ad

बाह्रखरी समीक्षा

भारतमाथि नेपालको जित ऐतिहासिक

मलेसियामा भइरहेको एसीसी (एसियन क्रिकेट काउन्सिल) यु–१९ समूहको खेलमा नेपालले क्रिकेटमा विश्वकै उच्चकोटीको मानिएको भारतलाई १९ रनको अन्तरले हराएर इतिहास बनाएको छ । क्रिकेटमा टेस्ट खेल्ने देशलाई नेपालको १९ वर्षभन्दा मुनिको समूहले यसअघि पनि हराएको थियो तर भारतलाई हराउन सकेको थिएन । भारतलाई क्रिकेटमा हराउनु नेपालको लागि ठूलो विजयको रूपमा हेरिएको छ । आजका दैनिक पत्रिकाले यो विजयको समाचार पहिलो पृष्ठमा महत्त्वका साथ प्रकाशित गरेर खेलाडी र खेलप्रेमीलाई पनि प्रोत्साहित गरेका छन् । 

कान्तिपुरले भारतको अन्तिम विकेट झरेपछि नेपालको जितमा रमाएका खेलाडीको ठूलो तस्बिर सात कोलममा प्रकाशित गरेको छ । खेल सकिनेबित्तिकै खिचिएको तस्विरमा केही नेपाली खेलाडी समरसल्ट गर्दैछन् भने कोही दौडिँदै र कोही विकेट उखेलेर खुसी मनाउँदै छन् । साथै पराजित भारतका अन्तिम दुई ब्याट्सम्यान पवेलियनतर्फ फर्कदै गरेको दृश्य पनि सो तस्बिरमा देख्न सकिन्छ । तस्बिरमुनि ‘भारतमाथि ऐतिहासिक जित’ शीर्षक दिएर कान्तिपुरले समाचार प्रकाशित गरेको छ । 

हिमालय टाइम्सले ६ कोलममा विजयी नेपाली टिमको तस्बिर राखेर सो समाचार प्रकाशित गरेको छ । टाइम्सले ‘नेपालको ऐतिहासिक जित’ शीर्षक राखेको छ भने नागरिक दैनिकले पनि चार कोलमको समाचार र विजयी टोलीको तस्बिरसहित ‘भारतविरुद्ध नेपालको ऐतिहासिक जित’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिकाले तीन कोलममा ‘भारतविरुद्ध नेपालको ऐतिहासिक जित’ शीर्षक दिएको छ ।

अन्नपूर्ण पोस्टले यो समाचारलाई पहिलो पृष्ठको एक कोलम स्थान दिएर ‘नेपालको ऐतिहासिक जित’ भनेको छ भने राजधानीले एन्कर समाचारको शीर्षक ‘भारतविरुद्ध नेपालको ऐतिहासिक जित’ बनाएको छ । गोरखापत्रले एन्करमाथिको स्थानमा सानो समाचार प्रकाशित गर्दै ‘भारतसँग नेपालको ऐतिहासिक जित’ भनेको छ । 

कुनैपनि मान्यताप्राप्त स्तरमा नेपालले भारतलाई हराएको यो पहिलो पल्ट हो । टस हारेर पहिले ब्याटिङ गर्ने निमन्त्रणा पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाएर सम्मानजनक १८५ रन बनाएको थियो । यो स्कोर खडा गर्न कप्तान दिपेन्द्र सिंह ऐरीले ८८ रनको निजी खाता खोलेका थिए । एक सय ८६ रनको लक्ष्य पाएको भारतीय टिम ४८.१ ओभरमा १६६ रनमात्र बनाउँदैमा दसैजना ब्याट्सम्यान गुमाएर खेल हार्न पुगेको थियो । बलिङमा पनि कप्तान ऐरीले चार विकेट लिएर यस विजयमा सबैभन्दा मुख्य भूमिका खेलेका थिए ।

 

निर्वाचनमा सुरक्षा चुनौती

 

सोमवार प्रकाशित गोरखापत्र र नयाँ पत्रिकाले सुरक्षा चुनौती र सतर्कताका विषयमा मुख्य समाचार बनाएका छन् । उमेदवारमाथि आक्रमणको घटना बढेपछि गृह मन्त्रालय र निर्वाचन आयोगमा छुट्टाछुट्टै छलफल भएको समाचार नयाँ पत्रिकाले दिएको छ ।

सुरक्षा बैठकबाट सुरक्षा निकायका प्रमुखहरू बाहिर निस्कन नपाई रोल्पामा कम्युनिस्ट गठबन्धनका उमेदवार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार भएको समाचार आएको पनि नयाँ पत्रिका दैनिकले लेखेको छ । नयाँ पत्रिका दैनिकले माओवादीको हिंसात्मक द्वन्द्वको क्रममा सँगै रहेका नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रमचन्द ’विप्लव’को समूहले आक्रमण गरेको समाचारमा जनाएको छ । नयाँ पत्रिकाका अनुसार पहाडी क्षेत्रमा विप्लवको दल र तराईमा जातीय राजनीति चुनावी सुरक्षा चुनौतीका रूपमा रहेका छन् । 

गोरखापत्रले निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको समाचार प्रकाशित गरेको छ । रुकुम, रोल्पा, जाजरकोट, कालिकोटका साथै सोलुखुम्बुलगायतका जिल्लामा उमेदवारमाथि सुरक्षा ‘थ्रेट’ बढेको विश्लेषण सुरक्षा निकायको भएको गोरखापत्रले लेखेको छ ।   

 

प्रदेश राजधानी तोक्न ढिलाइ

 

गोरखापत्रले मुख्य तस्बिरमुनि ‘प्रदेश राजधानी तोक्न ढिलाइ’ शीर्षकमा समाचार प्रकाशित गर्दै पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई सातामात्र बाँकी हुँदा पनि संघीय संरचनाको प्रशासनिक र सांगठनिक पूर्वाधार अझै तयार नभएको समाचार प्रकाशित गरेको छ ।

गोरखापत्रका नारायण काफ्लेले लेखेको समाचारमा संविधान जारी भएको दुई वर्ष पूरा भइसके पनि प्रदेशको राजधानी अझै तोकिएको छैन भन्दै विज्ञ टोलीले संभावित राजधानीको सुझाव सरकारलाई बुझाए पनि राजनीतिक ध्रुवीकरणले गर्दा उक्त विषयले प्राथमिकता पाउन सकेको छैन ।

सो टोलीले प्रदेश २, ४ र ६ को राजधानीमा एक एक नाम मात्र सिफारिश गरेको छ, जस अन्तर्गत २ को जनकपुर, ४ को पोखरा र ६ को सुर्खेत परेका छन् । त्यस्तै १ को विराटनगर, इटहरी वा धनकुटा, प्रदेश ३ को बनेपा, धुलिखेल, काठमाडौं र हेटौडा राजधानीका लागि सिफारिसमा परेका छन् । प्रदेश ५ मा तुल्सीपुर, दाङ र बुटवल सिफारिमा परेका छन् भने प्रदेश ७ मा धनगढी वा दिपायलको नाम समितिले सुझाएको छ ।

 

सम्पादकीय

 

पूर्व प्रधानमन्त्री किर्तीनिधि विष्टको अवसानमा कान्तिपुर, हिमालय टाइम्स तथा राजधानी दैनिकले सम्पादकीय लेखेका छन् । कान्तिपुरले तीन पटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषदका उपाध्यक्ष भएका विष्टले सधै सादगीपूर्ण जीवन बिताएको प्रसंग उल्लेख गर्दै उनलाई सम्झनुपर्ने एउटा कारण उनको नैतिकता रहेको बताएको छ । पहिलोपल्ट प्रधानमन्त्री भएको बेला २०२६ सालमा पदमा रहेर चुनाव भिड्न मिल्दैन भनेर उनले राजनीनामा दिई राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरेको र त्यसपछि उनी नै प्रधानमन्त्री भएको कान्तिपुरले उल्लेख गरेको छ ।

त्यस्तै २०३० साल असार २५ गते सिंहदरबार आगलागी भएपछि पनि उनले नैतिकताको आधारमा राजीनामा दिएका थिए । विसं २०३६ सालमा तेस्रोपल्ट प्रधानमन्त्री हुँदा जनमत संग्रहको घोषणा भएपछि उनी पदमुक्त भएका थिए । तर, विष्ट सधै अधिनायकवादी शासन व्यवस्थाको पक्षपाती भएको विषयलाई पनि कान्तिपुरले सम्झाएको छ । 

राजधानीले विष्टलाई निष्ठाका प्रतिमूर्ति भन्दै उनले २०२७ सालमा भारतीय सेनालाई नेपालको तिब्बत सीमानाबाट फिर्ता पठाएका र सन् १९५० मा भएको नेपाल–भारतको असमान सन्धि पुनरावलोकन गर्न माग गरेका थिए भन्ने सम्झाएको छ ।

साथै राजधानीले विष्टले नेपालको हितविपरीत भारत र चीनले नेपालको लिपुलेकलाई व्यापारिक मार्ग बनाउन द्विपक्षीय सन्धि गरेको विषयमा चीनको आलोचनासहित कलम चलाएको विषयलाई पनि सम्झाएको छ । उनलाई राजधानीले राष्ट्रवादी नेता भनेको छ । हिमालय टाइम्सले विष्टलाई राज्यबाट विशेष सम्मानको आशा नराखेका सादगीपूर्ण जीवन बिताएका इमानदार र राष्ट्रवादी नेताका रूपमा सम्झेको छ । 

सोमवारको नयाँ पत्रिकाले भारतको नयाँ दिल्लीमा अहिले देखिएको प्रदूषणको विषयमा चिन्ता जताउँदै पश्चिमी वायु चलेको खण्डमा सो प्रदूषण नेपाल भित्रिने डर देखिएको बताएको छ ।

जलवायु परिवर्तनको सिकार बन्दैगएको नेपालले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने नयाँ पत्रिकाको सुझाव छ । नागरिकले पनि प्रदूषणका कारण वर्षेनी करिब दस हजार नेपालीको ज्यान जाने गरेको कुरा उल्लेख गर्दै अहिल्यै दिल्लीको प्रदूषण नेपाल नआएको भए पनि यस विषयमा ध्यान पुर्याउन सम्बद्धलाई आह्वान गरेको छ । 

अन्नपूर्ण पोस्टले चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेको भन्दै सो परीक्षाको विषयमा चाँडै निर्णय होस् भनेर दबाब दिएको छ । गोरखापत्रले विदेशमा काम गरेका र बिमाको प्रिमियम नतिरेको कारण समस्यामा परेका १४ परिवारले क्षतिपूर्ति पाउनुपर्छ भन्दै सम्पादकीयमार्फत् दबाब दिएको छ । 
 

तपाईंको मत