ad

अन्तर्वार्ता

हतियार उठाएर सत्ता कब्जा गर्छौैं भन्ने पहिलो पार्टी कांग्रेस नै हो

दीपकप्रकाश भट्ट, उमेदवार –कञ्चनपुर–३

कञ्चनपुर क्षेत्र नम्बर ३ मा कम्युनिष्ट गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका डा. दीपकप्रकाश भट्ट नेपाली कांग्रेसका नेता रमेश लेखकसँग चुनावी मैदानमा छन् ।
विशेषगरी महाकाली नदीको बाढी नियन्त्रण, सुविधासम्पन्न अस्पताल र मझगाउँ विमानस्थल निर्माण मुख्य एजेण्डा रहेको यस क्षेत्रका मतदाताहरुले यहाँको समग्र विकासका लागि अन्य पूर्वाधारको पनि अपेक्षा राखेका छन् ।

यिनै एजेण्डा लिएर कम्युनिष्ट गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका भट्टसँग चुनावी रणनीतिका साथै समसामयिक विषयमा केन्द्रित रहेर बाह्रखरीका केशव सावदसुरञ्जन घिमिरेले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा गरेको कुराकानी :


कम्युनिष्ट गठबन्धनको चुनावी तयारी कस्तो छ ? 

कञ्चनपुरमा कम्युनिष्ट गठबन्धनको तयारी पर्याप्त भएको छ । पहिलो चरणमा हामीले खासगरी पार्टीको ७ सदस्यीय एकता संयोजन समिति बनाएका छौं । ४ एमालेका र  ३ माओवादी केन्द्रका साथीहरु हुनुहुन्छ । त्यसमा संयोजक एमाले अध्यक्ष तारालामा तामाङ र सहसंयोजकमा माओवादीका 

वीरबहादुर थापा ‘पाताल’ हुनुहन्छ । त्यो सँगसँगै तीनै क्षेत्रमा यो एकता समितिको मर्म र स्प्रीटअनुरुप संयुक्त निर्वाचन परिचालन कमिटि गठन गरेका छौं । मूल भेला गर्ने गरी जिल्ला र क्षेत्रीय कमिटि निर्माण गरेका छौं । त्यसै समितिअन्र्तगत १७ गते २ नम्बर क्षेत्रमा, १९ गते १ नम्बर क्षेत्रमा र २० गते ३ नम्बर क्षेत्रमा कार्यक्रम गरेको छ । त्यसै गरी प्रदेशसभाअन्र्तगत ६ सिटका लागि पनि त्यसैअनुरुप निर्वाचन परिचालन कमिटि गठन गरेर अगाडि बढेका छौं । 

गठबन्धन भएको छ भनेर कत्तिको ढुक्क हुनुभएको छ ?

त्यस्तो होइन, पपुलर भोट त्यसो हुँदैन । चुनाव भनेको जहिले पनि स्वीङ भोट रहिरहन्छ । सोसाइटीमा कुनै एउटा एजेण्डाले पनि प्रभावित पार्छ । स्थानीय निर्वाचनमा चुनाव लड्दा चाहिँ स्वीङ भोटले प्रभाव पारे पनि वडामा ५ जना उम्मेदवार थिए । त्यसले त्यो टिमवर्कले आफ्नो तवरले भोट तान्ने काम गरेको थियो । त्यो अवस्था अहिले छैन ।

अहिले माथि १ (प्रतिनिधिसभा) र तल २ जना (प्रदेशसभा) उमेदवार छन् । ३ जना उमेदवारले मात्रै प्रचार गर्ने भन्दा पनि पार्टी संरचनाअनुरुप प्रचारमा एक ढिक्का भएर जानुपर्छ भन्ने मान्यताअनुरुप एकदमै सचेत भएर परिचालन गरिरहेका छौं । त्यसकारण अलिकति नेपाली कांग्रेसको अर्को ढंगको परिचालन केही देखिएको हो कि भन्ने जुन कुरा आइरहेको छ, त्योभन्दा हामी व्यवस्थित ढंगले गइरहेका छौं । अब हामी घरदैलो र टोलसभाको कार्यक्रम सुरुवात गर्दैछौं ।

निर्वाचन क्षेत्र नम्बर ३ मा तपाईं नयाँ हो । जनतामाझ कसरी जाँदै हुनुहुन्छ ?

मेरो अनुहार नयाँ हो भन्ने विषय प्रमुख होजस्तो मलाई लाग्दैन । पहिलो पटक चुनाव लड्दा जोसुकैको पनि अनुहार नयाँ हुन्छ । म भीमदत्त नगरपालिका–५ को बासिन्दा हुँ । म यहीँ जन्मिएको, हुर्किएको र पछिल्लो समयमा पार्टीको मेची–महाकाली ३ महिने अभियान लगायतका सम्पूर्ण अभियानमा जिल्लामा रहेर सक्रियतापूर्वक काम गरेको छु । पार्टीले उच्चस्तरमा दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको छु । स्थानीय तहको निर्वाचनमा पनि सबै क्षेत्रमा पुगेर आफ्ना उमेदवारलाई जिताउने अभियानमा खटिएकै हुँ ।

अब जनतामाझ जाने कुरामा पहिलो कुरा पार्टी संगठन, दोश्रो कुरा कम्युनिष्ट गठबन्धनले उठाएका एजेण्डा र तेस्रो कुरा त्योसित जोडिएको विषयवस्तुहरु छन् । यो क्षेत्रको विकास र विकास हुन नसकेका मूल मर्महरु कहाँ छोडिएको छ ? तिनलाई जनतामाझ लैजाने हो । नेपालको सात दशक लामो राजनीतिमा जुन उथलपुथल छ । थुप्रैपटक नेपाली कांग्रेसलाई जनताले नेतृत्व गर्ने मौका दिएका थिए, तर त्यो भरपर्दो र विश्वासयोग्य भएन । कांग्रेसले राष्ट्रको पक्षमा वा राष्ट्रियताको पक्षमा भन्दा पनि विदेशी प्रभुहरुको चलखेलमै आफ्नो समय बितायो । यो कुरालाई पनि जनतालाई बुझाउन जरुरी छ । यीबाहेक हामीले तयार पारेका विकासका एजेण्डाहरु पनि जनतासामु लिएर जान्छौं ।

क्षेत्र नम्बर ३ का लागि तपार्इंको आफ्नो प्रमुख एजेण्डा के कस्ता छन् ?
 

यो क्षेत्रमा लामो समयसम्म कांग्रेसले नेतृत्व गरेको छ । यो लामो समयमा पनि कांग्रेसले गर्नुपर्ने विकासका कुराहरु गर्न सकेको छैन । जनताको मन जित्नु पनि पर्यो र त्यो व्यवहारमा देखाउनु पनि पर्यो । त्यो काम कांग्रेसबाट हुन सकिरहेको छैन । त्यसको नतिजा स्थानीय तहको जिल्लाभरि देखिएको परिणाम पनि हो । पछिल्लो समयमा महाकाली अञ्चल अस्पतालको हालत विजोग छ । यसलाई शिक्षण अस्पतालको रुपमा परिणत गर्ने योजना बनाएको छु ।

कम्तीमा ३ सय बेडको अस्पतालसहित डाक्टर उत्पादन गर्ने थलोका रुपमा यसलाई परिणत गर्न आवश्यक छ । अनि स्वास्थ्य समस्या समाधान हुन्छ । प्राविधिक शिक्षालय स्थापना, जडिबुटी प्रशोधन केन्द्र, मलखाद्य कारखाना, महाकाली सन्धीअनुरुप पाउनुपर्ने ३ सय क्युसेक पानी जसले दोधारा चाँदनीलाई सिञ्चित गर्न सकिन्छ । विगतमा जितेको प्रतिनिधिले यि कुरा चुइँक्क पनि बोलेका छैनन् ।

पहिला महाकाली नदी र अहिले जोगबुडा नदीको कटानले दोधारा चाँदनीबासी पीडित छन् । जोगबुढा नदी नियन्त्रण र त्यहाँ पक्की पुल निर्माण गर्ने प्रमुख लक्ष्य पनि छ । भीमदत्त र कालिपारिको दोधारा चाँदनीलाई सडक यातायात सम्पन्न बनाउन रिङ्गरोड, जोगबुढा नदी नियन्त्रण, कृषिमा आधुनिकीकरण, पर्यटन केन्द्रको स्थापना र प्रत्येक वडामा सामुदायिक भवनलगायत थुप्रै योजनाहरु अघि सारेको छु । 

तपार्इंका प्रतिपक्षी विशेषगरी कांग्रेसले  कम्युनिष्टहरुले गठबन्धन बनाएर संविधान परिवर्तन गर्दै कम्युनिष्ट एकतन्त्रीय शासन व्यवस्था लाद्न खोजेको आरोप लगाउँदै जनतामाझ गइरहेका छन् नि ?

मेरो प्रतिद्वन्द्वीले लगाइरहेको आरोप निराधार हो । उहाँहरुको यो बिचरापन हो । हतियारले सत्ता कब्जा हुँदैन भन्ने मान्यताका साथ नेपालका कम्युनिष्टहरु लोकतान्त्रिक बाटोमा हिँडिरहेका छन् । अहिले हामी यही प्रकृयाबाट धेरै अगाडि बढिसकेका छौैं । पछिल्लो राजनीतिक घटनाक्रम हेर्ने हो भने नेपालमा हतियार उठाएर सत्ता कब्जा गर्छौैं भन्ने पहिलो पार्टी नेपाली कांग्रेस नै हो ।

२००७ सालयता हेर्ने हो भने पनि पहिला कसले हतियार उठाएको हो ? त्यो प्रष्टै छ । २०२७ सालमा माले र २०५१ मा माओवादीले हतियार उठाएर सत्ता कब्जा गर्न खोजेकै हुन् । नेपालमा त्यो सम्भव नभएपछि सबैले लोकतान्त्रिक बाटो अपनाएका हुन् । २०४६ मा वामपन्थीहरुसँग कांग्रेसले सहकार्य गरेर जनआन्दोलनमा सफल भएको हो ।

त्यसयता थुप्रै पटक वाम घटकसँग सहकार्य गरेर कांग्रेसले सत्ताको नेतृत्व पनि लिएको छ । सहकार्य गर्दा वामपन्थीलाई प्रजातान्त्रिक मान्ने अनि वामपन्थीहरुले गठबन्धन गर्दा चाहिँ अधिनायकवाद लागु हुन्छ भन्नु नेपाली कांग्रेसको ‘फेक’ अभियान र भ्रम फैलाउने कुरा मात्रै हो । त्यसको कुनै आधार छैन । पछिल्लो संविधान सबै शक्तिहरुको सन्तुलनबाट बनेको हो । नेपालका वामपन्थीहरु लोकतान्त्रिक पद्धतिमा गइसेकाले कांग्रेसले जनतालाई भड्काउन र भ्रम फैलाउन यस्तो अफवाह ल्याएको हो । यो निराधार कुरा हो । 

अहिले संविधान संशोधन गर्ने पक्ष (माओवादी) र संसदमै संशोधन विफल तुल्याउने एमाले एक हुँदा अब एमाले के संशोधनकै पक्षमा जान्छ ?

नेकपा एमालेले राष्ट्रवादको कुरा उठाएको संविधान घोषणा गर्ने र संविधान संशोधन गर्ने कुरा उठेको बेला हैन, निरन्तर देशभक्ति पूर्ण र निरन्तर राष्ट्रियताको कुरा उठाउँदै आएको पार्टी हो ।

त्यसक्रममा केही त्रुटी भएका छन् भने त्यसलाई सच्याउने प्रयास पनि भएका छन् । जस्तै महाकाली सन्धीमा सम्झौता भनेर गिरिजाप्रसाद कोइरालाले भन्नुभयो, सर्वाेच्चले यो दुई देशको कुरा संसदको दुई तिहाइबाट अनुमोदन हुनुपर्छ भनेपछि त्यो एकीकृत विकाससन्धी हुँदा अहिले हामीले जे देख्यौै ती सबै कुराहरु र भोलि बन्ने पञ्चेश्वर जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत र पानी आधा–आधा बाँड्ने सिद्धान्त प्रतिपादन भएको छ । 

म आफै पनि दोधाराको कुतियाकभरदेखि दार्चुलाको लिपुलेक, छाङ्गरुसम्म पदयात्रा गरेको राष्ट्रिय कमाण्डर हुँ । म राष्ट्रियताको पक्षमा यो आन्दोलनको कुरा गरिरहेको छु । सीमाविवाद होस् या अन्य केही कुरामा पनि नेकपा एमाले राष्ट्रियताको पक्षमा अग्रपंक्तिमा छ । यहाँले उठाएको प्रश्न सान्र्दभिक छ । संशोधनको पक्षधर रहेको माओवादीसँगको साँठगाँठले माओवादीको एजेण्डा हावी भएको हो की एमालेको राष्ट्रवाद हावी हो भन्नुहुन्छ भने त्यो त ६०÷४० को स्प्रीटले देखाएकै छ ।  

तपाईंको प्रतिद्वन्द्वी कांग्रेसका नेता रमेश लेखक हुनुहुन्छ, उहाँ तीन पटक यसै क्षेत्रबाट सांसद भइसक्नु भएको छ । उहाँसँग प्रतिस्पर्धा गरेर चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ? 

म ढुक्क यस मानेमा छु कि उहाँले काम गरेको भए त्यो जनतालाई देखाउन सक्नुपर्थ्यो । एमाले र माओवादीको संयुक्त सरकारको पालामा छुट्याएको बजेटको कामलाई उहाँले शिलान्यास गर्दै हामीले गर्यौं भन्दै हुनुहुन्छ । जनताले आफैं बुझिहाल्छन्  । तीन पटक सांसद भएको मान्छेले स्वास्थ्य क्षेत्रमा ध्यान दिएको भए महाकाली अञ्चल अस्पताल सुधार भइसक्थ्यो । 

मझगाउँ विमानस्थल सञ्चालनमा आउँथ्यो होला । अहिले चुनावको मुखमा यी सबै काम मैले गर्दैछु भन्दै हुनुहुन्छ । अर्को कुरा महाकालीमा चार लेनको पुल त हामी बनाउँदै छौं भन्दै हुनुहुन्छ । यथार्थ त के हो भने केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री हुँदा त्यो पुलका लागि बजेट विनियोजन भएको हो ।

त्यो रेडबुकमा पनि उल्लेख छ । पुल बनाउनुपर्छ भनेर डेलिगेसन लिएर जाने हामी एमाले र माओवादी नेता, कार्यकर्ता हौं । अहिले उहाँहरुको सरकार छ । प्रधानमन्त्रीलाई लिएर पुलको शिलान्यास गरेर हामीले बनायौं भन्दै यसको जस लिन खोजिरहनु भएको छ ।

त्यो सरासर झूठो कुरा हो । जनताले त्यो बुझेका छन् । १८ वर्षदेखि महाकाली अञ्चल अस्पतालको अवस्था कति सुध्रियो ? त्यो लेखकजीले जवाफ दिनुपर्छ । त्यसैले यस क्षेत्रका मतदाताहरु परिवर्तनको पक्षमा छन् । एमालेको राष्ट्रियता र वर्तमान परिप्रेक्ष्यको गठबन्धनका कारण पनि म चुनाव जित्नेमा ढुक्क छु ।
 

तपाईंको मत