site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'जुत्ता बेचेर गीत रेकर्ड गरेको थिएँ\'
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


धिरज राईलाई ओमविक्रम विष्टले श्रीगणेश गरेको नेपाली पप गीतलाई नेपालमा स्थापित गर्नु थियो, स्थापित गरे । अहिले गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विश्वसामु स्थापित गर्नुछ । लागिरहेका छन् यसमै, त्यसैले त उनले निकाले एल्बम, ‘बुद्ध वाज बर्न इन नेपाल’ अर्थात् बुद्ध नेपालमा जन्मिएका हुन् । विश्वसामु यो सन्देश पुर्याउनकै लागि उनले यो गीत अंग्रेजीमै गाए । 

कसरी आयो यो सोच ?

Prabhu Bank
Agni Group
NIC Asia

धिमे, सोरठी, देउडा, साकेला, सेलो, पालान, भोजपुरी संस्कृति र लय र बुद्ध वाज बर्न इन नेपाल सहित आठ वटा गीत लिएर धिरज अन्तर्राष्ट्रिय बजारमा जाँदैछन् । यो एल्बमले नेपाली गीत र कल्चरलाई विश्वसामु पुर्याउने उनको अपेक्षा छ । 

उनी यसलाई ‘ठूलो माछा खाने प्रयास’ भन्छन् । सुरुमा धिरजलाई स्रोता तथा दर्शकमाझ चिनिनु भयो । संघर्ष गरे, चिनिए । कति उनले आफ्ना लागि गरे, कति नेपाली स्रोता तथा दर्शकका लागि गरे । अब उनलाई समग्र नेपालका लागि गर्नुछ । नेपाली संस्कार, संस्कृति र लयलाई विश्वमाझ चिनाउनु छ । बुद्ध भारतमा हैन, नेपालमा जन्मिएका हुन् भनेर विश्वलाई सुनाउनु छ । यसैलाई भनेका हुन् धिरजले बिम्बको प्रयोग गर्दै, ‘ठूलो माछा खाने प्रयास ।’ 

Global Ime bank

यो एल्बमका लागि उनलाई बेल्जियमको बी.बीभीए विमन रेकर्डस्ले सहयोग गर्दैछ । यसले पश्चिमा कलाकारलाई पूर्वी देशमा ल्याउने र पूर्वीया कलाकारलाई पश्चिमा देशमा लैजाँदै आएको छ । 

बी.भी.बीए.विमन रेकर्डस्ले धिरजलाई ६० लाख खर्चिनेछ । अहिलेसम्म ६० प्रतिशत काम सकेका धिरजलाई विश्वमा जान अब ६ महिना लाग्नेछ । ८ वटै गीतको भिडियो तयार गरेर बी.भी.बीए.विमन रेकर्डस्ले भिच्यानलबाटै अनएयर गर्नेछ । आठ वटै गीतमा शब्द, संगीत र स्वर धिरजकै रहनेछ । “यो एल्बम आएपछि नेपाली कलाकारले सेलिब्रेटीको असली टेस्ट थाहा पाउनेछन्,,” उनले भने, “यो प्रोजेक्टले अनुबन्ध गरेका कलाकारको रोयल्टी, गर्ने कन्सर्ट र उनीहरुले गरेको कामको योगदानले रियल आर्टको भ्यालू कति हुन्छ त्यो मैले देखेको छु, नेपालमा पनि त्यसको पदार्पण हुनेछ ।”  

कलाकारहरुले किन गाडी किन्छन्, कसरी प्लेन चार्टर गर्छन्, कसरी हुन्छ यो सम्भव ? यसको टेस्ट नेपाली कलाकारले लिन पाएकै छैनन्, यस्तै सुनिए धिरज । २५ वर्ष अगाडि धिरजले आजको धिरज सोचेकै थिएनन् ।  त्यसैले उनी अहिले अन्तर्राष्ट्रिय बजारको ट्रयाक खोल्न खोज्दैछन् । 

० ० ०

एमएमा अंग्रेजी साहित्यमा ५ सय पूर्णांकका ५ वटा पुस्तक पढ्नुपथ्र्यो । त्यसमा एउटा पुस्तक थियो,– ‘हिष्ट्री अफ नलेज ।’  त्यसमा एउटा टपिक छ, ‘बुद्धिजम’ । त्यसमा लेखिएको छ, ‘बुद्ध वाज बर्न इन नर्दन पार्ट अफ इण्डिया ।’ यो पढेर धिरज झस्किए । 

अनि ?

यो गल्ती कसरी हुन गयो ?

अघिल्ला व्याचका विद्यार्थीले किन आवाज उठाएनन् यस्तो अक्षम्य गल्ती हुँदा पनि ?

धिरजको मनमा प्रश्नचिन्ह खडा भयो । नेपाली मनको भावनामा किन खेल्ने काम भयो ? हाम्रा अग्रज व्याचले परीक्षामा कसरी लेख्न सके बुद्ध भारतमा जन्मिएका हुन् भनेर ?
 
यो लेख्न त कठोर आत्मा चाहिन्थ्यो । जुन, धिरजमा छँदै थिएन । मुटु मिचेर नेपालीको शान, मान र इज्जत बनेका बुद्धलाई पराई भूमिपुत्र भनेर नेपालीको इतिहास मेट्दै जानु थियो । जुन धिरज गर्नै सक्तैन थिए । मौन बस्नु पनि अपराध गर्नु सरह हो । यस्तै लाग्यो धिरजलाई । 

त्यसपछि ?

धिरजले चार जना साथीलाई भेला गरे । विद्यार्थी युनियनमा गए । आवाज उठाउनुपर्छ भन्ने सहमति भयो । धिरज पढ्थे आरआर क्याम्पसमा । अंग्रेजी विभागमा गएर कुरा राखे । विभागले ‘टालटुले’ जवाफ दियो । धिरजलाई चित्त बुझेन । यो कुरा सन् २००६ को थियो । 

संघर्ष समिति निर्माण भयो । हस्ताक्षर अभियान सञ्चालन भयो । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर हस्ताक्षर बुझाए । केन्द्रीय विभाग कीर्तिपुर पुगे । अंग्रेजी विभागमा ताला नै लगाए । 

अन्ततः त्रिविवि झुक्यो । त्यो पुस्तक नै हट्यो । धिरजहरुले ४ सय पूर्णांकको मात्रै परीक्षा दिए । आउँदो व्याचले बुद्ध भारतमा जन्मिएका हुन् भनेर पढ्न परेन । नेपालमा त धिरज विजयी बने तर यो कुरा बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेख्ने, पढ्ने, सुन्ने र प्रचार गर्नेलाई पनि सुनाउनु थियो । 

कसरी सुनाउने ?

आइडिया ! 

धिरजको मनमा आइडिया फुरिहाल्यो । गीत गाउने मान्छे । बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गीत लेख्छु । केही समयपछि नै उनले ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत लेखे २००९मा ।

सन् २०१० मा संसारभरकै सबैभन्दा ठूलो नेटवर्क रहेको भनिएको भारतीय जी टिभीले गौतम बुद्ध भन्ने टेलीश्रृंखला निर्माण गर्ने भयो । त्यसको उद्देश्य एउटै थियो–बुद्ध भारतमा जन्मिएका हुन् भनेर प्रचार गर्नु । 

सवा अर्ब जनसंख्या रहेको भारतभर र आफ्ना नेटवर्क स्टेशनमार्फत यो सन्देश विश्वभर जाँदैथियो । धिरजको निद हराम भयो । 

गर्ने के ?

धिरजलगायत केही व्यक्तिले फेसबुकमार्फत आवाज उठाए । तर, सरकार बोलेन । नेताहरु चुप रहे । फेसबुकमै सल्लाह भयो, शान्ती र्‍याली निकाल्ने । 

तर, एउटा खतरा थियो, यो पवित्र कामको जस लिन कुनै राजनीतिक दलले प्रयोग गर्न सक्ने । यसबाट बच्नका लागि उनीहरुले आग्रह गरे, राजनीतिक दलहरुसँग आबद्ध व्यक्ति नआइदिनुहोला । यो स्वतन्त्र नागरिकले आयोजना गरेको विशुद्ध शान्ति र्‍यालीमात्रै हो ।  

शनिबारको दिन थियो । राजनीतिक दलहरुलाई नआउन आग्रह गरिएको थियो । धिरजले सोचेका थिए, ५ सय जति सहभागी हुन्छन् होला । त्यहाँ उनले ‘बुद्ध वाज बर्न इन नेपाल’ गीत गाए । केही जानेको कुरा सुनाए । मास्टर्सको कोर्सबाट पुस्तक नै हटाएको स्मरण गराए । 

हजारभन्दा धेरै सहभागी र्‍याली वसन्तपुर हुँदै बालुवाटार पुगेर हस्ताक्षर मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुझाइयो । 

दुई हस्तापछि भारतीय दूतावासले एउटा विज्ञप्ती निकाल्यो । विज्ञप्तीमा गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्नेमा द्विविधा नहोस्, पुस्तौंदेखि रहेको हाम्रो सम्बन्ध नबिग्रियोस् भनिएको थियो । 

त्यसपछि उनले पोखरा, धरान लगायतका मुख्य सहरमा पनि र्‍याली गरे ।  

० ० ०

कोरियामा प्रत्येक वर्ष माइग्रेसन फेष्टिवल हुन्छ । उक्त कार्यक्रममा विदेशका टप गायक आएर आफ्नो कल्चरका बारेमा बताउने र गीत गाउने गर्छन् । यो कार्यक्रममा कोरियन एम्बेसीले धिरजलाई सन् २०१३ मा बोलायो । त्यहाँ उनले ‘बुद्ध वाज बर्न इन नेपाल’ गीत गाए । नेपालको कल्चर र संस्कृतिका बारेमा पनि बोले । त्यहाँ उनले बुद्ध नेपालमा जन्मिएका हुन् भनेर र्याली पनि गरे । 

त्यसपछि धिरज जुन देशमा जान्छन्, त्यहाँ कन्सर्ट मात्रै गर्दैनन्, बुद्ध नेपालमा जन्मिएका हुन् भनेर र्याली पनि गर्छन् । अमेरिका, क्यानडा, बेलायतलगायत देशमा पनि उनले बुद्ध भारतमा जन्मिएका हैनन् भनेर र्याली निकालिसकेका छन् । 

० ० ०

मह जोडीको कमिक्स, कुमार बस्नेत, जयनन्द लामाका गीति क्यासेट बाहेक केही बिक्दैन थिए । महजोडी, कुमार र जयनन्दले रोयल्टीको टेस्ट लिइसके पनि आधुनिक तथा चलचित्रका गीत विक्री हुँदैन थियो । 

पपगीतका क्यासेट आएपछि गीति क्यासेट बिक्री हुने चलन सुरु भयो । हिन्दी गीतका क्यासेटको माग थियो । 

जब नेपाली पप गायक आए, युवा पुस्ताले उनीहरुका गीत रुचाए । पकेट मनी भएका युवापुस्ता भएकाले पनि होला, सायद उनीहरु गीत सुन्न पैसा खर्चिन थाले । नेपालमा नेपाली क्यासेट बिक्री हुन थाल्यो । 

धिरज राईको जुत्ता बेचेर ८ सयमा रेकर्ड गरिएको गीत ‘लुकी लुकी...’ तीन लाख कपी सिडी बिक्री भयो । ४० रुपैयाँमा बिक्री हुने सिडीबाट धिरजलाई ४ रुपैयाँ आउँथ्यो । १२ लाख रुपैयाँ उनको हात पर्यो ।

० ० ०

धिरज खोटाङबाट काठमाडौं पसेका थिए । नायक हुने रहर बोके पनि उनी उत्तिकै राम्रो गाउँथे पनि । रेडियो नेपालमा स्वर परीक्षा दिए, पास भए । रेडियोमा रेकर्डका लागि डेट पाउन रेडियोकै संगीतकारको संगीत तथा गीत लिएर गाउनु पथ्र्यो । तर, धिरजलाई रेडियो नेपालमा बजिरहेका गीतभन्दा फरक गीत गाउनु थियो । 

उनले ‘लुकी लुकी’ बोलको गीत तयार गरे । गीत लिएर रेडियो नेपाल जान्थे, ‘यस्तो गीत’ भनेर रिडियो नेपाल मुख खुम्च्याउँथ्यो । उनले रेडियोमा डेट नपाउने । 

धिरज धर्मसंकटमा परे । रेडियो नेपालमा गीत गाए, रेडियोकै फम्र्याटमै ढल्किनुपर्ने । विद्रोह गरे रेकर्ड गर्नै नपाउने । 

० ० ०

अहिले पप संगीतका किङ माइकल ज्याक्सनसँग धिरजको नाम जोडिन्छ । 

किन ?

माइकल ज्याक्सन गीत मात्रै गाउँदैनथे । उनको स्टेज पर्फर्मेन्स पनि उत्तिकै लोभलाग्दो हुन्थे । उनी स्टेज चढ्नेबित्तिकै उनका दर्शक उनीसँगै झुम्थे । 

तर, नेपालमा अवस्था फरक थियो । गायकले रेडियो नेपालले भने जस्तो गीत मात्रै गाउनुपर्छ भन्ने थियो । नाच्ने व्यक्ति फरक हुन्छ भन्ने मान्यता थियो । गायक पनि ग्ल्यामरस हुन्छ र आफैं गाउँदै स्टेजमा नाच्छ भन्ने कल्पना पनि गरिँदैन थियो नेपालमा । नाच्ने जिम्मा नायकलाई थियो । 

माइकल ज्याक्सनका गीत सुनेर र आक्कलझुक्कल उनको स्टेज पर्फर्मेन्स हेरेर हुर्किएका धिरजले आँट गरे । म पनि माइकल ज्याक्सनकै फर्मुला फलो गर्छु । 

मनमा थोरै डर पनि थियो । यद्यपि माझ किराँतको बाहुन त आँटी हुन्छ भन्छन्, उनी त थिए राई । मुटु दह्रो बनाए र आँटे । नयाँ शैलीको गीत गाउन । 

रेडियो नेपाललाई खुसी बनाएर त्यसको वरीपरी घुमेर रेडियोबाट आफ्नो स्वर दर्शकमाझ सुनिरहेकाहरुको भीडमा पस्न उनको स्वाभिमानले मानेन । स्वाभिमानलाई लिलाम गरेर उनले आत्मसमर्पण गरेरनन् । रेडियो नेपालको निरंकुशतन्त्रको अगाडि घुँडा टेकेनन् ।  

अनि ?

गीतसंगीत त खुला आकाश हो । यसलाई बाँधेर हुँदैन । स्वतन्त्र उड्न दिनुपर्छ । त्यसैले विकल्प खोजे उनले रेडियो नेपालको स्टुडियोको । समस्या थियो आर्थिक जोहो र स्टुडियोको । गोरेटो आफैं खोज्दै नयाँ क्षितिज हेर्नु थियो । चलिरहेका गीतलाई काउन्टर दिनु थियो । नयाँ मनोविज्ञान पालेर नयाँ परिवेश अनुसारको गीत खोजिरहेका स्रोतामाझ पुग्नुथियो । र, आफूलाई परीक्षण गर्नु थियो । 

राजुराज मानन्धरले चार ट्रयाक ल्याएका थिए । मानन्धरलाई उनका आफन्तले घरमै साधारण रेकर्ड गर्न हुन्छ भनेर अमेरिकाबाट पठाइदिएका रहेछन् । 
यो खबर धिरजको कानमा ठोक्कियो । उनी मानन्धरलाई खोज्दै उनकै घर पुगे । 

सोधे, कति पैसा लाग्छ ?

जवाफ थियो, ८ सय ।

गीत त रेकर्ड हुन्थ्यो, तर, कमजोर क्वालिटीको । मेलोडी र शब्दले स्रोतालाई जित्यो भने जित्यो, रेकर्डिङ क्वालिटीले भने स्रोताको मनमा राज गर्न सक्तैन थियो । 

कक्षा ९ मा पढ्थे । उमेर १४ वर्ष थियो । साल २०४७ थियो । उनले लुकी लुकी कम्पोज गरे । साथीभाइ र आफन्तले राम्रो छ भने । चाहियो पैसा ।

कसरी जुट्यो ?

काठमाडौं महँगो थियो । गाउनका लागि बाँच्नुपथ्र्यो । बाँच्नका लागि खानुपथ्र्यो । खानका लागि पुग्ने कमाउन सजिलो थिएन । बुबाआमा काठमाडौंबाट भर्खर काठमाडौं झरेका थिए । उनीहरुका लागि पनि राजधानी विरानो थियो । दालभातका लागि नै कडा संघर्ष गरिरहेका थिए । 

मनोरञ्जन दोस्रो प्राथमिकतामा थियो । 

कि गीतलाई मर्न दिनुपर्यो । कि केही न केही उपाय निकाल्नु पर्यो । 

कक्षा ७ मा पढ्दा फष्र्ट भएपछि धिरजलाई आमाले एक महिनाको तलबले १३ सय हालेर जिव्रो ठूलो भएको जुत्ता किनिदिएकी थिइन् । 

त्यो जुत्ताले बागबजारको आफ्नो टोलमा धिरजको शान नै बेग्लै थियो । उनको इज्जत बढाएको थियो । साथीहरुले वा धिरज तेरो जुत्ता त भन्थे उनको नाक लौकाजत्रो हुन्थ्यो । साथीहरु उनको जुत्ता हेर्न आउँथे । उनको जुत्ता लगाएर फोटो खिच्थे । शनिबार भृकुटीमण्डपमा लाग्ने रमाइलो मेलामा उनको जुत्ता लगाएर फोटो खिचेको २ रुपैयाँ तिर्थे । जुत्ताले पैसा कमाउने भएपछि उनी प्रत्येक शनिबार जुत्ता लाएर मेलामा राखेर प्रतिव्यक्ति फोटो खिचेको २ रुपैयाँ लिन्थे । साँझ रत्नपार्कमा गएर मःमः खान्थे । जुत्ताले उनलाई टोलकै हिरो बनाएको थियो ।

धिरज नोष्टाल्जिक भए, त्यो बेला युके आर्मीका छोराहरुले पनि त्यति महँगो जुत्ता लगाएका थिएनन् टोलमा । 

त्यो बेला उनका साथीहरुले भन्थे, कि डिंगो लगाउँछ भुवन (केसी) ले कि लगाउँछ धिरजले । 

१२ सयमा किनेको जुत्ता उनले ५०० रुपैयाँमा बेचे । उनले जुत्तामात्रै बेचेनन्, सँगै आफ्नो शान र मान पनि बेचे । मन अमिलो भयो । तर पनि उनले गीत रेकर्ड गर्नुथियो । कुँडिएको मन लिएरै बसे । उनको जुत्ता टोलकै सुमन गुरुङले किने । जुत्तासँगै धिरजको हिरोइजम सुमनमा सर्यो । धिरजको मोरल डाउन भयो । 

केही त गर्नैपर्यो । उनले ७५ रुपैयाँमा गोटीवाल जुत्ता किने । यसले अलिअलि भए पनि इज्जत त धान्ला नि भन्नेभयो । 

एक दिन उनी त्यही जुत्ता लगाएर साथीको बर्थडे पार्टीमा गए । साथीहरु कानेखुसी गर्दै उनलाई देखेर मुसुमुसु हाँसे । जुत्ता त फुटबल खेल्दा लगाउने स्पोर्ट सुज पो रहेछ । 
धिरजको बेइज्जत भयो ।

अनि ?

भएन, फेरि उनले कम्फू जुत्ता किने । ब्रुस लीले आफ्नो फिल्ममा लगाउने जस्तै । सेतो जिव्रो ठूलो भएको जुत्ता । त्यो जुत्ताले पनि उनको स्टान्डर्ड मेन्टेन गर्न सहयोग गर्यो । 

० ० ०

बाँकी जुटाउनु थियो, अपुग रुपैयाँ । 

जहाँ इच्छा त्यहाँ उपाय । केही पैसा थपे । केही परिवारले दियो । ८०० रुपैयाँको जोहो भयो । गीत रेकर्ड भयो, रेडियो नेपालमा आत्मसमर्पण नगरे पनि । 
गीत त रेकर्ड भयो । बजाउने कहाँ ?

समय २०४७ सालको थियो । एफएम रेडियोहरु थिएनन् । गीत बजे रेडियो बाटै हो, नबजे डम्प हुन्थ्यो । 

धिरज जस्तै पीडित अरु पनि थिए । जो पप गीतसंगीत भनेपछि मरिमेट्थे । उनीहरु थिए, हरिष माथेमा, सञ्जय श्रेष्ठ, बन्नी प्रधानलगायत । उनीहरु रेडियो नेपाल पुगेर पपगीत पनि बजाउनु पर्यो भनेर संगीत शाखाको टेबल दिनहुँ ठटाउँथे । वाक्क भएपछि, यी केटाहरुले वाक्कै लगाए, ल राति साढे १० देखि ११ बजेसम्म तिमीहरुको गीत बज्छ भनेर भने । 

कसैले नसुन्ने समय भनेर छुट्याइएको त्यो समयमा पपगीत हिट भए । नयाँ पुस्ताका स्रोताका लागि रेडियो नेपालको त्यो समय लोकप्रिय भयो । धिरजको लुकी लुकी बम्पर हिट भयो । उनी रातारात सेलीब्रेटी भए । 

० ० ०

ज्योती भन्ने उनको साथी थियो रत्नपार्कमा । ऊसँग एउटा गितार थियो, निकै थोत्रो । गीतार थोत्रो भए पनि इलेक्ट्रिक गीतारको मोडलमा थियो । दाम २०० रुपैयाँ । डेढ सय रुपैयाँमा दिन्छस् ? भने धिरजले, लैजा भन्यो । 

पैसा सुको थिएन । 

वसन्तपुरमा भित्तामा डोरीमा झुण्ड्याएर बेच्न राखिएका कमिकका पुस्तक खुब बिक्थे । एक मोहरमा एक घण्टा पढ्न पाइन्थ्यो । उनले त्यही सूत्र प्रयोग गरे । साथीहरुसँग भएका कमिकका पुस्तक मागे कमिसनमा । केही त उनका बुबाआमाले पढ्न ल्याएका कमिक पनि रहेछन् । बागबजारमा उनले पनि वसन्तपुरमा जस्तै भित्तामा डोरीमा टाँगेर बेच्न थाले । एक सुकामा एक घण्टा पढ्न दिए । र, त्यसैगरी पैसा भेला गरेर किने । 

त्यही गितार लिएर उनी बसन्तपुर पछाडि रहेका गितार सिकाउने गुरुकोमा गएर सिके । 

० ० ०

हिरण्य भोजपुरेको पुस्तक छ, केही रंग केही तरंग । त्यहाँ एउटा हरफ छ, कलमको शक्ति महान हुन्छ । यसले प्रतिभालाई जिउँदो पनि गराउँछ । यसले प्रतिभालाई मार्न पनि सक्छ । अर्थात कलमको शक्तिलाई कम पनि नआकौं । 

त्यो हरफले उनलाई क्लिक गरायो । उनले खोजे सांगीतिक पुस्तकहरु । आधुनिक र लोकगीत थुप्रै पुस्तक रहेछन् । तर पप गीतका पुस्तक थिएनन् । 

धिरजलाई लाग्यो हामीसँगै हाम्रो इतिहास पनि नामेट हुनेवाला छ । उनले पप संगीत र कलम भनेर कान्तिपुरमा आर्टिकल लेखेका थिए । त्यो उनको पहिलो आर्टिकल थियो । राम्रो छ भनेपछि अरुमा पनि लेख्ने गरेका थिए । गीत गाउन थालेको १५ वर्ष भैसकेको थियो । केही तीता मिठा घटनाहरु पनि थिए । सबैलाई समेटेर लेखे उनले, पपमा बितेका १५ वर्ष, पहिलो पुस्तका रुपमा २०५८ सालमा । 

प्रकाश सायमीले त्यो पुस्तकलाई लिएर भने, यो धिरजको अहिलेलाई पुस्तकमात्रै हो, पछि यो नेपाली पप संगीतको क्षेत्रमा ठूलो दस्ताबेज हुन्छ, धिरज किप इट अप भनेका थिए । 
२०६० सालमा उनलेनेपाली पप संगीत भनेको के हो भनेर ‘के हो पप संगीत?’ भन्ने दोस्रो पुस्तक प्रकाशन गरे । तेस्रो पुस्तक ‘मेरो विश्व भ्रमण नेपाली पपसँगै’ प्रकाशनको तयारीमा छ । 

४२ वटा देश घुमेका उनको विश्व भ्रमणको अनुभव यो पुस्तकमा समेटिएको छ । 

० ० ० 

धिरज अहिले इन्जिनियरिङ फिल्डमा पनि काम गर्छन् । तर, यो उनलाई मनपरेको पेशा भने होइन । उनले बाध्यतामा छानेको विषय हो यो । 

जुत्ता बेचेर बल्ल बल्ल एउटा गीत त रेकर्ड गरे । तर, त्यसपछि त्यो बाटोमा हिँड्न सजिलो थिएन । पप गीतमा लगानी गर्न कोही तयार थिएनन् । सांगीतिक यात्रामा नहिँडी पनि भएको छैन । 

अनि ?

कसरी चाँडो जागिर पाइने र पैसा कमाउन सकिन्छ । सोधखोज गर्दै जाँदा इन्जिनियरिङ नै सबैभन्दा चाँडो जागिर पाइने पेशा हो भन्ने सुझावसहितको निष्कर्ष निस्कियो । अरुमा मास्टर्स नगरी जागिर पाहिँदैन तर इन्जिनियरिङमा एक वर्ष पढ्नेबित्तिकै जागिर पाइन्थ्यो । 

त्यसैले उनी भर्ना भए, ओभरसियर पढ्न । एक वर्ष पढेपछि उनले ड्राफ्ट मेनको काम गर्न थाले । त्यसपछि उनलाई काठमाडौंमा बाँच्न सहज भयो । गीतहरु विस्तारै रेकर्ड गर्न थाले ।
अंग्रेजीमा उनको राम्रो थियो । त्यो समय अंग्रेजी भाषा सिक्नेको ह्विम थियो । धिरज अंग्रेजी पढाउन थाले इन्स्टिच्युटमा । त्यसले पनि काठमाडौंको बसाइ थप सहज बनायो । सांगीतिक यात्रालाई अगाडि बढाउन थप सहज बनायो । 

० ० ०

रेडियो नेपालको दबदबा थियो । रेडियो नेपालमा गीत गाउनेहरु आफूलाई मै हुँ भन्ठान्थे । पप गायकलाई गायकको दर्जा नै दिँदैन थिए । पप गायकले नेपाली संस्कृति विगारे, विदेशीको नक्कल गरे भन्ने आरोप लगाउँथे । 

ठिक छ, पप गयाकले संस्कृति बिगारेको भए स्रोताले हाम्रा गीत सुन्दैनन् । हामी करेक्सन हुनुपर्छ । म गीत गाउनै छोड्दिन्छु भन्ने धिरजको मनमा उठ्थ्यो । तर, केही भन्दैन थिए, गीत नै जवाफ हो भन्ने लाग्यो, स्रोता असली जज हुन् भन्ने सोच्थे । 

तर, त्यही बेला उनीहरुलाई अर्को आरोप लाग्यो । 

पप गीत ट्यापेहरुले गाउने हो । पढे नलेखेका अनपढहरुले गाउने हो । धिरजलाई बोलेर हैन गरेर देखाउँछु भन्ने लाग्यो । 

बीई गरेका उनले आरआर कलेजमा अंग्रेजी साहित्यमा भर्ना गरे । उनले त्यहाँबाट स्नातकोत्तर गरे । उनले बोलेर हैन, हातमा मास्टर्सको सर्टिफिकेट हातमा बोकेर देखाइदिए पप गायकहरु अनपढमात्रै हुँदैनन् भनेर । 

अहिले धिरज बिहान कलेज पढाउँछन् । 

० ० ० 

रेडियो नेपालमा उनको गीत हिट भयो । धिरजको नाम पनि हिट भयो । श्यामस्वेत सन्ध्याकालीन पत्रिकामा उनको लामो लामो स्टोरी आउँथ्यो । कलेजका वेलकम प्रोगाममा उनलाई सबैले गीत गाउन बोलाउँथे । 

प्रजातन्त्र आएपछि नेपाल टेलिभिजन पनि खुकुलो भएको थियो । रेडियो नेपालमा हिट भएका ५ वटा गीत त्यहाँको बोर्डबाट पास भयो भने सूचनापाटीमा टाँसिदिन्थ्यो । ती गीतको म्युजिक भिडियो टेलिभिजनकै स्टुडियोमा खिच्न पाइन्थ्यो । नेपाल टेलिभिजनको सूचनापाटीमा धिरजको गीत पनि टाँसियो । 

नेपाल टेलिभिजनमा ‘लुकी लुकी’ को भिडियो बन्यो । धेरै मान्छेले चिन्न थाले । बाटोमा हिँड्दा ‘उ... धिरज हैन ?’ भन्दै फर्केर हेर्न थाले । 

बल्लबल्ल भिडियो त बन्यो तर त्यो ५ वटा हिट गीतको कलेक्सनमा गयो । 

महत्वाकांक्षा चुलिँदै गयो । स्रोता सामु आफूलाई प्रमाणित गर्नु पनि थियो । उनले एल्बम निकाल्ने भए । तर विज्ञापनका लागि पोस्टर बनाएर टाँस्नु पर्ने थियो । बजारमा नाम थियो । सान थियो । इज्जत थियो । तर खल्तिमा पैसा थिएन । पोस्टर छाप्नु थियो । उनले जुक्ति निकाले, बागबजारमा गएर एउटा पेन्ट बनाउन लगाए । आमा ल क्याम्पसमा पढाउँथिन् । त्यहाँ गएर फोटोकपी गरे । 

त्यो समय पुतली सडक देखि न्यूरोड र न्युरोड देखि बागबजारसम्मको सडकको भित्तामा पोस्टर टाँस्ने चलन थियो। भुवन केसी र शिव श्रेष्ठ त्यहीँ मुस्कुराइहेका हुन्थे । 
उनलाई पनि त्यहीँ टाँसिने मन थियो । पोस्टरको जोहो त भयो । टाँस्ने केले ?

उनले घरमा गएर कराइमा तातो पानी हालेर पिठो उमाले । आफ्नो पोस्टर त आफ कसरी टास्नु ? साथीलाई गुहारे । वसन्तपुरको मःमः त्यो बेला फेमस थियो । २ रुपैयाँमा एक प्लेट मःम आउँथ्यो । प्लेटमा १२ वटा मःमः हुन्थे त्यो समय । साथी मःमः मा लोभ्भियो । धिरजले मास्क लगाए । एउटा हातमा गमको बाल्टी र अर्को हातमा पोस्टर बोकेर निस्किए आफ्नै पोष्टर टाँस्न । 

राती ८ बजेदेखि उनले बागबजार देखि न्युरोडसम्म पोस्टर टाँसे । भोलीपल्ट न्युरोडदेखि पुतलीसडकसम्म । रातभरी पोस्टर टाँसेर आँखा राताराता हुन्थे । तर गफको पारो उक्लिन छोड्दैन थियो । ‘मेरो त म्युजिक कम्पनीले पोस्टर लगाइदियो नि !’ साथीहरु हो है भन्थे । धिरज हैन त, गीत मेरै राम्रो छ अनि पत्याउँदैन त भन्थे । 

एक दिन उनी राती पोष्टर टाँसिरहेका थिए । अचानक अर्का गायक भेटिए उसकै हालतमा । आफ्नै पोस्टर टाँस्दै गरेका ती गायक थिए, धिरजकै शब्दमा “म भन्दा सिनियर गायक सञ्जय श्रेष्ठ । उहाँको ‘माया मेरी माया’ गीत हिट थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC