, जनजाति, थारु, महिला, दलित, उत्पीडित क्षेत्र लगायतका आन्दोलनमा सहादत प्राप्त गर्ने महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको कार्यान्वयनसँगै सङ्क्रमणकालको अन्त्य गरी आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने क्रममा यतिखेर हामी आम निर्वाचनको संघारमा छौं । यो निर्वाचन नेपाली जनताका लागि ऐतिहासिक निर्वाचन हो । यसले देशमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको ढोका खोल्ने र मुलुकलाई नयाँ युगतर्फ डो¥याउने हाम्रो विश्वास छ । यही विश्वास र अपेक्षालाई यथार्थमा परिणत गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेपाली क्रान्तिका नायक कमरेड प्रचण्डको योगदानबारे थप चर्चा गरिरहन नपर्ला ।

क. पुष्पकमल दाहाल “प्रचण्ड” चितवनवासीको लागि नौलो नाम होइन । २०१९ सालमा कास्कीबाट हालको भरतपुर महानगर–१४ शिवनगरमा बसाईं आएपछिका सबै राजनीतिक एवम् पारिवारिक आरोह–अवरोहको साक्षी चितवनका सचेत जनता रही आउनुभएको छ । खास गरी क. प्रचण्डको राजनीतिक विकासलाई मलिलो भूमि प्रदान गर्ने चितवनकै उर्वर वामपन्थी एवम् विद्रोही परिवेश रहेको छ ।

हाम्रो पार्टी समृद्ध नेपाल बनाउन प्रतिबद्ध छ । आगामी केही वर्षहरु नेपालमा आर्थिक क्रान्तिका वर्षहरु रहने छन् । पुरानो सामन्तवादी युगको अन्त्य भए तापनि नेपाली जनताका घर–आँगनमा समृद्धि, विकास, न्याय र समानता अझ आइपुगेको छैन । आगामी केही वर्ष नेपालमा औद्योगिकरण, कृषिमा आधुनिकीकरण, सडक, रेल, विद्युत, टेलिफोन र इन्टरनेट सञ्जालको व्यापक विस्तार, रोजगारी, आवास, स्वास्थ्य, शिक्षा, मनोरञ्जनमा आम मानिसहरुको पहुँच पु¥याएर समाजवाद उन्मुख आर्थिक सामाजिक विकासको वर्षको रुपमा अघि बढाइने छ ।

एकात्मक सामन्ती पुरानो प्रतिक्रियावादी नेपाल भत्काएर नयाँ नेपाल निर्माणको राजनीतिक क्रान्तिको नेतृत्व गरेको हाम्रो पार्टी र सर्वाेच्च नेतृत्व क. प्रचण्ड मूलतः चितवनको उत्पादन हो । चितवनकै भूमिबाट राजनीतिक जीवन सुरुवात गरी यहीँ टेकेर यति ठूलो जनक्रान्तिको नेतृत्व गर्न सक्षम हुनु सम्पूर्ण चितवनवासीका लागि गौरवको कुरा हो ।

देशलाई समृद्ध गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादमा पु¥याउन पुनः नयाँ प्रतिवद्धताका साथ हाम्रो मुख्य नेतृत्व क. प्रचण्ड चितवनबाटै यसको नेतृत्व गर्ने संकल्पका साथ आउनुभएको छ । चितवनका जनताको विश्वासको बलमा राष्ट्रिय नेतृत्व लिएर देशलाई समृद्धि र समानताको नयाँ अभियानको बाटोमा अगाडि बढाउने संकल्प क. प्रचण्डको रहेको छ ।

नेपाललाई समृद्ध र विकसित राष्ट्रका रुपमा निर्माण गर्न अग्रगामी शक्तिहरुको बहुमतको सरकार तत्कालीन आवश्यकता हो । यही आवश्यकतालाई पूरा गर्न नेकपा एमालेसँग पार्टी एकताको उद्देश्यसहित चुनावी गठबन्धनको अगुवाई क. प्रचण्डले गर्नुभएको सर्वविदितै छ । यो परिप्रेक्ष्यमा चितवनको समृद्धि र विकास जति छिटो र गतिमा हुन्छ, त्यही गतिमा देशको विकास र समृद्धि गर्न सकिन्छ भन्ने दृढ विश्वास सहित चितवनलाई देशको विकासको नमुना ९ःयमभ०ि बनाउन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा क. प्रचण्ड उम्मेदवार बन्नुभएको छ ।

क. प्रचण्ड चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार भएपनि उहाँलाई सिंगो चितवनवासीको साझा उम्मेदवार र अभिभावकका रुपमा, विकास, समृद्धि र एकताका प्रतीकका रुपमा लिइएको छ । नेपाललाई समाजवादी युगमा पु¥याउने उदात्त चिन्तन र गतिशील नेतृत्व दिँदै आएका क. प्रचण्ड सिँगो देशको आवश्यकता हुन् । सबै राजनीतिक दल, संघ–संस्था, बौद्धिक व्यक्तित्व, नागरिक समाजको साझा अभिभावकका रुपमा चितवनवासी जनसमुदायका बीचमा उहाँलाई उभ्याउन पाउँदा हामी गौरवान्वित बनेका छौं ।

समृद्ध चितवनका लागि उहाँले चितवनका सातैवटा पालिकाहरु एकीकरण गरी “चितवन मेट्रो सिटी” बनाउने उद्देश्यसहित विकास र समृद्धिको खाका र प्रतिबद्धता–पत्र प्रस्तुत गरेका छौं ।

(क) प्रचण्ड रोजगार योजना

१. उद्योग, कृषि, सेवा, यातायात लगायतका क्षेत्रहरुबाट आगामी ५ वर्षभित्र ५०,००० नयाँ रोजगार सिर्जना गरिने छ । यस्ता रोजगारहरुमा चितवनका विपन्न परिवारलाई प्राथमिकतामा राखिने छ । चितवनको औद्योगीकरणका लागि चालु योजनाहरुको कार्यान्वयन तथा नयाँ योजनाहरुका माध्यमबाट रोजगारीका थप अवसर सिर्जना गरिने छ ।

(ख) प्रचण्ड आवास योजना

२. भूमिहीन सुकुम्बासीहरुलाई पहिलो प्राथमिकताका साथ उनीहरु हाल बसोबास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा बहुतलाको आधुनिक आवास गृह निर्माण गरी वितरण गरिने छ ।

३. सामन्तवादबाट देश पूँजीवादमा पाइला टेक्दै गएको यो समयमा सुकुम्बासी समस्याको स्थायी समाधानका लागि आवास र रोजगारीको सन्तुलनबाट हल गर्ने उद्देश्य लिइएको छ ।

(ग) चितवन, औद्योगिक नगरी

४. कालिका नगरपालिकामा क. प्रचण्ड प्रधानमन्त्री हुँदा घोषणा गरिएको “औद्योगिक क्षेत्र” को समग्र विकासमा एकीकृत योजना निर्माण गरिने छ । औद्योगिक क्षेत्र शक्तिखोरमा पुग्ने फराकिलो सडक निर्माण, खानेपानी, विद्युत, सञ्चार, आदि सुविधा पु¥याइने छ । औद्योगिक क्षेत्रमा देशभित्र र बाहिरका उद्योगीहरुलाई व्यापक रुपमा आकर्षित बनाई आगामी पाँच वर्षभित्र औद्योगिक शहर निर्माण गरिने छ ।

५. ठोरी नाकालाई व्यवस्थित बनाई भारतसँगको व्यापार तथा सुख्खा पारवहनलाई नियमित गरिने छ ।

६ पूर्वी चितवनको उपयुक्त स्थानमा तीन नम्बर प्रदेशको तेल भण्डारण निर्माण गरिने छ ।

(घ) समृद्ध माडी, सम्पन्न माडीवासीको सपना

७. माडी दुर्गम, विपन्नता र प्राकृतिक प्रकोपले वर्षेनी ठूलो जनधनको क्षति भइरहने क्षेत्र हो । यसको हल गुणात्मक ढंगले निकाल्न जरुरी छ । राष्ट्रिय निकुञ्ज चितवनवासीको गौरव भइरहँदा माडीबासीका लागि कतिपय सन्दर्भमा अभिशाप बनेको छ । आगामी पाँच वर्षमा माडी र बाँकी चितवन जोड्ने गरी राष्ट्रिय निकुञ्जमा सुरुङ्गमार्ग सडकमध्ये एक निर्माण गरिने छ । यो सडक निर्माणले यातायात, विद्युत, टेलिफोन, इन्टरनेट सेवा उपलब्ध हुन सहज हुनेछ । यसको साथै रिउ कोरिडोर  यसै अवधिमा पूरा गरिने छ । माडी रिङ्गरोडको करीब ४० किमी सडक निर्माणको ठोस पहल अघि बढाइने छ । यसबाहेक स्थानीय तहले अघि सारेका विकास निर्माण र जनजीविकाका क्षेत्रका योजना तथा कामहरुलाई गुणात्मकरुपमा पूरा गर्न विशेष पहल गरिने छ ।

८. जनयुद्धका क्रममा हाम्रो पार्टीको भूलवश भएको बाँदरमुढे दुर्घटनामा दिवङ्गतहरुको चिरस्मरणमा एक पार्क निर्माण गरिने छ ।

९. राष्ट्रिय निकुञ्जका जङ्गली जनावरहरुका कारण यस क्षेत्रका जनताले सास्ती झेल्नु परिरहेको अवस्थालाई अन्त्य गर्न निकुञ्जसँग जोडिएका बस्ती क्षेत्रमा पी.सी.सी. वालसहितको मेस जाली जडान गरिने छ ।

(ङ) चितवन, कृषि शिक्षा र उत्पादनको मुख्य केन्द्र

१०. कृषि तथा वन विज्ञान विश्वविद्यालय देशकै एक मात्र प्राविधिक विश्वविद्यालय हो । यसलाई आगामी दिनमा केन्द्रीय विश्वविद्यालयका रुपमा अघि बढाइने छ । साथै रामपुरमा हाल थोरै मात्रामा रहेको विद्यार्थी संख्यालाई बढाएर अहिलेको भन्दा दशौं गुणा बढी विद्यार्थीहरु पढ्न सक्ने सामथ्र्य विकास गरिने छ । साथै यहाँ केही हजार विदेशी विद्यार्थीहरुलाई समेत आकर्षित गरिने छ । साथै कृषि क्रान्तिको प्राविधिक नेतृत्व गर्न सक्षम जनशक्ति विश्वविद्यालयमार्फत् निर्माण र परिचालन गरिने छ ।

११. कृषि तथा वन विज्ञान विश्वविद्यालय, सामुदायिक विद्यालय, त्रिविको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसको स्तरीकरणका लागि विशेष पहल गरिने छ साथै सामुदायिक क्याम्पस वा कलेजलाई पनि सरकारबाट निश्चित अनुदानको व्यवस्था गरिने छ ।

१२. किसानलाई आधुनिकीकरण गर्न अति आवश्यक भइसकेको छ । तसर्थ जमिनको चक्लाबन्दी गरी सहकारीकरण वा अन्य माध्यमबाट ठूलो स्केलमा कृषि फर्मको विकास र विस्तार गरिने छ । कृषकलाई आधुनिक खेती प्रणालीसँग अवगत गराई कृषि उब्जनी वृद्धि गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सहकार्य
गरी “कृषक पाठशाला” सञ्चालन गरिने छ । यस्ता पाठशालामा किसानहरुलाई उन्नत खेती प्रणालीबारे व्यवहारिक ज्ञान दिइनेछ ।

(च) सामुदायिक शिक्षामा क्रान्तिकारी विकास

१३. चितवनमा रहेका सप्तगण्डकी क्याम्पस, बालकुमारी कलेज, माडी कलेज र शहिद स्मृति कलेजजस्ता सामुदायिक कलेजसँगको सहकार्यमा चितवनमा एउटा पब्लिक विश्वविद्यालय स्थापना गरिने छ ।

१४. विद्यालय शिक्षाको स्तरीकरणका लागि उचित नियमनको व्यवस्था गर्न चितवनका ७ वटै स्थानीय तहसँग समन्वय र सहकार्य गरिने छ । नमूना विद्यालयका रुपमा स्थापित भइसकेको नारायणी मा.वि. ले अवलम्बन गरेका शैक्षिक क्रियाकलापहरुको जिल्लाव्यापी विस्तार अनुकुलन गरी चितवन जिल्लाका कम्तिमा २५ प्रतिशत विद्यालयहरु नमूना विद्यालय बनाइने छ । साथै वडाहरुमा गरीब तथा न्यून आय भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि तत्काल मन्टेश्वरी कक्षासहितको सामुदायिक विद्यालय स्थापना गरिने छ ।

(छ) समृद्ध र विकसित चितवनको सपना

१५. चितवनमा मेट्रो/मोनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई अघि बढाइने छ ।

१६. मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नति गरी त्यसलाई सञ्चालनमा ल्याइने छ र भरतपुर–मेघौली सडक यातायातलाई २०÷२५ मिनेटमा ओहोर–दोहर गर्नसक्ने ढङ्गले स्तरोन्नति गरिने छ ।

१७. नवलपुर खण्डसँग जोडेर समग्र पश्चिम चितवनको विकास गर्न नारायणी नदीमा ३ वटा थप पुल निर्माण गरिने छ ।

१८.नारायणी र राप्ती नदिमा तटबन्धन गरी फराकिलो रिङ्गरोड निर्माण गरिने छ । पूर्वी चितवनको कयर खोला, राप्ती आदि नदीमा समेत तटबन्धन गरी त्यहाँ सडक निर्माण गरिने छ ।

१९. चितवनमा तीव्ररुपले शहरीकरण भइरहेको छ । खेतीयोग्य जमिनको सीमितिकरण हुँदैछ । आगामी दिनमा खेतीयोग्य, औद्योगिक क्षेत्र र आवास क्षेत्रका रुपमा भूमिको वर्गीकरणको नीति लिइने छ ।

२०. भण्डरा–मलेखु सडकलाई स्तरोन्नतिसहित पूर्णता दिइने छ । शक्तिखोर–फिस्लिङ् सडक निर्माण गरिने छ ।

२१. शारदानगरमा अन्तर्राष्ट्रियस्तरको खेलकूद रङ्गशाला निर्माण गरिने छ ।

२२. चितवनमा अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन पार्क (फनपार्क) निर्माण गरिने छ । उक्त पार्कको नामाकरण शहीदहरुको नाममा राखिने छ ।

२३. जोखिमपूर्ण बस्तीको स्थानान्तरण, नदीले कटान गरिएका जमिनको क्षतिपूर्ति, बाँदरझुलाका जनताको भरपर्दो र वैज्ञानिक समाधान निकालिनेछ ।

२४. चितवनमा सञ्चार अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गरिने छ । यसका साथै,

मर्यादित र जिम्मेवार, र स्वतन्त्र प्रेस क्षेत्रको विकास र पत्रकारको सुरक्षा र क्षमता अभिवृद्धिका लागि केन्द्रीयस्तरमा नेपाल पत्रकार महासंघ र सञ्चारसँग सम्बन्धित निकायहरुले अघि सार्दै आएका माग तथा अवधारणा पुरा गर्न विशेष भूमिका निर्वाह गरिने छ ।

चितवनमा आमसञ्चार तथा सञ्चारकर्मीहरुको सर्वाङ्गण विकासका लागि ‘आमसञ्चार प्रतिष्ठान’को निर्माण गरिने छ ।

स्थानीय तथा सामुदायिक सञ्चारलाई समानुपातिक विज्ञापन, अनुदान तथा विज्ञापनका लागि सहज हुने नीतिगत व्यवस्था र कार्यान्वयनका लागि पहल गरिने छ ।

(ज) पर्यटकीय चितवन नगरीका लागि विशेष योजना

२५. देशको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनको समग्र विकास गर्दै राष्ट्रिय निकुञ्ज, ताल–तलैया, सामुदायिक वन, कृषि तथा जडिबुटी फार्म, औद्योगिक क्षेत्र, शिक्षालय, पहाडी पदयात्रा, जङ्गल पदयात्रा, साहसिक पर्यटनलगायतको विकास तथा प्रबद्र्धन गर्दै यातायातको व्यवस्था (प्रस्तावित रेल, सडक सञ्जाल तथा एयरपोर्ट) को उचित व्यवस्थापन गर्ने । चितवनलाई पहिलो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने । प्राङ्गारिक कृषिको पनि उचित प्रवद्र्धन साथै कृषि पर्यटनको पनि विकास गर्दै चितवनको पर्यटन व्यवसायलाई मर्यादित बनाउँदै विश्व समुदायमा नै चितवनको पहिचान स्थापित गरिने छ ।

२६. देवघाट, मौलाकालिका क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न गुरुयोजना तयार गरिने छ । यसअन्तर्गत देवघाटको समग्र क्षेत्रको संरक्षण, पुनर्निर्माण, प्रवद्र्धन, विद्युतीय शवगृह तथा वृद्वाश्रमको निर्माण गरी त्यसको संरक्षण र विकास गरिने छ ।
चितवनलाई मेडिकल राजधानी बनाइने

२७. चितवन जिल्ला केही वर्षयता मेडिकल राजधानीका रुपमा तीब्र विकास भईरहेको छ । देशकै स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रुपमा यसलाई विकास गर्न विशेष योजनाको निर्माण गरी आवश्यक पहल गरिने छ ।

२८. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई विकास गरी मेडिकल कलेजको रुपमा निर्माण गर्ने योजना बनाइने छ ।

२९. क्षयरोग, मलेरिया, डेंगु, एचआईभीलगायतका सङ्क्रामक रोगहरुविरुद्ध प्रभावकारी कदमका लागि केन्द्रीयस्तरमा विशेष कार्यक्रम, एचआइभी सङ्क्रमित एकल महिला तथा बालबालिकालाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने ।

चितवनको विकास निर्माणको स्वामित्व

३०. चितवन जिल्लाका ७ वटै पालिकाले बनाएका योजनाहरुको स्वामित्व लिई ती योजना लागू गर्न पालिकाहरुलाई सहयोग र नेतृत्व गरिने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  ०६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC