site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हरिवंश आचार्यको शब्दकोषमै थकाइ शब्द छैन
Ghorahi CementGhorahi Cement

हरिवंश आचार्य नेपाली हास्यजगतका ख्यातिप्राप्त कलाकार हुन् । अभिनय शिल्पका महासम्राट हुन् उनी भन्दा पनि अत्युक्ति नहोला । ‘लोभिपापी’, ‘फिलिम’, ‘राजामती’, ‘बलिदान’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’ उनका लोकप्रिय चलचित्र हुन् । त्यस्तै ‘लालपूर्जा’, ‘पन्ध्र गते’, ‘भकुण्डे भूत’, ‘हरिबहादुर र मदनबहादुर’, ‘५०÷५०’, ‘दशैंको च्याङ्ग्रा’ उनका उत्कृष्ट टेलिचलचित्रमा पर्छन् ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग ३७ वर्षे अविच्छिन्न यात्रा तय गरेका हरिवंशको आज जन्मदिन हो । हरिवंशकृत ‘चिना हराएको मान्छे’ आत्मकथा ‘बेस्ट सेलर’ बन्यो भने उनकै उपन्यास ‘हरिबहादुर’ले पनि चर्चा बटुलिरहेको छ । यहाँ हास्य क्षेत्रका अद्वितीय प्रतिभा तथा सर्जक हरिवंशको जीवनचर्या र जीवनका केही भित्री पाटाहरूलाई खोतलिएको छ–

कुशल ‘गृहिणी’

बिहान  ५ बजे उठ्छन् हरिवंश आचार्य । उठ्नेबित्तिकै सुरू हुन्छ उनको नित्यकर्म । टि–सर्ट र हाफ प्यान्ट लगाएर प्रातः भ्रमणमा निस्कन्छन् । र, पुग्छन् स्वयम्भुको डाँडामा ।

Agni Group

हरिवंशलाई बाटामा नचिन्नेहरू विरलै भेटिन्छन् । त्यसैले पनि प्रातः भ्रमणमा मुखमा मास्क लगाउन भुल्दैनन् उनी ।

अनपेक्षित रूपमा पेट बढेको छ । त्यसैले होला, उनी अचेल योगाको अम्मली बनेका छन् र झोला लागेजस्तो पेटलाई धेरै हदसम्म घटाउन सफल भएका छन् ।

Global Ime bank

चियाका उस्तै पारखी हुन् । उमेरमा चियाको लती नै थिए भन्दा हुन्छ । तर, अहिले ग्रिन टि सेवन गर्छन् । चियाको चुस्कीसँगै घरमा आउने अधिकांश पत्रपत्रिकामा आँखा दौडाउँछन् । र, लेख्न बस्छन् उनी । 

उनको अचम्मको बानी छ– उनी एक ठाउँमा स्थिर रूपमा अडिन सक्दैनन् । घरमा बसेका बेलामा उनी कहाँ छन् भनेर खोज्दै हिँड्नुपर्छ । कहिले भान्छा कोठामा श्रीमतीलाई सघाउँदै तरकारी काटिरहेका भेटिन्छन् त कहिले कुचो लगाइरहेका हुन्छन् । केही काम पाएनन् भने भित्तामा झुन्ड्याएको तस्बिर दायाँबायाँ सारेर पनि चित्त बुझाउँछन् उनी ।

धेरैलाई थाहा नहुन सक्छ– उनी मीठो परिकार बनाउँछन् । एक कुशल गृहिणी हुन् भन्दा हुन्छ ।

श्रीमतीसँगको अगाध प्रेम

उनी कलाकारिताका मात्र होइन, प्रेम र निष्ठाका प्रतिमूर्ति हुन् । शारीरिक स्फूर्तिको त कसैले कल्पना नै गर्न सक्दैनन् । श्रीमतीसँगको सामीप्ता, प्रेम र समर्पण देख्दा यस्तो लाग्छ– नवयौवना र नव विवाहिताहरूले के प्रेम गर्छन् र ? प्रेमले ओतप्रोत विश्वका ठूल्ठूला साहित्य पनि हरिवंशको दम्पत्तिको अघिल्तिर फिक्का सावित हुन्छन् ।

सुटिङ, विवाह उत्सव, कार्यक्रम सबैमा कहीँ छुट्दैनन्, श्रीमान-श्रीमती । अहिले ‘शत्रूगते’को सुटिङ चलिरहेको छ । र, सँगै छन् उनीहरू ।

त्यस्तै उनको अर्को स्वभाव छ– जहाँ जाँदा पनि आफैँ अघि सर्ने । तरकारी किन्न बजार जान्छन् । फर्कंदा साग–सब्जीमात्रै ल्याए होला भन्ठान्यो, हातमा तात्तातो जेरीसमेत बोकेर ल्याउँछन् ।

कामलाई सानोठूलो कहिल्यै भन्दैनन् हरिवंश ।

एकपटक के भएछ भने–

गत वर्षामा एक समूह बाढीपीडितका लागि राहत लिएर सप्तरी पुगेको थियो । हरिवंश पनि थिए समूहमा । राहत बाँड्दा बाँड्दै रात पर्याे । सबै लाखापाखा लाग्न थाले । हरिवंश हराए । व्यापक खोजी भयो । । तर, पत्ता लागेनन् ।

धेरैपछि सशस्त्र प्रहरीसँग राहत सामग्रीको बोरा उचालिरहेको अवस्थामा भेटिए रे उनी ।

त्यहाँको अर्को प्रसंग पनि छ–

तराई–डुवानका बेला सप्तरीको कोइलाडी जाँदा त्यहाँका पीडितमध्ये

कसैले डण्डीवाला, कसैले ट्यांकीवाला, कसैले बैंकवाला भनेर चिनेछन्, विज्ञापनमा खेलेको देखेर !

 

थालै चाट्छन्

तपाईंसँगै खाना खान बस्दा हरिवंशले थाल चाट्न थाले भने अन्यथा नमान्नु होला, त्यो उनको बाल्यकालदेखिको आदत हो । उनको मान्यता छ– खानाको एक सिता पनि खेर नफाल्नू । खाना खाँदाखाँदै थालमा पुरा छोड्नुभयो भने तपाईंले हरिवंशको हप्काइ खानसक्नुहुन्छ– ‘विश्वको करोडौँ जनसंख्या खान नपाएर आहत छ । मरिरहेका छन् । नेपालकै कति हजारको झुपडीमा खाने अन्न गेडो छैन । तपाईंले खाना फाल्ने ?’

पहिलेपहिले सुटिङमा जाँदा खाना खाइसकेपछि दुई हातले समाएर थाल चाट्न थाल्थे रे उनले ! तर, अचेल औँलामात्रै चाट्छन् ।

खानको शौखिन मानिस हुन् उनी । उमेरमा घ्यू र भात खान औधी मन गर्थे । घ्यू भएन भने भागैसमेत बस्दैनथे । बूढ्यौलीसँगै रोगले च्याप्दै लगेपछि त्यसमा कमी आयो । ग्राम्य स्वादका असाध्यै पारखी हुन् उनी । युवा अवस्थामा त उनी गाउँघरबाट घ्यू मगाएर छुट्टै कचौरामा भात हालेर स्वादैले खान्थे उनी । घ्यूका पारखी हुन् भने दही भनेपछि सातकोस  पर भाग्छन् । कहिल्यै खाँदैनन् उनी ।

विवाह, व्रतबन्ध, पास्नीमा १५–२० ठाउँबाट निम्ता आए पनि सबै ठाउँमा पुग्छन् । फोटा खिच्छन् । स्याउको टुक्रा, पानीमात्रै किन नहोस्, जुठो मुख पनि गर्छन् ।

समारोहको बीचमै हरिवंश हराए भने आश्चर्यमा नपर्नू– उनको बानी त्यस्तै छ, भीडभाडको मौका पारेर उनी फुत्त बाहिर निस्कछन् । र, अर्को भोजमा पुग्छन् । त्यहाँ पनि त्यस्तै गर्छन् । जतिवटा पार्टीमा मुख बिटुल्याए पनि खाना खान भने घर नै पुग्छन् उनी ।

घरमा आएपछि दूधच्यूरा, दूधभात खान्छन् ।

किन त ?

एक त बाहिरको खाना त्यति हाइजेनिक हुँदैन । अर्को, सेलिब्रिटी । क्यामेराले खिचिरहेको हुन्छ । टाँसिएर फोटो खिच्नेको लर्को लाग्छ । कता भाग बस्नु ? उनको जवाफ यस्तै हुन्छ ।

 

मोबाइलमा झुम्मिँदैनन् उनी

स्मार्ट फोनले मानिसलाई अचम्मले अल्मल्याइरहेको छ । तर, त्यसबाट पर छन् हरिवंश । पहिलेपहिले प्रायः उनको फोन अफ हुन्थ्यो । एक घन्टामा एक पटक मोबाइल अन गर्थे । कोही आफन्त, चिनेजानेको मोवाइलमा सेभ भएका नम्बरबाट एसएमएस आएको रहेछ भने आफैँ फोन फर्काउँथे उनी ।

पछिल्लो समय फोन अन गर्न थालेका छन् । तर, अपरिचित नम्बर भने उठाउँदैनन् ।

सामाजिक सञ्जालमा झुम्मिने बानी छैन उनको । एउटा लाइक पेज छ । एउटा व्यक्तिगत खाता छ, जसमा सीमित व्यक्तिहरूमात्र जोडिएका छन् । लाइक कमेन्ट गर्दैनन् । आवश्यक कुराहरू शेयर गर्छन् । म्यासेज पठाउनूस्, रिप्लाइ तीन दिनपछि आयो भने अनौठो नमाने हुन्छ ।

 

कूटनीतिक भाषा बोल्दैनन्

उनको अनुसरणयोग्य कुरा हो– उनी कूटनीतिक भाषा प्रयोग गर्दैनन् । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न हिच्किचाउँदैनन् । सक्ने कामलाई गर्छु, नसक्नेलाई सक्दिन भन्न उनका ओठ बाँधिदै बाँधिदैनन् ।

 

बढीमा दुई पेग मदिरा
 

उनी मदिराका लती छैनन् । बेलाबखत खान्छन् । तर, श्रीमतीको सल्लाहमा मात्रै ।

उनलाई मनपर्ने गोरखा वियर हो । वाइन दुई ग्लासबाट थप्दैनन् । र, ह्विस्की बढीमा दुई पेग लिन्छन् । माछामासुको बारना छैन, खसी,  कुखुरा आदिका परिकार रुचीपूर्वक खान्छन् ।

सुरुसुरुमा उनी बफ पनि खान्थे । ‘कान्तिपुर’ टेलिसिरियलको सुटिङबाट भने बफ खान प्रतिबन्ध लगाएछन्, आफैँलाई ।

भएछ के भने –यमराजकहाँ लैजाने र त्यहाँ पु¥याएपछि काटेर मःमः बनाउने सिनको सुटिङ गर्नुपर्ने थियो । त्यसैले उनी लगायत सुटिङ युनिट भैँसी–राँगो आदि बध गर्ने ठाउँमा पुग्यो । त्यहाँको फोहोर र दुर्गन्धले रन्थनिएछन् उनी । र, बफ खान चटक्कै छाडेछन् ।

सामान्य प्रेसरका रोगी हुन् उनी । नियमित औषधि त्यसको मात्रै खान्छन् । त्यसबाहेक घाँटीको एलर्जीसमेत छ । र, तौलचाहिँ ७५–७६ किलो ।

स्वास्थ्यप्रति अत्यन्त ‘कन्सियस’ छन् ! भन्छन्– ४५–५५ सम्मको उमेर सबैतिरबाट तनाव, रोग, शोकले बाटो बथान्ने उमेर हो । स्वस्थ रूपमा यो समयलाई पार गरियो भने सत्यमोहन जोशीको उमेर बाँच्न सकिन्छ । (शताव्दी पुरुषद्वारा विभूषित सत्यमोहन जोशी १०० वर्ष पुग्न आँटे )

आफू जति व्यस्त भए पनि आफ्ना प्रियजनको ख्याल गर्न कहिल्यै भुल्दैनन् उनी ।

त्यसबाहेक साथीभाइ एवम् आफन्तसँग हमेसा ठट्टा गरिरहन्छन् । राजनीतिबारे सदैव अद्यावधिक हुन्छन् । तर, राजनीति आफ्नो विषय नभएकोले कलाकारितामा नै आफ्नो जीवनका इँट्टाहरू थप्न कृत संकल्पित छन् हरिवंश ।

आत्महत्याको प्रयास
 

पत्नी मीरा अचार्यको निधनपछाडि हरिवंश विक्षिप्त बन्न पुगे । गम्भीर मानसिक आघातमा परे । एकवर्ष अतिशय पीडावोध भयो उनलाई । हरेक रात भोड्का नखाई सुत्न सक्दैनथे । डिप्रेसनको अवस्थामा पुगिसकेका थिए उनी ।

उनको मथिङ्गलमा घुमिरहन्थ्यो– बाँच्न व्यर्थ छ ।

कयौँपटक बाटामा हिँड्दा उनी सोच्थे– यो कारमा ठोक्काएर जीवनको दौडधूप टुंग्याइदिऊँ ।

बाँच्नुको अर्थ पटक्कै देखिएको छैन । अर्कोतिर यहाँ आत्महत्या गर्दा सबैले देख्छन् । थाहा, हल्ला हुन्छ । बरु इन्डियाको साउथतिर गएर समुद्रमा हाम फालौँ कि क्या हो ? मस्तिष्कमा यस्तो सोचले पनि डेरा नजमाएको होइन ।

जब दुई छोरा, त्रिलोक र मोहित सम्झन्थेँ– त्यो विचार दूर हुन्थ्यो । ‘यसको बाउले त आत्महत्या गरेर मरेको हो’ भन्लान् । समाजमा बाँच्न गाह्रो होला । छोराहरूको जीवनमा गाह्रोसाह्रो पक्कै आउँछ । फेरि बाउकै बाटो समाते भने ? भयले बेस्करी लखेट्थ्यो उनलाई । यत्ति कुराले बाँच्ने जिजीविषा जगाइरह्यो उनलाई ।

लेख्न थालेपछि पीडा हल्का भयो  

आत्मकथा, चिना हराएको मान्छे लेख्न थालेपछि उनको पीडा दूर भयो । लेख्न थाल्दाको पनि रोचक किस्सा छन् ।

सुरूमा उनले सानो फाइल तयार पारेका रहेछन् । र, उनले रवीन्द्र समीरलाई देखाए– यति लेखेको छु । रवीन्द्रले तीन–चार पाना प्रश्न तयार पारेर दिन्थे– ‘यो आधारमा तयार पार्नूहोस्, यहाँ यत्ति पुगेन ।’ १०–१२ दिन लगाउलान् भन्ठान्यो । तर, तीन दिन पनि बित्न पाएको हुँदैनथ्यो, सकिहाल्थे हरिवंश । लेखिसकेपछि रवीन्द्रको घरमै पुर्याउन आउँथे उनी । र, भेटिएनन् भने पनि गेटबाट छिराएर जान्थे ।

स्वसम्पादन नगर्ने । सररर्र लेख्थे उनी । तर, अक्षर कसैले पनि नबुझ्ने । यहाँसम्मकी आफूले लेखेको आफैँले नबुझ्ने । टाइप गर्ने महसञ्चारका गणेश कँडेल थिए, उनले पनि मुस्किलले बुझ्थे ।

कहिलेकाहीँ हरिवंश ठट्टा गर्थे रे, ‘भाइ मैले आफैँले लेखेको बुझिनँ । के लेखेको रहेछु भन भन !’

त्यसपछि गणेशले यो लेख्नुभएछ भनेर भन्थे ।

फुर्सद हुनेबित्तिकै उनी लेख्न बसिहाल्छन् । नेपालबन्द या अरू किसिमका हड्ताल भयो भने उनको लेखन कार्य अघि बढिहाल्छ । अहिले ‘शत्रूगते’को सुटिङ चलिरहेको छ । त्यसबाहेक तीनवटा स्क्रिप्ट तयार छन् ।

‘चिना हराएको मान्छे’ आत्मकथापछि ‘हरिबहादुर’ उपन्यास लेखे । अहिले त विश्राम लिइरहेका होलान्– आम मानिसलाई लाग्न सक्छ । होइन । यसबीचमा उनले दुईवटा बालसाहित्य लेखिसकेका छन् । चौबीसै घन्टा खाली बस्दैन, उनको दिमाग ।

छोराहरूलाई असाध्यै माया

छोराहरूलाई असाध्यै माया गर्छन् हरिवंश । घर आइपुग्नेबित्तिकै छोराहरूको सोधीखोजी गर्छन्, ‘बाबु कतिबेला आउँछौ ? कहाँ छौ ?’ उनको माया देख्दा अरूलाई लाग्नसक्छ– हामीले छोराछोरीलाई माया नै गर्दैनौ कि क्या हो ?

रमिलाको ऊर्जा
 

आफ्नोजस्तै पीडा बोकेकी रमिला पाठकसँग बिहे गरेपछि उनको जीवनको लयको पुनरागमन भयो ! नवविवाहिता जोडीझैँ देश–विदेश जहाँ जाँदा पनि
सँगै हुन्छन् । सरल । सरस । हँसिली । प्रेरक तथा उर्जायुक्त रमिला पाएपछि पुलकित छन् हरिवंश ।

थकाइ उनको शब्दावलीमा छैन 

अमेरिकाबाट तीन महिनाको सुटिङ सकेर नेपाल फर्किए । अब त केही समय आराम गर्लान् भनेको तर उनी लगत्तै पोखरा पुगे । 

‘हरिबहादुर’ प्रमोसनका लागि ‘किताब यात्रा’मा निस्कँदा सबैलाई चकित पारे उनले । प्रस्तुति देखाउ, घन्टौँ हस्ताक्षर गर, फोटा खिच । र पनि तरो ताजा देखिन्थे उनी, थाक्दै नथाक्ने !

हरिवंशको खटाइ देखेर आत्तिएका फाइन प्रिन्टका नीरज भारी बेलाबखत भन्छन, ‘हामी त थकाइले चूर हुन्छौँ नि, हरिवंश दाइलाई त थकाइ नै लाग्दो रहेनछ !’
मेहनतको अचम्मको संस्कार छ उनीमा । मेहनत नै सफलताको विम्ब हो भन्ठान्छन् उनी ।

भर्खरै पनि–

उनी सुटिङ सकेर वीरगञ्जबाट काठमाडौँ आएका छन् । भन्दैथिए– ट्रकमा उभिँदा जोडले ब्रेक लगाएकाले खुट्टा एकदमै दुखेको छ ! र पनि ‘पेन किलर’ खाएर बालकोटको हाउजिङमा सुटिङमा व्यस्त छन् उनी । 

टाइ लगाउन झन्झट मान्छन् 

औपचारिक कार्यक्रम होस् या कुनै समारोह । जहाँ जाँदा पनि उनी टाइ लगाउँदैनन् । टाइ लगाउन असाध्यै झन्झट मान्छन् उनी । त्यसो त उनी खानाको पारखीझैँ लुगाको ‘चुजी’ भने छैनन् ।

१५ वटा घर सरिसके

उनी मेहनतका मात्रै होइन, अस्थिरताको पनि उदाहरण हुन् । अहिलेसम्म १५ वटा घर सरिसकेका छन् । पहिले घट्टेकुलोमा घर बनाएका थिए । त्यसभन्दा अघि नक्सालतिर बस्थे । घट्टेकुलोको घर बेचेर सोह्रखुट्टे पुगे । त्यहाँबाट सरेर बूढानीलकण्ठ गए । बूढानीलकण्ठ पछि उनको बसोबास बालकोट भएको थियो । त्यहाँ पनि धेरै टिकेनन् । टाढा भयो भनेर पुनः  लाजिम्पाटमा अपार्टमेन्ट किनेका थिए । तर, भुइँचालोले अत्याइदियो । र, अहिले उनी नयाँबजारमा बस्न थालेका छन् । सुविधा र स्वभावकै कारण बसाइँ सरिरहने गर्छन् उनी ।

महका हरि

मदनकृष्ण श्रेष्ठसँग सहयात्रा थालेको ३७ वर्ष भयो । तर, आजसम्म खटपट भएको छैन । श्रीमतीलाई जीवनसाथी भनेझैँ मदन दाइलाई पनि जीवन दाइ भन्छन् । मदनसँगको सान्निध्यताले होला नेवारी भाषा खररर्र बोल्छन् । ‘नेपाली अशुद्ध होला, नेवारी त्यति शुद्ध बोल्नुहुन्छ,’ उनलाई नजिकबाट चिन्नेहरू यसै भन्छन् । नेवारी भाषाको मात्र होइन, नेवारी परिकारका समेत पारखी हुन् उनी ।

नेपालीचाहिँ बोल्दा शुद्ध हुन्छ तर लेख्दाचाहिँ अशुद्ध हुन्छ भन्छन् ।

मदनका परिवारलाई आफ्नै ठान्छन् । र, बरोबर आउजाउ गरिरहन्छन् । 

हरेक ‘रोल’मा फिट हुने ‘भर्सटाइल’ कलाकार हुन् हरिवंश । नेपालको कलाकारिता क्षेत्रमा हास्य सम्राट नै हुन् । तथापि उनी ‘लो प्रोफाइल’मा बस्न रूचाउँछन् ।

सरल जीवनशैली । मेहनती बानी । सकारात्मक सोच । देशभक्ति भावना । कोमल हृदयजस्ता धेरै गुण छन्, उनका । र त, हरेक नेपालीको मनमुटुमा बस्न सफल भएका छन् !

हरिवंशको चाहना– प्रत्यक्ष कार्यकारी

देशको शासन व्यवस्थामा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षपाती हुन् उनी । जातीय सद्भाव र सहअस्तित्व विकासको शूत्र भएको उनको ठम्याइ छ । खासै राजनीतिक टिप्पणी गर्न रुचाउँदैनन् । तर, बेलाबखत भन्छन्, ‘नेताहरूले आफ्नो स्वार्थ र राजनीतिक फाइदाका लागि जातीयतको वीज रोपे । पैसा खाएर गरेका हुन् यी सब !’

२०१४ साल कात्तिक २७ गते जन्मिएका हरिवंश आचार्यको दिनचर्याबारे चिकित्सक, लेखक, लघुकथाकार एवम् पारिवारिक मित्र रवीन्द्र समीरसँगको कुराकानीमा आधारित । समीरले हरिवंशलाई दुई दशक बढीसमयदेखि नजिकबाट अनुभूत गरेका छन् ।

प्रस्तुति : अक्षर काका
तस्बिर : हरिवंश आचार्यको भेरिफाइड फेसबुक पेजबाट


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC