ad

ब्लग

नन्दप्रसादको जुठो 

‘गोविन्द बाबु, तपाईँहरू त जुठोमा हुनुहुन्छ नि ।’ बस्नेबित्तिकै किशोर दाइले भने । 

म बाह्रखरीबाट घर फर्कँदै थिएँ । झम्के साँझ परिसकेको थियो । मेरो घर नजिकै बाटामा किशोर दाइ अलमलिएर बसेका रहेछन् । उनलाई चिनेपछि मैले ‘नमस्कार दाइ’ भने । उनी मेरो घर पहिल्याउन नसकेर अलिएका रहेछन् । सन्चोबिसन्चो  सोध्दै हामी घरभित्र पस्यौँ । 

म जिल्ल परेँ । किशोरकुमार गौतम हल्का कुरा गर्ने व्यक्ति हैनन् । उनलाई म व्यक्तिगतरूपमै पनि २०३८ सालतिरबाट चिन्छु । मैले सुरुमा चिन्दा किशोर दाइ बर्दिया रेडक्रसका सभापति थिए । नेपाल रेडक्रसका महाधिवेशनहरूमा उनको भूमिका देखेर म प्रभावित भएको थिएँ । बिस्तारै उनी नेपाली कांग्रेससँग सम्बद्ध भएको थाहा भयो  । त्यतिबेला कांग्रेस हुन सजिलो थिएन । यस्ता संस्थामा त झन् अप्ठेरो थियो । कांग्रेसहरू कम्युनिस्टजस्तो लुकाउन पनि नजान्ने र दरबार पनि कांग्रेसलाई देखिनसहने ।

त्यसैले उतिबेला कांग्रेसहरूबीच बेग्लै आत्मीयता हुन्थ्यो । किशोर दाइका बारेमा जति थाहा भयो श्रद्धा पनि बढ्यो । रेडक्रसका धेरै सहकर्मीसँग सम्पर्क टुटे पनि कहिलेकहीँ भेटघाट भइरहन्थ्यो ।

किशोर दाइ कुनै न कुनै परोपकारी काममा लागिरहने हुनाले त्यस्तै केही कुरा होला भन्ने ठानेको थिएँ । तर, उनले यसपटक झसंगै बनाए । 

'मैले बुझिन दाइ के भन्नु भएको ?' 

'बाबुहरू अधिकारी हैन ? अनि अधिकारीहरू सबैलाई जुठो छ त । नन्दप्रसादको सदगत भएको छैन । उनको सदगत नहुँदासम्म सबै अधिकारीलाई जुठो लाग्छ ।' किशोर दाइले खुलस्त पारे !

केही दिन पहिले किशोर दाइ वीर अस्पतालमा गंगामायालाई भेट्न गएका रहेछन् । बिरामीको सेवा त किशोर दाइको रुचिकै विषय भइहाल्यो । सत्याग्रही गंगामायाप्रति पनि श्रद्धा हुनु स्वाभाविकै हो । गंगामायालाई भेटेपछि नन्दप्रसादका सम्बन्धमा चासो र चिन्ता लाग्नु त झन् स्वाभाविक हो । त्यसैले दाइले मलाई झस्काएका रहेछन् र सम्झाएका रहेछन् । अरू अधिकारीहरूलार्इ पनि भनेका छन् रे !

गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया माओवादीले मारेका १६ वर्षीय बालक कृष्णप्रसादका बाबुआमा हुन् । चितवनमा २०६१ साल जेठमा भर्खर एसएलसीको परीक्षा दिएका छोराको हत्यारालाई कानुनबमोजिम सजाय गरिपाऊँ भनेर रोइकराई गर्दा केही नलागेपछि नन्दप्रसाद दम्पतिले सत्याग्रह सुरु गरेका थिए । सत्याग्रह थालेपछि उनीहरूलाई माओवादी सरकारले जबर्जस्ती मानसिक अस्पताल पनि पठायो । चारभञ्ज्याङ कटायो । माओवादीले धम्क्याए । मानव अधिकारवादीहरूले बेलाबखत यो विषय उठाए पनि । सरकार फेरियो । प्रधान न्यायाधीशकै अध्यक्षतामा मन्त्रिपरिषद्समेत बनाइयो । तर, बालक छोराको हत्यामा न्याय पाएनन् ।

नन्दप्रसादको प्राण अनशनमै गयो । उनको दाहसंस्कार भएको छैन शव गृहमा राखिएको छ । कान्छा छोरालाई माओवादीले मारे । जेठा छोरा बेपत्ता छन् । छोराको हत्यारालाई कारबाही नभएसम्म पतिको सदगत गर्न र सत्याग्रह छाड्न गंगामाया तयार छैनन् । केही समयसम्म सञ्चार माध्यम र मानव खधिकारकर्मीले हल्ला गरे र अहिले सबै आआफ्नै धन्दामा फर्के । 

यसबीच जति बेला नन्दप्रसादले अनशनमै प्राण त्यागे नेपाली कांग्रेसको सरकार थियो । त्यसपछि माओवादी कुनै न कुनै रूपमा सरकारमा रहेका छन् । राजनीतिसँग कुनै सरोकार नभएको बालक कृष्णप्रसादको हत्यालाई माओवादी सत्य निरुपणको विषय बनाउनुपर्छ भन्छन् । अरू पार्टीले चासो नै लिएका छैनन् । चुनावमा यस विषयलाई कसैले पनि उठाएका छैनन् । लाग्छ, गंगामायाको मृत्यु पर्खेर बसेका छन् सबै ?

यस्तोमा त सर्वोच्च अदालतले ' स्वतः संज्ञान' पनि लिनुपर्ने हो । तर, यी निरीह दम्पतीका लागि न्यायको मन्दिरमा पनि सायद ढोका खुल्दैन । देशमा राष्ट्रिय मानव अधिकार आयोग नामको एउटा संस्था पनि छ । गंगामायाका लागि त्यो पनि हुनु र नहुनुमा केही फरक भएन । अरू, विधिको शासनको कुरा च सबै ख्यालठट्टा न हुन् । 
किशोरदाइले गंगामायाका नाममा लेखेका पंक्तिहरू उद्धृत गरेर बिट मार्छु : 

गंगामाया आमा हुन् । गंगामायालाई बचाऔँ ।

आमाको मुहार हेरी दिऊँ 
मनको दुःख बुझी दिऊँ
गहको आँसु पुछी दिऊँ
न्यायको ढोका खोली दिऊँ । 

के अधिकारीहरू नन्दप्रसादको जुठोबाट कहिल्यै मुक्त हुन नसक्ने हुन् ? के नन्दप्रसाद दम्पतीले न्याय पाउने विषय किशोरकुमार गौतमको मात्र चासो र चिन्ताको विषय हो ?

  
 

तपाईंको मत