ad

सम्पादकीय

हिंसात्मक घटना नियन्त्रण गर !

चुनावलाई हिंसात्मक हुन नदिन भने दलका नेताहरू पनि बढी जिम्मेवार र संयमित हुनु जरुरी छ

मतदानको दिन नजिकिँदै गएसँगै हिंसाका फाटफुट घटना पनि हुन थालेका छन् । रुकुममा कम्युनिस्ट गठबन्धनबाट प्रतिनिधि सभाका उमेदवार नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता तथा हाल विनाविभागीय बन्नपुगेका मन्त्री जनार्दन शर्माको मोटरमा बम प्रहार गरिएको समाचार आएको छ । यस्तै, नेपाली कांग्रेसका नेता तथा सोलुखुम्बुबाट प्रतिनिधि सभाका उमेदवार बलबहादुर केसीको टोलीमाथि कम्युनिस्ट गठबन्धनका कार्यकर्ताले सांघातिक आक्रमण गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति प्रकाशित गरेर जनाएको छ । रुकुममा भएको बम प्रहारलाई मन्त्री शर्माकै पुराना सहयोद्धा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ’जनताले गरेको प्रतिकार’ भएको दाबी गरेको छ । सोलुखुम्बुको घटनाका सम्बन्धमा अहिलेसम्म कम्युनिस्ट गठबन्धनको धारणा सार्वजनिक भएको छैन । सामाजिक सञ्जालमा कम्युनिस्ट गठबन्धनका अर्का उमेदवार वर्षामान पुनमाथि सांघातिक आक्रमण भएको समाचार सार्वजनिक भएको छ ।  

लोकतान्त्रिक अभ्यासको इतिहास लामो नभएको र राजनीतिक संस्कारसमेत नभएको नेपाली समाजमा अरू दक्षिण एसियाली मुलुकहरूमा जस्तै चुनावमा हिंसा हुने गरेको छ । भारत, पाकिस्तान, बंगलादेशजस्ता छिमेकीहरूका तुलनामा नेपालमा निर्वाचन शान्तिपूर्ण देखिए पनि कुनै न कुनै मात्राको हिंसा भने सबैजसो निर्वाचनमा भइआएका छन् । रुकुममा चुनाव बहिष्कार गर्ने माओवादी नेता कार्यकर्तालाई प्रहरीले दमन गरेको आरोप पनि त्यस समूहले लगाएको छ । केही दिन पहिलेसम्म गृह मन्त्री रहेका शर्मामाथि चन्दको समूह आक्रोशित भएको र आक्रमण गरेको हुनसक्ने सन्देह अस्वाभाविक होइन । सोलुखुम्बु घटनामा पनि स्वाभाविक सन्देह त प्रतिस्पर्धी कम्युनिस्टहरूप्रति नै जान्छ । तर, चुनाव बिथोल्न चाहने तत्त्व पनि यसमा जिम्मेवार हुनसक्छ । 

यी घटनाका दोषीलाई प्रहरीले खोजेर कानुनबमोजिम कारबाही गर्नुपर्छ । तर, यही निहुँमा घटनामा संलग्न नभएको व्यक्तिलाई सताउने काम भयो भने त्यो अर्को दुर्भाग्य हुनेछ । नेताहरूले चुनावमा लाभ हुने गरी यस्ता घटनालाई राजनीतिक प्रतिशोधको निहुँ बनाउन सक्छन् । यतिमात्र हैन कार्यकर्तालाई उत्तेजित बनाउन र जनसहानुभूति आकर्षित गर्न आफैँले आक्रमणको नाटक पनि रच्न सक्छन् । यसैले प्रहरीले नेताहरूको इसारामा हैन यस्ता घटनाको स्वतन्त्र छानबिन गर्नुपर्छ । तर, चुनावलाई हिंसात्मक हुन नदिन भने दलका नेताहरू पनि बढी जिम्मेवार र संयमित हुनु जरुरी देखिन्छ । केही दिन यता नेताहरू विपक्षीको अस्तित्व नै मेटाउने भन्दै आक्रामकरूपमा प्रस्तुत हुन थालेका छन् । त्यस प्रकारको संयम एवं संस्कारहीन अभिव्यक्तिले उत्तेजना र हिंसा फैलन सक्छ । यसैले निर्वाचन शान्तिपूर्वक सम्पन्न होस् भन्ने चाहने सबैले हिंसाको निन्दा र संयमित र सौम्य हुने प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।   
 

तपाईंको मत