ad

बाह्रखरी समीक्षा

एमाले–माओवादी केन्द्रबीच एकीकरण घोषणा चाँडै

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकीकरणसम्म जाने उद्देश्यका साथ गरेको चुनावी गठबन्धनलाई १० मंसिरमा हुने पहिलो चरणको मतदान अघिनै पूर्ण औपचारिकता दिने तयारी भएको छ । राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार एमाले र माओवादी केन्द्रले मंसिर ९ गतेको दिन नै पार्टी एकीकरणको घोषणा गर्ने तयारी गरेका छन् । राजधानी दैनिकमा टपेन्द्र कार्कीले लेखेको समाचारअनुसार निर्वाचन आयोगले पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता वा गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्र्टी पहिलो चारणअगावै एकता घोषणाको तयारीमा जुटेका हुन् ।

पहिलो चरणको निर्वाचनमा नै कम्युनिस्ट गठबन्धनका उमेदवारलाई अत्यधिक मत खसोस् भन्ने उद्देश्यसहित मंसीर ९ गते एकीकरण्को घोषणा गर्न मुख्य नेता लागिपरेको पनि राजधानीले लेखेको छ । समयमै पार्टी एकीकरणको घोषणा भए गठबन्धनको पक्षमा दुईतिहाइ पुग्नसक्ने आकलन गर्दै दुवैतर्फका नेता कार्यकर्ता एक ढिक्का हुने र त्यसले पहिलो र दोस्रो दुवै चरणमा सहयोग पु¥याउने नेताहरूको विश्वास छ । पार्टीको वैचारिक मिलापको विषयमा केही मतभेद रहेको भए पनि अब जनताको बहुदलीय जनवादमा कुरा मिलेको छ भने अझै पनि माओवादीले दस वर्ष चलाएको हिंसात्मक संघर्षलाई ’जनयुद्ध’ भन्दै सकारेर जाने वा यसलाई एक आन्दोलनका रूपमा हेर्ने भन्ने विषयमा भने बहस जारी रहेको पनि सो दैनिकको समाचारले जनाएको छ । 

चुपचाप गए पूर्वप्रधानमन्त्री विष्ट

आफ्नो मृत्युपश्चात कुनै प्रकारको राजकीय सम्मान नगरियोस् भन्ने चाहना राखेका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको ९० वर्षको उमेरमा शनिवार निधन भएको छ । उनी राजा महेन्द्रको पालामा एकपल्ट प्रधानमन्त्री र राजा वीरेन्द्रको पालामा दुईपल्ट प्रधानमन्त्री भएका थिए भने राजा ज्ञानेन्द्रको पालामा मन्त्रिपरिषद्का उपाध्यक्ष पनि भएका थिए । विष्टको निधनको समाचारलाई नयाँ पत्रिका बाहेक समीक्षित सबै दैनिकले प्रथम पृष्ठको समाचार बनाएका छन् । कान्तिपुर तथा राजधानीले यो समाचारलाई चार कोलमको मुख्य समाचार नै बनाएका छन् । राजधानीले ९० वर्षको उमेरमा निधन भएको भने पनि कान्तिपुरले ९१ वर्षको उमेरमा निधन भएको उल्लेख गरेको छ । वि. सं. १९८३ साल माघ २ गते जन्म भएको कारण उनी ९१ वर्ष पूरा भएका थिएनन् (करिब २ महिनामा ९१ हुन्थे), त्यसैले ९० वर्षीय नै मानिुन पर्छ । 

कान्तिपुरले ‘सादगीपूर्ण प्रस्थान’ शीर्षक दिँदै विष्ट, ‘राष्ट्रियताप्रति प्रतिबद्ध, अत्यन्तै इमानदार र मुलुकलाई माया गर्ने एक असल राष्ट्रवादी नेता हुनुहुन्थ्यो,’ भन्ने डा. भेष बहादुर थापाको भनाइ राखेको छ । सन् १९५० को नेपाल–भारत सन्धि असमान र नेपालको लागि अमान्य रहेको भनेर अन्र्तराष्ट्रिय संचारमाध्यममा बोल्ने नेता पनि उनै रहेको थापाले कान्तिपुरलाई बताएका छन् ।

वि.सं. २०३० साल असार २५ गते सिंहदरबारमा भएको भीषण आगलागीको बेला विष्ट देशको प्रधानमन्त्री थिए । यो घटनाको नैतिक जिम्मेवारी लिँदै उनले आफ्नो पदबाट राजीनामा दिएका र तत्कालीन राजा वीरेन्द्रले उनलाई राजीनामा फिर्ता लिन भन्दा पनि नमानेको प्रसंग राजधानीले उल्लेख गरेको छ । 

नागरिक दैनिकले पनि विष्टलाई ९१ वर्षको उमेरमा निधन भएको भन्दै उनले नेपालबाट भारतीय सैनिक चेकपोस्ट र सैनिक मिसन हटाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ । नागरिकले तीन कोलमको माथिल्लो समाचार बनाएर प्रकाशित गरेको छ । 

अन्नपूर्ण पोस्ट, हिमालय टाइम्स तथा गोरखापत्रले पनि विष्टको निधनको समाचारलाई प्रथम पृष्ठमा प्रकाशित गरेका छन् ।

अनिश्चित काठमाडौंको चुनाव

नयाँ पत्रिकाले नेपालको राजधानी काठमाडौैंमा कसले कहिले जित्छ र कहिले हार्छ भन्ने कुराको निश्चितता हुँदैन भन्ने आशयको समाचार प्रस्तुत गरेको छ । विसं २०३८ सालमा पञ्चायतको निर्वाचनमा नानीमैयाँ दाहाललाई काठमाडौंबाट निर्वाचित गराएर यहाँका वासिन्दाले आफ्नो मानसिकता स्पष्ट पारेको नयाँ पत्रिका लेख्दछ ।

त्यसबेला जोगमेहर श्रेष्ठ २९ हजार मत ल्याई दोस्रो भएर निर्वाचित हुँदा (काठमाडौंबाट सबैभन्दा धेरै मत ल्याउने दुईजना चुनिने व्यवस्था थियो) उनले ६५ हजार मत ल्याएकी थिइन । तर, उनी त्यसपछिका वर्षमा राजनीतिमा त्यसै हराएर गइन् । त्यसैगरी २०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र जनआन्दोलनका कमान्डर गणेशमान सिंहकी श्रीमती मंगलादेवी सिंहलाई पनि जनताले पराजित गराएका थिए । मंगलादेवी आफैँ पनि सो आन्दोलनकी सारथी थिइन् । 

विसं २०५१ सालमा पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट काठमाडौं ३ बाट उठेका थिए तर उनले ११८० मत र २०५६ मा झन् कम ३६५ मत मात्र ल्याएर पराजित भएका थिए । 

अविश्वसनीय विजयीमा २०६४ सालमा काठमाडौं २ बाट त्यसबेलाका शक्तिशाली एमालेका महासचिव माधव कुमार नेपाललाई माओवादीका झक्कु सुवेदीले हराएका थिए भने त्यसैगरी २०७० सालको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन)ले पराजित गरेका थिए । विसं २०७४ सालमा विवेकशील पार्टीबाट उमेदवार बनेकी रञ्जु दर्जनाले पनि २३ हजार मत ल्याएर पराजित हुँदा पनि सबैलाई चकित पारिदिएकी विषयलाई पनि नयाँ पत्रिकाले समेटेको छ । 

सम्पादकीय

आजका दैनिक पत्रिकाको मुख्य विषय निर्वाचन सुरक्षा र नेपाल–चीन रेलवे रहेका छन् । नयाँ पत्रिका, गोरखापत्र तथा राजधानीले रेलका विषयमा सम्पादकीय विचार प्रस्तुत गरेका छन् । नयाँ पत्रिका लेख्छ — ‘लामो समयसम्म रेल केबल गफ र विम्बको विषय बनेको नेपालमा केही वर्षयता भने साँच्चिकै एउटा संभावना बनेर आएको छ ।’ अब नेपालले चाहेको र प्रस्ताव अघि बढाएको खण्डमा चीनले रेलमार्ग निर्माणका लागि आवश्यक सहयोग गर्ने निश्चित भएको छ भन्दै नयाँ पत्रिकाले चीनको ’वन बेल्ट वन रोड’ (एक क्षेत्र एक सडक) अवधारणाअन्तर्गत नेपाल हुँदै भारतसम्म जोडिने परियोजना नेपालको प्राथमिकताको विषय हुनुपर्ने विषयमा जोड दिएको छ ।

गोरखापत्रले पनि आफ्नो सम्पादकीयमा रेलको चित्र नै राखेर यसको आवश्यकतामा जोड दिएको छ । सम्पादकीयमा गोरखापत्रले चित्र वा फोटो राखेको साधारणतया देखिँदैन । त्यसैले यो एउटा नयाँ सुरु भन्न सकिन्छ । राजधानीले पनि ‘रेल अध्ययन : समृद्धिको सुखद सुरुवात’ शीर्षकमा सम्पादकीय लेखेको छ । राजधानीले पनि चीनको ओबोर अवधारणाबाट नेपालले फाइदा लिनु पर्छ र चिनियाँ रेल नेपाल भित्र्याउन बल गर्नुपर्ने कुरामा जोड दिएको छ ।

आइतवारका नागरिक तथा हिमालय टाइम्सले निर्वाचन सुरक्षाको विषयमा सम्पादकीय लेखेका छन् । नागरिकले ‘हिंसामाथि विगतदेखि लोकतन्त्रले नै जित्दैआएको छ,’ भन्दै जनताको लोकतन्त्रप्रतिको आस्थालाई कुनै पनि डर, त्रास र धम्कीले सिध्याउन सकिँदैन भनेको छ । हिमालय टाइम्सले मंसिरमा हुने निर्वाचन राजनीतिक र व्यवस्थापकीय दुवै दृष्टिले अभूतपूर्व महत्त्वको भएको भन्दै यसले संक्रमणकालको अन्त्य हुने र समृद्धिको ढोका खोल्ने हुनाले सबै निकायले सुरक्षा निकायलाई सहयोग गरेर यो अवसरलाई उत्सवको रूपमा मनाउनुपर्छ भनेको छ । 

अन्नपूर्ण पोस्टले उमेदवारको अकासिएको खर्चको विषयमा चिन्ता जताएको छ भने कान्तिपुरले राजधानीकै नाम चलेका विभिन्न अस्पतालले नियम मिचेर गरिरहेको कामको उजगार गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले अहिले गरेको अनुगमनमा दोषी देखिएका स्वास्थ्य संस्थालाई कारवाहीको दायरमा ल्याउन सकेमात्रै पनि बेथितिहरू स्वतः घट्छन् भन्ने कान्तिपुरको सम्पादकीय सल्लाह रहेको छ । 
 

तपाईंको मत