सात महिनाअघि बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका पूर्वपत्रकार रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नं. १ का प्रतितिधिसभा उमेदवार हुन् । ‘व्यक्ति बन्ने तर देश नबन्ने’ दशकौंको विडम्बनालाई सदाका लागि अन्त्य गर्दै देशलाई आफ्नै जीवनकालमा समृद्ध बनाउने दृढताका साथ सुसंस्कृत राजनीतिक शक्ति निर्माणमा जुट्न राजनीतिमा आएको उनी बताउँछन् ।
पहिले साझा पार्टीको संयोजकका रुपमा राजनीतिमा आएका उनी अहिले विवेकशील पार्टीसँग एकीकरण गरेर निर्वाचनमा होमिएका छन् । कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह उमेदवार रहेको काठमाडौं क्षेत्र नं १ बाट उमेदवारी दिएका मिश्रको चुनावी प्रचार र चर्चा निकै चुलिएको छ ।
निर्वाचन घरदैलो र भेटघाटमा व्यस्त मिश्रसँग बाह्रखरीका लागि अशोक पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
पत्रकारिता छोडेर राजनीतिमा आएको ७ महिनामै सांसदको उमेदवार बन्नुभएको छ । कस्तो छ माहोल ?
प्रतिकृया सकारात्मक पाएका छौं । घरदैलोमा जाँदा ‘तपाईँ अत्यधिक मतले जित्नुहुन्छ, चिन्ता नगर्नुस्’ भन्नुभएको छ । त्यस्तो प्रतिकृया पाए पनि म बहकिन चाहँदिन । तर, उत्साहित भने छु ।
केही मतदाताले तपाईँ घरमै पुग्दा दिने प्रतिकृया र भोट दिने बेलाको विचार त फरक होला नि ? जित्ने आधार कसरी देख्नुहुन्छ ?
त्यसका केही आधारहरू छन् । पहिलो कुरा भनेको मेरो यो काठमाडौं क्षेत्र नं. १ नेपालमा तुलनात्मक रुपमा सचेत, शिक्षित मतदाता बसेको क्षेत्र हो । दोस्रो कुरा भनेको यो क्षेत्रमा मप्रति सद्भाव राख्ने मतदाताको संख्या ठूलो छ । ती मतदाताले मलाई रेडियोमा सुनेका छन्, टेलिभिजनमा हेरेका छन् र मेरो लेखहरू पढेका पनि छन् । मेरो परोपकारी गतिविधिसँग परिचित छन् । मलाई यो क्षेत्रका केही मानिसहरूले सहयोग पनि गरेका छन् । त्यसकारणले यो क्षेत्रका मतदाता मलाई धेरै नजिकबाट जानेका कारण मत दिनुहुन्छ भन्ने विश्वास छ ।
तेस्रो आधार भनेको यो विवेकशील साझा पार्टी यो देशका पुराना राजनीतिक पार्टीबाट कुनै पनि हालतमा यो देशको विकास सम्भव छैन । नयाँ विचार र भिजनका भएको नेतृत्व चाहिन्छ भनेर आएका छौं । त्यो धारणामा विश्वास गर्ने मत एकदम धेरै छ ।
तपाईँ र तपाईँको पार्टीलाई मन पराउने जमात त धेरै होला । तर, पुराना पार्टीमा कुनै न कुनै हिसाबले आवद्ध मतदाताले भर्खरै आएको पार्टीलाई मत दिन कठिन होला नि ?
त्यसलाई तोडेर नयाँ विचारको पार्टी वा व्यक्तिले भोट लिन सक्छ भन्ने कुरा गएको निर्वाचनले पुष्टि गरिसकेको छ । गएको स्थानीय निर्वाचनमा यो क्षेत्रबाट हामीले पाएको भोट धेरै छ । पुरानो जकडिएको संरचना त छ । तर, साँच्चिकै राम्रो गर्छु भनेर आउँदा आफ्नो सोचाइ परिवर्तन गर्ने जनसंख्या पनि यहाँ धेरै ठूलो छ ।
स्थानीय चुनावमा यहाँहरूलाई दिएको भोट काम लागेन । भोट दिएर काम लाग्ने भएन भन्ने पनि होलान् ?
त्यतिबेला जुन भोट हामीले पायौं, त्यो खेर गएको होइन । काठमाडौं महानगरपालिकाभित्र यो क्षेत्रमात्रै नपर्ने भएकाले पनि नजिता फरक देखिएको हो । त्यतिबेला साझा पार्टी सुरु भएको ६ हप्तामा चुनावमा जाँदा कुनै संगठन थिएन । हाम्रो काम गर्ने कार्यालय थिएन । त्यो अवस्थामा पनि हामीले अत्यन्त सम्मानजनक मत पायौं । त्यसले गर्दा हाम्रो आत्मविश्वास बढ्यो ।
दोस्रो कुरा विवेकशील र साझा पार्टी छुट्टा–छुट्टै निर्वाचनमा गएका थियौं । अहिले हाम्रो शक्ति बढेको छ । यो क्षेत्रमा हामी नै अगाडि छौं । त्यो शक्ति अब भोटमा परिवर्तन हुन्छ भन्ने हाम्रो विश्वास छ ।
तपाईँको प्रतिद्वन्द्वी लामो लामो समयदेखि यही क्षेत्रबाट भारी मतअन्तरले विजयी हुँदै आउनुभएको छ । यसपटक पनि बलियो दाबेदार र जितका लागि ढुक्क हुनुहुन्छ । तपाईँ पनि आफूलाई बलियो दाबी गरिराख्नु भएको छ । कसरी जित्नुहोला त ?
हामी उहाँलाई मात्रै होइन, अढाई दशक लामो समयदेखि नेपालको राजनीतिमा अपराजित रहेका शक्तिलाई पराजित गर्न भनेर राजनीतिमा आएका हौं । एकजना व्यक्तिको कुरा छोडौं, हाम्रो लक्ष्य भनेको त लामो समयदेखि ‘कुशासन’ गर्दै आएको राजनीतिक संस्थाहरुलाई पराजित गर्नु हो ।
तपाईँको प्रतिद्वन्द्वी कुरा गर्दा दुई दशकदेखि यो क्षेत्रका जनतासँग भिज्नुभएको छ । काम गरेपनि नगरे पनि अपराजित र बलियो अवस्थामा हुनुहुन्छ । तपाईँ आएको ७ महिना भयो, यति छिट्टै मत परिवर्तन होला र तपाईँलाई आउला ?
परिचय कस्तो छ भन्ने कुराले अर्थ राख्छ । उहाँको परिचय भनेको यो देशलाई असल नेतृत्व दिन नसक्ने, सुशासन स्थापना गर्न नसक्ने, भ्रष्टाचार बढाउने शक्तिसँग सम्बन्धित छ । मेरो परिचय भनेको अहिलेसम्म मैले इमान्दारी, दृढता, चाहेको काम गरेरै छाड्ने र समाजको लागि सकारात्मक सोच राखेर अगाडि बढ्ने व्यक्तिका रुपमा छ । यहाँका मतदाताले यो परिचयलाई मूल्यांकन गरेर मत दिनेमा म विश्वस्त छु ।
नयाँ पार्टी भएर तपाईँहरु पुरानो कुशासनको विरुद्ध भन्नुभएको छ । ‘यो प्रचार पनि २०६४ को माओवादीको जस्तो हो, गर्ने केही होइनन्’ भन्नेहरू पनि छन् नि ?
भन्नलाई जे भनिदिए पनि हुन्छ । तर, हामीलाई अहिले पहिले माओवादीले अथवा अरु कुनै पार्टीले जे गरे, त्यस्तै हुन् भन्ने आधार नै छैन । किनभने हामीले केही काम गरेर देखाउन पाएकै छैनौं । हामीलाई अहिले गर्ने मूल्यांकन भनेको त विवेकशील साझा पार्टीमा आबद्ध व्यक्तिहरू जहिले पनि सकारात्मक सोच राखेर काम गरे, तिनिहरुले बाँकी जीवनमा फट्याइँ गर्दैनन् भन्ने मात्रै आधार हो ।
स्थानीय चुनावबाट पराजित भएपछि नयाँ शक्ति संयोजक बाबुराम भट्टराई कहिले वाम गठबन्धन त कहिले कांग्रेससँग मिल्न पुग्नुभयो । यो चुनावपछि तपाईँहरूको अवस्था पनि त्यस्तै हुने त होइन ?
त्यस्तो हुने भए हामी चुनाव अगाडि नै भइसक्थ्यौं । चुनाव अगाडि गठबन्धन बने । हाम्रो पार्टीमा आइदेऊ भनेर अनुरोधहरू गरिए । चुनावपछि आक्रामक रुपमा संगठन निमार्ण गर्ने हो । किनभने अर्को पटक यो देशको नेतृत्व गर्ने उद्देश्य राखेका छौं ।
यो पार्टीमा विशेषगरी कुनै पेशाबाट आएका व्यक्तिहरूको बाहुल्यता छ । युवाहरूलाई समेट्ने योजना के छ ?
हाम्रो सबैभन्दा ठूलो शक्ति भनेकै युवा हो । हामी जाँदा हामीलाई प्रोत्साहन दिने युवाहरु हुन् । त्यस्तै, पुरानो पुस्ताले पनि उत्तिकै हामीलाई साथ दिनुभएको छ । सबैलाई समेटेर जान्छौं ।
चुनावी प्रचारका क्रममा यहाँले कुनै विचारबाट प्रभावित गर्न भन्दा पनि भावुक बनाएर मतदातालाई आफ्नो पक्षमा पार्न खोज्नुभएको देखिन्छ नि ?
राजनीति भनेकोे विचार पनि हो र भावना अनि संवेदना पनि हो । विचारको हकमा हामी कमजोर छौं भनेर कसैले नसोचे हुन्छ । म आफैं अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको विद्यार्थी हुँ । त्यसैगरी अन्य साथीहरू विभिन्न क्षेत्रका विज्ञहरू हुनुहुन्छ । विचारको हिसाबमा पनि हामी बलियो छौं ।
जहाँसम्म भावनाको कुरा छ, विगतमा मैले व्यक्तिगत रुपमा जेजति काम गरेको थिएँ, त्यो कामले गर्दा मप्रति सद्भाव राख्ने सर्वसाधारणको संख्या ठूलो छ । त्यो सद्भाव चुनावको बेलामा सार्वजनिक रुपमा अभिव्यक्त भइरहेको छ ।
विवेकशील साझा पार्टीले आफूलाई वैकल्पिक शक्तिका रुपमा देशको नेतृत्व गर्छ भन्नुभएको छ । नयाँ शक्ति पार्टीले पनि आफूलाई त्यस्तै भन्ने गर्थ्यो । तर, यहाँका जनता र मतदाता त कि कांग्रेस वा कम्युनिष्ट भनेर हिँडेका छन् । चुनौती छैन ?
हामी कल्याणकारी राज्यको अवधारणामा विश्वास गर्ने सहभागितामूलक लोकतन्त्रमा विश्वास गर्ने शक्ति हौं । यसप्रति विश्वास र भरोसा राख्ने जनमत बढ्दै गएको छ ।
तपाइँहरूले भन्ने गरेको कल्याणकारी राज्य कस्तो हो त ?
कल्याणकारी राज्य भनेको उदाहरण दिएर भन्नुपर्दा स्क्यान्डिनेभियन देशहरु स्विडेन, नर्वे, फिनल्याण्डजस्ता देशहरु । अथवा त्यही अवधारणामा विश्वास गर्ने क्यानडा, न्युजिल्याण्ड जस्ता देशहरु । जहाँ स्वतन्त्रता पनि हुन्छ अनि उद्योगी व्यवसायीलाई व्यापक रुपमा प्रवद्र्धन पनि गरिन्छ । किनभने उद्योग व्यवसायलाई प्रवद्र्धन नगरी राष्ट्रिय पूँजीको निमार्ण हुँदैन ।
उद्योगी व्यवसायीलाई सामन्ती, सुकिलामुकिला भनेर गाली गरिँदैन । तर, राज्यले सबैभन्दा तल्लो तप्काका जनताको जीवनस्तर सुधार गर्नुपर्छ भन्ने बोध गर्छ । त्यो भनेको बुढेसकालमा तपाईँले जम्मा गरेको पैसा एउटा रोग लाग्दा सिद्धियो भने बाँकी जीवन के गरी बिताउने भनेर तपाईँले चिन्ता गर्न नपरोस् ।
तपाईँसँग पैसा छैन भने तपाईँको छोराछोरीले स्कुल जान नपाउने, उपचार गर्न नपाउने अवस्था नहोस् । यस्ता किसिमका अवधारणासहित विभिन्न सामाजिक सुरक्षाका योजना ल्याउने राज्यलाई कल्याणकारी राज्य भनिन्छ । र, हाम्रो राजनीतिक सोचको केन्द्रमा कल्याणकारी राज्य रहेको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर घोषणापत्रमा राख्नुभएको छ । किन प्रत्यक्ष कार्यकारी नै चाहिन्छ ?
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुँदा देशमा रहिरहेको अस्थिरता अन्त्य हुन्छ । देशको शक्ति सन्तुलनलाई पनि त्यसले सम्बोधन गर्ला भनेर हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर राखेका हौं । यसको अर्थ त्यसैको लागि आन्दोलन गर्छौं भनेको चाहिँ होइन ।
तपाईँको चुनावको लक्ष्य भनेको ‘यसपटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व’ भन्नुभएको छ । के यो सम्भव छ ?
यसमा तपाईँले हेर्नुभएकै होला । यो चुनावमा अहिले कि तीन ठूला पार्टीको चर्चा छ । त्यसपछि विवेकशील साझा पार्टीको चर्चा छ । निर्वाचन आयोगमा त थुुप्रै दलहरु छन् । त्यसले गर्दा नयाँ विकल्पको खोजिमा छन् भन्ने स्पष्ट देखिएको छ । अहिले ३ प्रतिशत समानुपातिकमा र केही प्रत्यक्ष सिट जित्छौं ।