ad

खेल

मैदानमै रोएका महान गोलरक्षक बुफोनको निराश बिदाई

एजेन्सी । खेलाडीले सोचेका हुन्छन्, खेल जीवनको अन्तिम खेल सुखद होस, सुखद बिदाई होस् । कहिलेकाहीँ खेलाडीले सोचेको जस्तो पनि हुँदैन ।  इटालियन गोलरक्षक तथा कप्तान जियानलुइजी बुफोनले पनि सोचेका थिए, आफ्नो कप्तानीमा इटालीलाई विश्वकपमा छनोट गराउने र ग्लोभ्स थन्क्याउने ।

तर, ३९ वर्षे बुफोनले सोचेको जस्तो भएन । विश्वकप छनोटको प्ले अफमा स्विडेनसँग समग्रमा १–० ले स्तब्ध हुँदै इटाली अर्को वर्ष हुने विश्वकपबाट बाहिरियो । बुफोनको विदाई निराशाजनक बन्यो ।

इटालीलाई विश्वकपमा पुर्याउन असफल भएपछि दुई दशक इटालीको गोल पोस्ट सम्हालेका बुफोन मैदानमै रोए । बुफोनले आँसु थाम्न सकेनन् । खुसीले भन्दा दुःखले रोए । कारण महान गोलरक्षक कहलिएका बुफोन आफ्नो अन्तिम खेल सुखद रहोस् भन्ने चाहन्थे । तर, २००६ मा इटालीले विश्वकप जित्दा महत्वपूर्ण सदस्य रहेका बुफोनले सोचेको जस्तो भएन ।

विश्वकपमा पुग्ने लक्ष्य तुहिएपछि बुफोनले कडै प्रतिक्रिया दिए, “अन्तिम समयमा विश्वकपमा छनोट हुन नसक्नु लाजको कुरो हो । यसको दोष सबैले बराबर लिनुपर्छ ।” 

बुफोनको प्रतिक्रियामा ५९ बर्षपछि पहिलोपटक इटाली विश्वकपमा छनोट हुन् नसक्नुको पीडा झल्कन्छ । इटाली सन् १९५८ पछि विश्वकप बाहिर पुगेको हो । 

सन् १९९७ मा इटालीको राष्ट्रिय टिमबाट डेब्यु गरेका बुफोनको टोलि इटाली अर्को बर्ष रुसमा हुने विश्वकपमा छनोट नभए पनि बुफोनलाई भने सबैले सम्झनेछन् । एक महान गोलरक्षकका नाताले । ६ फिट तीन इन्च अग्ला बुफोनले सन् २०११ बाट इटालीको कप्तानी सम्हालेका थिए ।

इटालीको कप्तानी सम्हालेपछि बुफोन सफल समेत रहे तर, विश्वकपमा छनोट गराउन नसक्नु उनको दुखद पाटो रह्यो । अन्ततः, स्विडेनसँगको हारसँगै बुफोनले इटालियन फुटबलसँगको २० बर्षे यात्रा टुंग्याए ।

इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ गरी चार पटक विश्वकपको उपाधी जितेको थियो ।  यस्तै  इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो । बुफोनको टोली सन् २०१८ को विश्वकपमा भने चुक्यो ।  

तर,अन्तिम समयमा विश्वकप बाहिर भएपछि कप्तान बुफोनले यो हारले इटालियन फुटबलले थप उचाई लिने प्रेरणादायी भनाई राखे । बुफोनले भने, “इटालीयन फुटबलको भविष्य निकै राम्रो छ, हामीसँग हाम्रो इतिहास छ, खुबी छ,  हामीसँग धैर्यता र  खराब परिवेशबाट बाहिर निक्लने क्षमता छ ।”

इटालीको राष्ट्रिय टोलीबाट १७५ खेल खेलका बुफोनलाई विश्व फुटबलले उत्कृष्ट गोल रक्षकको नाताले मात्र हेर्दैनन् । उनलाई हेर्ने नजर फरक छ । 

बुफोन खेलाडी मात्र नभएर कुशल व्यवस्थापक समेत हुन् । बुफोनसँग बल रोक्ने खुबी मात्र नभएर खेलाडीलाई ड्रेसिङ रुममा उर्जावान बनाउने क्षमता छ । त्यसैले त् बुफोनको कप्तानीमा युभेन्टसले इटालियन क्लब फुटबलमा उपाधिको चाङ बनाएको छ । 

क्लब फुटबलमा अझै केहीसमय देखिने बुफोनले आफ्नो करियरमा दुई क्लब मात्र रोजे ।  पार्माबाट क्लब फुटबल सुरु गरेका बुफोनले त्यसपछि युभेन्टसबाट खेलिरहेका छन् ।  सन् २००१ मा पार्माबाट कीर्तिमानी मूल्य ५२ मिलियन युरोमा युभेन्टस आएका बुफोन त्यसयता निरन्तर युभेन्टसको खम्बा बनेर बसिरहेका छन् ।

पर्माका लागि १६८ खेल खेलका बुफोनले युभेन्टसबाट ४९६ खेल खेलिसकेका छन् । बुफोनले युभेन्टसबाट १० पटक इटालियन सिरी ए को उपाधि जितिसकेका छन् । इटालियन सिरी ए फुटबल र  इटालीकै गोल रक्षकमध्ये कम गोल खाने गोलरक्षक हुन् बुफोन ।
 

तपाईंको मत